+
+

राष्ट्रिय एथलेटिक्समा शिवराज र जयरानी उत्कृष्ट खेलाडी

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १२ गते १७:१२

१२ असार, काठमाडौं । नेपाल आर्मी ४४ औं राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा आइतबार टिम च्याम्पियन बनेको छ । आर्मीले १८ स्वर्ण, १२ रजत र ५ कांस्य जित्दै टिम च्याम्पियनको उपाधि उचालेको हो ।

नेपाल एथलेटिक्स संघको आयोजनामा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रतियोगितामा एपीएफ क्लब ९ स्वर्ण, ६ रजत ८ कांस्यसाथ दोश्रो भयो । तेश्रो स्थानको बाग्मती प्रदेशले ३ स्वर्ण, २ रजत र ६ कांस्य हात पार्‍यो ।

३२ स्वर्णका लागि भएको प्रतिस्पर्धामा बाँकी २ स्वर्ण नेपाल प्रहरी क्लबले जित्यो । प्रहरीले ३ रजत र ४ कांस्य पनि हासिल गर्‍यो । सात प्रदेश र तीन विभागीय गरी १० टिम सहभागी प्रतियोगितामा ६ टिम स्वर्णविहीन रहे ।

प्रतियोगिताको पुरुषमा एपीएफका शिवराज पार्की तथा महिलामा च्याम्पियन टोली आर्मीकी जयरानी थारु उत्कृष्ट खेलाडी घोषित भए । शिवराजले ३ स्वर्ण र १ रजत जिते । जयरानीले २ कीर्तिमानीसहित ४ स्वर्ण कब्जा गरिन् ।

जयरानीको नाममा थप १ रजत पनि रह्यो । जयरानीले १ सय र ४ सय मिटर हर्डल्समा कीर्तिमान रचेकी थिइन् । प्रतियोगितामा कुल ३ राष्ट्रिय कीर्तिमान बने । थप १ कीर्तिमान आर्मीका जीवन थारुले पुरुष १ सय १० मिटर हर्डल्समा बनाएका थिए ।

जीवनले १ कीर्तिमानीसहित २ स्वर्ण र उत्तिनै रजत हात पारे । प्रत्येक राष्ट्रिय कीर्तिमानका लागि ५ हजार नगद पुरस्कार प्रदान गरियो ।

विजेतालाई युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मी, राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल एथलेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाहलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

तीन दिने प्रतियोगितामा २ सय ४० खेलाडीको सहभागिता रहेको आयोजक संघका सचिव आरके विष्टले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?