+
+

शंकर पोखरेल र प्रचण्डको सवाल जवाफ

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १३ गते १९:२६

१३ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका महासचिव शंकर पोखरेलबीच सवाल जवाफ भएको छ ।

नरबहादुर कर्मचार्य प्रतिष्ठानले आयोजना गरेको ‘नेपालमा समाजवाद : चुनौती र सम्भावना’ विषय अन्तर्क्रिया कार्यक्रममा सत्तारुढ गठबन्धनसँगै प्रमुख प्रतिपक्षी एमालेका नेतालाई समेत बोलाइएको थियो ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी बोलिरहँदा कार्यक्रम स्थलमा पुगेका एमाले महासचिव पोखरेलले कांग्रेससँग गठबन्धन गरेर समाजवादको बहस गर्नु निरर्थक भएको बताए । माओवादी अध्यक्ष प्रचण्डले भने आफूहरुले वाम गठबन्धन र एकता गरेपनि एल्तसिन, चाउचेस्को र गोर्भाचोभहरु जन्मिएको जवाफ दिएका छन् ।

पोखरेलको प्रश्न : गठबन्धन केका लागि ?

महासचिव पोखरेलले एमालेप्रति घृणाको राजनीति गरिरहेका बेला आफ्नो विचार राख्ने अवसर दिएको भन्दै प्रतिष्ठान र यसको नेतृत्वलाई धन्यवाद मात्र दिएनन्, नेपाली कांग्रेससँग गठबन्धन गरेर समाजवादको बहस चलाएको भन्दै व्यंग्य गरे ।

उनले भने, ‘समाजवादको बहस भइरहेको छ, गठबन्धनको संकल्प प्रस्तुत भइरहेको छ । समाजवादको संकल्प र गठबन्धनको यात्रामा कहाँ संगति मिल्छ ? मैले बुझेको छैन ।’ कांग्रेससँग गठबन्धन गरेर समाजवादको संकल्प गर्नु नै सबभन्दा ठूलो चुनौती भएको  महासचिव पोखरेलले बताए ।

चुनावको कार्यनीति सही नभएससम्म समाजवादतिर जान नसकिने भन्दै उनले भने, ‘कांग्रेसले चुनावको नेतृत्व गर्छ, विजय हासिल गर्छ भने यो समाज पूँजीवादतिर जान्छ, यही ठाउँमा कम्युनिस्ट क्रान्तिकारीहरुले चुनावको नेतृत्व गर्छन्, विजय हासिल गर्छन् र सरकारको नेतृत्व गर्छन् भने समाजवादतिर जान्छ ।’

‘सबैका लागि समान शिक्षामा पहुँच’, ‘स्वास्थ्य र सबल नागरिक’, ‘उपादकत्व वृद्धिमा यन्त्र उपकरणको प्रयोग’, ‘पुँजी निर्माणको समार्थ’ र ‘श्रमजिवी वर्गलाई उद्यमीका रुपमा विकास’लाई समाजवादतर्फ संक्रमण गर्ने पाँच आधारका रुपमा गरेका एमाले महासचिव पोखरेलले भने, ‘यो ९ महिनाको अवधिलाई मात्र विवेचना गरेर गठबन्धन सही बाटोमा छ कि छैन विचार गर्नुस् ।’

पहिलो, एमाले सरकारमा रहँदासम्म शोधनान्तर स्थिति बचतमा थियो, आज ३ खर्ब घाटामा गएको छ । यसको उत्तर तपाईहरुले खोज्नुपर्छ ।

दोस्रो, एमाले सरकारको नेतृत्वमा भएको बेला विदेशी मुद्राको सञ्चिती ११ महिनाको वस्तु र सेवा आयात गर्न समर्थ थियो । ९ महिना गठबन्धनको सरकार चलाएपछि यो घटेर ६ महिनाको वस्तु र सेवा आयात गर्न सक्ने सामर्थ्यको भएको छ । बाटो सही छ कि छैन तपाईंहरु छुट्याउनुस् ।

तेस्रो, कोभिड–१९ को समयमा भन्दा कम पुँजीगत खर्च भएको छ । पुँजीगत खर्च विना देश बन्दैन भन्ने ज्ञान हामी सबैलाई छ । ५/५ वटा दल मिलेर सरकार चलाउँदा लकडाउनको समयमा जति पनि पुँजीगत खर्च किन गर्न सकेनौं ? यसको उत्तर गठबन्धनमा रहेका दलहरुले खोज्न जरुरी छ । देश बनाउने हो भने समस्याभित्र पस्नुपर्छ, को सत्तामा पुग्ने भन्नेले देश बन्दैन ।

चौथो, आज नेपालका बैंकहरुमा नेपाली पैसा छैन, नेपाली बजारमा नेपाली पैसा छैन ? नेपाली पैसा कहाँ गयो सरकारले जवाफ दिनु पर्दैन ? राष्ट्र बैंकले ८ खर्ब रुपैयाँको नयाँ नोट जारी गरेको छ । यो न बैंकमा छ, न बजारमा छ, गयो कहाँ ?

बैंकहरुले गरेको ठूला लगानीको पैसा रोकेको, नयाँ व्यवसाय खोल्नेहरुले ऋण नपाएको बचतकर्ताहरुले आफूले जम्मा गरेको रकम समेत नपाउने स्थिति रहेको भन्दै उनले भने, ‘यो अवस्थामा पुगेको मुलुकबारे हामी बहस गरिरहेका छैनौं । भन्दैछौं, गठबन्धन जारी राख्नुपर्छ । केका लागि ? यसैका लागि ।’

बजेट बनाउने बेलामा राजश्वका दर हेरफेर गर्न सौजाबाजी गरेको, ब्यापारिक पुँजीवादलाई प्रवद्र्धन गरेको भन्दै उनले यसरी समाजवादमा नपुग्ने बताए ।

प्रचण्डको जवाफ : तपाईंहरुको पालामा कति भ्रष्टाचार भयो

आफ्नो धारणा राखेपछि एमाले महासचिव पोखरेल बोलेर हिँडे । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल एकीकृत समाजवादीका नेता झलनाथ खनाल बोलेपछि अन्तिम वक्ताका रुपमा सम्बोधन गरेका प्रचण्डले पोखरेललाई जवाफ दिएका छन् ।

आफू बोल्दासम्म पर्खिन आग्रह गरेपनि तपाईंको सुनौंला भन्दै एमाले महासचिव पोखरेल हिँडेको भन्दै प्रचण्डले भने, ‘मलाई भन्न के मन थियो भने शंकरजी, हामीहरु यहाँ अगाडि हुँदा यसरी नबोल्नुस् न । यसरी कसरी बोल्न सक्नुभयो ? हाम्रो अगाडि सोधनान्तर घाटाको कुरा गर्नुभयो । यो शोधनान्तर घाटाको प्रणेता केपी ओली नेतृत्वको सरकार र युवराज खतिवडा हो ।’

कांग्रेससँग मिलेर समाजवादमा पुगिन्छ भन्ने पोखरेलको प्रश्नतर्फ संकेत गर्दै उनले भने, ‘मुुलुक स्थायित्व र समाजवादतिर जाला, भ्रष्टाचार नियन्त्रण होला, जनतालाई प्रत्यक्ष राहत होला भनेर कम्युनिस्टहरुको एकताका लागि पहल गर्ने मेरै अगाडि समाजवादको कुरा बुर्जुवासँग मिलेर हुन्छ भन्ने मिल्छ ?

कम्युनिस्टहरु बिग्रिएपछि एल्तसिन, चाउचेस्को र गोर्भाचोभ जस्ता हुन्छन् भन्ने देखेको भए पनि त्यस्तो नहोला भनेर वाम गठबन्धन र पार्टी एकता गरेको उनले बताए । प्रचण्डले अघि भने, ‘यस्ता एल्तसिन र चाउचेस्को छैनन् होला भनेर वाम गठबन्धन र एकता गरेको त चाउचेस्को भन्दा चर्को निधोषात्मक । आफ्ना सहयोद्धालाई देखिनसहने, कुनै सहमति सम्झौता पलना केही गर्नु नपर्ने, बैठक छलफल केही गर्नु नपर्ने, पुरै एकाधिकारवादी भएपछि …..।’

‘शंकरजीलाई सुनाउन मन थियो, कति धेरै भ्रष्टाचार भयो तपाईंहरुको पालामा ।’

एमाले अध्यक्ष ओलीले अहिले जो भेटेपनि १९ पृष्ठको दस्तावेजले खत्तम बनायो भन्ने गरेको दाबी गर्दै प्रचण्डले भने, ‘१९ पृष्ठको दस्तावेज कसले जन्मायो ? कम्युनिस्ट पार्टीभित्र यस्ता प्रतिक्रान्तिकारी, प्रतिगमनकारी, संविधान विरोधी गतिविधिका कारण हामीले बाध्य भएर सच्चाई जनताको अगाडि ल्याउनु परेको होइन ? त्यसकारण इतिहासलाई जस्ताकोतस्तै आत्मसात गर्न जरुरी छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?