+
+
Shares

प्राधिकरणका हाकिम र हवाई कम्पनीका मालिकबीच जुँगाको लडाइँ : मारमा यात्रु

अच्युत पुरी अच्युत पुरी
२०७९ असार ७ गते १९:३६
प्रदीप अधिकारी र रामेश्वर थापा

७ असार, काठमाडौं । नेपाल वायुसेवा सञ्चालक संघले बुधबारदेखि सबै प्रकारका उडान (उद्धार र आपतकालीनसमेत) रोक्ने घोषणा गरेको छ ।

संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले नेपाल नागरिक उड्डयन प्राधिकरणले दमनकारी नीति लिएको भन्दै विरोध गर्नु बाध्यता भएको बताए । ‘हामी ३९/४० अर्बको पोर्टफोलियो भएका वायुसेवा कम्पनी हौं, राज्यलाई करोडौं कर तिर्छौं, तर प्राधिकरणले दमनकारी नीति ल्यायो, हामीलाई ट्रक व्यवसायी जस्तै व्यवहार गर्‍यो,’ मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले भने ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि मंगलबार नै पत्रकार सम्मेलन गरी वायु सेवा कम्पनीलाई हड्तालमा नजान चेतावनी दियो । महानिर्देशक प्रदीप अधिकारीले भने, ‘यो सेवा हड्ताल गर्न नपाइने क्षेत्र हो भन्ने नभुल्नू, विमानस्थलमा ठाउँ साँघुरो भयो, एउटा जहाज उडाउने कम्पनीले दुई वटा बस गुडाउँछ, एयरपोर्ट टेम्पो पार्किङ हो र ?’

वायुसेवा कम्पनी सञ्चालक र नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीबीचको यस्तै जुहारीले अन्ततः हवाई यात्रु मर्कामा परेका छन् । वायु सेवा कम्पनी सञ्चालकको भनाइले बुधबारदेखि यात्राका लागि टिकट लिएका यात्रु प्रभावित हुने भएका छन् । यसले वैदेशिक रोजगारीमा जानेदेखि उपचारका लागि आपतकालीन अवस्थामा यात्रा गर्नुपर्ने यात्रुसम्म समेत मारमा पर्ने भएका हुन् । तर, दुवै पक्ष एकले अर्काे पक्ष लचक नभएसम्म आफ्नो अडान नछाड्ने भएसँगै बुधबारबाट उडान रोकिने देखिएको छ । यसले दैनिक १५ हजारसम्म यात्रुको यात्रा प्रभावित हुन्छ ।

किन अकस्मात उडान रोकिने अवस्था आयो ?

नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपालमा उडान सुरक्षालाई थप सुदृढीकरण र उडान सञ्चालन कार्यलाई थप व्यवस्थित गर्न भन्दै एक सर्कुलर जारी गर्‍यो । सर्कुलरमा उल्लेख भएका ६ बुँदामध्ये ५ र ६ नम्बर बुँदाका कारण वायुसेवा कम्पनी सञ्चालक रिसाएका हुन् ।

५ नंम्बर बुँदामा भनिएको छ, ‘हवाइजहाज सञ्चालक कम्पनीहरुले १३ असारदेखि तोकिएको आधार विमानस्थलमा रात्री बिसान गरी पहिलो उडान सोही विमानस्थलबाट गर्ने ।’

त्यस्तै ६ नम्बर बुँदामा भनिएको छ, ‘हेलिकप्टर कम्पनीले ७ असारदेखि तोकिएको आधार विमानस्थलमा रात्री बिसान गरी पहिलो उडान सोही विमानस्थलबाट गर्ने ।’

हेर्नुहोस सर्कुलर

प्राधिकरणले मंगलबारदेखि नै हेलिकप्टरका लागि यो नियम लागु गर्न खोज्यो । सोही अनुसार काठमाडौंमा बिश्राम गरेका केही कम्पनीका उडान रोकिए । त्यसपछि वायुसेवा कम्पनी सञ्चालक आक्रोशित बने । वायुसेवा सञ्चालक र प्राधिकरणबीच यस विषयमा मंगलबार दिउँसो १२ बजे छलफल गर्ने कार्यक्रम तय भयो ।

तर, प्राधिकरणले नियम लागू हुने अडान लिएपछि प्राधिकरणसँग छलफल नगरी वायुसेवा सञ्चालकहरुले पत्रकार सम्मेलन आयोजना गरे । अध्यक्ष थापाका अनुसार प्राधिकरणले अकस्मात नियम लाद्न खोजेका कारण वायुसेवा कम्पनीहरु अप्रिय निर्णय लिन बाध्य भएका छन् ।

संघको निर्णय अनुसार वायुसेवा कम्पनीले सामाजिक सञ्जालमार्फत बुधबारका उडान नहुने जानकारी गराइरहेका छन् ।

उता, प्राधिकरणका महानिर्देशक अधिकारी भने आफूहरुले नयाँ नियम एक्कासी ल्याएको भन्ने वायुसेवा कम्पनीको आरोपको खण्डन गर्छन् । उनका अनुसार ११ वैशाख २०७९ मा प्राधिकरणको तर्फबाट त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरसहित ७ जना र वायुसेवा कम्पनीका तर्फबाट बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेत, यति एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत अनुज रिमाल, श्री एयरलाइन्सका प्रबन्ध निर्देशक सुधिर मित्तलसहित ७ वटा कम्पनीका सञ्चालक सम्मिलित कार्यदल गठन गरिएको थियो ।

सो कार्यदलले आन्तरिक वायुसेवा कम्पनीले काठमाडौं केन्द्रित उडान गतिविधिका कारण त्रिभुवन विमानस्थलको आन्तरिक उडानमा होल्ड, डिले, पार्किङको कमी, टर्मिनल भवनमा भिडभाड भएको जस्ता समस्या समाधान गर्न दीर्घकालिन व्यवस्थापनका उपाय खोज्ने र वायुसेवा कम्पनीको बेस स्टेशन उपत्यका बाहिर सार्ने गरी एक महिनाभित्र प्रतिवेदन दिने जिम्मेवारी पाएको थियो ।

सोही कार्यदलले दिएको प्रतिवेदनका आधारमा बेस उपत्यका बाहिर सार्न खोज्दा वायुसेवा कम्पनीबाट विरोध भएको अधिकारीले जानकारी दिए । ‘आज नगरे भोलि त गर्नै पर्छ, त्यो बेला पनि किन यति छिटो गरेको भन्ने प्रश्न आउँछ’, उनी भन्छन्, ‘यो हवाइ सुरक्षा, यात्रुको सुविधा र वायुसेवा कम्पनीको हितकै लागि भएको हो,’ उनले भने ।

नियमित उडानका ३५ जहाज रातमा उपत्यका बाहिर राख्न सिफारिस

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार काठमाडौंस्थित त्रिभुवन विमानस्थलको पार्किङ क्षमता १७ वटा जहाजका लागि हो । तर, अहिले ५२ वटा जहाज पार्किङ गर्ने गरिएको छ । सोही कारण ३५ वटा जहाजलाई उपत्यका बाहिर रात्रीकालीन बिसानमा पठाउन खोजिएको हो ।

वायुसेवा कम्पनीहरुले भने यसका लागि समय मागेका छन् । बिहानी सत्रको पहिलो उडानमा यात्रु नपाइने हो कि भन्ने चिन्ता उनीहरुको छ । यस्तो भएमा भविष्यमा प्राधिकरणले ‘हेर्ने’ महानिर्देशक अधिकारी बताउँछन् ।

‘अहिले सुरु गरौं न, भोलि यात्रु पाइएन भने, प्राधिकरणले तपाईंलाई हेर्छ’, उनले भने । उता, वायुसेवा कम्पनीहरुको चासो भने क्षेत्रिय विमानस्थलहरुमा मर्मत सम्भार तथा चेकजाँच गर्ने सुविधा नरहेको भन्दै अन्य भौतिक सुविधाको समेत अभावमा छ । सोही कारण त्रिभुवन विमानस्थलबाहेक अन्य विमानस्थलमा रात्री बिसान गर्न नसकिने वायुसेवा कम्पनीको अडान छ ।

कुन-कुन हुन् उपत्यका बाहिरका बेस विमानस्थल ?

प्राधिकरणले काठमाडौं बाहिरका चन्द्रगढी, विराटनगर, रामेछाप, जनकपुर, सिमरा, भरतपुर, भैरहवा, पोखरा, नेपालगञ्ज, सुर्खेतलाई मानेर ती विमानस्थलमा रात्री बिसान गर्न भनेको छ । यी विमानस्थलमा वायुसेवा कम्पनीका कम्तिमा १/१ वटा जहाज रहने गरी तोकिएको छ ।

ठूला जहाज (एटीआर४२/७२, सीआरजे–२००/७००, बीएचसी–८ क्यू४००)को बाँडफाँड

वायुसेवा कम्पनी जहाजको संख्या काठमाडौं बेस मोफसल
बुद्ध एयर १४ ५ ९
श्री एयरलाइन्स ८ २ ६
यती एयरलाइन्स ५ २ ३
सौर्य एयरलाइन्स ३ १ २
कुल ३० १० २०

साना जहाज (डीएचसी–६/एलइटी–४१०/जे४१/डीओ–२२८)को बाँडफाँट

कम्पनी जहाजको संख्या काठमाडौं बेस मोफसल
बुद्ध एयर २ १ १
समिट एयर ४ १ ३
तारा एयर ३ १ २
सिता एयर ४ १ ३
गुण एयरलाइन्स ७ २ ५
नेपाल एयरलाइन्स २ १ १
कुल २२ ७ १५
लेखक
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?