+
+

दाङमा सडक खन्दा ५३७ ऐतिहासिक सिक्का भेटिए   

रासस रासस
२०७९ असार ४ गते २०:३५

४ असार, तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका–४ रक्षाचौरमा परम्परागत सिक्का भेटिएका छन् । बिहीबार त्यस स्थानमा सडक ट्रयाक खन्ने क्रममा सिक्का भेटिएका हुन् । गोटीखोलाबाट सीमरामा सडकको नयाँ ट्रयाक खोल्ने क्रममा डोजर चालकले ती सिक्का भेट्टाएका थिए । त्यहाँ दुईवटा डोजरले सडक  खनिरहेका थिए ।

सिक्का भेट्टाएपछि दुवै चालकले भागबण्डा गर्ने सहमति गरेका थिए । चालक सुवास चौधरी र राजन खड्काले त्यहाँ जेसिभी चलाएका थिए । उनीहरूमध्ये सुवासले सडक खन्ने क्रममा ती सिक्का भेट्टाएका थिए । तर सिक्का राजनले पनि आफ्नो भागमा पार्नुपर्ने माग गरेपछि सुवासले नदिँदा यो कुरा बाहिर आएको छ ।

त्यसपछि राजनले सम्बन्धित जग्गावालालाई जानकारी दिए । तुलसीपुर–४ रक्षाचौर निवासी शोभा भण्डारीको जग्गामा उक्त सिक्का भेटिएको हो । त्यसपछि जग्गाधनीले त्यहाँ सिक्का भेटिएको कुरा प्रहरीलाई जानकारी गराएका थिए ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक बखतबहादुर शाहीका अनुसार ५३७ सिक्का भेटिएका छन् । तीमध्ये ७६ वटा एक रुपैयाँ लेखेका भारतीय सिक्का र ४६१ वटा श्री ३ लेखिएका नेपाली सिक्का रहेका छन् । ती सिक्का तुलसीपुर–१५ निवासी सुवासले घर लगेका थिए ।

सिक्का भेटिएको कुरा जग्गाधनीले प्रहरीलाई खबर गरेपछि प्रहरीले अनुसन्धान गर्दा सुवासकै घरमा लुकाइ राखेको अवस्थामा बरामद गरेको हो । अनुसन्धनकै क्रममा सातवटा सिक्टा घरमा भुइँमा खसेको अवस्थामा भेटिएपछि ती सिक्का खोजतलास गर्न सहज भएको थियो ।

सिक्कामा विसं १८०० तथा पृथ्वीनारायण शाह लेखिएको प्रहरीले बताएको छ । यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । भेटिएका सिक्का सम्बन्धित निकायमा पठाउने प्रहरी निरीक्षक शाहीले बताए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?