+
+

मिति नतोकिंदै मोरङमा कांग्रेसलाई लाग्यो चुनाव

संघ र प्रदेशको निर्वाचनको मिति तोकिन बाँकी नै छ तर मोरङमा नेपाली कांग्रेसबाट उम्मेदवारीको दाबी गर्ने दर्जन नाघेका छन् । यतिसम्म कि प्रत्यक्षमा, समानुपातिकमा, प्रदेशमा र मुख्यमन्त्री पदमा समेत दाबी र भागबण्डा हुन थालेको छ ।

लिलु डुम्रे लिलु डुम्रे
२०७९ जेठ ३० गते २०:४४
नेता शेखर कोइराला र रमेशजंग रायमाझी ।

३० जेठ, काठमाडौं । सरकारले संघ र प्रदेशको निर्वाचनको मिति तय गरि नसक्दै मोरङमा कांग्रेसबाट उम्मेदवारीको दाबी गर्ने लहर चलेको छ । छ निर्वाचन क्षेत्र रहेको मोरङमा दर्जन बढी नेताले उम्मेदवार हुने आकांक्षा देखाएका छन् । संस्थापनइतरका प्रमुख नेता डा. शेखर कोइरालाको गृह जिल्ला भएकाले पनि नेपाली काग्रेसको राजनीतिमा मोरङ जिल्ला चासोका रुपमा रहने गर्छ ।

मोरङको १ नम्बर क्षेत्रमा डिगबहादुर लिम्बुको नाम चर्चामा छ । अघिल्लोपटक पनि उम्मेदवार बनेका लिम्बु मोरङका कांग्रेस जिल्ला सभापति समेत हुन् । नेता शेखर पक्षीय लिम्बुलाई टक्कर दिने गरि उम्मेदवारमा अघि सर्नेमा संस्थापन पक्षबाट कोही देखिएको छैन ।

२०७४ सालको संसदीय निर्वाचनमा यस क्षेत्रमा एमालेले जितेको थियो । केराबारी, लेटाङ, उर्लाबारी र मिक्लाजुङ मोरङको क्षेत्र नम्बर १ मा पर्दछन् । अघिल्लोपटकको स्थानीय चुनावमा मिक्लाजुङ बाहेक सबै कांग्रेसले जितेको थियो । यसपटकको नतिजा एमालेको पक्षमा बलियो बनेको छ । आफुले जितेको मिक्लाजुङलाई कांग्रेसलाई सुम्पेर अन्य पालिका एमालेले खोसेको छ । बलियो आधार क्षेत्र भनिएको उर्लाबारी पनि यसपटक कांग्रेसले बचाउन सकेन ।

चार पालिका मध्ये तीनमा एमाले विजयी भएकाले मोरङ १ मा कठिन हुने विश्लेषण कांग्रेस भित्रै छ । उम्मेदवार चयन गर्ने क्रममा विवेक नपुर्‍याएकाले पराजय भोग्नु परेको नेता गुरुराज घिमिरे बताउँछन् । ‘स्थानीय तहको परिणाम हेर्दा कांग्रेसलाई मोरङ १ गाह्रो देखिन्छ’, घिमिरेले भने ।

कांग्रेसको अर्को पक्षबाट उम्मेदवार दाबी नहुनु्को साथै पार्टी भित्रको आन्तरिक एकता बलियो रहे लिम्बुले जित्नेमा घिमिरे आशावादी छन् । लिम्बुसँग तीन पटक संघको उम्मेदवार बनेको र दुई पटक जिल्ला सभापति भएको अनुभव छ । मोरङ १ मा लिम्बुको विकल्पमा संस्थापन पक्षबाट अन्य उम्मेदवारको दाबी नहुने देउवा निकट नेता रमेशजंग रायमाझी पनि बताउँछन् ।

रमेशजंग रायमाझी ।

निर्वाचनको मिति घोषणा नहुँदै चर्चामा रहेको अर्को क्षेत्र मोरङ २ हो । अघिल्लोपटक यस क्षेत्रमा नेता डा. मिनेन्द्र रिजालले जितेका थिए । यस क्षेत्रमा सुजाता कोइरालाले दाबी गरेपछि रिजाललाई सहजै टिकट पाउन मुस्किल पर्ने जिल्ला तहका नेताहरु बताउँछन् ।

‘गिरिजाप्रसाद कोइरालाकी छोरी, उहाँ अहिले देउवा क्याम्पमा जानुभएको छ । उहाँले दाबी गर्दा मिनेन्द्र जीले टिकट पाउन गाह्रै पर्छ’, मोरङ कांग्रेसका एक नेताले भने । सुजाता दुईपटक समानुपातिकको सूचिमा अटाएकी छन् । यसपटक प्रत्यक्ष उम्मेदवार बन्ने लाइनमा रहेकी उनले विराटनगर पुगेर मोरङ २ बाट उठ्ने दाबी गरि सकेकी छन् । कांग्रेसका पूर्व सभापति गिरिजाप्रसाद कोइराला निर्वाचन लड्दै आएको क्षेत्र समेत यो स्थान हो । तर, यस क्षेत्रमा नेता शेखर कोइराला उम्मेदवार बन्न उपयुक्त हुने राष्ट्रिय सभा सांसद समेत रहेका रायमाझी बताउँछन् ।

मोरङ २ मा रतुवामाई, कानेपोखरीको १, २, ३, पथरी शनिश्चरेकोे ५ र ६ तथा रंगेलीको १, ३, ८ र ९ नम्बर वडा समावेश छ । स्थानीय तह चुनावमा रतुवामाईमा कांग्रेस विजयी भएको छ । कानेपोखरी वडा नम्बर १ मा मात्रै विजयी भएको छ कांग्रेस । पथरी शनिश्चरेका वडा ५ र ६ दुबैमा जीत निकालेको छ । यस क्षेत्रमा पर्ने रंगेलीका चारवटै वडामा कांग्रेस पराजित भएको छ ।

मोरङ ३ मा सर्वाधिक चर्चामा अघिल्लोपटककै उम्मेदवार सुनील शर्माको नाम छ । संस्थापनइतर पक्षका शर्मा गत निर्वाचनमा पराजित भएका थिए ।

डा. शेखर कोइराला ।

संस्थापन पक्षले शेखर थापा वा गोपाल थापा मध्ये एकलाई उम्मेवारमा अघि सार्ने चर्चा छ । शेखर थापा प्रदेश १ सरकारमा वन मन्त्री समेत छन् । उनी लामो समयसम्म गिरिजाप्रसाद कोइरालाको स्वकीय सचिव भएर काम गरेका व्यक्ति हुन् । नेपाली काग्रेस मोरङका पूर्व कोषाध्यक्ष रहेका थापाले पनि यो क्षेत्रमा दाबी गरेका छन् ।

सुनीलको व्यक्तिगत प्रभावले पनि जित्ने आकलन संस्थापनइतरको छ । शर्मा ‘विवादित व्यक्ति’ भएकाले उनको ठाउँमा अन्यलाई उठाउनुपर्ने संस्थापन पक्षको तर्क छ । १४ औं महाधिवेशनमा मोरङ जिल्ला सभापतिमा पराजित दिलीप गच्छदार पनि यसै क्षेत्रमा उम्मेदवारको आकांक्षी छन् ।

क्षेत्र नम्बर ३ को पथरी शनिश्चरेको १, ४, १० वडा, कानेपोखरीको ४, ५, ६ र ७ वडा, सुन्दर हरैंचाको १, ८, १२ वडा, बेलबारीको १, ४, ८ र ११ नम्बर वडा पर्दछ । यी क्षेत्रका पालिका तथा धेरै वडामा यसपटक कांग्रेस पराजित भएको छ । पथरी शनिश्चरेको वडा नम्बर ४, कानेपोखरीको वडा नम्बर ४ मा कांग्रेस विजयी भएको छ । साथै, सुन्दर हरैंचाको वडा नम्बर १, बेलबारीको १,४ र ११ मा कांग्रेसले जितेको छ ।

मोरङ ५ मा लागि कांग्रेसबाट एक्ला आकांक्षी अमृत अर्याल हुन् । अघिल्लोपटक पराजित संस्थापन पक्षका उनी केन्द्रीय सदस्य हुन् । मधेसी मूलका मतदाता बढी रहे पनि यस क्षेत्रमा त्यही समुदायको उम्मेदवार उठाउन सम्भव नरहेको नेता घिमिरेको भनाइ छ ।

अमृत अर्याल ।

क्षेत्र नम्बर ५ मा विराटनगर महानगरपालिका १२ र १८ नम्वर वडा धनपालथान, जहदा र रंगेलीको ४, ७ वडा यस क्षेत्रमा पर्दछन् । धनपालथान र जहदामा विजयी कांग्रेस विराटनगरको १२ र १८ वडा र रंगेलीको ४ र ७ दुबैमा पराजित भएको छ ।

गत निर्वाचनमा मोरङ ६ बाट पराजित भएका नेता शेखर कोइराला सोही क्षेत्रबाट उठ्ने तरखरमा छन् । यस क्षेत्रमा संस्थापन पक्षका रमेशजंग रायमाझी र डिला संग्रौला पनि आकांक्षी छन् । गिरिजाप्रसाद कोइरालाको पुरानो क्षेत्र मोरङ २ मा प्रतिस्पर्धी बनेर मोरङ ६ मा शेखरले आफूलाई छोडिदिनुपर्ने तर्क गर्छन् रायमाझी । तर, शेखरले यो क्षेत्र नत्याग्नेमा उक्त समूह दृढ छ ।

‘व्यक्तित्वका कारण अन्यत्र गएर पनि तपाईं जित्नु हुन्छ भन्नसक्छन् । तर, पनि उहाँ यो क्षेत्र छोड्ने मनस्थितिमा हुनुहुन्न’, जिल्लामा शेखर निकट मानिने एक नेताले भने, ‘आफ्नो पनि क्षेत्र भएकाले आकांक्षा राख्नु स्वभाविक हो, तर शेखरलाई तिमी छोड भनेर जवरजस्ती गर्ने कसैको हैसियत छैन ।’

क्षेत्र नम्बर ६ मा बुढीगंगा सहित सुन्दरहरैंचाको २ र ७ वडा र विराटनगरको ४, ७, ९ र ११ नम्बर वडा पर्दछन् । बुढी गंगामा कांग्रेस विजयी भएको छ । सुन्दर हरैंचाको २ नम्बर वडामा निर्वाचित भएको कांग्रेसले विराटनगर महानगरकोे ७ र ९ मा जितेको छ ।

पेचिलो बन्दै मोरङ ४

स्थानीय तहका आफ्ना उम्मेदवारलाई टिकट वितरण सकेपछि कांग्रेस नेता गुरुराज घिमिरेले राजनीतिबाट विदा लिने मनसाय सहितको ट्वीट गरेका थिए । ‘सक्रिय राजनीतिबाट बिदा लिउँकी भन्ने लागेको छ । स्थानीय चुनावको लगत्तै निर्णय लिन्छु’, उनले लेखेका थिए । टिकट वितरणको क्रममा उनको भूमिकालाई गौण बनाइएपछि असन्तुष्टिका रुपमा घिमिरेको त्यो अभिव्यक्ति आएको थियो ।

मोरङका एक कांग्रेस नेताका अनुसार उनको असन्तुष्टि पार्टी सभापति देउवा वा नेता शेखर भन्दा पनि आफ्नै क्षेत्रका नेता महेश आचार्यप्रति थियो । मोरङ ४ का २३ वडा मध्ये कुनै पनि वडाको उम्मेदवार चयन गर्ने क्रममा आचार्यले घिमिरेसँग राय नै लिएनन् । आचार्यको व्यवहारबाट असन्तुष्ट घिमिरेले अनलाइनखबरसँग भने, ‘टिकट बाँड्दा उहाँ (महेश आचार्य) आफ्नो क्षेत्रमा शतप्रतिशत हाबी हुनुभयो । म त्यसै क्षेत्रको भएर पनि टिकट वितरण गर्ने क्रममा सल्लाह नै लिनुभएन ।’ अघिल्लोपटक घिमिरेले प्राप्त गर्न लागेको प्रदेश सांसदको टिकट समेत आचार्यले खोसेकाले घिमिरे थप रुष्ट हँदै गएको कतिपय जिल्ला नेता बताउँछन् ।

गुरु घिमिरे ।

आचार्यको व्यवहारबाट असन्तुष्ट बनेका घिमिरेले मोरङ ४ मा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । अघिल्लोपटक आचार्य यस क्षेत्रबाट पराजित भएका थिए । यस क्षेत्रमा परेका पालिका तथा वडामा कांग्रेस कमजोर देखिनुमा आचार्यको भूमिकामा घिमिरेले प्रश्न उठाउँछन् । ‘मोरङ ४ का २३ वटा वडामा कांग्रेसले १५÷१६ वटा जित्न सक्ने थियो । उहाँकै कारणले पराजय भोग्यौं । महानगरमा पञ्चायतकालदेखि जित्दै आएका वडामा पनि हार्‍यौं’, घिमिरेले भने ।

मोरङ ४ कै बासिन्दा तथा विराटनगरका पूर्व मेयर भीम पराजुलीले यसै क्षेत्रमा उठ्ने दाबी गरेका छन् । स्थानीय तहको निर्वाचन पश्चात् उनले प्रधानमन्त्री देउवालाई समेत भेटिसकेका छन् । देउवाले ‘कुनै भूमिका’ दिने भनेकाले केन्द्रको टिकटको उनलाई आशा छ ।

पराजुली भन्छन्, ‘चार नम्बर क्षेत्रमा उठ्ने योजनामा छु । महेश दाइले अब समानुपातिक बसेर सहयोग गर्नुपर्दछ ।’ अर्का नेता घिमिरे पनि आचार्यले समानुपातिकमा बसेर अरुलाई बाटो खाली गरिदिनुपर्ने तर्क राख्छन् । सांसद तथा मन्त्री पटक पटक भएकाले प्रत्यक्षमा आचार्यले रुचि देखाउन नहुने घिमिरे र पराजुलीको तर्क छ ।

महेश आचार्य ।

यस क्षेत्रमा अघिल्लोपटक माओवादी केन्द्रका उम्मेदवार विजयी भएका थिए । अघिल्लोपटक जितेको हुनाले माओवादीले यसपटक गठबन्धनबाट स्वभाविक दाबी गर्ने देखिन्छ । कांग्रेस संस्थापन पक्ष भने यस क्षेत्रमा अमृत अर्याललाई उम्मेदवार बनाउने पक्षमा देखिएको छ । संस्थापन पक्षका केन्द्रीय सदस्य समेत रहेका अर्याल मोरङ ५ बाट अघिल्लोपटक उठेका थिए । यस क्षेत्रमा पनि अघिल्लोपटक माओवादीले जितेको थियो ।

देउवा पक्ष अर्याललाई मोरङ ४ मा लगेर मोरङ ५ माओवादी केन्द्रलाई भागवण्डा गर्ने पक्षमा देखिएको छ । ‘मोरङ ४ माओवादीलाई दिने पक्षमा छैनौं । मोरङ ४ मा अमृत अर्याल उठाएर माओवादीलाई मोरङ ५ छोड्न सकिन्छ’, संस्थापन पक्षका एक जिल्ला नेताले भने ।

अघिल्लोपटक मोरङ ४ बाट विजयी अमनलाल मोदी भन्दा ५ बाट विजयी शिवनारायण मण्डल बलियो भएकाले कांग्रेसले मोरङ ५ छोड्ने पक्षमा देखिएको छ । मोरङ ५ मा अमृत अर्याल उम्मेदवार नबनेको अवस्थामा कांग्रेसका अन्य उम्मेदवार छैनन् । मधेसी समुदायको धेरै जनसंख्या रहेको यस क्षेत्रमा कांग्रेसबाट त्यही समुदायबाट उम्मेदवार हुने आकांक्षी पनि कोही देखिएका छैनन् ।

प्रदेश सांसदको टिकट पाउनका लागि संघीय संसदको टिकट ताकेर आधार बनाएको विश्लेषण समेत हुने गरेको छ । प्रदेश सभापतिमा पराजित गुरुराज घिमिरे मुख्यमन्त्रीको प्रत्यासी बनाउने बलियो आधार पार्टीले पेश गरे मात्रै केन्द्रको दाबी नगर्ने पक्षमा छन् ।

लेखकको बारेमा
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?