+
+

के चिया कम पिए पाकिस्तानको अर्थतन्त्र सुध्रिन्छ?

विनीत खरे विनीत खरे
२०७९ असार ३ गते १०:५५
Photo Credit : GETTY IMAGES

३ असार, काठमाडौं । पाकिस्तानका केन्द्रीय योजना तथा विकास मन्त्री एहसान इकबालले देशको आर्थिक अवस्था सुधार्नका लागि भन्दै जनतालाई चिया कम पिउन आग्रह गरेका छन् ।

एक भाइरल भिडियोमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘म अपिल गर्न चाहन्छु कि हामी प्रत्येकले एक कप-दुई कप चिया घटाउनुपर्छ, किनभने हामीले जुन चिया आयात गर्छौं, त्यो पनि ऋण लिएर आयात गरिन्छ ।’

एहसान इकबालको भनाइमा कडा प्रतिक्रिया आएको छ ।

रेहम खानले ट्वीटरमा लेखेकी छिन्, ‘पहिले आधा रोटी, अब चिया पनि कम गर ? चियामा कुनै मजाक छैन सर ।’

गुलजार दोस्त बलोच नामक ट्वीटर ह्यान्डलबाट आधा कप चियाको फोटोसहित लेखिएको छ, ‘यो आधा कप तपाईंका लागि ।’

आक्रोशित पाकिस्तानी पत्रकार मेइद अलीले भने, ‘यो आम मानिससँग गरिएको मजाक हो। यदि चियाको कप घटाउँछौ भने, यहाँ चिया कसले पाइरहेको छ र ? यहाँ पेट्रोल र अन्य मूल्यका कारण मानिसहरू खराब अवस्थामा छन् । उनले लज्जास्पद कुरा गरेका छन् । यी नेताहरू आफ्ना जनताबाट त्यति टाढा छन् जति हामीलाई थाहा छ।’

पाकिस्तानको आर्थिक अवस्था किन नाजुक छ ?

  • पाकिस्तान लामो समयदेखि नराम्रो आर्थिक संकटबाट गुज्रिरहेको छ ।
  • जुलाईमा १६ अर्ब डलर रहेको पाकिस्तानको विदेशी मुद्रा कोष यस वर्षको जुनको पहिलो साता १० अर्ब डलरमा झरेको छ ।
  • पाकिस्तानले लामो समयदेखि आईएमएफबाट ऋण लिने प्रयास गरिरहेको छ ।
  • ऋण दिनु अघि आईएमएफले पाकिस्तान सरकारलाई इन्धनमा सरकारी अनुदान समाप्त गर्ने लगायतका कठोर नीतिगत निर्णयहरू लिन माग गरेको छ।

मन्त्री इकबालको जवाफ
उनको बयानको तीव्र आलोचनाको बीचमा, एहसान इकबालले ट्विटरमा एक स्क्रिनसट शेयर गरे, जस अनुसार पाकिस्तानले सन् २०२० मा करिब ५९० मिलियन डलरको चिया आयात गरेको थियो। यो सूचीमा पाकिस्तानको नाम शीर्ष स्थानमा थियो ।

यसअघि पाकिस्तानले विदेशी मुद्रा बचत गर्न विलासिताका सामानको आयातमा प्रतिबन्ध लगाएको थियो ।

सन् २०२० मा इमरान खानको पालामा पनि उनको पार्टीका सदस्य रियाज फतियानाले मूल्य बढेमा चिनी र रोटीको खरिद घटाउन नागरिकलाई आग्रह गरेका थिए ।

चियाको सबैभन्दा ठूलो आयातकर्ता पाकिस्तान

पाकिस्तान विश्वमा सबैभन्दा बढी चिया आयात गर्ने देश हो।

पाकिस्तान चिया एसोसिएसनका प्रमुख जावेद इकबाल पराचाका अनुसार पाकिस्तानले हरेक वर्ष २३ देखि २४ करोड किलोग्राम चिया आयात गर्छ, जसमा पाकिस्तानको वार्षिक आयात खर्च करिब ४५ करोड डलर रहेको छ ।

उनी भन्छन्, ‘चिया पाकिस्तानी जनताको लागि लाइफलाइन जस्तै हो ।’

केन्द्रीय मन्त्री एहसान इकबालको बयान यस्तो समयमा आएको हो जब पाकिस्तान कठिन आर्थिक अवस्थाको सामना गरिरहेको छ र त्यहाँ खाद्यान्न र अन्य वस्तुको मूल्यवृद्धिले आम जनतामा समस्या बढेको छ।

पाकिस्तानको विदेशी मुद्रा सञ्चिति फेब्रुअरीमा १६ अर्ब डलर थियो । यो जुनको पहिलो हप्तामा १० अर्ब डलरमा झरेको छ । यो रकमले दुई महिनाको मात्रै आयात खर्च तिर्न सकिन्छ ।

कमजोर बन्दै गएको अर्थतन्त्रलाई बचाउन पाकिस्तानले अन्तर्राष्ट्रिय मुद्रा कोषलाई आशाको आँखाले हेरिरहेको छ । पाकिस्तानमा तेलमा दिइने अनुदान घटाउन केही दिनमा तेलको मूल्य तीन पटक बढाइएको छ ।

२६ मेदेखि हालसम्म पेट्रोलको मूल्यमा ८४ पाकिस्तानी रुपैयाँले वृद्धि भएको छ ।

चिया र अर्थव्यवस्था

पाकिस्तान चिया एसोसिएसनका प्रमुख जावेद इकबाल पराचाले केन्द्रीय मन्त्री एहसान इकबालको भनाइलाई राजनीतिक वक्तव्य भएको प्रतिक्रिया दिए । उनका अनुसार पाकिस्तानमा चियाको खपत घटाउन सम्भव छैन ।

उनी भन्छन्, ‘हाम्रोमा चिया खानेकुरा नै हो । यो पेयपदार्थ होइन, विलासिताको वस्तु होइन। गरिबले एक कप चिया र रोटी खाएर छाक टार्छ ।’

पाकिस्तानमा धेरै वर्षदेखि प्रतिव्यक्ति चियाको वार्षिक खपत एक केजीमा स्थिर रहेको भए पनि प्रत्येक वर्ष जनसंख्या साढे दुईदेखि तीन प्रतिशतले बढ्दै गएकाले चियाको खपत पनि बढेको छ ।

पाकिस्तानमा चियाको वार्षिक उत्पादन १० टन छ र यो केवल ५० हेक्टरमा खेती गरिन्छ। जसका कारण पाकिस्तानले धेरैजसो चिया आयात गर्नुपर्छ ।

पाकिस्तानमा आयात हुने अधिकांश चिया केन्या, तान्जानिया, युगान्डा र बुरुन्डी जस्ता पूर्वी अफ्रिकी देशहरूबाट आउँछन्। यी देशबाट चिया किन्नुका पछाडि कम मूल्यबाहेक अर्को एउटा कारण पनि छ ।

जावेद इकबाल पराचा भन्छन्, ‘त्यहाँ चिया बनाउन कम खर्च हुन्छ, जसलाई पाकिस्तानी उपभोक्ताले मन पराउँछन्। उदाहरणका लागि, चार चम्चा चिया छ जना मानिसका लागि पुग्छ। अरू कुनै क्षेत्रमा उत्पादन हुने चिया प्रयोग गर्ने हो भने दुईगुणा खर्च हुन्छ । (पूर्वी अफ्रिकी देशमा तयार बनाइएको) चिया कम खर्च हुन्छ ।’

तपाईं कम चिया खर्च गरेर पैसा जोगाउन सक्नुहुन्छ, तर मुद्रास्फीतिले पाकिस्तानमा चियालाई पनि छोडेको छैन।

त्यहाँ एक किलो चियाको मूल्य ८५० पाकिस्तानी रुपैयाँ पर्छ । जावेद इकबाल पराचाका अनुसार करिब चार महिनाअघि चियाको मूल्य एक सय रुपैयाँभन्दा कम थियो ।

पाकिस्तानको आर्थिक संकट

यस्तो अवस्थामा मन्त्री एहसान इकबालको चिया कम पिउने आग्रहले पाकिस्तानको आर्थिक अवस्था कस्तो छ र उसका लागि आईएमएफको सहयोग कति महत्वपूर्ण छ भन्ने संकेत गर्दैन र ?

पाकिस्तानी अर्थशास्त्री परवेज ताहिर मन्त्री एहसान इकबालले यस्तो भन्न नहुने तर्क गर्छन् ।

उनी भन्छन्, ‘अहिलेको अवस्था यस्तो छ कि तपाईंले आईएमएफले भनेको सबै कुरा मान्नुपर्छ। तपाईंसँग कुनै विकल्प छैन। म जस्तो आईएमएफलाई कहिल्यै समर्थन नगर्ने व्यक्तिले पनि आईएमएफ भनेको कुरा मानौं भनिरहेको छु । किनभने यो वित्तीय घाटाको कुरा होइन, चालु खाता घाटाको कुरा पनि हो, हामीले विश्वलाई १६–१७ अर्ब रुपैयाँ फिर्ता गर्नुछ, त्यो ऋण लिएरै फिर्ता गर्नुपर्नेछ ।’

पाकिस्तानको संघीय राजस्व बोर्डका पूर्व प्रमुख सैयद शब्बर जैदी न मन्त्री एहसान इकबालको भनाइलाई गम्भीरतापूर्वक लिन्छन् न त अहिलेको सरकारलाई नै ।’

पीटीआई प्रमुख इमरान खानको सरकारले बहुमत गुमाएपछि शाहबाज सरिफको नेतृत्वमा विभिन्न दलको समर्थनमा बनेको सरकारले पाकिस्तानमा शासन गरिरहेको छ ।

सैयद शब्बर जैदी भन्छन्, ‘हाम्रो पहिलो प्राथमिकता हाम्रो ७० अर्ब डलरको आयात खर्चलाई ६५ अर्ब डलरमा झार्नु हो किनभने हामीले ७० अर्ब डलरको आयात खर्च धान्न सक्दैनौं। हामीले एक-एक डलर बचत गर्नुपर्छ।’

उनी भन्छन्, ‘पाकिस्तानको मुद्दा यो हो कि मानिसहरू यहाँ रमाइलो जीवन बिताइरहेका छन्।’

उनी अगाडि थप्छन्, ‘पाकिस्तानमा जनजीवन खराब छ भन्ने गलत धारणा तपाईहरूलाई हुनसक्छ । मैले मुम्बई, दिल्ली, आगरा देखेको छु। मेरो बुबा आगराबाट पाकिस्तानमा बसाइँ सरेका थिए। हामी भारतलाई राम्ररी चिन्छौं। पाकिस्तानमा मध्यम वर्ग निकै सहज अवस्थामा छ।’

पाकिस्तानी अर्थशास्त्री परवेज ताहिरका अनुसार यस्तो समय समय जब पाकिस्तानको कमाईको ८० प्रतिशत हिस्सा ऋण तिर्नमै जान्छ, यद्यपि पाकिस्तान पुरानै अवस्थामा फर्कनेछैन ।’

हालै पाकिस्तानका अर्थमन्त्री मिफ्ता इस्माइलले तेलको मूल्य बढाउने जस्ता कठिन कदम नचालेको भए पाकिस्तानको हालत श्रीलंकाजस्तै हुने बताएका थिए ।

परवेज ताहिर भन्छन्, ‘पाकिस्तानको अर्थतन्त्रको उत्पादनमा आयातले ठूलो भूमिका खेल्छ, र निर्यातको तुलनामा आयात छिटो बढ्छ। जब पाकिस्तानले ४-५ प्रतिशतको वृद्धिदरले माथि जान प्रयास गर्‍यो भने भुक्तानी सन्तुलनको समस्या जन्मन्छ। यसको मतलब यहाँमा मूल्य श्रृंखला छैन।’

पाकिस्तानको अर्थतन्त्रमा एफएटीएफ निर्णयको प्रभाव्

फाइनान्सियल एक्सन टास्क फोर्स अर्थात् एफएटीएफको बैठक जुन १७ सम्म बर्लिनमा चल्ने छ । पाकिस्तानी मिडियाले अनुमान लगाइरहेका छन् कि पाकिस्तान टास्क फोर्सको ग्रे लिस्टबाट निस्कन सक्छ ।

एफएटीएफ एउटा यस्तो अन्तर्राष्ट्रिय संस्था हो जसले सम्पत्ति शुद्धीकरण र आतंकवादलाई आर्थिक रूपमा पहुँचयोग्य बनाउने जस्ता खतरा न्यूनीकरणका लागि काम गर्छ ।

पाकिस्तान सन् २०१८ देखि एफएटीएफको ग्रे लिस्टमा छ र यो सूचीमा पर्दा देशमा लगानी वा आर्थिक गतिविधिमा असर पर्ने विश्वास गरिन्छ।

सय्यद शब्बर जैदी पाकिस्तान सूचीबाट बाहिर निस्कने विश्वास व्यक्त गर्दै भन्छन्, ‘किनभने हामीलाई जे भनियो, हामीले त्यही गर्‍यौं ।’

अर्थशास्त्री परवेज ताहिरका अनुसार एफएटीएफको निर्णय र आईएमएफको पाकिस्तानप्रतिको कदम अन्तरसम्बन्धित छन् ।

यदि पाकिस्तानलाई एफएटीएफको ग्रे लिस्टबाट हटाइयो भने यो पाकिस्तानलाई ऋण दिने काममा अगाडि बढ्न आईएमएफलाई दिइने एकप्रकारको ग्रीन सिग्नल हुने ताहिर बताउँछन् ।

तर यदि पाकिस्तान अझै पनि यो सूचिमा रहिराख्यो भने उसका लागि यो धेरै ठूलो समस्या बन्नेछ ।

(दिल्लीस्थित बीबीसी संवाददाता विनीत खरेको सामग्रीको भावानुवाद)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?