+
+

५ देखि ११ वर्षका बालबालिकाले लगाउने २२ लाख खोप नेपाल आइपुग्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ५ गते १४:०९

५ असार, काठमाडौं । पाँचदेखि ११ वर्षका बालबालिका लागि २२ लाख डोज कोरोना विरुद्धको फाइजर खोप नेपाल आइपुगेको छ ।

कोभ्याक्स सुविधामार्फत अमेरिकी सरकारको सहयोगमा पहिलो चरणमा २२ लाख ३ हजार २ सय मात्रामा फाइजर खोप आइतबार दिउँसो त्रिभुवन विमानस्थलमा आइपुगेको हो ।

सो खोप आइतबार बेलुकीसम्म प्रदेश स्तरका खोप भण्डारण केन्द्रमा पठाउने तयारी रहेको स्वास्थ्य सेवा विभागका व्यवस्थापन महाशाखा अन्तर्गतको आपूर्ति शाखाका फार्मेसी अधिकृत बडेबाबु थापाले जानकारी दिए ।

‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खोपको चेकजाँच भइरहेको छ । प्रदेशस्तरमा आवश्यक फाइजर खोप आजै पठाउने तयारी छ’, थापाले अनलाइनखबरसँग भने ।
परिवार कल्याण महाशाखाका अनुसार ३९ लाख बालबालिकाका लागि दुई चरणमा कोरोनाविरुद्धको खोप सञ्चालन गरिनेछ ।

पहिलो चरणमा २७ जिल्लाका १९ लाख बालबालिकालाई ९ देखि १५ असारसम्म पहिलो मात्रा दिइनेछ  । पहिलो चरणमा पहिलो डोज खोप लिएकालाई साउन २ देखि ८ गतेसम्म दोस्रो डोज दिइनेछ । वाग्मती प्रदेशका ७ जिल्लामा आवश्यक पर्ने खोप टेकुमा राखी अरू जिल्लामा आइतबार नै पठाइने थापाले जानकारी दिए ।

यस्तै, दोस्रो चरण ५० वटा जिल्लामा भदौ ५ देखि ११ गतेसम्म पहिलो डोज सञ्चालन हुनेछ भने भदौ २७ देखि असोज १ सम्म दोस्रो डोज दिइने महाशाखाले जनाएको छ ।
‘आज पहिलो चरणको खोप आइपुगेको छ । भण्डारण कक्षको पनि अभाव हुने भएकाले हामीले चार पटकमा गरी ८४ लाख खोप ल्याउनेछौं’, थापाले भने ।

महाशाखाका अनुसार देशैभरका विद्यालयमा खोप केन्द्र तोकी खोप कार्यक्रम सञ्चालन हुनेछ । यो खोप बालबालिकालाई ०.२ एमएलका दरले दुई डोज लगाउनुपर्छ ।

फाइजर खोपको पूर्ण रूपमा कायम गर्न अल्ट्रा कोल्डचेन (माइनस ४४ देखि माइनस ८० डिग्री सेल्सियस) तापक्रममा भण्डारण गर्नुपर्ने हुन्छ । फाइजरलाई माइनस १५ देखि माइनस २५ डिग्री सेल्सियसमा ३१ दिनसम्म मात्रै भण्डारण गर्न सकिन्छ ।

पहिलो चरणमा ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई पहिलो चरणमा प्रदेश नं १ का झापा, मोरङ, सुनसरी, मधेश प्रदेशका सप्तरी, धनुषा, पर्सा, सिरहा र महोत्तरी, बागमती प्रदेशका काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, काभ्रे र सिन्धुली जिल्लाकाले खोप पाउनेछन् ।

त्यसैगरी, लुम्बिनी प्रदेशका पश्चिम नवलपरासी, रुपन्देही, बाँके, दाङ, कपिलवस्तु र बर्दिया, कर्णाली प्रदेशका सुर्खेत तथा सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर र डडेलल्धुरामा खोप कार्यक्रम सञ्चालन गरिने परिवार कल्याण महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?