+
+

नेपाल अमेरिकासँग ३९ रनले पराजित

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २ गते ६:१२

२ असार, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा भएको श्रृङ्खलाको अन्तिम खेलमा नेपाल अमेरिकासँग ३९ रनले पराजित भएको छ ।

आरिफ शेख र सोमपाल कामीले कीर्तिमानी साझेदारी गरेपनि अमेरिकाले दिएको २४६ रनको लक्ष्य पछ्याएको नेपाल २०६ रन मात्र बनाउन सक्यो ।

यस श्रृङ्खलामा नेपालको यो दोस्रो हार हो । चार खेल मध्ये एक जित र एक बराबरीबाट नेपालले ३ अंक मात्र जोड्न सक्यो । अंकतालिकामा १६ खेलबाट १५ अंकसहित नेपाल पाँचौ स्थानमा छ । अमेरिका २४ खेलबाट २३ अंकसहित चौथो स्थानमा छ ।

आरिफ र सोमपालले छैटौं विकेटका लागि १०६ रनको साझेदारी गरेपनि नेपाललाई जितसम्म पुर्‍याउन सकेनन् ।

नेपाललाई अन्तिम ५ ओभरमा ५० रन भन्दा कम चाहिएको अवस्थामा दुव खेलाडी ४५औं ओभरमा आउट भएका थिए ।

९३ रनमै ५ विकेट गुमेको अवस्थामा आरिफ र सोमपालले कीर्तिमानी शतकिय साझेदारी गरेका थिए । छैटौं विकेटका लागि नेपालको यो अहिलेसम्मको ठूलो साझेदारी हो ।

यसअघि छैटौं विकेटका लागि २०२० मा कुशल मल्ल र विनोद भण्डारीले अमेरिका विरुद्ध नै ८४ रनको साजेदारी गरेका थिए ।

नेपालका लागि आरिफले सर्वाधिक ६३ रन बनाए भने सोमपालले ४७ रन जोडे । यसबाहेक देव खनालले ३४, आसिफ शेखले १८, रोहित पौडेलले १६ र कुशल भुर्तेलले १० रन बनाए ।

आदिल अन्सारी ४, करण केसी १ रनमा आउट भए भने कप्तान सन्दीप लामिछानेले खाता खोल्न सकेनन् । नेपालले अन्तिम ७ रन जोड्दा ५ विकेट गुमाएको थियो ।

नेपाललाई अलआउट गर्न अमेरिकाका सौरभ नेत्रभाल्कर र अली खानले ३-३ विकेट लिए । नोसथुस केन्जिगले र निसर्ग पटेलले समान १ विकेट लिए । नेपालका दुई खेलाडी रनबउट भए ।

त्यसअघि मोसा क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २४५ रन बनाएको थियो ।

अमेरिकाका लागि गजानन्द सिंहले सर्वाधिक ५८ रन बनाउँदा सुशान्त मोदानीले ५४ रन बनाए । यस्तै आरोन जोन्सले ४३ र साइतेजा मुम्मकामालाले ३६ रन जोडे ।

करण केसीले स्टेभेन टेलर (१) र कप्तान मोनाक पटेल (४) लाई सुरुमै आउट गरेपनि मोदानी र जोन्सले ८८ रनको साझेदारी गर्दै अमेरिकाको इनिङ्सलाई अघि बढाएका थिए ।

नेपालका करण केसीले ३, सन्दीप लामिछानेले २ तथा सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले समान १ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?