+
+
विशेष रिपोर्ट :

वैदेशिक रोजगारीले विथोल्दै समाज : न्यायिक समितिमा उजुरीका चाङ

रेमिटेन्सको स्रोत वैदेशिक रोजगारी समाजमा कलह सिर्जनाको कारक पनि भएको छ । स्थानीय तहका न्यायिक समितिमा परेका उजुरी र गुनासा केलाउँदा घरभित्र हुने अधिकांश विवाद र अपराधका घटनामा कहीं न कहीं वैदेशिक रोजगारी जोडिएको देखिन्छ ।

मनिषा चम्लागाईं मनिषा चम्लागाईं
२०७९ जेठ ३० गते १९:४५

३० जेठ, झापा । इलामको बाँझो घर भएका ४३ वर्षीय दिनेश सिग्देल पाँच वर्षअघि श्रीमती अनिता केसीलाई विराटनगर महानगरपालिका–३, पीपलचोकमा छाडेर वैदेशिक रोजगारीका लागि मलेशिया गएका थिए ।

अनिता दिनेशकी कान्छी श्रीमती थिइन् । कान्छी श्रीमती ल्याएपछि परिवारमा पनि राम्रो सम्बन्ध भएन । त्यसपछि सिग्देल वैदेशिक रोजगारीका लागि मलेशिया गए । मलेशियामा राम्रो कमाइ नभएपछि उनी बहराइनतिर लागे ।

यसपछि कमाइ भएको पैसा विराटनगरमा रहेकी कान्छी श्रीमतीलाई पठाउथे । कान्छी श्रीमतीबाट एउटी छोरी पनि जन्मिएकी थिइन् । तर, पछिल्लो एक वर्षदेखि कान्छी श्रीमतीसँग पनि उनको सम्पर्क पातलिंदै गएको थियो । सिग्देल काममा व्यस्त हुन्थे, फुर्सदमा पनि श्रीमतीसँग राम्रो बोलचाल हुन छाड्यो । विस्तारै सिग्देल दम्पतीको सम्बन्धमा देखिने गरी खटपट सुरु भयो ।

यसैबीचमा कम्पनीसँग विदा मागेर दिनेश २० पुस २०७८ मा बहराइनबाट नेपाल आए । यसरी साथीसँग ६० हजार रुपैयाँ सापटी लिएर ‘श्रीमतीसँग कुरा गर्न’ नेपाल फर्किएका दिनेशको शव ५ फागुन २०७८ मा धरान–भेडेटार सडक खण्ड नजिकै रहेको जंगलमा भेटियो । एउटा जेब्रा झोलामा उनको टाउको र अर्को झोलामा शरीर थियो ।

अनुसन्धानका क्रममा कान्छी श्रीमती केसीको योजनामा प्रेमी २९ वर्षीया सरोज भण्डारीले विराटनगरमा उनको हत्या गरेर धरानमा शव व्यवस्थापन गर्न खोजेको देखिएको जिल्ला प्रहरी कार्यालय, सुनसरीका तत्कालीन प्रमुख सञ्जयसिंह थापा बताउँछन् ।

‘विराटनगर गएर एकदिन श्रीमान्–श्रीमती होटलमा सँगै बसेको देखिन्छ, अर्को दिन घर जाने वित्तिकै विवाद भएको थियो’ उनले भने, ‘त्यसबीच फोन गरेर केसीले प्रेमी भण्डारीलाई बोलाएकी थिइन् र गलबन्दीले कसेर हत्या गरेको देखिन्छ ।’

इलाका प्रहरी कार्यालय, धरानका डीएसपी नरेन्द्र कुँवर यो बीभत्स घटनाको कारक वैदेशिक रोजगारी र विवाहेत्तर सम्बन्ध रहेको बताउँछन् ।

****

झापाको अर्जुनधारा नगरपालिका–६ का ३८ वर्षीय शनिश्चरे (परिवर्तित नाम) ले २०५६ सालमा कन्काइ (परिवर्तित नाम) सँग विवाह गरे । यी दम्पतीबाट एक छोरा र छोरी पनि जन्मिएका छन् ।

सवारी चालकको कामबाट लोग्नेले राम्रो आम्दानी गर्न सकिरहेका थिएनन् । छोराछोरी बढ्दै गर्दा विद्यालयमा पैसा तिर्न समस्या भयो, हुर्काउन पनि सहज थिएन । त्यसैले २०७२ सालमा शनिश्चरेले  वैदेशिक रोजगारीमा साउदी अरब जाने निधो गरे । विदेश जान पनि पैसा थिएन, त्यसपछि स्थानीय सहकारीमा जग्गा धितो राखेर ऋण लिए र विदेश गए ।

उनी विदेश गएसँगै उनको परिवारको आर्थिक अवस्थामा केही सुधार आयो । तर विदेश गएको दुई वर्षपछि एक दिन उनले श्रीमती कन्काइ घरमा नभएको खबर सुने । छोराछोरीलाई घरमा छाडेर ‘काठमाडौं जान्छु’ भन्दै हिंडेकी श्रीमती घर फर्किइनन् ।

श्रीमती खोजी गर्न उनी नेपाल फर्किए । नेपाल आएपछि उनले थाहा पाए श्रीमतीले दोस्रो विवाह गरिछन् । श्रीमतीले दोस्रो विवाह मात्र गरेकी थिइनन्, शनिश्चरेले कमाएर पठाएको ९ लाख रुपैयाँ, घरमा पालेका तीन माउ गाई, भाँडाकुँडा, सरसामान पनि लिएर गएकी थिइन् । अनि कन्काइले स्थानीय सहकारीबाट ठूलो मात्रामा ऋण निकालेको पनि भेटियो ।

नेपाल आएर शनिश्चरेले अर्जुनधारा नगरपालिकाको न्यायिक समितिमा उजुरी दिए । तत्कालीन उपमेयर कमला खतिवडा नेतृत्वमा रहेको समितिले दुवै पक्षको कुरा सुन्यो र कन्काइलाई कागज गरेर पछिल्लो पटक विवाह गरेको व्यक्तिको जिम्मा लगाइदियो । ‘अहिले शनिश्चरे छोराछोरी हेरचाह गरेर अर्जुनधारामै बसिरहेका छन्’, पूर्व उपमेयर खतिवडा भन्छिन् ।

****

मोरङ रंगेलीका विराटेश्वर दाहाल (परिवर्तित नाम) चार वर्षअघि विवाह गरेको एक महिना नबित्दै दुबई गएका थिए । उनले विदेशमा कमाएको पैसा श्रीमतीलाई पठाए । तर, श्रीमतीले चाँडै धेरै कमाउन त्यो पैसा लागूऔषध किनबेचमा खर्च गरिन् । श्रीमतीलाई मोरङ प्रहरीले लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा गएको वर्ष पक्राउ गर्‍यो ।

यसपछि वैदेशिक रोजगारीबाट फर्केका दाहालले सम्बन्धविच्छेद प्रक्रिया अघि बढाए । उनकी श्रीमती भने अहिले कारागारमा छिन् । प्रहरीलाई बयान दिने क्रममा श्रीमान्ले पैसा पठाएपछि थप पैसा कमाउने लोभमा आफू लागूऔषधको कारोबारमा फसेको उनले बताएकी छिन् ।

****

इलामको इलाम नगरपालिका–८ धोवीधाराकी सूर्योदया राई (परिवर्तित नाम) वैदेशिक रोजगारीका लागि चार वर्षअघि कुवेत गइन् । दुई छोरालाई श्रीमान्को साथमा छोडेर कुवेत गएकी राई गत वर्ष नेपाल फर्किइन् ।

सूर्योदयाको सुरुमा सम्बन्ध राम्रो थियो, घरमा पैसा पनि पठाउँथिन् । तर केही समयपछि उनको श्रीमानसँगको सम्बन्धमा दरार आयो । नेपाल आएर इलाम नगरपालिकाको न्यायिक समितिमा आफू श्रीमान्सँग बस्न नसक्ने भनेर निवेदन दिइन् । निवेदनमा राईले अंश समेत मागेकी थिइन् ।

न्यायिक समितिले अंशको मुद्दा नहेर्ने भएकाले फाइल जिल्ला अदालत, इलाम पुग्यो । अहिले यी दम्पतीले सम्बन्धविच्छेद गरिसकेका छन् । श्रीमान् दुई छोरा पालनपोषण गरेर इलाममै बस्दै आएका छन् भने सूर्योदया काठमाडौंमा बस्दै आएकी छिन् ।

****

गत वर्ष ताप्लेजुङको फुङलिङ नगरपालिकाको न्यायिक समितिमा एउटा फरक प्रकृतिको उजुरी पर्‍यो । वडा नम्बर–२ की १८ वर्षीया काबेली कार्की (परिवर्तित नाम) ले श्रीमान्लाई वैदेशिक रोजगारीमा जान रोक लगाउन माग गर्दै न्यायिक समितिमा उजुरी दिएको नगरपालिकाका पूर्व उपमेयर बमबहादुर भट्टराई बताउँछन् ।

कार्कीले १५ वर्षकै उमेरमा स्थानीय थेचम्बु खड्का (परिवर्तित नाम) सँग भागी विवाह गरेकी थिइन् । १७ वर्षको उमेरमा उनले छोरा जन्माइन् । ‘विवाह गरेसँगै पढाइसमेत छाडेकी उनलाई एक्लै छोरो हुर्काउन, बढाउन सक्छु भन्ने हिम्मत भएन’ भट्टराईले भने, ‘त्यसैले उनले पटक–पटक श्रीमान्लाई वैदेशिक रोजगारीमा नजान आग्रह गरेकी थिइन्, नमानेपछि उजुरी नै दिइन् ।’

खड्कामा भने विदेश जाने र पैसा कमाउने हुटहुटी थियो । न्यायिक समितिले खड्कालाई सम्झाई–बुझाई गरेर विदेश जानबाट रोकेको थियो ।

****

कनकाई नगरपालिका–५, झापाका चुलाचुली (परिवर्तित नाम) वैदेशिक रोजगारीका लागि दुबई जाँदा विवाह गरेको एकसाता पनि भएको थिएन । श्रीमती उनलाई विदेश पठाउन काठमाडौंसम्म आएकी थिइन् ।

तर, एक वर्षपछि नै उनीहरूको सम्बन्ध राम्रोसँग अघि बढेन । यस बीचमा उनले कमाएको केही पैसा श्रीमतीलाई पठाइरहेका थिए । तर, श्रीमती झन्झन् टाढिंदै गएकी थिइन् । उनी छुट्टीमा नेपाल आउन लागेका वेला श्रीमतीले फेसबुकमा म्यासेज लेखिन्, ‘मलाई खोज्नु पर्दैन, म आफ्नो बाटो लागिसकें ।’

कनकाई नगरपालिकाकी उपमयेर मञ्जु प्रसाईं भन्छिन्, ‘फोन गरेर दुवै पक्षलाई बोलाउने, छलफल गराएर मिलाउने कोशिश गर्‍यौं, तर सम्बन्धविच्छेद बाहेक विकल्प देखिएन ।’

ठगी, बलात्कारदेखि हत्यासम्म

केन्द्रीय प्रहरी प्रवक्ता विष्णुकुमार केसीका अनुसार, पछिल्लो समय भएका अधिकांश अपराधमा वैदेशिक रोजगारीको कुनै न कुनै सम्बन्ध हुने गरेको छ ।

‘वैदेशिक रोजगारीले पारिवारिक विग्रह ल्याइरहेको छ, त्यसले परिवारभित्रै हुने अपराधलाई बढाइरहेको छ’ उनी भन्छन्, ‘अहिले घरभित्र हुने अधिकांश विवाद र अपराधका घटनामा वैदेशिक रोजगारी जोडिएको हुन्छ ।’

उनका अनुसार वैदेशिक रोजगारी ठगी, घरेलु हिंसा जस्ता सामाजिक अपराधमा मात्र जोडिएको छैन, जघन्य अपराध पनि निम्त्याइरहेको छ । धरानमा भएको घटना त्यसैको पछिल्लो उदाहरण हो ।

प्रदेश नं. १ प्रहरी कार्यालय, विराटनगरका अनुसार आर्थिक वर्ष २०७७/७८ मा मात्रै प्रदेश–१ मा ३६ जना श्रीमान्ले श्रीमतीको हत्या गरेको घटना छन् भने दुई जना श्रीमती श्रीमान्को हत्या अभियोगमा पक्राउ परेका छन् । ती घटनाहरू पनि वैदेशिक रोजगारीसँग जोडिएका छन् ।

नेपाल प्रहरीका अवकाश प्राप्त प्रहरी नायब महानिरीक्षक (डीआईजी) हेमन्त मल्ल ठकुरीका अनुसार, विदेश गएकामध्ये धेरैजसोका घरमा समस्या देखिएकै छ । ‘कोही सामाजिक कारणले त्यसलाई दबाएरै राख्छन् भने थोरै मात्र सार्वजनिक हुन्छन्’ उनले भने, ‘कतिपय चाहिं अपराधमा बदलिएका पनि छन् ।’

‘अहिलेको युवा पुस्ता नेपालमा बस्न चाहँदैन, उनीहरू जतिवेलै विदेश जानलाई अवसर खोजिरहेका हुन्छन्’ मल्ल भन्छन्, ‘ठूलो संख्यामा नेपाली युवा खाडी मुलुक गएका छन्, विवाह लगत्तै वैदेशिक रोजगारीमा जानेहरूमा पारिवारिक समस्या देखिइरहेको छ ।’ वैदेशिक रोजगारीले आर्थिक स्थिति उकास्न सहयोग गरे पनि समाजमा विचलन ल्याइरहेको उनी बताउँछन् ।

ताप्लेजुङको फुङलिङ नगरपालिकाका पूर्व उपप्रमुख बमबहादुर भट्टराई भन्छन्, ‘न्यायिक समितिमा आउने अधिकांश उजुरी वैदेशिक रोजगारीसँग जोडिएकै हुन्छन्, यो समाजको ठूलो चुनौती भइसक्यो ।’

अर्का पूर्व डीआईजी उत्तम कार्की अहिले गाउँमा संयुक्त परिवार भेटिन छाडेको बताउँछन् । ‘बिहे गर्ने वित्तिक केटो जग्गा धितो राखेर विदेश र श्रीमती छोराछोरीसहित शहरतिर जान्छिन्’ कार्की भन्छन्, ‘अनि समस्या सुरु हुन थालिहाल्छ ।’

अधिवक्ता टीकाप्रसाद कँडेलको बुझाइमा वैदेशिक रोजगारीले सम्बन्धविच्छेदको घटना बढाएको छ । ‘केटा विवाह गर्नकै लागि विदेशबाट आउने वा विवाह गरेर केही दिनमा नै विदेश जाने चलन छ’ उनले भने, ‘एकअर्कालाई राम्रोसँग नबुझी वैवाहिक सम्बन्धमा बाँधिने र नबुझी छुट्टिने प्रवृत्ति देखिएको छ ।’

उनको बुझाइमा विवाहपछि निश्चित समय श्रीमान्–श्रीमती सँगै नबस्ने हो भने यो सामाजिक समस्या अझै बढेर जान्छ । ‘मेरो व्यक्तिगत राय त विवाह गरिसकेपछि श्रीमान्–श्रीमती कम्तीमा ६ महिना सँगै बस्नुपर्ने कानुन नै बनाउनुपर्छ भन्ने हो’ कँडेल भन्छन्, ‘त्यति भए यो अवधिमा उनीहरूले एकअर्कालाई बुझ्ने मौका पाउँछन् ।’

पूर्व डीआईजी ठकुरीको भनाइमा खाडी मुलुक जानेहरूको हकमा अधिकांशको कमाइ पनि त्यति धेरै हुँदैन । ‘खाडी मुलुक जाने कोही पनि छिटो फर्किंदैनन्’ उनले भने, ‘कम्तीमा पनि चार/पाँच वर्षसम्म उनीहरू घर नफर्किंदा भर्खर जन्मिएको बच्चा छ भने उसले पनि आफ्नै बुवालाई नचिन्ने परिस्थिति बन्छ ।’ यस्तो अवस्थामा महिला र पुरुष दुवैको शारीरिक र भावनात्मक चाहना पूरा हुन नसक्दा परिवारमा समस्या सिर्जना भइरहेको ठकुरी बताउँछन् ।

‘पहिलो कुरा उसको परिवारसँग दूरी बढ्दै जान्छ, अर्कोतिर क्षणिक आवेग वा उत्तेजनामा इच्छा, आकांक्षा पूरा गर्न सामाजिक मान्यताभन्दा बाहिरका गतिविधि भइरहेका हुन्छन्’, ठकुरी भन्छन् ।

अधिवक्ता कँडेलको बुझाइमा अहिले कतिपय विवाह बुझेर भन्दा पनि पारिवारिक दबावले विदेश जानका लागि हुने गरेका छन् । ‘यो समस्या शिक्षित समुदायमै छ, विदेश जान हतार–हतार विवाह गर्ने निर्णय भइरहेका हुन्छन्’ उनले भने, ‘परिणामतः यस्ता कतिपय विवाह सम्बन्धविच्छेदमा टुङ्गिन पुग्छन् ।’

वैदेशिक रोजगारीले पारिवारिक कलह मात्रै ल्याएको छैन, बालबालिकामा नकारात्मक प्रभाव पनि पारिरहेको छ । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) का अध्यक्ष राजेश शर्मा भन्छन्, ‘परिवारसँग हुर्किन पाउने, माया, प्रेम र स्नेह पाउनु बालबालिकाको अधिकार हो, तर सानै उमेरमा बालबालिका अभिभावकत्वबाट वञ्चित हुनु परिरहेको छ । आमाबावुमध्ये एक जना विदेश जाने वित्तिकै बच्चालाई होस्टलमा राख्ने गरिएको छ, यसले पनि असर पारिरहेको छ ।’

बुवाआमाबीच द्वन्द्व भएको कुरा बालबालिकाले थाहा पाउँदा उनीहरू पनि जे पायो त्यही बोल्ने, त्यस्ता मामिलामा उत्सुकता राख्ने र यदाकदा अपराधमा पनि जोडिने गरेको देखिएको शर्मा बताउँछन् । उनको भनाइमा, बुवाआमाबीच झगडा हुँदा दुवैले बच्चामाथि रिस पोख्ने सम्भावना पनि रहन्छ । ‘त्यसले पारिवारिक कलहले बालबालिकाको मनोविज्ञानमै असर गरिरहेको हुन्छ’, शर्मा भन्छन् ।

बालअधिकार अभियन्ता सञ्जीव न्यौपानेका अनुसार, वैदेशिक रोजगारीले सिर्जना गरेको अवस्थाबाट श्रीमान्–श्रीमतीबीच सम्बन्धविच्छेद हुँदा बच्चालाई आर्थिक बार्गेनिङको माध्यम पनि बनाउने गरिएको हुन्छ । ‘जसले बच्चा राख्छ, उसले हुर्काउनका लागि भन्दै बढी सम्पत्ति लिने गरेको पाइन्छ’ न्यौपानेले भने, ‘बच्चालाई सम्पत्तिसँग मात्र जोड्दा उनीहरूको हेरचाह राम्रो हुँदैन र उनीहरू जोखिममा पर्छन् ।’

‘बच्चाले आफ्नै अगाडि हिंसा देख्नु परिरहेको हुन्छ, उनीहरूले पर्याप्त हेरचाह पनि नपाउँदा खराब संगतमा पर्छन्’ उनले थपे, ‘एउटा बच्चा एक प्रकारको जोखिममा पर्‍यो भने निरन्तर अरू जोखिम आउने क्रम सुरु हुन्छ । यस्ता बालबालिका अरू जोखिममा पनि पर्ने सम्भावना रहन्छ ।’

न्यायिक समितिमा उजुरीका चाङ

संविधानले स्थानीय तहमा न्यायिक समिति बनाउने व्यवस्था गरेसँगै अहिले त्यहाँ उजुरीका चाङ लाग्ने गरेका छन् । न्यायिक समितिको नेतृत्व स्थानीय तहका उपप्रमुखले गर्ने गर्छन् । ताप्लेजुङको फुङलिङ नगरपालिकाका पूर्व उपप्रमुख बमबहादुर भट्टराई भन्छन्, ‘न्यायिक समितिमा आउने अधिकांश उजुरी वैदेशिक रोजगारीसँग जोडिएकै हुन्छन्, यो समाजको ठूलो चुनौती भइसक्यो ।’

‘अधिकांश पुरुष कमाइ पनि हुने र पारिवारिक झमेलाबाट समेत टाढा हुन पाइने मनसायले विदेश जान्छन्’ उनले भने, ‘यसले कति पुरुष विदेशमा नै भुल्छन् त कति महिला श्रीमान् विदेश गएपछि अरू कसैसँग सम्बन्ध राख्न पुग्छन्, जसले परिवारमा विग्रह बढाउँदै लगेको छ ।’

धरान उपमहानगरपालिकाकी पूर्व उपप्रमुख मञ्जु भण्डारी पनि न्यायिक समितिमा वैदेशिक रोजगारीसँग जोडिएका उजुरीको थुप्रो लाग्ने गरेको बताउँछिन् । ‘न्यायिक समितिको काम भनेको सम्बन्ध जोड्ने हो, तोड्ने होइन’ भण्डारीले भनिन्, ‘तर मेरो कार्यकालमा कतिपय केस सम्बन्ध नै विच्छेद हुने अवस्थामा पुगेपछि मात्रै उजुरी आए ।’

पछिल्लो समय वैदेशिक रोजगारीमा जाने महिलाको संख्या पनि बढ्दै छ । वैदेशिक रोजगारीमा जाने महिलाले पनि पुरुषले अरू कुनै महिलासँग सम्बन्ध राखेको भन्दै उजुरी दिने गरेको उपप्रमुख भण्डारी बताउँछिन् । विवाह गरेर श्रीमान्–श्रीमतीले एकअर्कालाई राम्रोसँग नबुझ्दै वैदेशिक रोजगारीमा जाँदा समस्या आउने गरेको भण्डारीको बुझाइ छ ।

झापाको कनकाई नगरपालिकाकी पूर्व उपप्रमुख मञ्जु प्रसाईंको अनुभव पनि यस्तै छ । ‘न्यायिक समितिको संयोजक रहँदाको मेरो अनुभवले अहिले समाजको मुख्य समस्या नै वैदेशिक रोजगारी भएको देखाउँछ’ प्रसाईंले भनिन्, ‘वैदेशिक रोजगारीले धेरै घरबारविहीन हुने अवस्था सिर्जना गरेको छ ।’

झापाको कन्काई बहुमुखी क्याम्पस सुरुङ्गाका समाजशास्त्रका प्राध्यापक तिलविक्रम कन्दङ्वा समाजमा स्वतन्त्रताको अभ्यास बढी नै भइरहेको बताउँछन् । ‘पहिले संयुक्त परिवार हुन्थ्यो, रेखदेख हुन्थ्यो । आफैं कसले के गरिरहेको छ, निगरानी भइरहेको हुन्थ्यो’ उनी भन्छन्, ‘अहिले एकल परिवार हुन्छ, कसले के गर्दैछ अरूलाई थाहै हुँदैन, यसले समस्या बढाइरहेको छ ।’

कन्दङ्वाको भनाइमा अहिले सामाजिक मूल्यमान्यता पनि मानिसहरूले भुल्दै गएका छन्, स्वतन्त्रताको उच्चतम प्रयोग हुँदा विवाहेत्तर सम्बन्धका घटना बढिरहेका छन् । त्यसले परिवारमा विखण्डन ल्याइरहेको छ ।

‘विदेश गएर पुरुषले कमाएर ल्याए पनि नेपाल आउँदा श्रीमती नभएका उदाहरण पनि छन्, श्रीमती विदेश हुनेको हकमा पुरुषले फट्याइँ गरेका घटना पनि छन्’ कन्दङ्वाले भने, ‘यो सामाजिक समस्याको समाधानको उपाय भनेको स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नु हो ।’

‘अहिले कुनै पनि युवा रहरले विदेश गएका होइनन्’ कन्दङ्वाले भने, ‘संघीय सरकार वा स्थानीय तहले उनीहरूलाई नेपालमै रोजगारी दिएर अड्याउन सक्ने हो भने पनि यस्ता समस्या रहँदैनन् ।’ स्वदेशमा उद्योग, कलकारखाना र रोजगारीका क्षेत्रहरू बढाएर विदेशप्रतिको मोह घटाउनुपर्ने उनको भनाइ छ ।

कनकाई नगरपालिकाकी पूर्व उपमेयर प्रसाईं पनि स्वदेशमा काम गर्न हिच्किचाउने प्रवृत्ति यसनिम्ति जिम्मेवार रहेको बताउँछिन् । ‘विदेशमा गएर उनीहरू जे गर्न पनि तयार हुन्छन्, विदेशमा जे पनि गर्न सक्ने यहाँ नसक्ने भन्ने त हुँदैन नि’ उनी भन्छिन्, ‘त्यसैले पहिले त जनचेतना फैलाउने काम गर्नु जरूरी छ ।’

लेखकको बारेमा
मनिषा चम्लागाईं

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?