+
+

नेपाली परिवेशको प्रशिक्षण मापदण्ड बनाउँदै राखेप

नेपालले धेरै हदसम्म भारतीय र अन्य देशको मापदण्ड लागू गर्दै आएको थियो । अहिले भने राष्ट्रिय खेलकुद परिषद (राखेप)ले अब आफ्नै मापदण्ड बनाएर कार्यान्वयनका लागि प्रारम्भिक तयारी सुरु गरेको छ ।

कुशल तिमल्सिना कुशल तिमल्सिना
२०७९ असार १४ गते ६:००
खेलाडीको शारीरिक परीक्षण गर्दै राखेपको टोली । तस्वीर सौजन्य : लोकेन्द्र बस्नेत/राखेप

१४ असार, काठमाडौं । एसियाली खेलकुदमा सहभागिताको हिसाबमा सात दशक लामो अन्तर्राष्ट्रिय इतिहास बोकेको नेपाली खेलकुदमा खेलाडी प्रशिक्षणका लागि अहिलेसम्म आफ्नै मापदण्ड बनेको छैन । नेपालले धेरै हदसम्म भारतीय र अन्य देशको मापदण्ड लागू गर्दै आएको थियो । अहिले भने राष्ट्रिय खेलकुद परिषद (राखेप)ले अब आफ्नै मापदण्ड बनाएर कार्यान्वयनका लागि प्रारम्भिक तयारी सुरु गरेको छ ।

राखेपले आसन्न १९औं एसियाली खेलकुदका लागि बन्द प्रशिक्षणमा रहेका २३ खेलका ५१५ खेलाडीमध्ये उपत्यकामा उपलब्ध ३९८ जना खेलाडीको शारीरिक परीक्षण गरेको छ । यसबाट संकलित तथ्यांकको विश्लेषण र आवश्यकताअनुसार अन्य खेलाडीको पनि परीक्षण गरेपछि नेपालले आफ्नै प्रशिक्षण मापदण्ड तयार गर्नेछ ।

गत मंसिरमा राखेप सदस्यसचिव नियुक्त भएलगत्तै टंकलाल घिसिङले राष्ट्रिय टिमको स्तरोन्नतीमा आधारित ‘हाई पर्फमेन्स कमिटी’ बनाएका थिए । सोही कमिटीले खेलाडीको शारीरिक परीक्षणका साथै आफ्नै परिवेशअनुसार प्रशिक्षण मापदण्ड निर्माणको तयारीमा जुटेको हो । ‘खासमा यो सदस्य सचिवज्यूकै अवधारणा हो । राष्ट्रिय टिमको स्तर विकासमा वैज्ञानिक प्रशिक्षण प्रणाली अहिलेको आवश्यकता भइसकेको छ,’ हाई पर्फमेन्स कमिटीका प्रवक्ता हिमाल दाहालले अनलाइनखबरसँग भने, ‘अहिले एसियाडको बन्द प्रशिक्षणमा रहेका खेलाडीको स्तर परीक्षण गरेर हामीले यो प्रक्रियाको सुरुवात गरेका हौं ।’प्रवक्ता दाहालका अनुसार एसियाड अगाडि प्रशिक्षणमा रहेका यी खेलाडीको तीनपल्ट परीक्षण हुनेछ । हरेक परीक्षणबाट खेलाडीको स्तर पहिचान गर्दा प्रशिक्षकलाई आफ्नो लक्ष्यअनुसार खेलाडीलाई तयार गर्न सजिलो हुने उनले बताए ।

राखेपअन्तर्गतको खेलकुद विज्ञान प्रतिष्ठान (सान)की खेलविज्ञ रीता प्रजापतिले तीन चरणको तथ्यांक संकलन र विश्लेषणपछि नेपालले आफ्नै परिवेश सुहाउँदो प्रशिक्षण मापदण्ड तयार गर्ने बताइन् । तर, यो आजको भोलि नै सम्पन्न हुने परियोजना होइन । ‘मापदण्ड अहिले नै बन्दैन । तीन चरणको डेटा संकलन भएपछि हामीले मापदण्ड बनाउने हो । अहिले अन्तर्राष्ट्रियस्तरका खेलाडीको परीक्षण भइरहेको छ । त्यसपछि क्षेत्रीय स्तरका र ग्रासरुटका खेलाडीको परीक्षण गरेपछि मापदण्ड बन्छ,’ टेबलटेनिसकी पूर्व राष्ट्रिय खेलाडीसमेत रहेकी प्रजापतिले भनिन् ।

राखेपले एसियाड लक्षित गरी आफ्ना खेलाडीको प्रारम्भिक तथ्यांक संकलनका लागि ‘बायो मोटर एविलिटी एसेसमेन्ट’ कार्यक्रम सन्चालन गरेको हो । ८ दिन लगाएर मंगलबार सम्पन्न यो कार्यक्रमबाट संकलित तथ्यांक विश्लेषण गरिने छ । सानले यसअघि पनि खेलाडीको फिटनेस परीक्षण गर्ने गरेको थियो । तर विश्लेषण गरी आवश्यक सुझाव दिने गरेको थिएन । त्यसले गर्दा यो कार्यक्रम प्रभावहीन देखिएको थियो ।

एसियाली खेलकुदका लागि नेपालले २३ खेल समावेश गर्ने निर्णय गरेको छ । २३ खेलका १५० जना खेलाडीले चीनको ह्वाङझोउमा हुने एसियाली खेलकुदमा सहभागिता जनाउने अनुमान राखेपको छ । त्यसका लागि प्रारम्भिक बन्द प्रशिक्षणमा सहभागी हुनेभन्दा तीन गुणा बढी खेलाडीलाई प्रशिक्षण गराइएको छ ।

यसपालि हाई पर्फमेन्स कमिटीले सानका विज्ञहरुसँग परामर्श गरी राष्ट्रिय टिमको स्तर बढाउन आवश्यक कार्यक्रम मागेको थियो । त्यहीअनुसार विज्ञले दिएको सुझाव राखेपले कार्यान्वयन गरेको हो ।

योभन्दा अगाडि १३औं दक्षिण एसियाली खेलकुद आयोजनाको एक महिना अगाडि पनि राखेपले खेलाडीका लागि यस्तै परीक्षण गरेको थियो । तर, तीनपल्ट गर्नुपर्ने प्रस्ताव कार्यान्वयन नभएकाले त्यो परीक्षण प्रभावहीन भएको प्रजापतिले बताइन् । उनले भनिन्, ‘हामीले तीन चरणमा परीक्षण गर्नुपर्छ भनेर प्रस्ताव गरेका थियौं । सरोकारवालाले यो विषयको महत्व नबुझिदिँदा हाम्रो प्रस्ताव कार्यान्वयन भएन । तीन चरणमा परीक्षण गर्न पाएको भए सुरुदेखिको डेटा विश्लेषण गरेर तुलना गर्न सकिन्थ्यो र त्यसले प्रशिक्षण र तयारीमा सजिलो हुन्थ्यो ।’

खेलाडीको प्रदर्शन सुधार्न वैज्ञानिक परीक्षण : रीता प्रजापति, खेलविज्ञ, राखेप

यो खेलाडीको प्रदर्शन क्षमता बढाउन वैज्ञानिक रुपमा परीक्षण गरी आवश्यक सुझाव दिने कार्यक्रम हो । योभन्दा अगाडि पनि सानले गरिराखेको थियो । फिटनेस टेष्टहरु गरे पनि त्यसको विश्लेषण गरेर खेलाडीको प्रदर्शन र क्षमता अभिवृद्धिका लागि आवश्यक सुझावहरु दिने गरी काम भएको थिएन ।

यसपल्ट चाहिं हामीले फिटनेस परीक्षण गरेर खेलाडीको बलियो र कमजोर पक्षमाथि विश्लेषण गरेर कमजोरी सुधार गर्न र बलियो पक्षलाई झनै राम्रो बनाउन आवश्यक प्रशिक्षणहरु सिफारिस गर्नेछौं ।

यसबाहेक अहिलेसम्म हामीले हाम्रो खेलकुदमा खेलअनुसार मापदण्ड तयार गरेका छैनौं । यो परीक्षण र विश्लेषणपछि खेलअनुसार प्रशिक्षणको मापदण्ड तयार हुनेछ । अहिलेसम्म हामीले विदेशीले विदेशी परिवेशमा बनाएको मापदण्ड प्रयोग गरेर खेलाडीलाई प्रशिक्षण गर्दै आएका छौं । अब चाहिं हाम्रै परिवेशमा एउटा खेलको खेलाडीले कसरी र कस्तो प्रशिक्षण गर्नुपर्छ भनेर पनि सिफारिस गर्दैछौं । त्यसका लागि यही डाटा विश्लेषण गर्नेछौं ।

उदाहरणका लागि एउटा खेलाडीले ६० पटक पुसअप गर्न सक्छ भने त्यो खेलका लागि उसको स्तर कस्तो हो भनेर निर्धारण हुनेछ । तर, मापदण्ड अहिले नै बन्दैन । तीन चरणको डेटा संकलन भएपछि हामीले मापदण्ड बनाउने हो । अहिले अन्तर्राष्ट्रियस्तरका खेलाडीको परीक्षण भइरहेको छ । त्यसपछि क्षेत्रीयस्तरका र ग्रासरुटका खेलाडीको परीक्षण गरेपछि मापदण्ड बन्छ ।

एसियन गेम्सको बन्द प्रशिक्षणमा रहेका खेलाडीको परीक्षण गरिरहेका हौं । हामीले ५ सय १५ जना खेलाडीको परीक्षण गर्नुपर्नेमा काठमाडौं उपत्यकामा उपलब्ध ३९८ जनाको परीक्षण गरेका छौं । अरु खेलाडीहरु उपत्यका बाहिर र केही देश बाहिर भएको हुनाले सबैलाई समावेश गर्न नसकिएको हो ।

खेलाडीको फिटनेस परीक्षणलाई हामीले आठ भागमा विभाजन गरेका छौं । यसमा जनरल स्ट्रेन्थ, फ्लेक्जिविलिटी टेष्ट, एविलिटी टेष्ट, एक्प्लोसिभ स्ट्रेन्थ, स्पिड, जनरल इण्डोरेन्सलगायत छन् । यो पहिलोपल्ट भएको हुनाले सबै खेललाई उपयुक्त हुने गरी मापदण्ड बनाएका थियौं । अर्को चरणदेखि खेलको प्रकृति हेरेर मापदण्ड निर्माण गरी सोहीअनुसार परीक्षण गर्ने हाम्रो तयारी छ । जस्तै टेवलटेनिसका लागि आवश्यक शारीरिक सन्तुलन वा लचकता तेक्वान्दोलाई नचाहिन सक्छ नि ।

एसियाली खेलकुदको मिति अझै निर्धारण भएको छैन । त्यसैले हामीसँग पर्याप्त समय हुनेछ । अहिले यो शारीरिक परीक्षण भयो । त्यसबाहेक अर्को एउटा छ, फङ्सनल मुभमेन्ट स्क्रिनिङ । त्यसमा खेलाडीले जसरी मुभमेन्ट गरिरहेको छ त्यो एउटा मानव शरीरले गर्ने मुभमेन्टसँग मिल्छ कि मिल्दैन भनेर हेरिन्छ । फरक–फरक खेलका खेलाडीको फरक–फरक ‘कोर पार्ट’ हुन्छ । जस्तै बक्सिङका लागि हात र टाउको मुख्य भाग हुनेछ । त्यस्तो भाग सञ्चालनको सही तरिका सिकाइन्छ । यो चाहिं नेपालमै पहिलोपल्ट हुन लागेको हो ।

हामीले लगभग चार सय जनाको तथ्यांक संकलन गर्नुपर्ने छ । यो कार्यक्रममा हामी तीन जनाले नेतृत्व लिइरहेका छौं । एउटै टिम बनाएर गर्दा १५ दिनसम्म लाग्ने भएकाले एक/दिनमा दुई वा तीन खेलको टिम एकै स्थानमा राखेर लगभग ४० जनाको हाराहारीमा खेलाडीको तथ्यांक लिइरहेका छौं । ८ दिनमा सम्पन्न हुन्छ ।

मंगलबारसम्म हामीले खेलाडीको तथ्यांक संकलन गरिसक्छौं । यो प्रारम्भिक काममात्र हो । त्यसको हामीले लागू गर्दै आएको मापदण्डसँग तुलना गरेर उनीहरुको तत्कालको स्तर पत्ता लगाउनेछौं । उनीहरुबीच तुलना गर्दा कुन खेलका खेलाडीहरु उत्कृष्ट छन् भनेर प्रतिवेदन बनाएर पेश गर्नेछौं ।

लेखकको बारेमा
कुशल तिमल्सिना

तिमल्सिना अनलाइनखबरका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?