+
+
संसदमा अवरोध :

अर्थमन्त्रीको जवाफमा एमाले असन्तुष्ट, संसदीय छानबिनको अडान

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३१ गते २१:१०

३१ जेठ, काठमाडौं । मंगलबार प्रतिनिधिसभामा अर्थसहित १० वटा मन्त्रालयका लागि विनियोजित बजेटको शीर्षकगत छलफलमा उठेका प्रश्नहरुको मन्त्रीले जवाफ दिने कार्यसूची थियो ।

तर बैठक सुरु भएलगत्तै प्रमुख विपक्षी दल नेकपा एमालेका सांसदहरुले उठेर विरोध गरे । सभामुख अग्निप्रसाद सापकोटाले पार्टीको धारणा राख्न एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेलाई समय दिए ।

पूर्वअर्थमन्त्री समेत रहेका पाण्डेले बजेट निमार्णका क्रममा अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गरेर करको दर हेरफेर गरेको विषयमा सरकार र अर्थमन्त्रीको जवाफ माग गरे । पाण्डेले भने, ‘यति गम्भीर विषयमा प्रश्न उठेपछि अर्थमन्त्री त्यो पदमा बस्नको लागि सक्षम हुनुहुन्छ ? लायक हुनुहुन्छ ? यसको जवाफ संसदलाई चाहिन्छ ।’

एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले अर्थमन्त्री शर्माले संसदमा जवाफ नदिएको भन्दै अर्थ मन्त्रालयका लागि विनियोजन भएको बजेटको शीर्षकगत छलफलमा उठेका प्रश्नको जवाफ दिने विषय कार्यसूचीबाट हटाउन माग गरे ।

‘यति गम्भीर विषयमा प्रश्न उठिसकेपछि फेरि हामी नेकपा एमालेको तर्फबाट उहाँ (अर्थमन्त्री) का जवाफहरु सुन्न र उहाँको यो विषयमा छलफल गर्न बिल्कुल तयार छैनौं । आजको कार्यसूचीबाट यो हटाइयोस् । त्यसपछि मात्रै हामी अरु मन्त्रालयसँग सम्बन्धित कुरामा छलफल गरौंला ।’

बिहान अर्थमन्त्रीले जवाफ दिनुपर्छ, जवाफ नदिएसम्म अर्थ मन्त्रालयका लागि विनियोजन भएको शीर्षकगत छलफलमा उठेका प्रश्नहरुको जवाफ दिने कार्यसूची हटाउन माग गरेको एमालेले बेलुकी संसदीय समिति गठनको माग नै राख्यो ।

सभामुख सापकोटाले पनि यो विषयमा आफ्नो ध्यानाकर्षण भएको बताए । त्यसपछि संसद कार्यसूची अनुसार अगाडि बढ्यो । कार्यसूची अनुसार युवा तथा खेलकुद, कृषि विकास, शिक्षा विज्ञान तथा प्रविधि, खानेपानी र परराष्ट्र मन्त्रालयका लागि विनियोजन बजेटको शीर्षकगत रुपमा उठेका प्रश्नहरुको सम्बन्धित मन्त्रीले जवाफ दिए ।

परराष्ट्रमन्त्री नारायण खड्काले जवाफ दिइसकेपछि सभामुखले अर्थ मन्त्रालयको शीर्षकगत छलफलमा उठेका प्रश्नहरुको जवाफ दिने कार्यसूचीलाई अगाडि बढाएनन् ।
बरु अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गरेर करको दर हेरफेर गरेको आरोपमा प्रष्टीकरण दिन अर्थमन्त्री शर्मालाई समय दिए । त्यस क्रममा अर्थमन्त्री शर्माले आफ्नो बचाउ गर्दै भने, ‘बजेट निर्माण गर्दा राजस्वका दर चलाउन रातको १२ बजे कोही व्यक्ति आएको भन्दै भ्रामक र झुटो कथा बनाइएको छ ।’

मन्त्रीले सार्वजनिक महत्व वा संसदमा उठेको विषयमा जवाफ दिएपछि स्पष्टीकरण माग गर्न (प्रतिप्रश्न गर्न) समय दिने व्यवस्था प्रतिनिधिसभा नियमावलीमा छ ।

सोहीअनुसार सभामुख सापकोटाले अर्थमन्त्रीको जवाफमाथि स्पष्टीकरण सोध्न सांसदहरुलाई समय दिए । उनले लिखित पढ्दै भने, ‘प्रतिनिधिसभा नियमावलीको नियम २१९ को (२) बमोजिम माननीय अर्थमन्त्रीको वक्तव्यको सम्बन्धमा प्रश्न सोध्न चाहनुहुन्छ भने माननीय सदस्यहरुलाई म समय दिन्छु । प्रश्नकर्ता माननीय सदस्यहरुले विषयवस्तुमा केन्द्रित रही प्रश्न सोध्न सक्नुहुनेछ । उक्त वक्तव्यको सम्बनधमा प्रश्न सोध्न चाहनुहुने माननीय सदस्यहरुले आ–आफ्नो नाम सभामुखको ड्याससँगै बसेका कर्मचारीहरुलाई ३ मिनेटभित्र लिखि रुपमा उपलब्ध गराइदिनुहुन अनुरोध गर्दछु …।’

सांसदहरु प्रतिप्रश्न गर्दैछन् भन्ने अनुमानका साथ सभामुखले अगाडि हेर्दा एमाले सांसदहरु उभिइसकेका थिए । उनले एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईलाई बोल्न समय दिए ।

अरु बेला विषय के हो ? भनेर सोध्ने सभामुखले मंगलबार एमालेले के माग गर्न खोज्दैछ भन्ने अलमलमा परेर विषय के हो भनेर सोधेनन् । सिधै समय दिए । एमालेका प्रमुख सचेतक भट्टराईले करिब एक मिनेट बोलिसकेपछि सभामुखले ‘समय ३ मिनेट’ भनेर समय तोके ।

भट्टराईले जवाफ फर्काए, ‘अलिकति पुग्दैन सभामुख महोदय ।’ सभामुख सापकोटाले समय थपिदिए, ‘पाँच मिनेटमा सक्नुहोला ।’

भट्टराई कड्किए, ‘पहिला भन्नुभएन, अहिले बीचमा बोल्दा बोल्दै हस्तक्षेप गर्नुभयो ।’ त्यसपछि प्रमुख सचेतक भट्टराईले माग राखे – जेठ १४ गते राति अर्थ मन्त्रालयमा बजेट निर्माण भइरहेको ठाउँको सीसीटीभी फुटेज सार्वजनिक गरियोस् । …एमालेको अडान छ– बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नताबारे संसदीय छानबिन नभएसम्म यो सदनको कारवाही अगाडि बढ्न सक्दैन ।

बिहान अर्थमन्त्रीले जवाफ दिनुपर्छ, जवाफ नदिएसम्म अर्थ मन्त्रालयका लागि विनियोजन भएको शीर्षकगत छलफलमा उठेका प्रश्नहरुको जवाफ दिने कार्यसूची हटाउन माग गरेको एमालेले बेलुकी संसदीय समिति गठनको माग नै राख्यो ।

त्यसपछि सभामुख केही अलमलमा परे । एमाले सचेतक भट्टराईले ‘बोल्दा बोल्दै हस्ताक्षेप गरेको’ भनी गरेको कटाक्षको पनि जवाफ दिए । ‘बिहान विपक्षी दलको तर्फबाट स्पष्ट पारियोस् भन्ने आग्रह भयो । त्यस अनुसार मैले ‘मेरो ध्यानाकर्षण भयो’ भनेको थिएँ । त्यसको अर्थ सम्बन्धित माननीय मन्त्रीलाई आफ्ना कुराहरु राख्नका लागि मैले समय दिएँ । उहाँले आफ्ना कुरा राख्नुभयो । नियमावली अनुसार तपाईंहरुले यहाँ स्पष्टीकरण सोध्ने बेलामा हुन त माननीय सदस्य तपाईंले मलाई भन्नुभयो ‘हस्तक्षेप’ तपाईंहरुले हस्तक्षेप गर्नुभयो । म त पढ्दै छु त ।’

सभामुख सापकोटाले सांसदहरुको पनि प्रश्न लिने र अर्थमन्त्रीले जवाफ दिने प्रक्रिया अघि बढाएको बेला अवरोधकै नीति लिएकोमा असन्तुष्टि पोखे । ‘यो नियमावलीको पालना हामी सबैले गरौं । तपाईंहरुले स्पष्टीकरणमा भाग लिनुस् । यो सदनलाई अगाडि बढाऊँ’ सभामुख सापकोटाले प्रस्ताव गरे ।

तर एमाले सांसदहरुले मानेनन्, उनीहरु संसदमा उभिइरहे । पटक–पटक एमाले सांसदहरुलाई अर्थमन्त्रीसँग स्पष्टीकरणका लागि छुट्याएको समयको सदुपयोग गर्न आग्रह गरे । ‘स्पष्टीकरण सोध्नुस्, उहाँ (अर्थमन्त्री)ले स्पष्टीकण दिन पाउनुपर्‍यो नि त यो नियमावलीमै उल्लेख छ’ सभामुख सापकोटाले भने । तर एमाले सांसदहरु संसदीय समिति गठनको अडानमा कायमै रहेपछि संसद बैठक स्थगित भएको छ ।

बुधबार विहान ११ बजे बस्ने बैठककमा अरु मन्त्रालयको बजेटमा सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यक्रम छ । तर एमालेले भने बजेट निर्माणबारे छानबिनका लागि समिति नबन्दासम्म संसदको अवरोध कायमै रहने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?