 
																						२ असार, काठमाडौं । नेपालमा पनि ‘मंकीपक्स’ भाइरसको संक्रमणसँग मिल्दोजुल्दो लक्षण भएका बिरामी फेला परेका छन् । काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारमा आएका एक युवकमा मंकीपक्सको संक्रमणसग मिल्दोजुल्दो लक्षण दिएको हो ।
दुबईबाट हालै नेपाल आएका ती युवकलाई टेकु अस्पतलमै भर्ना गरेर उपचार गइरहेको उपचारमा संलग्न एक चिकित्सकले अनलाइनखबरलाई बताए ।
अस्पतालको स्रोतका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको हेल्थ डेस्कले दुबईबाट नेपाल आउँदा उनमा ‘मंकीपक्स’ भाइरस संक्रमणको आशंका गरेर टेकु पठाएको थियो ।
शंकास्पद बिरामी २७ वर्षीय नेपाली युवक रहेको चिकित्सकले जानकारी दिए । ‘बिरामीको हिस्ट्री लिँदा सात दिनदेखि लगातार ज्वरो आएको पाइएको छ । उनमा ‘मंकीपक्स’ लक्षण देखिएकाले हेल्थ डेस्कले टेकु पठाएको थियो,’ ती चिकित्सकले भने, ‘शरीरमा ‘मंकीपक्स’ भाइरसको जस्तो धेरै राता फोका छन् ।’
मंकीपक्स’ भाइरसको परीक्षण नेपालमा नहुने नभएकाले यो विषयमा के गर्ने भनेर छलफल भइरहेको उनले जानकारी दिए । ‘मंकीपक्स’ भाइरस पुष्टि गर्न पहिला हामी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाछौं । त्यसपछि कहाँ परीक्षण गर्न लैजाने थाहा हुन्छ’ ती चिकित्सकले भने ।
‘मंकीपक्स भाइरस’ संक्रमित जनावरको शरीरबाट निस्कने तरल पदार्थ अथवा रगतबाट मानिसमा सर्ने गर्छ । विशेषत अफ्रिकी मुसा वा बाँदरबाट यो मानिसमा संक्रमण गर्न सक्छ । सरुवा रोग विशेषज्ञ डा. शेर बहादुर पुनका अनुसार ‘मंकीपक्स भाइरस’ मानिसबाट मानिसमा भने थुकको छिटा, खुल्ला छाला, मुख, आँखामा भाइरस परे सर्न र संक्रमण गर्न सक्दछ । चिकित्सकका अनुसार संक्रमितसँग नजिकमा रहने व्यक्तिमा ‘मंकीपक्स’ सर्ने जोखिम हुन्छ ।
अहिले मंकीपक्स देखिरहेको देशमा भाइरसको स्वरुप परिवर्तन भएकाले महामारीका रुपमा फैलनसक्ने खतरा पनि उत्तिकै रहेको संक्रामक रोग विशेषज्ञ डा. प्रभात अधिकारी बताउँछन् । उनका अनुसार यो भाइरसका दुई प्रकारका पहिचान भएका छन् । एक, मध्य अफ्रिकाको एउटा भेरियन्ट, जसले रोगको बढी लक्षण देखाउँछ र पश्चिम अफ्रिकामा पाइने अर्को भेरियन्ट, जसले हल्का लक्षण मात्रै देखाउँछ । ‘मध्य अफ्रिकाको भेरियन्टले १० प्रतिशत र पश्चिम अफ्रिकामा पाइने भरियन्टले २ देखि ३ प्रतिशत मृत्यु गराउने पाइन्छ,’ डा. अधिकारीले अनलाइनखबरसँग भने, ‘मध्य अफ्रिकाको भेरियन्टले कोरोना भन्दा तीन गुणा बढी मृत्यु गराउँछ ।’
तर, अहिले फैलिएको भेरियन्ट पश्चिम अफ्रिकामा पाइने भेरियन्ट (कम घातक) चाहिँ हो । ‘यो भाइरस सामान्यता मानिसमा खुल्ला छाला र थुकको छिटाबाट सर्ने देखिएको छ । तर, युरोपतिरका केसहरु हेर्दा कहाँबाट सर्यो भन्ने पहिचान हुन सकेको छैन । भाइरसले सर्ने स्वरुप परिवर्तन गरेको हो कि भन्ने डर भइरहेको छ,’ उनी भन्छन् ।
चिकित्सकका अनुसार संक्रमण भएको ५ देखि २१ दिनसम्ममा ‘मंकीपक्स’ को लक्षण देखिने गर्छ । ज्वरो आउनु, टाउको र जिउ दुख्नु, जाडो लाग्नु, लिम्फ ग्रन्थीहरु सुन्निनु यसका प्रारम्भिक लक्षणहरु हुन् ।
यी लक्षण देखिएको १ देखि ३ दिनसम्ममा अनुहार तथा शरीरका अन्य भागमा बिबिराहरु देखिन थाल्छन् र ती चिलाउँछन् । पछि पानी फोका हुँदै, फुट्दै, सुक्दै जान्छन्, तर दाग बसिरहन सक्छ । ‘मंकीपक्स’ सामान्यतया २ देखि ४ हप्तामा आफैँ निको हुने गर्दछ । तर झन्डै दश संक्रमित मध्य एकको भने जटिलताको कारणले मृत्यु हुने देखिएको संक्रामक रोग विशेषज्ञहरु बताउँछन् ।
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4