+
+

स्वतन्त्रको विजयले देखाएको समाज रूपान्तरणको संकेत

अहिलेको स्थानीय तह निर्वाचनमा काठमाडौं र धरानलाई विश्लेषण गर्ने हो भने यी शहर पूँजीवादको चरम विकासको चरणमा देखिन्छन्। अधिकांश जनता धनी भएको यी भूगोलमा आफू व्यक्तिगत रुपमा धनी तर त्यहाँको सामाजिक विकास कमजोर रहँदा जनताको असन्तुष्टि निर्वाचन मार्फत पोखिएको देखियो।

विष्णुहरि त्रिपाठी विष्णुहरि त्रिपाठी
२०७९ असार १४ गते १०:२१

भर्खरै स्थानीय तह निर्वाचन सम्पन्न भएको छ। देशभर एकै पटक सम्पन्न यो निर्वाचनमा सत्ताधारी पाँच गठबन्धन र एमाले बीच मुख्य प्रतिस्पर्धा रह्यो। संख्याको हिसाबमा नेपाली कांग्रेस पहिलो, एमाले दोस्रो र माओवादी तेस्रो पार्टीको रुपमा देखापरे। यो निर्वाचनको मत परिणाममा पहिलो, दोस्रो र तेस्रो हुने पार्टीको भन्दा बढी चर्चा खासगरी राजधानी काठमाडौं महानगरको मेयरमा निर्वाचित बालेन साह र राजधानी बाहिरको धरान, धनगढी उपमहानगरपालिकाहरुमा निर्वाचित मेयरहरुको भयो।

विगतमा ठूला राजनीतिक पार्टीहरुले विजय प्राप्त गर्दै आएको यी शहरी इलाकामा नपत्याउँदो ढङ्गबाट स्वतन्त्र मेयर उम्मेदवार विजयी भए। स्वतन्त्र उम्मेदवारहरुको विजयलाई फरक-फरक कोणबाट विश्लेषण भइरहेको छ। विगतकै निर्वाचनको ट्रेन अनुसार राजनीतिक पार्टीले नै चुनाव जित्ने आकलनको विपरीत नतिजा फरक आयो।

विगतमा कुनै राजनीतिक पृष्ठभूमि नभएको, जनताले खासै नचिनेको, चुनावअघि कुनै ठूलो चुनावी अभियान, सभा नगरेको, सामान्य घरदैलो गर्दै मत माग्न हिंडेका स्वतन्त्र उम्मेदवारहरुको यो विजयले चुनाव जित्न ठूलै सभा गर्नुपर्ने, कार्यकर्ता पंक्ति हुनुपर्ने, राजनीतिक पृष्ठभूमि हुनुपर्ने विगतको परम्परागत सोचलाई बदलेको छ भने सामान्य नागरिक पनि जनतालाई विश्वास दिलाउन सके नेतृत्वदायी भूमिकामा पुग्न सक्छन् भन्ने प्रमाणित गरेको छ।

विकसित देशहरुमा फिल्मका अभिनेता, भर्खरका तन्नेरीहरु मेयर, प्रधानमन्त्री भएको समाचार सुन्ने हामी नेपाली आफ्नै देशमा युवा तन्नेरीहरु मुख्य शहरी इलाकामै स्वतन्त्रबाट मेयर बनेको देख्दा सबैमा एकखालको रोचक, आश्चर्यजनक कौतूहल जागेको छ।

नेपाल जस्तो अतिकम विकसित मुलुकबाट विकासशील मुलुकमा फड्को मार्दै गरेको अहिलेको अवस्थामा मुख्य शहरहरुमा स्वतन्त्र उम्मेदवारहरुको विजयले नेपाली समाज रुपान्तरणको एउटा प्रक्रियाको संकेत गरेको छ।

शहरी इलाका आफैंमा शिक्षित वर्ग भएको, धनीहरुको बसोवास, सेवा–सुविधाले सम्पन्न भएको ठाउँ पनि हो। चेतनशील मतदाता भएको यी शहरी इलाका धाँधली कम र धेरै मतदान हुने ठाउँ पनि हो।

जसरी पुल, बाटोघाटो, भौतिक पूर्वाधार निर्माणको डिजाइन गर्ने इन्जिनियरहरुले सबैभन्दा पहिला अध्ययन गरेर व्यावहारिक ज्ञान प्राप्त गर्नुपर्छ, डाक्टरले पनि बिरामीको अपरेसन गर्नुभन्दा पहिला अध्ययन गरेर व्यावहारिक ज्ञान सिक्नुपर्छ, त्यसैगरी समाज रुपान्तरणको पनि आफ्नै विज्ञान हुन्छ। यसको अध्ययन, ज्ञान विना समाजलाई बुझ्ने र त्यस अनुसार रुपान्तरणको प्रक्रिया बुझ्न र परिवर्तन गर्न सकिंदैन।

खाली स्वतन्त्र उम्मेदवारहरु विजय भए, राजनीतिक पार्टीहरुलाई सबक सिकायो, अब जनताका खास समस्या यसखालका स्वतन्त्र व्यक्तिहरुले गर्छन् भन्ने धारणा मात्र बनाउने हो भने हामी हाम्रो समाज विकासक्रम कहाँ पुगेको छ, हामी कुन विन्दुमा छौं र अब कतातर्फ समाज जाँदैछ भन्ने कुनै पनि बाटो पहिल्याउन सक्दैनौं। समाजलाई हेर्ने, बुझ्ने र विश्लेषण गर्ने बारेमा केही कुराहरु गरौं।

संसारमा आज समाजलाई हेर्ने दुईवटा दृष्टिकोण छन्। एउटा मार्क्सवाद र अर्को पूँजीवाद। १८औं शताब्दीमा युरोपमा मजदुर माथि भएको चरम दमनबाट आजित भएर श्रमजीवी जनताको नेतृत्वमा शासन व्यवस्था, निजी स्वामित्वको अन्त्य र सामुदायिक स्वामित्वको व्यवस्था लगायत कुराहरु समेटेर मार्क्सले प्रस्तुत गर्नुभएको ‘मार्क्सवाद’ अगाडि आयो। संसारमा धेरै देशमा यसको प्रयोग पनि भयो। खास गरेर सोभियत युनियनमा पूर्वी युरोपका १६ ओटा देशहरु समेटेर करिब ७० वर्षसम्म मार्क्सवादमा आधारित समाजको रुपमा निजी स्वामित्वको अन्त्य र आफ्नै मोडलको समाजवादको अभ्यास भयो।

समयक्रममा अन्य देश चीन, क्युवा, उत्तरकोरिया, लाओस, भेनेजुएला लगायतमा पनि आफ्नै विशेषता बोकेको समाजवाद अभ्यास गरियो। आज संसारमा केही मुलुकमा मात्र मार्क्सवादमा आधारित शासन व्यवस्था छ र नेपाल लगायत देशमा कम्युनिस्ट पार्टीहरुले पूँजीवादी व्यवस्थाभित्रको संसदीय व्यवस्थालाई अंगीकार गरेर प्रतिस्पर्धाबाट पनि मार्क्सवादमा आधारित समाज निर्माण गर्न सकिन्छ भन्ने मान्यतासहित अगाडि बढिरहेका छन्। २०५१ सालमा नेकपा एमालेको अल्पमतको सरकारले छोटो समयमा गरेको लोकप्रिय कामहरुले नेकपा एमालेले आज पनि जनता बीच जुन लोकप्रियता कायम गरेको छ, यसले संसारभरका कम्युनिस्ट पार्टीहरुलाई बन्दुकको नालबाट मात्र होइन, लोकतान्त्रिक विधिबाट पनि समाज रुपान्तरण गर्न सकिन्छ भन्ने सन्देश दिएको छ।

त्यसैगरी खुल्ला बजारको अवधारणा बोकेको पूँजीवाद आज संसारमा जुन चलिरहेको छ, यसका जन्मदाताको रुपमा बेलायतका एडम स्मिथलाई लिइन्छ। निजी स्वामित्वको ग्यारेन्टी, प्रतिस्पर्धामा आधारित खुल्ला बजारको अवधारणा बोकेको पूँजीवाद समयक्रममा विभिन्न उतारचढाव सहेर संसारमा आज चलिरहेको छ। मार्क्सवादका अनुसार सामन्तवाद सकेर पूँजीवाद र पूँजीवादपछि समाजवाद र अन्त्यमा वर्गविहीन, निजी स्वामित्वको अन्त्य, अन्तरविरोध नभएको समाज बन्नेछ जसलाई साम्यवाद भनिन्छ, आउँछ भन्ने मान्यता बोकेको हुन्छ। जब पूँजीवाद विभिन्न चरण पार गरेर चरम विकासको चरणमा पुग्छ, तब समाजवादको न्यूनतम आधार बन्न पुग्छ र समाज समाजवादको बाटोमा अगाडि बढ्छ।

साम्राज्यवादी रुप धारण गरेर आज विश्व पूँजीवादी चरणमा रहेको छ। नेपाली समाज पनि पूँजीवादी अवस्थामा छ भन्ने कुरा सबै राजनीतिक पार्टीहरुले स्वीकारेकै कुरा हो। नेपालको संविधानमै देशलाई समाजवादी बाटोमा लैजाने भनेर लेखिसकेपछि यो पूँजीवादी व्यवस्था अल्पकालीन हो भन्ने कुरा स्वत: प्रमाणित छ। अहिले नेपालको पूँजीवादी व्यवस्थाको चरित्र दलाल छ।

पूँजीवादको सिंगो आमचरण भित्र पहिलो चरण दलाल पूँजीवादमा केही मात्र धनी हुने र अधिकांश गरिब हुन्छन्, जुन अहिले नेपालको वास्तविकता हो। सुरुवातमा धनीहरु गाउँबाट शहरमा बसाइँ सर्दै जान्छन् र पूँजीवादी विकासको दोस्रो चरणमा राष्ट्रिय पूँजीको विकाससँगै गाउँ नै शहर बन्ने अवस्था रहन्छ र तेस्रो चरणमा पूँजीवादको चरम विकासमा समाजवादको न्यूनतम आधार बन्दै जानेछ।

देशमा नुनदेखि सुनसम्म उत्पादन नहुने, जीडीपीमा उद्योग क्षेत्रको योगदान ५% पनि पुग्न मुस्किल हुने, रेमिटेन्स निर्भर देशको आर्थिक अवस्था, देशको बजेट भन्दा धेरै आयात, निर्यात लगभग नगन्यले पनि देशको दलाल पूँजीवादी आर्थिक अवस्थाको चित्रण गर्छ।

अहिलेको दलाल पूँजीवादी अवस्थाबाट राष्ट्रिय पूँजीको विकास गर्दै आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्ने र जनताको शिक्षा, स्वास्थ्य, रोजगारी लगायतको ग्यारेन्टी गर्दै कृषि, उद्योग, कलकारखाना, यातायात, खानेपानी, भौतिक पूर्वाधारहरुको विकास गर्दै समाजवादको न्यूनतम आधार ‘क्षमता अनुसारको काम, काम अनुसार दाम’ तर्फ राज्य अगाडि बढ्ने बाटो हो।

जब समाजमा मानिस आर्थिक रुपमा सम्पन्न हुन्छन्, तब गाउँबाट शहरमा बसाइँ सर्ने विगत लामो समयदेखि चलन रहँदै आएको छ। एक हिसाबले भन्ने हो भने शहरवासी धनी वर्गमा नै गनिन्छन्। अहिलेको स्थानीय तह निर्वाचनमा काठमाडौं र धरानलाई विश्लेषण गर्ने हो भने यी शहर पूँजीवादको चरम विकासको चरणमा देखिन्छन्। अधिकांश जनता धनी भएको यी भूगोलमा आफू व्यक्तिगत रुपमा धनी तर त्यहाँको सामाजिक विकास कमजोर रहँदा जनताको असन्तुष्टि निर्वाचन मार्फत पोखिएको देखियो।

महलहरु सबै ठूला-ठूला आकर्षक, जनता सबै शिक्षित, नजिकै स्वास्थ्य सुविधा, रोजगारीको अवसर, संचारको सुविधा तर त्यहीं फोहोरमैलाको विकराल समस्या, खानेपानीको चरम अभाव, बाटोघाटो अस्तव्यस्त, बिजुलीका तारहरुले शहर नै कुरुप, शान्तिसुरक्षाको अभाव लगायत समस्या यथावत्। यसको प्रमुख कारण भनेको दलाल पूँजीवादको चरित्र हो। व्यक्ति धनी हुने तर राज्य गरिब। समस्याको समाधान गर्ने निकायमा सक्षम नेतृत्व खोज्नु लोकतान्त्रिक चरित्र पनि हो। काठमाडौं, धरानमा आफ्ना स्थानीय सरकारको नेतृत्वकर्ता स्वतन्त्र व्यक्तिहरु चुनिनु यही कारण हो।

विगत लामो समयदेखि काठमाडौंमा देखिएको फोहोर समस्या, बिग्रँदो बाटोघाटोको मुद्दा बोकेर आएका स्वतन्त्र उम्मेदवारलाई काठमाडौंका जनताले विजय गराए। त्यस्तै सम्पन्न लाहुरे बस्तीहरु भएको धरानमा विगत लामो समयदेखि रहेको खानेपानीको समस्या समाधान गर्ने प्रमुख नारा बोकेर स्वतन्त्र उम्मेदवार हर्क सम्पाङ विजयी भए।

काठमाडौं, धरानमा राजनीतिक पार्टीको विगतको नेतृत्वले सामाजिक विकासमा नेतृत्वदायी पहलकदमी लिन नसक्दा विकल्पमा स्वतन्त्र उम्मेदवारले विजय प्राप्त गरे। आफ्ना बाँकी समस्या समाधान गर्न युवा नेतृत्वप्रतिको विश्वासले विजय गराए।

यसले के संकेत गरेको छ भने नेपालको शहरी इलाकाहरु अब पूँजीवादको उच्चतम विकास चरणमा पुगेका छन् र अब सामाजिक विकास गर्न लायक नेतृत्व छनौटमा जनता पुगेका छन्। जब सामाजिक मुद्दाहरु जनताले छानेका प्रतिनिधिहरुले पूरा गर्नेछन् त्यो शहर, त्यो समाज समाजवादको न्यूनतम आधारमा पुग्नेछ। आज हामीले देखेको स्कान्डेभियन देशहरु नर्वे, स्विडेन, डेनमार्क, फिनल्याड लगायत यसको नमूना हो। यी देशहरुले आफूलाई कम्युनिस्ट पार्टीले अगाडि सारेको समाजवादलाई अंगीकार गरेको मान्दैनन् तर त्यहाँ अपनाइएको सामाजिक विकास मोडलमा जनताले शिक्षा, स्वास्थ्य, रोजगारमा सुविधा पाएका छन् । जसले समाजवादको आधार तय भएको संकेत गर्छ।

सुदृढ, पारदर्शी लोकतान्त्रिक विधिबाट शासन व्यवस्था संचालन गर्ने, कृषिमा आधारित उद्योग कलकारखानाबाट जनतालाई रोजगारको ग्यारेन्टी गर्ने, जनताबाट उठाएको करले जनताको शिक्षा, स्वास्थ्य, खानेपानी, भौतिक पूर्वाधारको व्यवस्था गर्ने जुन मोडेल छ, आज स्कान्डेभिएन देशहरुमा भएको मोडल यही हो, जुन मोडलबाट नेपालको विकास र समृद्धि गर्न सकिन्छ।

(लेखक युवा संघ नेपालका नेता हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?