+
+
सम्झनामा मेलम्ची बाढीको एक वर्ष :

मानिसले नबुझे पनि प्रकृति यति निर्मम नभइदेओस्

जगत देउजा जगत देउजा
२०७९ असार १ गते १८:२९

आजको ठिक एक वर्ष पहिले मेलम्ची नदीमा अकल्पनीय बाढी आएको थियो । १ असार २०७८ मा मानिसहरू कामबाट घर फर्किंदै थिए । उक्त दिन बाढीले नोक्सान पुर्‍याएको तल्लो भेगमा वर्षा भएकै थिएन ।

मेलम्ची नदीमा भने एक्कासी लेदो मिसिएको बाढी आयो । करिब दुई दर्जन मानिस नदीसँगै बेपत्ता भए । तिनको लास समेत भेटिएन । माथिल्लो भेगका मानिसले फोन मार्फत तल्लो भेगका मानिसलाई जानकारी नगराएको भए योभन्दा बढी मानवीय क्षति हुन सक्दथ्यो ।

नदी आसपासका त के कुरा गर्नु र, धेरै टाढाको बस्तीमा समेत भूकम्प आएको माथि डाँडाको बस्ती समेत बाढीले नराम्ररी हल्लाएको थियो । नदीले बगाएको घर, सम्पत्ति, पशुपक्षी, खेती र जग्गाको त कुनै हिसाब नै छैन । ७ हजार रोपनी धान हुने खेतसँगै सयौं घर बगाएको थियो । सयौं परिवार छिनभरमै सुकुम्बासी हुन पुगेका थिए । धेरैले आफ्नो व्यवसाय गुमाए ।

भूकम्पले सबभन्दा बढी नोक्सान गरेको मेलम्ची उपत्यकावासीले ऋण–धन गरेर नयाँ घर बनाएको धेरै भएकै थिएन । केही युवा उद्यमीले ट्राउट माछा पालन गरेर प्रशस्त उत्पादन गरिरहेका थिए । दूध, तरकारी, पशुपालन र लगभग खाद्यान्नमा पनि आत्मनिर्भर भइसकेको मेलम्ची उपत्यका विस्तारै उठ्दै थियो । ती सबै असार १ को बाढीले पूरै तहसनहस बनाइदियो ।

अहिले बाढीको कारण नदीको दुवैतर्फको ठूलो भाग बगर बनेको छ । नदी सतहको उचाइ बढेको छ । त्यसभन्दा पहिले हरियो र हेरिरहूँ लाग्ने भेग उराठलाग्दो भएको छ । बालुवा र ढुंगाको मात्रा धेरै बढेकाले बालुवा र ढुंगा तातेर गर्मी बढेको छ ।

यस वर्ष फेरि वर्षात् सुरु भएको छ । मेलम्ची नदीमा बनाइएका कल्भर्टहरू बन्द भइसकेका छन् । जसरी गत वर्ष मेलम्ची भेगका मानिसलाई आउजाउ, बिरामी उपचार आदिमा समस्या भयो । यही वर्ष पनि त्यस्तै समस्या दोहोरिने देखिंदैछ ।

यसबीचमा मेलम्ची नदीको खास खास ठाउँमा बलिया तटबन्धहरू बनाउन सकिन्थ्यो । त्यसतर्फ केही काम हुन सकेन । धेरै पटक संघीय र प्रदेश सरकारका प्रधानमन्त्री, मन्त्री, मुख्य मन्त्रीहरूले उक्त क्षेत्रको भ्रमण पनि गर्नुभयो । ठोस कार्य केही भएन ।

घरबारविहीनहरूमध्ये कतिपय अझै अस्थायी बासमा नै रहनुपरेको छ । करिब ४०० परिवार विस्थापित भएर अन्यत्र गएका छन् । केही खाडीतिर भासिएका छन् । मेलम्ची नदीबाट केही महिनाको लागि अस्थायी प्रबन्ध गरेर पानी ल्याउने कार्य भयो ।

३६ करोड खर्च भएको भनिएको आयोजनाबाट एक महिना पनि गतिलोसँग उपत्यकावासीले पानी पाएनन् । त्यसको उद्घाटनमा कति खर्च भयो ? हामी सर्वसाधारणलाई थाहा हुने कुरा भएन ।

प्रतिनिधिसभामा विनियोजित बजेट शीर्षकको छलफलमा जवाफ दिने क्रममा खानेपानी मन्त्रीले एशियाली विकास बैंकले नदीको उद्गमस्थल भेमाङथाङमा अध्ययन गरिरहेको र सोको प्रतिवेदनको आधारमा अर्को वर्ष आवश्यक कार्य गर्ने बताए ।

यो वर्ष नदीले केही गरेन भने त अर्को वर्ष पनि केही गर्न सकिएला तर यही वर्ष गत वर्षको जस्तै भेमाङथाङमा थुप्रिएको बालुवा आयो भने गत वर्षको भन्दा बढी क्षति गर्न सक्छ । यही त्रासले नदी वरपर र सिंगो क्षेत्रका नागरिक चिन्तामा छन् ।

नदीमा अकल्पनीय बाढी के कारणले आयो ? उक्त विषय पत्ता लगाएर विश्वमा उपलब्ध प्रविधि अपनाएर जोखिम न्यूनीकरणमा जुन कार्य हुनुपर्ने हो, भएन । अचम्म त के भएको छ भने मेलम्ची नदीको सिपाघाटदेखि करिब मेलम्ची बजारसम्मै यस वर्ष पनि क्रसर मेसिन राखेर बालुवा र गिटी दोहन कार्य रोकिएन ।

वैज्ञानिकहरूका अनुसार तल्लो क्षेत्रको दोहनले नदीको मुहानसम्म नै असर पुग्दछ । जमिन गुमाउनेहरूले पनि कुनै क्षतिपूर्ति पाएनन् । यो विषय सरकारले सुन्न पनि चाहेको छैन ।

अघिल्लो वर्ष वर्षा सकिनासाथ यसका कारणलाई सम्बोधन हुने गरी जुन गम्भीरतापूर्वक काम हुनुपर्दथ्यो, भएन । अहिले फेरि वर्षा लागिसकेको छ । यस वर्ष कम क्षति होस् भन्नाको लागि के गर्न सकिन्छ ? त्यसमा ध्यान जानुपर्‍यो । स्थानीय, प्रदेश र संघीय सरकारले के के गर्ने ? स्पष्ट हुनुपर्‍यो ।

कम्तीमा पनि मौसम विभागले जारी गर्ने वर्षा सम्बन्धी बुलेटिन त्यस क्षेत्रका सबै नागरिकले थाहा पाउने गरी कसरी प्रसारण गर्ने ? अन्य कुनै संयन्त्र हुनसक्छ कि ? यस विषयमा ध्यान जानुपर्‍यो । त्यस क्षेत्रको वैकल्पिक बाटो सुुचारु गराइराख्न आवश्यक जनशक्ति र साधनको प्रबन्ध हुनुपर्‍यो । ताकि कम्तीमा बिरामीले अकालमा ज्यान गुमाउनु नपरोस् ।

बढी जोखिम भएका नदी आसपासका घरहरूलाई अस्थायी प्रबन्ध गरेर भए पनि अन्यत्र सार्नुपर्ने हो भने त्यसमा पनि ध्यान पुग्न आवश्यक छ । एडीबीले गरेको भनिएको अध्ययन कार्य कहाँ पुग्यो ? सकिएको भए सोको प्रतिवेदन सार्वजनिक हुनुपर्‍यो । अध्ययन सकिएको छैन भने पनि प्रारम्भिक नै भए पनि बाहिर ल्याउनु राम्रो हुन्छ ।

मेलम्ची बाढीको खास कारण के हो ? यसको पहिचान गरी त्यसलाई ठोस सम्बोधन हुनेगरी कार्य हुनुपर्‍यो । अर्कोतर्फ बाढीले पुर्‍याउने सम्भावित क्षति कम गर्न आवश्यक उपाय अवलम्बन गरिनुपर्दछ । यस नदीले पुर्‍याएको आर्थिक र सामाजिक क्षतिको अध्ययन गरी क्षतिपूर्तिका साथै दिगो जीविकोपार्जनमा मद्दत पुर्‍याउने गरी कार्य गर्न सरकारले किञ्चित ढिला गर्नुहुन्न ।

सञ्चारमाध्यमबाट थाहा पाए अनुसार भेमाङथाङमा एअरपोर्ट आकारमा थ्रेगिनी छ । अलिकति पानी परेपछि नै यो सक्रिय हुन्छ र बग्न थाल्छ । त्यसैले यो यस वर्ष पनि झर्ने नै होला । आशा गरौं, यो वर्ष नझरोस् । मानिसले बुझ्न नसके पनि प्रकृति आफैं धेरै निर्दयी नभइदिए हुन्थ्यो ।

(देउजा मेलम्चीवासी हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?