+
+

नेसन्स लिग : क्रोएसियासँग हार्‍यो फ्रान्स

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३१ गते ८:२०

३१ जेठ, काठमाडौं । साविक विजेता फ्रान्सले यूईएफए नेसन्स लिग दोस्रो हार बेहोरेपछि उपाधि रक्षा गर्ने  सम्भावना सकिएको छ ।

लिग ए अन्तर्गत समूह ए को खेलमा सोमबार राति घरेलु मैदानमै फ्रान्स क्रोएसियासँग १-० ले पराजित भयो । स्टेड डी फ्रान्समा भएको खेलमा क्रोएसियाका लागि कप्तान लुका मोडरिकले खेलको पाँचौ मिनेटमै पेनाल्टीमा गोल गरेका थिए ।

फ्रान्सका इब्राहिमा कोनाटेले एन्टे बुदिमिरलाई फाउल गरेपछि क्रोएसियाले पेनाल्टी पाएको थियो र त्यसमा मोडरिकले गोल गरे ।

करिम बेन्जेमा, केलियन एमबाप्पे र क्रिस्टोफर एनकुन्कु जस्ता युरोपका प्रमुख लिगहरूमा शीर्ष गोलकर्ता रहेका फ्रेन्च फरवार्ड लाइनले क्रोएसियाविरुद्ध गोल गर्न सकेन ।

डिडियर डेसच्याम्प्सको टोली चार खेलबाट दुई अंकसहित समूह ए को पुछारमा छ । चार खेलबाट ९ अंकसहित डेनमार्क शीर्ष स्थानमा छ । यसको अर्थ फ्रान्सले समूह विजेता बन्न सक्दैन र नेसन्स कपको फाइनलमा पुग्न सक्दैन । डेनमार्कले सोमबार राति अष्ट्रेलियालाई २-० ले हराएर तेस्रो जित निकाल्दा फ्रान्स अझै जितविहीन छ ।

प्रशिक्षक डेसच्याम्पसले पनि यस पटक राम्रो खेल्न नसकेको स्वीकार गरे । ‘नतिजाको हिसाबले जुन महिना कठिन थियो । हामीसँग धेरै शक्ति र बल थिएन, जुन विपक्षी टिमसँग थियो’ डेसच्याम्प्सले भने ।

‘हामीले अलिकति आत्मविश्वास गुमायौं तर यो हामीसँग नभएको ताजापनले गर्दा हो । जब तपाईं धेरै खेलहरू खेल्नुहुन्छ यो धेरै गाह्रो छ ।’

समूहका बाँकी खेलहरु अब सेप्टेम्बरमा हुनेछ र फ्रान्स रेलिगेसन जोगाउने योजनामा हुनेछ ।

लिग ए का चार समूहको शीर्ष स्थानको टिमहरु अन्तिम चारमा पुग्दा चार वटै समूहको पुछारका टिमहरु लिग बी मा रेलिगेट हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?