+
+
समयान्तर :

स्वतन्त्रको उदय : अरबी विद्रोह नबिर्सौं

स्वतन्त्र र स्वस्फूर्त रूपमा भएको विद्रोहलाई तत्कालै कुनै विचार, सिद्धान्त र उचित राजनीतिक कार्यदिशाले सम्बोधन गरिएन भने ती विद्रोह कालान्तरमा प्रतिक्रान्ति र अस्थिरतामा बदलिने रहेछन् भन्ने सन्देश एक्काइसौं शताब्दीको दोस्रो दशकको सुरुवातसँगै भएको अरब विद्रोहले दिएको छ ।

मनिकर कार्की मनिकर कार्की
२०७९ असार १ गते ९:००

हालै सम्पन्न स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिका सहित देशका दुई ठूला उपमहानगरपालिका तथा अन्य केही स्थानीय तहहरूमा ठूला दलका उम्मेदवारलाई पाखा पार्दै ‘स्वतन्त्र’ व्यक्तिहरू जनप्रतिनिधि निर्वाचित भए । काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह निर्वाचित भए । पेशाले इन्जिनियर उनले युवापुस्तामाझ र्‍यापरको छवि बनाएका थिए । समसामयिक राजनीति र दलहरूलाई र्‍याप हान्दै घोचपेच र व्यङ्ग्य गर्ने उनी अहिले आफैं जनप्रतिनिधि भएका छन् । बालेन्द्र साहको चुनावी सफलताको मुख्य कारण शहरी नयाँ पुस्ताको साथ र सहयोग हो । अनि तिनले आफ्नो परिवारमा पारेको प्रभावकै कारण घरपरिवारले बालेन्द्र साहलाई मतदान गरे र उनी चुनाव जित्न सफल पनि भए । उनको विजयको स्पष्ट सन्देश हो, यदि युवापुस्ताले परिवर्तन चाहृयो भने घरबाटै परिवर्तन संभव छ । किनकि लोकतन्त्रमा नागरिकले परिवर्तनलाई आत्मसात् गर्ने एक भोटबाटै हो ।

काठमाडौंको चर्चापछि पूर्व धरानतर्फ लागौं । झण्डै १० वर्षको अन्तरालमा ‘धराने जनता’को सर्वनाममार्फत भुक्तभोगी जनताका दैनन्दिनका समस्या उजिल्याएर आफ्नो परिचय बनाएका हर्क राईले चुनाव जित्नु धराने जनताको विश्वास र भरोसा जित्नु हो । उनले जिते । उनले धराने जनताका लागि अहिलेसम्म जेजति गरे, त्यो नै उनको परिचय हो । त्यही आफूले गरेको कर्मकै आधारमा उनले लोकप्रियता कमाए र अन्ततः चुनाव पनि जिते । धरान उपमहानगरपालिका प्रमुखको पदभार ग्रहण गर्दैगर्दा उनले आफू जनताकै सेवकको रूपमा काम गर्ने वचनबद्धता गरेका छन् ।

त्यसैगरी पश्चिम नेपालको धनगढी उपमहानगरपालिकामा चुनाव जितेका अर्का स्वतन्त्र उम्मेदवार गोपाल हमालको परिचय भने सफल व्यवसायी हो । सायद आफ्नो व्यावसायिक सफलता र व्यावसायिक संघ-संस्थाहरूसँगको सम्बन्ध नै उनको विजयको मुख्य आधार हो । यी केही प्रतिनिधि दृष्टान्त अलवा अन्य स्थानीय तहहरूमा निर्वाचित स्वतन्त्र उम्मेदवारहरू भने मूलतः दलका बागी उम्मेदवारहरू नै हुन् । कतै दलहरूबीचको गठबन्धनका कारण उम्मेदवार हुनबाट वञ्चित त कतै पार्टीकै आन्तरिक समस्याका कारण स्वतन्त्र रूपमा चुनाव लडेका दलका स्वतन्त्र उम्मेदवारहरूले पनि आफ्नै बलमा चुनाव जितेका छन् ।

माथि उल्लेखित तीन विजयी उम्मेदवारहरूमध्ये हर्क राई र बालेन्द्र साहको चुनावी प्रचार विल्कुल अलग रहृयो । हर्क राईले आफ्नो चुनाव प्रचार आफैं गरे । उनले सकेसम्म सबै मतदातासमक्ष आफ्ना प्रतिबद्धता र धरानका समस्या उजागर गर्दै घरघर पुगेर चुनाव प्रचार गरे । उनको चुनावी प्रचार साधन भनेकै एउटा विद्युतीय रिक्सा, एउटा हाते माइक र लाउडस्पिकर, एकथान नेपालको राष्ट्रिय झण्डा र केही चुनावी पम्पप्लेटहरू । उता बालेन्द्र साहको चुनाव प्रचार शैली भने आधुनिक प्रकृतिको भर्चुअल वास्तविकताको सिर्जना गर्ने खालको थियो । उनका प्रचार टिमका सहयोगीहरूले ‘भर्चुअल क्याम्पेन’ र मिडिया क्याम्पेनमार्फत बालेनको भर्चुअल इमेज नै निर्माण गरिदिएका थिए ।

बालेन्द्रलाई एउटा इमेजको रूपमा भर्चुअल दुनियाँमा स्थापित गराइयो । उनका प्रचारकले कालो चश्मा, कोट र नेपालको झण्डा ओढेको एक स्केचलाई नै एउटा भर्चुअल मानकका रूपमा खडा गरिदिए । अनि काठमाडौंको सत्ताकेन्दि्रत राजनीतिलाई नजिकैबाट नियालिरहेका र त्यहाँको अव्यवस्थित शहरीकरणले निम्त्याइदिएको दैनन्दिनका उल्झनहरू झेल्न बाध्य भएका जनता त्यो भर्चुअल मानकप्रति आकषिर्त भए । सधैं मानक र नायककै खोजीमा रहने समाजले पनि त्यही भर्चुअल मानकलाई विकल्प देख्यो भने नयाँ पुस्ताले पनि उनैलाई नायक करार गरे । अनि विद्यमान राजनीतिक दल र तिनका नेतृत्वको सत्ता संघर्षका निर्लज्ज दृष्टान्तहरूबाट दिक्क भएका महानगरवासीहरूले दलीय उम्मेदवारलाई दुत्कारे र स्वतन्त्र रोजे ।

यसपटकको निर्वाचनमा स्वतन्त्रहरूको सफलताले दलहरूप्रतिको असन्तुष्टि र विकल्पको खोजीको सन्देश भने जबर्जस्त रूपमा दिएको छ । नागरिकलाई केवल भोट बैंक ठान्ने र ठूला दलको कथित ‘ब्रान्डेड’ चुनाव चिहृनबाट चुनाव लड्ने जो-कोहीले पनि सहजै चुनाव जित्न सक्छ भन्ने भ्रम भने यसपटक चिरिएको छ । जनताले ठूला र स्थापित भनिएका दलहरूको नीति, विचार, सिद्धान्त र उनीहरूको कार्यशैलीको पनि विकल्प खोज्दछन् भन्ने कुरालाई यसपटकको निर्वाचनमार्फत मतदाताले स्पष्ट रूपमा संकेत गरेका छन् । अहिले यसैको आडमा कतिपय व्यक्तिहरूले अब दलहरू असान्दर्भिक भएको तर्क समेत गर्न भ्याएका छन् । तथापि यिनै केही दृष्टान्तहरूलाई आधार मानेर दलीय युगको नै अन्त्य भयो र हुनुपर्छ भन्नु चैं बालहठ जस्तै हो । किनकि लोकतन्त्रमा दलको अन्त्य हुँदैन र दलहरू असान्दर्भिक पनि हुँदैनन् । हो, दलको विकल्पमा अरू दलहरू जन्मिन सक्छन् र जन्मिनु पनि पर्छ ।

संभवतः यसपटक स्वतन्त्र उम्मेदवारहरूले कमाएको चर्चा र उनीहरूले हासिल गरेका सफलताबाट आकषिर्त भएरै अहिले स्वतन्त्र उम्मेदवारी घोषणाको लहर चल्न थालेको छ । त्यसो त ‘जता हावा चल्यो, उतै पात हल्लिन्छ’ भने जस्तै बजारमा जेको मौसम छ, त्यही गर्न तम्सिनेहरूको जमात जहिल्यै खडा हुने गर्दछ । अक्सर लोकरिझ्याईंलाई नै आफ्नो मक्सद ठान्नेहरू त्यसो गर्ने गर्दछन् । ठूला र स्थापित भनिएका पार्टीहरूले पनि आफ्नो नीति, विचार, सिद्धान्तलाई नियमित रूपमा अपडेट गरिरहने र त्यसै अनुरूप समाजको विद्यमान अन्तरविरोधको पहिचान गरी समाधान गर्नेतिर कहिल्यै ध्यान दिएनन् । सधैं सत्ता र स्वार्थकेन्द्रित राजनीतिलाई अँगाल्दा दलहरूले जनताको विश्वास र भरोसा गुमाउँदै गएका छन् ।

अहिले देखिएको स्वतन्त्रहरूप्रतिको आकर्षणको मुख्य कारण नै त्यही हो । र स्वतन्त्र उम्मेदवारी घोषणाको दृश्यमा पनि त्यही कुरा झल्किन्छ । तर, के दलको विकल्प कुनै अमूक स्वतन्त्र व्यक्ति हुनसक्छ ? एकाध स्वतन्त्र व्यक्तिहरूले अर्थ-राजनीतिक परिवर्तनका जटिल कोर्स छिचोल्न सक्लान् ? जब नीतिगत र वैचारिक पक्षधरता देखाउनुपर्ने बेला आउँछ, स्वतन्त्रहरूबीच साँच्चिकै मतैक्यता हुनसक्ला ? अनि केही व्यक्तिहरूको स्वतन्त्र अभियानले अहिलेका आर्थिक, सामाजिक रूपान्तरणका जटिल गाँठो फुकाउन सक्ला ? राजनीतिमा स्वतन्त्र व्यक्तिहरूको पक्षपोषण गर्दैगर्दा यी र यस्ता प्रश्नहरूबारे पनि घोत्लिनु जरूरी हुन्छ ।
निश्चित रूपमा जनताले विकल्प खोज्छन् भने नयाँ पुस्ताले पनि राजनीतिक रूपमै विकल्प दिनुपर्दछ । व्यक्तिगत तवरबाट दिइने विकल्प क्षणिक हुन्छ । अपरिपक्व हुन्छ । केही स्वतन्त्र व्यक्तिहरूले चुनाव जितेर जनप्रतिनिधि बन्दैमा मुलुकको अर्थ-राजनीतिक संरचनामा परिवर्तन संभव हुँदैन । हो, केही व्यक्तिले सीमित ठाउँमा केही प्रशासनिक सुधारका कामहरू गर्न सक्छ । राज्यले प्रवाह गर्ने सेवालाई छिटोछरितो र आकर्षक तरिकाले प्याकेजिङ गरी वितरण गर्न पनि सक्छ । तर, त्यो सेवाको कन्टेन्ट परिवर्तन गर्न दलीय संरचनाको आवश्यकता पर्दछ । किनकि बहुदलीय लोकतन्त्रमा दलको विकल्प दल नै हुन्छ । बहुदलीय लोकतन्त्रको विकल्प निर्दलीय व्यक्तिहरू हुन सक्दैनन् ।

दलीय राजनीति अविच्छिन्न हुन्छ । दलीय राजनीति केवल सत्ता प्राप्तिकै लागि मात्र हुन्छ भन्नु गलत हो । संसारमा सत्ताको सुखभोग नगरेका तर समाजलाई केही न केही दिशाबोध गरिरहेका राजनीतिक दलहरू धेरै छन् । दलको निर्माण भनेको साझा थलोको निर्माण पनि हो । समाजको अन्तरविरोधको पहिचान गरी त्यसको समाधान निकाल्ने सामूहिक यत्न हो । अनि धेरैभन्दा धेरै मानिसलाई एउटा उद्देश्यमा हिंडाउने माध्यम पनि हो ।

त्यसैले लोकतन्त्रमा राजनीतिक दल भनेका साझा उद्देश्य र गन्तव्य पहिल्याउने साधन हुन् । दलको विचार, सिद्धान्त, दृष्टिकोण अनुसार राजनीतिक कार्यदिशा तय भएको हुन्छ र त्यही राजनीतिक कार्यदिशाका आधारमा दलमा व्यक्तिहरूको आवद्धता कायम रहन्छ । कुनै पनि दलमा आवद्ध धेरै व्यक्ति एउटा उद्देश्यप्रति प्रतिबद्ध भएर लागिपरेका हुन्छन् । धेरैभन्दा धेरै मानिसलाई एकै ठाउँमा उभ्याउने काम विचारले गर्दछ । राजनीतिक दलहरू भनेका विचारका संवाहक हुन् । त्यसैले लोकतन्त्रमा केही व्यक्तिलाई दलको विकल्प ठानिनुहुँदैन ।

आधुनिक समयका इतिहासकार युवाल नोअ हरारीले आफ्ना रचनाहरूमा मानिसहरू (सेपियन्स) द्वियथार्थताको बीचमा बाँचेका कुरालाई जोड दिएका छन् । पहिलो हो, वस्तुगत यथार्थता । जस्तै प्राकृतिक रूपमा उपलब्ध स्रोतसाधन, जीवजन्तु, हावापानी इत्यादि । दोस्रो हो, काल्पनिक यथार्थता । जस्तैः राज्य, अर्थतन्त्र, विचार, सिद्धान्त आदि । र, राजनीतिक दलले दोस्रो काल्पनिक यथार्थतालाई व्यक्तिको जीवनसँग नजिक्याउने काम गर्दछ । त्यसकारण दलहरूले नै समाजमा बृहत् सामाजिक अन्तरक्रियाको वातावरण निर्माण गरिदिएका हुन्छन् । त्यही अन्तरक्रियाले नै समस्या समाधान गर्दै समाजलाई दिशाबोध गर्न मद्दत गर्दछ ।

फेरि लोकतन्त्रमा गरिने लोकतान्त्रिक अभ्यासहरू मूलतः दलीय व्यवस्थामार्फत नै प्रतिबिम्बित हुने हो । लोकतन्त्र भनेको एकपटकको कार्य हैन, यो निरन्तर र नियमित चल्ने प्रक्रिया हो । लोकतान्त्रिक प्रक्रियामा हुने सबै परिघटनाहरू एउटा अविच्छिन्नताको शृङ्खलामा उनिएका हुन्छन् । त्यसको सार्वजनिक जवाफदेहिता र जनउत्तरदायित्व हुन्छ, जुन दलहरूले मात्रै पूरा गर्न सक्छन् । फेरि राज्यको संरचनागत परिवर्तनका सबै कामहरू दलीय संघर्ष र दलीय प्रयत्नबाट नै संभव छ । संसारका विकसित मुलुकहरूमा भएका राजनीतिक संघर्ष र संरचनागत परिवर्तनका आन्दोलनहरू कुनै पनि स्वतन्त्र व्यक्तिबाट संभव भएकै छैन । यदि आन्दोलनको उठान कुनै अमूक व्यक्तिबाट भएकै भए पनि अन्ततः त्यो प्रक्रियालाई व्यवस्थापन गर्दै नयाँ उपलब्धितर्फको यात्रा देखाउन राजनीतिक दल नै जरूरी हुन्छ ।

दलीय नेतृत्व बेगर भएको जुनसुकै परिवर्तनको आन्दोलन पनि अन्ततः कि त त्यसमा दलीय समर्थन प्राप्त भएर नयाँ गन्तव्यमा पुगेका छन्, कि त सफलतामा पुगेका आन्दोलनहरू पनि सेटब्याक भएर पुनरुत्थानतर्फ नै फर्किएका छन् । सन् २०१० मा ट्युनिसियाबाट सुरु भएको अरब स्पि्रङ भनिने अरबी क्रान्तिको सुरुवात सडकमा खानेकुरा बेचेर आफ्नो गुजारा चलाउँदै आएका एकजना सडक व्यापारी मोहमद बाउजिजीको आत्महत्याबाट सुरु भएको थियो । उनको ठेलागाडा विना कारण त्यहाँका सुरक्षाकर्मीले खोसिदिएपछि असहाय बनेका उनले आफैंले आगो झोसेर आत्मदाह गरे ।

बढ्दो महँगी, बेरोजगारी, भ्रष्टाचार, आर्थिक विषमता र बिन अलीको एकदलीय तानाशाही शासन व्यवस्थाको आगोमा पिल्सिएका ट्युनिसियाली जनता तिनै बाउजिजीको आत्मदाहबाट जुर्मुराए र आन्दोलनको आगो सल्कियो । अन्ततः त्यो आन्दोलन विद्रोहको लप्कोमा परिणत भयो । अनि आन्दोलनको सफलतासँगै राष्ट्रिय ढुकुटीको ब्रहृमलुट गरेर वर्षौंदेखि आम ट्युनिसियाली जनतालाई शोषण गर्दै आएका त्यहाँका तानाशाह बिन अलि र उनको परिवार खर्बौंको सम्पत्ति कुम्ल्याएर साउदी अरबमा शरण लिन पुग्यो । पछि ट्युनिसियामा अन्तरिम सरकार बन्यो । तर, स्वस्फूर्त रूपमा सम्पन्न भई सफलता पाएको विद्रोहले राजनीतिक दलीय आकार ग्रहण गर्न नसक्दा र कुनै सर्वस्वीकार्य नेतृत्व निर्माण हुन नसक्दा आन्दोलनका उपलब्धिहरू क्रमशः क्षयीकृत हुँदै गए र तीन वर्षको अन्तरालमा त्यहाँ प्रतिक्रान्ति नै भयो ।

ट्युनिसियाली विद्रोहबाट अन्तर्राष्ट्रियकरण भएको अरबी क्रान्ति एक्काइसौं सदीको दोस्रो दशकको पहिलो विद्रोहको रूपमा इतिहासमा दर्ज हुनपुग्यो । ट्युनिसियाली सफल क्रान्तिले समग्र अरब जगतलाई नै हल्लाइदियो । ट्युनिसियाली विद्रोहको ज्वाला अल्जेरिया, मौरिटानिया, यमन, इजिप्ट, सिरिया, लिबिया हुँदै साउदी अरबसम्म पुग्यो । ती कति देशमा विद्रोह तत्कालका लागि सफल भए पनि दीर्घकालमा भने त्यहाँ राजनीतिक अस्थिरता र प्रतिक्रान्ति नै हुन पुगे । त्यो किन पनि भयो भने ती सबै जसो देशहरूमा भएको आन्दोलन वा विद्रोह स्वस्फूर्त जनताको तहबाट भएको थियो । स्वतन्त्र र स्वस्फूर्त रूपमा भएको विद्रोहलाई तत्कालै कुनै विचार, सिद्धान्त र उचित राजनीतिक कार्यदिशाले सम्बोधन गरिएन भने ती विद्रोहहरू कालान्तरमा प्रतिक्रान्ति र अस्थिरतामा बदलिने रहेछ भन्ने सन्देश एक्काइसौं शताब्दीको दोस्रो दशकको सुरुवातसँगै भएको अरब विद्रोहले दिएको छ ।

नेपालकै दृष्टान्त दिने हो भने पनि दुई वर्षअघि कोरोनाकालमा ‘इनफ इज इनफ’ को ब्यानरमा केही जागरुक युवाहरूको अगुवाई र आहृवानमा भएको जनप्रदर्शनलाई लिन सकिन्छ । निकै ठूलो उत्साह र जनसहभागिताका साथ भएको उक्त विरोध कार्यक्रमले कुनै स्पष्ट उपलब्धि हासिल गर्न भने सकेन । आखिर इनफ इज इनफ एउटा आन्दोलनको रिहर्सल जस्तो मात्रै हुन पुग्यो ।

अर्को कुरा संसारमा कुनै पनि मुलुकमा स्वतन्त्र तवरबाट नै संरचनागत परिवर्तन हुने गरी संघर्षहरू भएका छैनन् । ती सबै देशमा भएको आन्दोलन, क्रान्ति र परिवर्तनको पछाडि राजनीतिक दल त हुन्छ, हुन्छ । त्यसैले अहिले पनि स्वतन्त्र युवाहरूले जसरी चुनावी अभियानहरू संचालन गरिरहेका छन् उनीहरूले चुनाव पनि जित्न सक्छन् । तथापि ती केही युवाहरूले गर्ने भनेको प्रशासनिक काममा सुधार मात्र हो । कुनै निश्चित इलाकामा सेवा प्रवाहलाई चुस्त, दुरुस्त बनाउने मात्र हो । केही व्यक्तिको पहलबाट राजनीतिक रूपमा राज्यको अर्थ-राजनीतिक उपरी संरचना बदल्न सकिंदैन ।

त्यसको लागि स्वतन्त्रले हुँदैन, अहिलेको नेपाली समाजको विद्यमान अन्तरविरोध पहिचान गरी त्यसलाई ठिक समाधान दिने विचार, सिद्धान्त, दृष्टिकोण अपरिहार्य हुन्छ । अनि त्यही दृष्टिकोण अनुसारको राजनीतिक कार्यदिशा भएको दलको जन्म अपरिहार्य हुनेछ । राजनीतिमा सिर्जना हुने अविच्छिन्न उत्तरदायित्व वहन गर्न पनि दल त चाहिन्छ नै । त्यसैले मौजुदा राजनीतिक दलहरू पुराना भए, तिनको नीति, विचार र कार्यक्रम पुरानो भयो । नेतृत्व प्रौढ र आउटडेटेड भयो भन्दै गर्दा दललाई बहिष्कार गरेर गैरदलीय स्वतन्त्र व्यक्तिहरूले सबै समस्या चुट्कीको भरमा समाधान गर्छन् भन्ठान्नु मृगमरीचिका मात्र हो ।

बरु सही चैं बदलिएको समय अनुसार आजको युग सुहाउँदो दल र नेतृत्व निर्माणका लागि सामूहिक पहल गर्नु हो । इतिहासमा धेरैपटक समय अनुसारको पार्टी बनाउनुपर्छ भन्दै धेरै प्रयत्न भए, गरिए । तर, ती कुनैले पनि सफलता पाउन सकेनन् । यदि साँच्चिकै यो मुलुक र मुलुकवासीको भविष्य सोच्ने हो भने नयाँ पुस्ताले आर्थिक अवस्था फेर्ने उद्देश्यसहितको राजनीतिक संगठन निर्माण गर्नुपर्छ । आफ्नै बुतामा निर्माण गरिने पार्टीबाट नै नयाँ पुस्ताले राजनीतिक यात्रा सुरु गर्नुपर्छ ।

समाजमा दलप्रति असन्तुष्टि छ भनेर गैरदलीय लोकतन्त्रको वकालत गर्दै भ्रमको खेती गर्नु उचित हुँदैन । किनकि गैरदलीय लोकतन्त्रले मुलुकको अर्थ-राजनीतिक रूपान्तरण संभव छैन । दलको नेतृत्व खराब हुनसक्छ । काम गर्न नसक्ने हुनसक्छ । तर, लोकतन्त्रमा दलको विकल्प पनि दल नै हो भन्ने कुरालाई बिर्सनुहुँदैन ।

लेखकको बारेमा
मनिकर कार्की

वैकल्पिक अर्थतन्त्रमा रूचि राख्ने कार्की अर्थराजनीतिक विषयमा कलम चलाउँछन् । उनको नियमित स्तम्भ ‘समयान्तर’ प्रकाशित हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?