+
+

मिसन मुगु : शल्यक्रियाका लागि पुग्दा जे देखियो

डा. अरुण केसी डा. अरुण केसी
२०७९ असार १४ गते १४:५२

गत वर्ष स्वास्थ्य शिविरका लागि वीर अस्पतालबाट हामी मुगु पुगेका थियौं । दुर्गम र स्वास्थ्य सेवाको पहुँच सहज नभएकाले त्यहाँ धेरै किसिमको स्वास्थ्य जटिलता हुनसक्छ भन्ने हाम्रो अनुमान थियो ।

जब स्वास्थ्य शिविर चलाइयो, उपचारका लागि स्थानीयवासी भेला भए । हामीले त्यहाँ ६०० जनाको स्वास्थ्य जाँच गरेका थियौं । त्यसमध्ये १५० जनाको कानमा जटिल समस्या देखियो । उनीहरुको शल्यक्रिया नै गर्नुपर्ने स्थिति थियो ।

स्वास्थ्य सचेतना नहुनु र अस्पतालको पहुँच सहज नहुनुले यस्तो समस्या हुने नै भयो । हामीले उनीहरुलाई भन्यौं, ‘तपाईंहरुले जीवनभर यस्तो रोग बोकेर बस्नुभन्दा काठमाडौं आउनुहोस्, हामी निःशुल्क उपचार गरिदिन्छौं ।’

शिविर सकेर हामी काठमाडौं फर्कियौं । हामीलाई आशा थियो, उनीहरु उपचारका लागि यहाँ आउनेछन् । तर त्यस्तो भएन । जम्माजम्मी तीन जना मात्र उपचार गर्न आए ।

उनीहरुलाई आफ्नो उपचार गर्नुपर्छ भन्ने थाहा छ । तर काठमाडौंसम्म कसरी आउने ? चाँजोपाँजो मिलाउन कठिन छ । खर्चदेखि घरव्यवहारसम्म मिलाउन गाह्रो भएकाले नै उनीहरु काठमाडौं आएनन् होला । त्यसैले यसपालि फेरि हामी स्वास्थ्य शिविरका लागि मुगु जाने भयौं ।

जेठ दोस्रो साता हामी बन्दोबस्तीको सामानसहित मुगुतर्फ लाग्यौं । त्यहाँ २७ गतेसम्मको शिविर थियो । यस हिसाबले १२ दिनको यात्राका लागि हामी निस्किएका थियौं । स्वास्थ्य शिविर रातोपानी भन्ने ठाउँमा हुँदै थियो । त्यहाँसम्म पुग्न मुगुको सदरमुकाम गमगढीबाट सात–आठ घण्टा हिंड्नुपर्ने ।

मिसन शल्यक्रिया

यसपालिको हाम्रो शिविर नयाँ बिरामीको स्वास्थ्य जाँच गर्नु थिएन । खासगरी पुरानै बिरामीको शल्यक्रिया गर्ने तयारीसाथ हामी त्यहाँ गएका थियौं । अघिल्लो वर्ष स्वास्थ्य शिविर गर्दा जे–जतिको शल्यक्रिया गर्नुपर्ने देखियो, उनीहरु निःशुल्क उपचार गराउन पनि काठमाडौंसम्म आउन सकेनन् । त्यसैले हामी नै त्यहाँ पुगेर उनीहरुको शल्यक्रिया गरिदिने बन्दोबस्तीका साथ गएका थियौं ।

क्याम्पमा सहभागी हुन मुगुकै पनि विकट ठाउँहरूबाट र जुम्ला, हुम्लाबाट पनि धेरै मानिसहरू आएका थिए ।

यो पटकको हेल्थ क्याम्प विशेषगरी दुई किसिमको थियो । पहिलो त कानको अपरेसन र दोस्रो स्वास्थ्य जाँच गरेर सामान्य औषधि वितरण गर्ने व्यवस्था थियो । त्यसमा नाक, कान, घाँटी र अन्य सामान्य स्वास्थ्य जाँच पनि समावेश थियो ।

यसपालि हेल्थ क्याम्पबाट लगभग ३०० जना लाभान्वित भए । त्यसमा ५४ जनाको निःशुल्क अपरेसन नै गरेका थियौं । अपरेसन गर्न काठमाडौं आउन नपाएकाहरूले पनि उतै अपरेसन गर्न पाउनु भनेको उहाँहरूको लागि एकदमै राम्रो अवसर हो ।

एक महिनापछि पनि हामी मुगु जाँदैछौं । अपरेसन कति सफल भयो केही समस्या छ कि भनेर अनुगमन गर्नको लागि ।

कानको समस्या अधिक

त्यस क्षेत्रमा नाक, कान र घाँटीमध्येमा कान सम्बन्धी समस्या एकदमै धेरै देखियो । नाक, कान, घाँटीलाई सफा राख्नुपर्छ भन्ने थाहा नै छैन । त्यहाँका मानिसहरूलाई स्वास्थ्यको विषयमा सामान्य ज्ञान पनि नहुनु भनेको हामीले त्यहाँ अझै जनचेतना फैलाउनुपर्ने देखिन्छ ।

त्यहाँ सबैभन्दा बढी कान सम्बन्धी समस्या देखियो । कानको समस्यामा पनि विशेषगरी कानको जाली प्वाल पर्ने, कान पाक्ने, कान दुख्ने र कान नसुन्ने समस्या बढी देखियो ।

उनीहरू यो समस्याबाट लामो समयदेखि जुधिरहेका छन् । उनीहरू उपचारको पहुँचमा नभएको कारणले पनि यस्ता समस्यासँग जुध्न बाध्य भएका हुन् । अघिल्लो वर्ष हेल्थ क्याम्पमा गएको बेला अपरेसन गर्नुपर्छ काठमाडौं आउनुस् भनेका बिरामीहरू अपरेसन गर्न यो पटकको क्याम्पमा सहभागी थिए । यसको मतलब वर्षौं वर्षदेखि यस्ता समस्याबाट जुधिरहेका रहेछन् ।

स्वास्थ्य चेतनाको कमी

यस्तो समस्या हुने मुख्य कारण भनेको चेतनाको कमी नै हो । नाक, कान, घाँटीलाई सफा राख्नुपर्छ भन्ने ज्ञान पनि धेरैलाई छैन । त्यसैले कान कोट्याउने, कानमा  विभिन्न कुरा राख्ने गर्नाले त्यस्तो समस्या देखिएको हो ।

मुगुका बासिन्दाहरू स्वास्थ्यप्रति त्यति धेरै सचेत भने छैन रहेछन् ।  त्यहाँ कान पाक्ने समस्या त सामान्य रहेछ । कान भनेको एकदमै संवेदनशील अंग हो, यो सामान्य होइन भन्ने कुरा थोरैलाई मात्र थाहा छ । त्यस्तै अन्य स्वास्थ्य समस्याको बारेमा पनि उनीहरू त्यति धेरै सचेत लाग्दैन थिए ।

मुगु विकट जिल्ला भए पनि त्यस जिल्लाको सदरमुकाम गमगढीमा आठ महिनाअघि कोरियाको सहयोगमा एकदमै राम्रो अस्पताल निर्माण भएको रहेछ । जिल्ला स्तरमा त्यति राम्रो अस्पताल हुनु भनेको राम्रो हो । तर हामी भने प्राथमिक स्वास्थ्य संस्थामा गएर अपरेसन गरेका थियौं । अस्पताल र स्वास्थ्य चौकीको व्यवस्था त छ । तर त्यहाँका मानिसहरूले त्यसको लाभ भने उठाउन सकेका छैनन् ।

(वीर अस्पतालका वरिष्ठ नाक, कान, घाँटीरोग विशेषज्ञ डा. केसीसँग अनलाइनखबरकर्मी सुमित्रा लुइँटेलले गरेको कुराकानीमा आधारित) 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?