+
+

वामदेव गौतमले सुरू गरे अलग पार्टीको अभ्यास

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १२ गते २०:२९

१२ असार, काठमाडौं । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन भएपछि कुनै समूहमा नलागेका नेता वामदेव गौतमले आफ्नै नेतृत्वमा अलग पार्टीको अभ्यास सुरु गरेका छन् ।

शनिबार ललितपुरको धोबिघाटमा राष्ट्रिय सम्मेलनको उद्घाटन गरेका गौतमले आइतबार चन्द्रागिरीमा केन्द्रीय समिति बैठक राखेका छन् ।

यो बैठकले ७१ सदस्यीय केन्द्रीय समिति, केन्द्रीय पदाधिकारी, प्रदेश, जिल्लादेखि स्थानीय तहसम्म पार्टी संरचना निर्माणको थालनी गर्ने गौतम निकट एक नेताले बताए । ‘धोबिघाटमै पदाधिकारी घोषणा गर्ने तयारी थियो । तर थप छलफल गर्न चन्द्रागिरीमा बैठक राखिएको हो’, ती नेताले भने ।

नेकपा विभाजित भएपछि १४ माघ २०७७ मा गौतमले ६५१ सदस्यीय नेकपा एकता राष्ट्रिय अभियान घोषणा गरेका थिए । यो अभियानले विभाजित नेकपालाई फेरि जोड्ने गौतमको घोषणा थियो ।

तर सर्वोच्च अदालतले पार्टीको नाम विवादमा २३ फागुनमा नेकपा एमाले र माओवादी केन्द्रको एकता अस्वीकार गरेपछि नेकपाको अस्तित्व नै रहेन ।  २ भदौ ०७८ मा पुनर्स्थापित एमाले पनि विभाजित भएर माधवकुमार नेपाल नेतृत्वमा नेकपा एकीकृत समाजवादी बन्यो ।

एकपछि अर्को विभाजनको अवधिमा सक्रिय राजनीतिक गतिविधिमा नदेखिएका गौतमले अन्ततः आफ्नै नेतृत्वमा अलग पार्टी संरचनाको अभ्यास सुरु गरेका हुन् । अलग पार्टी नभने पनि गौतमले राजनीतिक प्रतिवेदनमै पार्टी संरचना बनाउने उल्लेख गरेका छन् । त्यसका निम्ति नेकपा एकता राष्ट्रिय अभियानको नाम बदलेर ‘पार्टी एकता राष्ट्रिय अभियान’ राखेका छन् ।

‘पार्टी एकता समन्वय समिति नेपाल कम्युनिष्ट पार्टीको एउटा समूहको रुपमा रहनेछ । यसका सबै किसिमका दस्तावेजहरु नेपाल कम्युनिष्ट पार्टीका दस्तावेज सरह रहनेछन् । त्यसपछि यो अभियान पार्टी एकता समन्वय समितिमा रुपान्तरण हुनेछ’, गौतमको प्रतिवेदनमा भनिएको छ ।

गौतमको प्रतिवेदन अनुसार यो पार्टीको सिद्धान्त भने एमालेकै जस्तो मार्क्सवाद–लेनिनवाद र जनताको बहुदलीय जनवाद रहनेछ ।

एमाले र पछि नेकपाका उपाध्यक्ष रहेका गौतमको पार्टी संरचनामा राष्ट्रिय राजनीतिमा स्थापित नेताहरू भने नरहने देखिएको छ । लामो समयदेखि गौतमलाई साथ दिदै आएका नेता हरि पराजुलीले समेत गौतम नेतृत्वको पार्टी संरचनामा पदाधिकारी रहन अस्वीकार गरेका छन् ।

‘समन्वय समिति र यसमा संगठित हुने व्यक्तिहरुलाई मार्गदर्शन गर्ने सिद्धान्तका रुपमा माक्र्सवाद लेनिनवाद र जनताको बहुदलीय जनवाद (जबज) रहनेछ । समन्वय समितिको कार्यक्रम बहुदलीय समाजवाद हुनेछ’, गौतमले प्रस्ताव गरेका छन् । यसअघि गौतमले एकीकृत समाजवादीमा जान जबजलाई मार्गदर्शक सिद्धान्त मान्नुपर्ने शर्त राखेका थिए ।

माधव नेपालले पार्टी दर्ता गरेमा त्यसमै लाग्ने सार्वजनिक अभिव्यक्ति समेत दिएका उनले एकीकृत समाजवादीका निम्ति चुनावी गीत पनि लेखेका थिए । तर शनिबार राष्ट्रिय भेला राखेर गौतमले अलग पार्टी संरचना निर्माणको थालनी गरे ।

‘पुनः पार्टी एकता सम्पन्न नहुँदासम्म पार्टी एकता समन्वय समिति हाम्रो नेतृत्व केन्द्रका रुपमा रहनेछ’, उनको प्रतिवेदनमा छ । पार्टी सदस्यहरुका निम्ति गौतमले १७ बुँदे मार्गदर्शन तयार पारेका छन् भने राजनीतिक एजेण्डाका रुपमा प्रत्यक्ष निर्वाचित राष्ट्रपतिसहित १७ बुँदे संविधान संशोधनको प्रस्ताव अगाडि सारेका छन् ।

तर एमाले र पछि नेकपाका उपाध्यक्ष रहेका गौतमको पार्टी संरचनामा राष्ट्रिय राजनीतिमा स्थापित नेताहरू भने नरहने देखिएको छ । लामो समयदेखि गौतमलाई साथ दिदै आएका नेता हरि पराजुलीले समेत गौतम नेतृत्वको पार्टी संरचनामा पदाधिकारी रहन अस्वीकार गरेका छन् ।

‘पार्टी एकता गर्ने अभियानमा उहाँ (हरि पराजुली) संलग्न हुँदै आउनुभएको थियो । तर अहिले पदाधिकारी बस्न मान्नु भएन’, गौतम निकट अर्का नेताले भने । पराजुलीले एउटै व्यक्ति दुई पार्टीको जिम्मेवारीमा रहन नसक्ने तर्क गरेका छन् ।

तर गौतमले उनलाई मनाउने प्रयत्न गरिरहेका छन् । गौतमले आफूले बनाउन लागेको पार्टी नभएर पार्टी बन्नुअघिको अस्थायी संरचना भएको तर्क गरेका छन् । ‘पार्टी एकता समन्वय समिति, पार्टीमा रुपान्तरण हुनुभन्दा पहिलेको अस्थायी संरचना हुनेछ’ गौतमको तर्क छ, ‘रुपान्तरण नहुँदासम्म संयोजन समितिका सम्पूर्ण संरचना र दस्तावेजहरु पार्टी सरह रहनेछन् ।’

तर गौतमले अहिले तीन पार्टीमा टुक्रिएका नेकपा पुनर्एकीकरण हुन नसकेको अवस्थाबारे भने प्रष्ट निर्णय दिएका छैनन् । ‘हाम्रो प्रयत्नका बाबजुद नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुनर्एकीकरण हुन सकेन भने पार्टी एकता समन्वय समितिको बैठकबाट आवश्यक निर्णय गरिनेछ’, राजनीतिक प्रतिवेदनमा भने गौतमले यति मात्रै लेखेका छन् । आफू निकट नेताहरुलाई भने अलग पार्टी नै बनाउन थालेका गौतमले बताएका छन् ।

उद्देश्य : नेकपाको पुनरोदय

एकता अभियान घोषणा गरेको १७ महिनापछि फेरि गतिविधि थालेका गौतमले आफू नेतृत्वको पार्टी संरचनाको उद्देश्य भने नेकपाको पुनरोदय रहेको जनाएका छन् । नेकपाको पुनर्एकीकरणका निम्ति गौतमले विकल्प समेत सुझाएका छन् । त्यसका निम्ति कम्तीमा पनि एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच एकता गर्न वार्ता सुरु गर्ने घोषणा गरेका छन् ।

२ जेठ २०७५ को समझदारीका शर्तहरू संशोधन गरेर अगाडि बढाउँदा यी तीन पार्टीबीच एकता सम्भव हुने उनको प्रस्ताव छ । ‘… दुई अध्यक्ष रहने व्यवस्थाका ठाउँमा एक मात्र अध्यक्ष रहने व्यवस्था सही रहेको हाम्रो अनुभवले सावित गरेको छ । तसर्थ पुनःएकीकृत पार्टीमा एक अध्यक्ष र एक सह अध्यक्ष अथवा मानार्थ अध्यक्ष र कार्यकारी महासचिवको व्यवस्था उपयुक्त हुनेछ’ गौतमको सुझाव छ, ‘एकता महाधिवेशनबाट साझा समझदारीमा अरु कुनै विकल्पमा जान पनि सकिने छ ।’

यसले ३ जेठ २०७५ कै नेकपाको पुनरोदय हुने गौतमको निष्कर्ष छ । यसपछि जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चासँग पार्टी एकता वा कार्यगत एकताका निम्ति वार्ता गर्नुपर्ने उनले प्रस्ताव गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?