+
+

११ महिनामा १७ खर्ब ६३ अर्बको आयात, व्यापार घाटा १६ खर्ब नजिक

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ७ गते २१:१०
फाइल तस्वीर

७ असार, काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को ११ औं महिना (साउन–जेठ)सम्म वैदेशिक व्यापार २० खर्ब नजिक पुगेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार जेठ मसान्तसम्म १९ खर्ब ४९ अर्ब ६ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । यो गतवर्ष यसै अवधिको तुलनामा २९.५ प्रतिशत बढी हो ।

गत वर्ष ११ महिनामा १५ खर्ब ४ अर्ब रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो । यस अवधिमा १७ खर्ब ६३ अर्ब २२ करोड रुपैयाँको आयात भएको छ । निर्यातः १ खर्ब ८५ अर्ब ८३ करोड रुपैयाँको भएको छ । यसबाट मुलुकको व्यापारघाटा १५ खर्ब ७७ अर्ब रुपैयाँ कायम भएको भन्सार विभागले जानकारी दिएको छ । गत वर्ष यसै अवधिमा व्यापार घाटा १२ खर्ब ६२ अर्ब रुपैयाँको थियो ।

आयातको वृद्धिदर उस्तै

चालु आवको सुरुवाती महिनाबाटै नेपालमा उच्च आयात भएको थियो । यो ११औं महिनासम्म निरन्तर रह्यो । यो वर्ष १७ खर्ब ६३ अर्बको आयात भएकोमा गत वर्षको यसै अवधिको तुलनामा २७.५ प्रतिशत वृद्धि भयो ।

गत आवको ११ महिनामा १३ खर्ब ८३ अर्ब रुपैयाँको आयात भएको थियो । निर्यातको वृद्धिदर भने ५३.३ प्रतिशत रहेको छ । गत वर्षको यसै अवधिमा निर्यात व्यापार १ खर्ब २१ अर्ब रुपैयाँ रहेको छ ।

यस वर्ष वैदेशिक व्यापारमा आयातको हिस्सा ९०.४७ प्रतिशत हुँदा निर्यात ९.५३ प्रतिशत रहेको छ ।

पेट्रोलियम पदार्थको आयात ३ खर्ब ४० अर्ब

११औं महिनासम्म सबैभन्दा धेरै पेट्रोलियम पदार्थको आयात भएको छ । यसका लागि मुलुकको ३ खर्ब ४० अर्ब रुपैयाँ विदेशिएको छ ।

फलाम तथा स्टिलको आयातमा १ खर्ब ५३ अर्ब रुपैयाँ बाहिरिएको छ । यस्ता वस्तुको निर्यातबाट भने मात्र २ अर्ब ७३ करोड रुपैयाँ प्राप्त भएको छ । १ खर्ब १३ अर्बको विद्युतीय सामग्रीको आयात हुँदा ९३ अर्ब रुपैयाँ बराबरको सवारी साधन र यसको पार्टपुर्जा आयात भएको छ ।

नेपालबाट सबैभन्दा धेरै निर्यात बनस्पति तेल भएको छ । यस अवधिमा ९० अर्ब १९ करोड रुपैयाको तेल निर्यात भएको छ । नेपालले १६५ भन्दा धेरै मुलुकसँग वैदेशिक व्यापार गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?