+
+

रोदीका कवि कृष्णभक्त श्रेष्ठको दिनचर्या

गोविन्द गिरी प्रेरणा गोविन्द गिरी प्रेरणा
२०७९ असार ८ गते १४:१९

नेपाली साहित्यमा आधुनिक कविताको युग थाम्ने कविहरुको एक जमात थियो। महाकवि देवकोटाको जीवनको उत्तरार्धकालमा फस्टाएका आधुनिक कविहरुमा मोहन कोइराला, ईश्वरबल्लभ, कृष्णभक्त श्रेष्ठ, द्वारिकालाल श्रेष्ठ, मोहन हिमांशु थापा, उपेन्द्र श्रेष्ठ, मदन रेग्मी, भूपि शेरचन, कुमार नेपाल लगायतको बाहुल्य थियो– लेखनमा, साहित्यिक गतिविधिमा, विद्रोहात्मक चरित्रमा। यी कविहरुले नेपाली कविता जगतमा एउटा बेग्लै माहोलको निर्माण गरेका थिए।

यी कविहरु तत्कालीन समयको रोदी समूहमा थिए, अमलेख आन्दोलनमा थिए। रोदी र अमलेख दुवैमा सक्रिय कविहरुमा कृष्णभक्त श्रेष्ठ एक हुन्। रोदीमा कृष्णभक्त श्रेष्ठका अतिरिक्त भूपि शेरचन थिए, कुमार नेपाल थिए, मोहन हिमांशु थापा थिए, वासुशशि थिए। अब रोदीका कविहरुमा कृष्णभक्त श्रेष्ठ र मोहन हिमांशु थापा मात्र हामी बीच छन्। भूपि, कुमार नेपाल र वासुशशि दिवङ्गत भैसके। मोहन हिमांशु थापाले कविता अब्बल लेखे, थोरै लेखे र विश्राम लिए कविता लेखनबाट। उनको “खुकुरीमाथि एक चौटा बादल” एउटा मात्र कविता सङ्ग्रह प्रकाशित छ। कृष्णभक्त श्रेष्ठले लामो विश्रामपछि पचासको दशकमा पुनः लेखन प्रकाशनमा सक्रियता देखाए।

यिनै नेपाली आधुनिक कविताका धरोहर कवि कृष्णभक्त श्रेष्ठलाई उनकै निवासमा २६ जेठमा भेट्दा उनको अनुहारमा रहेको तेज मैले उस्तै पाएँ। यो भेट कोरोना महामारीपूर्व जलरिका प्रतिष्ठानले उनलाई पुरस्कृत गरेको समारोहमा भएको भेटपछिको भेट थियो। उनी कवितामा कठोर, लेखनमा सम्झौता नगर्ने स्वभावको भए पनि मानवीय स्वभाव र हार्दिकतामा अति प्रिय थिए पहिले पनि र त्यो मैले यथावत् पाएँ।

विद्रोही कवि कृष्णभक्तले पञ्चायतको जगजगीको बेला गोरखापत्र जस्तो सरकारको संवेदनशील सञ्चार निकायमा काम गर्दा पनि न कहिल्यै पञ्चायतको समर्थनमा कलम चलाए, न पञ्चायत विरोधी रचनाका कारण जागिर जाने खालको परिस्थिति नै आयो।

के छ त उनको आजकाल दिनचर्या ? यो मेरो जिज्ञासा थियो, यद्यपि यो कुनै अन्तर्वार्ता थिएन।

काठमाडौंका रैथाने हुन् कृष्णभक्त। तर अध्ययन र लेखनले उनलाई नेपालको बनायो, कविता लेखनले विश्वको बनायो। सिर्जनाको शक्ति नै यही हो। उनका “कृष्णभक्त श्रेष्ठका कविता”, “मान्छेको कथा”, “ठूलो मान्छे” जस्ता विशिष्ट कविता सङ्ग्रहहरु प्रकाशित छन्। यी कवितामा उनको लेखनको निरन्तरता र काव्य लेखनको मूल्य र मान्यता अविराम रहेको पाठक अध्येताले बुझ्न सक्छन्।

यद्यपि प्रकृतिले उनलाई शारीरिक रुपमा ठग्यो, तर मानसिक रुपमा उनी सदासर्वदा दह्रो रहे, अग्लो रहे, उच्च रहे। अनुहारमा उनको तेज आजपर्यन्त किन्चित घटेको छैन। यथावत् छ, जाज्वल्यमान।

उनले लामो समय गोरखापत्र संस्थानको जागिरमा व्यतीत गरे, एक प्रकारले जीवनका सम्पूर्ण सक्रिय वर्षहरु गोरखापत्रमै समर्पण गरे। उनी गोरखापत्र संस्थानको “नेप्लिज पर्सपेक्टिव” साप्ताहिक अङ्ग्रेजी प्रकाशनका लागि नियुक्त भएका थिए। “नेप्लिज पर्सपेक्टिव” लामो समय चलेन र पछि दैनिक “द राइजिङ नेपाल” सुरु भएपछि त्यसको सम्पादनमा रहे। उनले लामै समय “द राइजिङ नेपाल” को सम्पादनमा विताए। त्यसपछि उनी मधुपर्कको सम्पादक भए। पछि मधुपर्क र गोरखापत्र दुवैको सम्पादनमा सक्रिय रहे।

उनको जिम्मेवारीमा मधुपर्क आएपछि उनले मधुपर्कको आकार, प्रकार र स्वरुपमै आमूल परिवर्तन ल्याइदिए। मूल लेख प्रकाशनको सिलसिला नयाँ रुपरंगमा प्रकाशन हुने वित्तिकै थालियो जुन आजपर्यन्त कायम छ। बदलिंदो समय र रुचि अनुसार पत्रिकाको रुप स्वरुप हुनुपर्छ भन्ने उनको मान्यता थियो। यो वेग्लै कुरा हो, मधुपर्कमा उनी नरहेपछि कृष्णभक्त श्रेष्ठ प्रधान सम्पादक हुनुपूर्वकै रुपमा मधुपर्क प्रकाशन हुन थाल्यो।

उनी मधुपर्कको सम्पादक भएपछि व्यक्तिगत रुपमा मतभेद भएका र वर्षौंदेखि बोलचाल नभएका साहित्यकारहरुलाई समेत मधुपर्कमा निम्ता गरेर रचनाका लागि आग्रह गरेर बेग्लै माहोलको निर्माण गरेका थिए। त्यसताका उनले मधुपर्कको अफिस साहित्यकारहरुको मिलन थलो बनाएका थिए। ईश्वर बराल, कुमार ज्ञवाली, वासुशशि लगायतका स्वनामधन्य साहित्यकारहरुलाई मैले कैयन् पटक मधुपर्कमा विद्वत् विचारहरुको आदानप्रदान गर्दै गरेको देखेको हुँ।

गोरखापत्रमा पूर्णकालीन जागिरे भए पनि कृष्णभक्तले आंशिक रुपमा पव्लिक यूथ क्याम्पस तथा महेन्द्ररत्न क्याम्पसमा पनि प्राध्यापनको काम समेत गरेका थिए। तर उनले समय व्यवस्थापनका कारण अध्यापनलाई निरन्तरता दिन सकेनन्। उनको करियर र त्यसमा निरन्तरता सम्पादनमा मात्र टड्कारो रह्यो कविता सिर्जना बाहेक।

विद्रोही कवि कृष्णभक्तले पञ्चायतको जगजगीको बेला गोरखापत्र जस्तो सरकारको संवेदनशील सञ्चार निकायमा काम गर्दा पनि न कहिल्यै पञ्चायतको समर्थनमा कलम चलाए, न पञ्चायत विरोधी रचनाका कारण जागिर जाने खालको परिस्थिति नै आयो। यो उनको निकै बौद्धिकतापूर्ण चातुर्य थियो। यो बेग्लै कुरा हो, कवितामा उनको अराजक स्वभाव र प्रवृत्तिमा कुनै कमी आएन। उनले कवितालाई उच्च काव्यिक प्रतीक र बिम्वले सिंगारेर विद्रोहका स्वरलाई नयाँ उँचाइ दिएका थिए र त्यसलाई निरन्तरता दिइरहे।

२०३६ सालको ऐतिहासिक जनमत सङ्ग्रहको घोषणापछि पञ्चायतइतरका सबैले खुल्ला अभिव्यक्ति दिन थालेपछि नयाँसडकको पीपलबोटमुनि साहित्यकारहरु नियमित भेटघाट हुने साहित्यिक चौतारो बनेको थियो। सडक कविता क्रान्तिको सुरुवात त्यही पीपलबोटबाट भएको थियो। त्यहाँ नेपाली साहित्यका युवा पुस्ताका तथा स्वनामधन्य कवि लेखकहरु ईश्वरबल्लभ, तुलसी दिवस, नगेन्द्र थापा, मोहनराज शर्माका साथमा कृष्णभक्त श्रेष्ठ पनि नियमित रुपमा देखा पर्दथे। नयाँ पुस्ताका कवि लेखकसँग उनी मजाले घुलमिल गर्दथे र कतिपय नयाँ पुस्ताका र पुराना पुस्ताका कवि लेखकको साथमा साँझ रमाइलो पनि गर्थे। विशेषत: ५ बजेपछि हुने जमघट, अनौपचारिक र उदात्त कुराकानी र सायंकालीन विचरणमा उनी रमाउँथे। सबै झैं।

कृष्णभक्त श्रेष्ठले आफ्नो लेखनलाई, कवितालाई र विचारलाई सदासर्वदा उत्तिकै महत्वकासाथ अँगालिरहे। उनको निष्ठामा कहिल्यै विचलन आएन। उनको अठोटमा विचलन आएन। उनको खरोपनमा विचलन आएन। त्यो अविचलित र निरन्तर कवि पछिल्लो समय एकान्तवासमा छ। आफ्नै निवासको फराकिलो कम्पाउण्डमा। झण्डै तीन वर्ष त कोरोना महामारीले दुनियाँलाई अस्तव्यस्त पार्यो। मानिस मानिस बीचको सम्बन्धलाई छेकबार हाल्यो। त्यो महामारी पूर्णतः निर्मूल भएको घोषणा भइनसके पनि दुनियाँ अहिले वौरेको छ। मानिसहरु क्रमश: पुरानै लयमा फर्कन लागेका छन्।

तर कृष्णभक्त श्रेष्ठ झण्डै तीन वर्षदेखि एकान्तवासमा छन्। उनको गतिविधि सीमित भएको छ। उमेरको एक कारण। गल्दै गएको स्वास्थ्य अर्को कारण। आफ्नो पुरानो शारीरिक कमजोरी अर्को कारण।

उनी सार्वजनिक रुपमा र साहित्यिक समारोहमा २०७६ साल जेठ ३१ गते भाटभटेनीस्थित आम्रपाली ब्याङ्केटमा देखा परेका थिए। सन्दर्भ थियो, जलरिका साहित्य प्रतिष्ठानको बुद्धि-रेशम स्मृति स्रष्टा सम्मान समारोह। त्यसपछि उनी कुनै पनि साहित्यिक वा सार्वजनिक समारोहमा देखा परेका छैनन्। न त साहित्यकारहरुसँग भेटघाटको सिलसिला नै छ। अत्यन्त दुर्लभ भेटघाटमा उनको अनुहारको तेज भने मैले उनलाई भेटेर घर फर्किरहँदा पनि आँखामा टड्कारो अनुभव गरिरहें। त्यो तेज नेपाली वाङ्मयका तेजिला कविको तेज हो भन्ने लागिरह्यो।

उनले “म मेरै मृत्यु मर्न चाहन्छु” शीर्षकमा लेखेका थिएः

म मेरै मृत्यु मर्न चाहन्छु-

विशुद्ध मेरो आफ्नै

अरूकै मृत्यु आफ्नै भन्ठानेर

युगौं युगदेखि

थरी थरीको अर्थ लगाएर

धेरै मरे-व्यर्थै

धेरै धेरै मरे विस्मृत

र अहिलेसम्म पनि त्यसरी नै

अरू अनगिन्ती मर्दै छन्

तर आज म सचेत भएको छु

र यो सिलसिला तोड्न चाहन्छु।

पछिल्लो समय उनले कविता सिर्जना नगरेको धेरै भयो। तर उनमा कविताको भोक, कविताको चाख, कविताको मर्म जीवित छ। आफ्नो रचनाधर्मिताप्रतिको आस्था, विश्वास र निष्ठा जीवित छ।

कवि त सधैं बाँचिरहन्छ कवितामा, कविताको अर्थमा, कविताको गहिराइमा। कवि कृष्णभक्त श्रेष्ठ र उनको कविता समानान्तर बाँचिरहेका छन्। यो बँचाइ नै रोदीका कवि, अमलेखका कवि कृष्णभक्त श्रेष्ठको दिनचर्या हो।

असार २०७९, काठमाडौं

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?