+
+

आलु रोप्ने र खन्ने मेसिन : श्रम, समय र खर्चको बचत

सुरेश बिडारी सुरेश बिडारी
२०७९ जेठ ३० गते ९:३२

३० जेठ, वीरगञ्ज । आलु लगाउने, गोडमेल गर्ने र खन्ने सिजनमा बाराको फेटा गाउँपालिका-१ त्रिवेणीका किसान पारस ठाकुरलाई हैरान हुन्थ्यो । किनभने आलु लगाउँदा होस् वा खन्दा धेरै श्रमिक र समयको खर्च हुन्थ्यो । तिनै श्रमिक पनि आफूलाई आवश्यक परेको बेला पाइन्नथ्यो । तर आलु रोप्ने र खन्ने मेसिन (पोटाटो प्लान्टर र पोटाटो डिगर)को प्रयोगपछि भने उनी खुशी छन् ।

यसपालि उनले १२ कठ्ठामा आलु रोप्न अनि खन्न मेसिनको प्रयोग गरे । ‘मेसिनको प्रयोगपछि एकदमै राहत महसुस गरेको छु,’ उनले भने, ‘एकातिर परम्परागत विधिबाट भन्दा डेढ गुणा बढी आलु उत्पादन भएको छ भने अर्कोतिर समय र पैसाको बचत भएको छ ।’

आलु रोप्न, गोडमेल गर्न र खन्ने को काम मेसिनले नै गरिदिएको उनी बताउँछन् । ‘१२ कठ्ठामा आलु रोप्न २० जना मानिस, गोडमेल गर्न १२ जना र खन्नका लागि ४८ जना जति ज्यामी प्रयोग गर्थें । उनीहरुले ५ किलो धान ज्याला लिन्थे । माटो पुर्नेलाई ५ सय रुपैयाँ प्रतिकठ्ठा ज्याला दिनुपर्थ्यो,’ उनले भने, ‘अहिले भने यी सबै काम मेसिनबाट हुन्छ ।’

आलु लगाउँदा ७० देखि ७५ प्रतिशत ज्यामी खर्च बचत भएको उनी बताउँछन् । यो प्रविधिबाट एकदमै खुशी लागेको उनले बताए । ‘ज्यामीको भरमा आलु खेती गर्दा ज्यामी खर्च बढी नै लाग्थ्यो । डोरी तानेर धर्का लगाउने, आलु रोप्ने, पुर्ने, गोडमेल गर्ने, खन्न र टिप्न सबै कामका लागि जन नै चाहिन्छ,’ उनले भने, ‘प्रविधिको प्रयोगबाट ७०-७५ प्रतिशत ज्यामी खर्च बचत भएको छ । त्यो हाम्रो लागि आम्दानी नै हो ।’

यस वर्ष १२ कठ्ठाबाट १ लाख ३० हजार रुपैयाँको आलु बिक्री गरेको उनले बताए । ‘१२ कठ्ठाकै आलु बिक्री गर्दा मुस्किलले ६०/७० हजार रुपैयाँ आउँथ्यो, ढिलोगरी पुस महिनाको पहिलो साता आलु लगाएका थियौं,’ उनले भने, ‘१ लाख ३० हजार रुपैयाँ लियौं, ज्यामी खर्च १८ हजार लागेकोमा ६ हजारले पुग्यो ।’ दुई जना छोरा आधुनिक मेसिन चलाउन र मर्मत गर्न सिपालु भएका कारण आफूलाई झन् सहज भएको उनले सुनाए ।

बिउ, मल लगायतको अन्य खर्च यथावत रहे पनि खोजेको समयमा काम गर्ने मानिस नपाउने समस्याबाट मुक्ति मिलेपछि त्रिवेणीका किसान पारस ठाकुरमात्र होइन, अन्य किसान पनि हषिर्त छन् ।

कृषि औजार अनुसन्धान केन्द्र रानीघाट वीरगञ्जले किसानलाई आलु लगाउने र खन्ने मेसिनसँग परिचित गराएको हो । कार्यालयले चार वर्ष अनुसन्धान गरेर लाभदायक देखिएपछि किसानको खेतमा प्रयोग गरेको थियो । यस वर्ष किसानको १० हेक्टर जमिनमा यो प्रविधिको प्रयोग गरिएको थियो ।

पोटाटो प्लान्टर र डिगर मेशिन किसानका लागि निकै लाभदायक देखिएको केन्द्रका प्रमुख बरिष्ठ वैज्ञानिक सचिन कुमार मिश्र बताउँछन् । ‘परम्परागत तरिकाबाट आलु खेती गर्दा ज्यामी एकदमै बढी चाहिन्छ,’ उनले भने, ‘आधुनिक प्रविधिको प्रयोगबाट आलु लगाउँदा समयमा ८० प्रतिशत र ऊर्जामा ५७ प्रतिशत बचत हुन्छ भने खन्दा ६० प्रतिशत समय र ७८ प्रतिशत ऊर्जाको बचत पाएका छौं ।’ मेशिनले मसिनो आलु पनि खनेर बाहिर निकाल्ने र चोट पनि नलाग्ने हुँदा बिक्री गर्न पनि सजिलो रहेको उनको भनाइ छ ।

पोटाटो प्लान्टर र डिगर आलु लगाउने पकेट क्षेत्रमा बिस्तार भइरहेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना आलु सुपर जोन काभ्रे, पोखरा, चितवन र मकवानपुरमा गरी १२ वटा जति मेसिन प्रयोगमा छ ।

यो मेसिनको मूल्य १ लाख ५० हजार रुपैयाँ पर्दछ । आलु किसानलाई सामूहिक खेतीमा प्रोत्साहन गर्दै पोटाटो प्लान्टर र डिगर मेसिनमा अनुदान दिन सके किसानले थप लाभ लिन सक्ने प्रमुख मिश्र बताउँछन् ।

यो मेसिनको प्रयोग आलु खेतीमा मात्रै नभएर गाजर, चुकन्दर जस्ता अन्य जरा बालीहरुमा समेत प्रयोग गर्न सकिने कृषि वैज्ञानिकहरुको भनाइ छ ।

आलु लगाउने मेसिनको विशेषता

· आलु लगाउने मेसिन (पोटाटो प्लान्टर) १ लाख ९५ हजार रुपैयाँ लागतको हो । यसलाई ट्याक्टरसँग तीन पोइन्ट लिंकबाट जोडिएको हुन्छ ।

· चालक र दुई जना आलु खसाल्ने व्यक्ति मिलेर समतल जमिनमा सजिलै आलु लगाउन सकिन्छ । खाल्डो खन्ने, मल हाल्ने र पुर्ने काम मेसिनले गर्छ ।

· परम्परागत तरिकाले आलु लगाउने समयमा ८० प्रतिशत र उर्जामा ५७ प्रतिशत बचत तथा कम खर्चमा आलु लगाउन सकिन्छ ।

· मेसिनबाट एकै पटकमा २ लाइनको दूरी ६०-७५ से.मी.  (आवश्यक्ता अनुसार थपघट गर्न सकिने) आलु लगाउन सकिन्छ । एउटा बोटदेखि अर्को बोटसम्मको दूरी २०-२५ से.मी. (आवश्यक्ता अनुसार थपघट गर्न सकिने) मिलाउन सकिन्छ ।

· आलु लगाउने मेसिनबाट बिउको गहिराइ १०-१५ से.मी. (आवश्यक्ता अनुसार थपघट गर्न सकिने) र बिउको साइज ३०-४० ग्राम विनाकुनै हानी नोक्सानी एक नासले लगाउन सकिन्छ । साथै ड्याङको उचाइ ४५ से.मी.सम्म बनाउने गर्छ ।

· मेशिनबाट ०.२ हेक्टर अर्थात् ६ कठ्ठा प्रतिघण्टा र सन्चालन खर्च रु. ९७५ प्रतिघण्टा -ट्याक्टर सहित) लाग्छ । आलु लगाउने कुल खर्च रु.४,८७५ प्रतिहेक्टर लाग्छ । जुन किसानको परम्परागत तरिका भन्दा ५७ प्रतिशत कम हो । कृषक तरिकाको) लाग्ने सकिन्छ ।

· यो मेशिनलाई तराई तथा भित्री मधेशको समतल भू-भागमा सजिलै प्रयोग गर्न सकिन्छ ।

आलु खन्ने मेसिनको विशेषता

· आलु लगाएको खेतमा एकै पटकमा सजिलैसँग आलु खन्न सकिन्छ ।

· परम्परागत तरिकाले आलु खन्दा लाग्ने समयमा ६० प्रतिशत र ऊर्जामा ७८ प्रतिशत बचत हुन्छ । कम खर्चमा आलु खन्न सकिन्छ ।

· एकै पटकमा २ लाइनको -हारदेखि हारको दुरी ६५ से.मी.को फरक भएमा)आलु खन्न सकिन्छ ।

· आलु खन्ने गहिराइ ४५ से.मी.(आवश्यक्ता अनुसार थपघट गर्न सकिन्छ) ।

· सबै जात तथा आकारका आलु विनाकुनै हानी नोक्सानी एक नासले खन्न सकिन्छ ।

· श्रमिक अभावको समस्या समाधान हुनुको साथै समयमै बाली उठाई खराब मौसमको प्रभावबाट जोगाउन सकिन्छ ।

· पोटाटो डिगर मेशिनको कार्यक्षमता प्रतिघण्टा ७ कठ्ठा अर्थात ०.२३ हेक्टर रहेको छ ।

· १ लाख ५० हजार रुपैयाँको लागतमा पाइने मेशिन तराई तथा भित्री मधेशको समतल जमिनमा सजिलै प्रयोग गर्न सकिन्छ ।

लेखकको बारेमा
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?