+
+

‘लाउरे’को अनुभव : ‘निकोटिन हुन्छ भनेर भुटेको भात पनि खाँदिन थिएँ, ड्रगिस्ट भएँ !’

विकास रोकामगर विकास रोकामगर
२०७९ असार ६ गते १९:५२

५ असार, पोखरा । लाहुरेको सहर पोखरा । त्यही सहरमा जन्मे-हुर्के, आशिष राना । मगरको छोरो । जान्ने-बुझ्ने हुँदै जाँदा उनलाई पनि लाग्यो, ‘लाहुरे बन्छु ।’

गाउँ-समाजमा लाहुरेको रवाफिलो जीवनले उनलाई मोहनी लगायो सायद । एसएलसीको पढाइ सकाएर मिसिए लाहुरे बन्ने होडमा । बिट्रिश आर्मी बनेर सुकिलो जीवन बिताउने रहरले आशिषलाई लोभ्याइरह्यो ।

उनी यसैको तयारी गर्न थाले । छरितो, फूर्तिलो अनि जोशिलो ज्यान । शारीरिक-मानसिक रुपमा पूर्ण रुपमा आफूलाई तयार गरे । अन्ततः लाहुरमा भिडे ।

उनी अन्तिम चरणसम्म पुगे । तर त्यसपछिको यात्रामा ठेस लाग्यो । उनी रोकिए । सानैदेखि सँगालेको सपनामा यति ठूलो धक्का लाग्छ भन्ने उनले सोचेकै थिएनन् । लाहुरे बनेर शानदार जीवन व्यतीत गर्ने रुमानी सपनाको अनायास पटाक्षेप भयो । उनलाई झट्का लाग्यो ।

आखिरमा उनी डिप्रेसनग्रस्त भए ।

समय गुज्रिंदै गयो । उनले आफूलाई सम्हाले, अब नयाँ सपनाको विजारोपण जो गर्नु थियो । कलेज भर्ना भए । कलेजमा लाहुरे सपनाबाट असफलताको स्वाद पाएका उनी मात्रै थिएनन् । थुप्रै सहपाठीहरु उनीजस्तै लाहुरे सपना पोखरा बगरस्थित ‘ब्रिटिश गोर्खा क्याम्प’बाटै कहिल्यै पूरा नहुने गरी तुहिएको थियो ।

टिनएज सकिंदै गरेको चञ्चले हृदय । दुःख, अभाव, असफलता र बाध्यतासँग लामो साक्षात्कार नगरेको युवा उमेर । साथीभाइ पनि उस्तै । डिप्रेसनबाट भाग्न उनी एकाएक लागूऔषधको सहारामा पुगे । केही समयअघि उनी लागूऔषध सेवन गर्दागर्दै रंगेहात पक्राउ समेत परे । हिरासतमा उनले ५६ दिन बिताउँदै धरौटीमा रिहा भए ।

लागूऔषधसम्बन्धी अध्ययन, अनुसन्धान गरिरहेका स्रोत व्यक्तिका अनुसार करिब ९० प्रतिशत सेवनकर्ताले सुरुमा चुरोट लगायत धुवाँजन्य नसाबाट सुरु गर्छन् । तर आशिषको विषयमा भने अलि फरक छ । उनी स्कुल पढ्दा चुरोट त परकै कुरा भुटेको भात समेत नखाने गरेको सुनाउँछन् ।

उनको एक मात्र सपना लाहुरे भएकाले भुटेको भात समेत खाँदैन थिए । किनकि उनलाई कसैले सुनाएको थियो, ‘भुटेको भातमा निकोटिन हुन्छ । ज्यानलाई असर गर्छ ।’

आफ्नो जीवनमा वास्तविक लाहुरे नभए पनि नेपालकै चर्चितमध्येका एक र्‍यापर ‘लाउरे’ बने । फिल्ममा खेले, अभिनेता बने । रियालिटी शोहरुमा प्रवेश पाए, निर्णायक बने । तर उनी एकाएक कसरी ‘ड्रग’ सेवन गरेकै कारण हिरासतसम्म पुग्नुपर्‍यो । आखिर लाउरे कसरी ‘ड्रगिस्ट’ भए त ?

फाइल तस्वीर

सोमबार पोखरा सभागृहमा उनले आफ्नो अनुभव सयौं युवासँग बाँडे । जिल्ला प्रहरी कार्यालय कास्कीले आयोजना गरेको लागूऔषधविरुद्धको एकहप्ते अभियानको उद्घाटन समारोहमा उनले सांंगीतिक प्रस्तुतिसँगै लागूऔषधका बेफाइदाबारे आफ्नो अनुभव बाँडेका हुन् ।

लागूऔषध सेवन छाडेपछि र्‍यापर ‘लाउरे’लाई अहिले जिल्ला प्रहरी कास्कीले लागूऔषधविरुद्धको अभियानको ‘आइकन’ बनाएको छ । प्रस्तुत छ, लाउरेले युवा विद्यार्थीसँग बाँडेको अनुभवको सम्पादित अंशः

त्यो उमेरमा म लाहुरे देखाउँदै थिएँ । १७-१८ वर्षको उमेर थियो । जीवनमा कहिल्यै चुरोट नखाने । लाहुरे ट्रेनिङ गर्नेबेला मैले भुटेको भात, पोलेको मासु पनि खाँदिन थिएँ । त्यसमा निकोटिन हुन्छ र त्यसले स्टामिनामा फरक पार्छ भन्ने थियो ।

फुल डेडिकेसनका साथ आफूले गरेको काम असफल हुँदा मान्छेमा फ्रस्टेसन हुँदो रहेछ । ब्रिटिश लाहुरेबाट फलिएपछि त्यही फ्रस्टेसन ममा पनि उत्पन्न भयो । लाहुरेबाट फालिएपछि कलेज छिरें । तपाईंहरुजस्तै (कार्यक्रममा सहभागी हुन आएका विद्यार्थी) कलेजको स्टुडेन्ट थिएँ ।

कलेजमा मात्रै थिइनँ, मजस्तै लाहुरेबाट फालिएका अरु पनि साथी थिए । उनीहरु र ममा के समान भयो भन्दा हामी सबैले मनमा एउटै दुःख बोकेर आएका थियौं । कमन फिलिङ्स सेयरिङ भयो । विस्तारै उनीहरुको लहैलहैमा लाग्न थालें । त्यतिबेला मैले स्टार्ट (ड्रग्स) गरें । यद्यपि अहिले त्यो मेरो लाइफकै नराम्रो डिसिजन भन्ठान्छु ।

अहिले तपाईंहरु पनि त्यही एजमा हुनुहुन्छ । त्यही सिचुएसन हुन सक्छ भनेर तपाईंहरुसँग आफ्नो कुरा सेयर गर्नुपर्छ भन्ने लागेको हो । ड्रग्स खान सुरु भएपछि मेरो जीवन विस्तारै अव्यवस्थित हुन थाल्यो । यो भनेको एकैचोटि हुने होइन रहेछ ।

विस्तारै विस्तारै एक दिन दुई दिन गर्दै, महिना गर्दै, वर्ष हुँदै जीवनमा धेरै अनम्यानेज हुँदै गयो । धेरै कन्सर्टहरु गुमाउनुपर्‍यो । विदेशमा कन्सर्टहरु पनि छाड्नुपर्‍यो । धेरै अवसर छाड्नुपर्‍यो ।

यो लागूऔषधमा के हुँदो रहेछ भन्दा खाँदा फाइदाभन्दा बेफाइदा धेरै हुने रहेछ । एड्भान्टेज भनेको जिरो, सबै डिसएडभान्टेज मात्रै । जीवन एकदमै सुन्दर छ । यसको दलदलबाटै जतिसक्दो चाँडै निस्किनुपर्छ । बाहिर आमाबुवा छन््, साथीसंगी छन् ।

युवापुस्तामा के हुँदो रहेछ भने ‘ड्रग्स लिएँ भने म आफ्नो काममा फोकस गर्न सक्छु । अझ राम्रो गर्न सक्छु’ भन्ने हुँदो रहेछ । यो गलत मानसिकता हो, एकदमै गलत । किनकि आफ्नै दिमागभित्र भएको चीजलाई बाहिर निकाल्न अरु केहीको सहारा लिनुपर्छ भने लाग्दैन मलाई । त्यो भनेको आफ्नै मनमा, दिमागमा छ नि त । जबसम्म मनमा आँट र दिमागमा सीप छ भने कसैले अरु कुनै सहारा लिनुपर्दैन ।

आजको यो कार्यक्रममा कतिधेरै स्कुलका भाइबहिनी देखिरहेको छु । ड्रग्स मात्रै एउटा प्रोब्लम होइन, अरु पनि लाइफमा धेरै प्रब्लम हुन्छन् । जुनले तपाईंहरुलाई काम गर्दा अप्ठेरो बनाइराखेको हुन्छ ।

आजभोलिका बच्चा, युवापुस्ताहरुले फेसबुक, टिकटकमा लेखिराखेको देख्छु, ‘लाइफ इज टु लङ ।’ तर म के सोच्छु भने जीवन धेरै छोटो छ । मान्छेको औसत आयु ७० वर्ष हो । त्यो ७० वर्षमा प्रोडक्टिभ हुने भनेको ३० वर्ष मात्रै हो । अगाडि २० वर्ष बच्चा नै हुन्छ त्यसपछिको २० वर्ष रोगसँग लड्दै बिताउनुपर्छ । त्यसैले जे गर्ने यही ३० वर्षको उमेर बीचमा हो । लास्टमा आएर आफ्नो छायाँ नै आफ्नो साथी हो, सबैले आफैंले आफैंलाई मोटिभेट गर्नुहोस् है !

लेखकको बारेमा
विकास रोकामगर

पोखरामा रहेर पत्रकारिता गरिरहेका रोकामगर अनलाइनखबरको गण्डकी प्रदेश ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?