+
+
विचार :

भजन मण्डलीको खतरामा मदन भण्डारी

हामी जुन बाटो हिँडिरहेका छौं त्यो भनेको नेतृत्वको भक्तिपूजा र फुली पजनीको बाटो मात्रै हो र इतिहासमा यो बाटोले कसैलाई उन्नतिमा पुर्‍याएको छैन । मदन भण्डारीप्रतिको हाम्रो श्रद्धा सम्मान त्यसबेला मात्रै सही ढंगले प्रकट हुनेछ जब हामी आफ्नो बाटो आफैं बनाउनेछौं ।

गौतम राई गौतम राई
२०७९ असार १४ गते १५:२५

प्रिय मार्क्स

तिमीलाई तिम्रै शिष्यहरुले पो धोका दिए

बैरीहरु त, हिजो जस्ता थिए

आजपनि उस्तै छन् !

–हान्स म्याग्नुस (जर्मन कवि)

मदन भण्डारीको जन्म आजकै दिन ताप्लेजुङको ढुंगेसाँघुमा भएको थियो । उहाँको जन्म यो धर्तीको आम मानवीय प्रक्रिया नै थियो । तर, उहाँको कर्म भने तत् समयका आम मानवमध्ये नेपाली समाजको आर्थिक–सामाजिक अनि राजनीतिक संकटको जकडबाट बाटो दिने रह्यो र त्यो निकै महत्वपूर्ण थियो ।

कम्युनिस्ट आन्दोलन सुरु हुँदाको बेलादेखि कम्युनिस्ट पार्टीहरुले आफ्नो राजनीतिक कार्यदिशा भनेको ‘नौलो जनवादी क्रान्ति’ रहेको बताए । जसका लागि त्यो बेलाको ‘अर्धसामन्ती, अर्धऔपनिवेशिक’ राज्यसत्ताका विरुद्ध संघर्ष गर्नुरहेको बताएका थिए ।

यो लाइनसम्म सबै कम्युनिस्ट पार्टीहरु ठीक थिए । तर त्यो संघर्ष चाहिँ कसरी हुन्छ ? कसरी गर्ने ? भन्ने बाटो अपनाउन फरक–फरक तर्कसहित फुटे । राणाकालीन समय, २००६ सालमा गठन भएको कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पलालको लाइन चाहिँ सम्पूर्ण जनतालाई संगठित गरेर त्यो अर्धसामन्ती सत्ताका विरुद्ध संघर्ष गर्नुपर्छ भन्ने थियो ।

२००७ सालको क्रान्ति, राजा महेन्द्रको उदय र जगजगी, २०१७ सालको कू र पार्टीहरुमाथिको प्रतिबन्ध, २०३६ सालको विद्यार्थी आन्दोलन र जनमत संग्रह, २०४६ सालको जनक्रान्ति र संसदीय व्यवस्थाको औपचारिक सुरुवात, यस्ता अनेकौं समय र परिस्थितिहरु व्यहोर्दै आएको नेपाली समाजमा कम्युनिस्ट आन्दोलनले आफ्नो स्थापनाकालीन क्रान्तिको कार्यभार नै बोकेर घिस्रिरहेको थियो ।

त्यो बेलासम्म राष्ट्रिय मात्रै हैन, अन्तर्राष्ट्रिय परिस्थितिमा समेत धेरै परिवर्तन भइसकेका थिए । जस्तो कि भारत स्वतन्त्र भइसकेको थियो, चीनमा नौलो जनवादी क्रान्ति सम्पन्न भएर पनि साँस्कृतिक क्रान्तिका ज्वारभाटा सकिएर देङ स्याओपिङले चीनलाई अघि बढाइसकेका थिए । रुसको सोभियत सत्ता ढलेर विश्वभरिका कम्युनिस्ट आन्दोलनहरु पनि एकपछि अर्को ओरालो लागिरहेको थियो ।

नेपालमा भर्खर आएको प्रजातन्त्र र संसदीय व्यवस्थाका वरिपरि कम्युनिस्टहरुले लिनुपर्ने बाटोबारे अन्यौलका बीच मदन भण्डारीले भन्नुभयो– हामीले गर्ने नौलो जनवादी क्रान्ति नै हो तर अब त्यो हिजोको जस्तो परम्परागत नभएर संसदीय प्रतिस्पर्धामा पनि सामेल भएर जित्दै, सम्पूर्ण जनतालाई जागरुक र संगठित गर्दै क्रान्तिको तयारी गर्नेछौं । त्यसरी गरिएको तयारीले जब क्रान्तिको परिस्थिति निर्माण हुन्छ तब अर्धसामन्ती, अर्धऔपनिवेशिक राज्यसत्तालाई अन्तिम धक्का दिन बलप्रयोग हुनसक्नेछ ।

र, त्यस्तो क्रान्तिले मूलतः संविधानको सर्वोच्चता, बहुलवादी खुल्ला समाज, शक्ति पृथकीकरणको सिद्धान्त, मानवअधिकारको रक्षा, बहुदलीय प्रतिस्पर्धात्मक प्रणाली, आवधिक निर्वाचन, बहुमतको सरकार तथा संवैधानिक प्रतिपक्ष, कानुनी राज्य, वैदेशिक पुँजी र प्रविधिको उपयोग, क्षतिपूर्तिको नीति, वैदेशिक नीति, नेतृत्व र अधिनायकत्व, जनवादी व्यवस्थाको सुदृढीकरण जस्ता विशेषताहरु भएको राज्य व्यवस्था निर्माण गर्नेछ ।

भलै, ती विचारका आधारभूत कुराहरु युरो कम्युनिज्मले अपनाइसकेको थियो । र, त्यसैलाई ‘नेपाली क्रान्तिको कार्यक्रम– जनताको बहुदलीय जनवाद’ शीर्षकमा २०४९ सालको नेकपा एमालेको पाचौं महाधिवेशनबाट पारित गरियो ।

मदनले देखाउनुभएको बाटोले विश्वभरि रक्षात्मक बनिरहेको कम्युनिस्ट आन्दोलनलाई नेपालमा स्थापित गर्न अवश्य नै ठूलो योगदान दिएको थियो । त्यसैले, आज जो हामी आफूलाई कम्युनिस्ट वा कम्युनिस्ट पार्टीको सदस्य भनिरहेका छौं हामीले मदनप्रति राख्ने श्रद्धाभाव उहाँको उक्त योगदानको लागि हो । मदन भण्डारीले देखाउनुभएको कम्युनिस्ट आन्दोलनको त्यो बाटोका लागि अतुलनीय सम्मान र श्रद्धाका लागि योग्य हुनुहुन्छ । तर, अब हामी उहाँले देखाउनुभएको बाटोबाट समेत अगाडि बढिसकेका छौं ।

मदन भण्डारीले भन्नुभएको जस्तो क्रान्ति हामीले २०६२/६३ को जनक्रान्ति मार्फत पूरा गरिसकेका छौं । उहाँले अर्धसामन्ती अर्धऔपनिवेशिक समाजमा क्रान्ति गर्ने भनेर भन्नुभएको थियो । त्यो क्रान्ति सम्पन्न भइसक्यो र अब नेपाली समाजको चरित्र समेत हिजोको जस्तो अर्धसामन्ती, अर्धऔपनिवेशिक नभएर पुँजीवादी भएको र त्यो पुँजीवादको चरित्र भने औद्योगिक नभएर दलाल रहेको र अब त्यस्तो समाजको विकास र क्रान्तिका लागि अघि बढ्नु नेपालको कम्युनिस्ट आन्दोलनको मुख्य कार्यदिशा र कार्यभार तय गरिनुपर्दछ भनेर नेकपा एमालेको आठौं महाधिवेशनबाट पूरक दस्तावेज बोकेर आएका घनश्याम भूसालले अघि सारेको बाटोलाई समेत औपचारिक रुपमा २०७१ मा सम्पन्न नेकपा एमालेको नवौं महाधिवेशनले स्थापित गरिसकेको छ ।

त्यसो हुँदा नेपाली समाज अब मदनकालीन रहेन । मदन भण्डारीले भनेको भन्दा समग्र समाज नै अघि बढिसकेको छ । किनकी, आजको राजनीतिको विशेषता भनेको शासन गर्नु होइन बरु समाजको संकट समाधान गर्नु हो ।

पुष्पलालले अघि सार्नुभएको नौलो जनवादी क्रान्ति– नेपाली कांग्रेससँगको संयुक्त आन्दोलनद्वारा नेपालमा लोकतन्त्र स्थापना गर्ने कार्यभार जसरी २०४६ को जनक्रान्तिले पूरा गरेको थियो, ठीक त्यसरी नै मदन भण्डारीले भन्नुभएको– संसदीय व्यवस्थालाई स्वीकार्दै, जनतालाई व्यापक संगठित र परिचालित गर्दै अर्धसामन्ती राज्यसत्तालाई अन्तिम धक्का दिएर गरिने क्रान्तिको कार्यभार २०६२/६२ को जनक्रान्तिले पूरा गरिसकेको छ ।

मदन भण्डारीले भन्नुभएको जस्तै– संविधानको सर्वोच्चता, शक्तिपृथकीकरणको सिद्धान्त, बहुमतको सरकार अल्पमतको प्रतिपक्ष जस्ता आधारभूत विशेषता भएको व्यवस्था पनि हामीले नेपालको संविधान २०७२ मार्फत स्थापित गरिसकेका छौं । जुन संविधानको प्रस्तावना मै ‘नेपाल समाजवाद उन्मुख राज्य हुनेछ’ भनेर समेत स्थापित गरिसकेका छौं ।

तसर्थ, आजको अवस्थालाई यहाँसम्म डोर्‍याउनमा मदनको अतुलनीय योगदान अवश्य छ । तर अब हामीले उहाँप्रति जति कृतज्ञ हुनुपर्ने हो, त्यो कृतज्ञता प्रकट गर्दै हामीले आजको बाटो पहिल्याउनुपर्नेछ । जसरी मदनले आफ्नो समयको बाटो खोज्नुभयो, देखाउनुभयो ठीक त्यसरी नै हामीले आफ्नो आजको बाटो खोज्नुपर्नेछ, हामीले सिंगो पुस्तालाई हाम्रो बाटो देखाउनुपर्नेछ ।

किनकि, हामी मदनले भन्नुभएको गन्तव्यमा त आइपुग्यौं तर त्यसपछि कता जाने ? भन्ने ठूलो वैचारिक अलमलमा रहेको कारण– कम्युनिस्टको बलियो बहुमत रहेको संसद विघटन भयो, दुई तिहाइको सरकार ढल्यो, प्रदेश र स्थानीय सरकारहरु गुमे, एकताबद्ध नेपाल कम्युनिस्ट पार्टी फुटेर तीन टुक्रा भएको छ, हरेक पार्टीभित्र अनेकौं विकृति र विसंगतिहरुको चाङ लागेको छ ।

क. मदन भण्डारीप्रतिको असिम श्रद्धासम्मान त्यो बेला पुष्टि हुनेछ, जब उनले देखाएको बाटोबाट यहाँसम्म ल्याइपुर्याएको पार्टी आन्दोलनलाई कसैको भजन गाएर हैन रुपान्तरण गरेर हाम्रो समयको क्रान्तिका लागि अघि बढ्नेछौं । तब मदन पनि बाँचिरहनेछन्, जब मदन बाँचरिहनेछन् तब मात्रै उनीप्रतिको श्रद्धासम्मान पुष्टि हुनेछ ।

पार्टीहरु भित्र विचार, सिद्धान्त र राजनीति मरणासन्न अवस्थामा पुगेको छ । पार्टीको नेता हुनु भनेको ठूला–ठूला ठेक्कापट्टा मिलाउन सक्ने, माल अड्डाहरुमा सरुवा बढुवा गराउन सक्ने, ठूलाठूला कमिसन मिलाउन सक्ने अथवा एउटा असली दलाल गिरोहको सदस्यमा हुनुपर्ने यस्ता अनेकौं गुण र विशेषताले युक्त हुनुपर्दछ भन्ने भएको छ ।

यस्ता तमाम खालका अनेकौं संकट, गञ्जागोलका बीचबाट अबको कम्युनिस्ट आन्दोलनको बाटो हामीले खोज्नुपर्नेछ । त्यो बाटोको आधार भनेकै हामीले हिजो स्थापित गरेको कार्यदिशा हो । २०६५ सालमा सम्पन्न नेकपा एमालेको आठौं महाधिवेशनबाट घनश्याम भूसालले अघि बढाउनुभएको कार्यदिशालाई नेकपा एमालेको २०७१ सालमा सम्पन्न नवौं महाधिवेशनले स्थापित गरिसकेको छ ।

त्यो कार्यदिशा भनेको, आजको हाम्रो समस्या दलाल पुँजीवाद हो, उक्त दलाल पुँजीवादका विरुद्ध संघर्ष गर्दै देशभित्र युवाशक्तिका लागि उद्यम, रोजगारीको सिर्जना गर्नुपर्दछ र त्यो उद्यमद्वारा राष्ट्रिय पुँजीको विकास गर्दै संविधानले ग्यारेन्टी गरेको ‘समाजवाद उन्मुख’ राज्य निर्माण गर्नुपर्दछ ।

हामीले, त्यो कार्यदिशा अनुरुपको कार्यक्रम र संगठनात्मक सिद्धान्त निर्माण गरेर नवौं महाधिवेशनपछि अघि बढिसक्नुपर्ने थियो । तर, जसको नीति पास भयो नेतृत्व उसको भएन, अरुको भयो । नवौं महाधिवेशनमा घनश्याम भूसालको नीति पास भयो तर नेतृत्वमा केपी ओली चुनिनुभयो ।

त्यसैले नेकपा एमालेको कार्यदिशा अनुरुपको कार्यक्रम र संगठनात्मक सिद्धान्त बन्न सकेन । त्यसैको परिणतिहरु हुन् पार्टी विभाजन, फुट, संसद र सरकार विघटन, नेतृत्वको अहंकार कार्यकर्ताहरुको भक्तिपूजा, रिस, कुण्ठा, आवेग र गाली गलौजको आजको राजनीति ।

किनकि, आफ्नो विचार भए पो मेरो कुरा यो छ, यसो गरौं भन्ने हुन्थ्यो, आफ्नो कार्यक्रम भए पो यस्तो कार्यक्रम छ यसलाई पूरा गर्न भोट दिनुस् भन्न हुन्थ्यो, आफ्नो संगठनको सिद्धान्त यो छ, त्यसकारण यस्ता मान्छेहरु मात्रै संगठनमा रहन सम्भव हुन्छ भन्ने हुन्थ्यो अनि दुर्गा प्रसाईं, मोती दुगड, कोमल वली, करिश्मा मानन्धरहरुको तमासामा एमाले हुँ भन्ने कोही सदस्य लज्जित हुनुपर्दैनथ्यो ।

पार्टीको कार्यदिशा, कार्यक्रम, संगठनात्मक सिद्धान्त ठीक हुन्थ्यो भने पो सम्पूर्ण कार्यकर्ता त्यो कार्यदिशा र कार्यक्रम बुझ्न बुझाउन देशभरि छलफल, बहस, प्रशिक्षण, प्रकाशन गर्थे, लेख लेख्थे, पार्टीले व्यापक प्रशिक्षण चलाउँथ्यो । पाटीभित्र पढ्ने, लेख्ने, छलफल, बहस गरेर पार्टीपंक्ति र जनतालाई प्रशिक्षित र जागरुक बनाउने युवा, विद्यार्थीहरुको व्यापक जमात जन्मिन्थ्यो ।

तिनीहरुले आ–आफ्नो वडा र टोलमा डोजर चाहिन्छ कि मल बीउ चाहिन्छ, भ्यूटावर चाहिन्छ कि उद्यम कारखाना चाहिन्छ, बोर्डिङ स्कूल खोल्ने कि सरकारी स्कूल व्यवस्थित गर्ने, नेपोलियन बोनापार्टका सौर्यगाथा गाउने कि कसरी कम्पोस्ट मल राम्रो बनाउन सकिन्छ ? भन्ने पाठ्यसामग्री तयार गर्ने, मेडिकल खोल्ने कि प्राथमिक स्वास्थ्य चौकी व्यवस्थित गर्ने, रोगको उपचार मात्रै गर्ने कि रोगबाटै बच्ने उपाय खोज्ने, कस्तो खानपान र जीवनशैली अपनाउने, पासपोर्ट बनाउने कि कम्पनी दर्ता गर्ने…. भनेर छलफल गर्थे, विकल्प रोज्थे, पार्टी क्रान्ति र देशलाई बिस्तारै गुलजार बनाउँदै लान्थे, त्यहीँ बाटोले समाजवाद उन्मुख राज्य निर्माण गथ्र्यो ।

तर, यहाँ त सबका सब नेतृत्वको नाममा को मेरो सबभन्दा असली चाकर हो ? कसले मेरो खातापाताको सही हिसाब किताब राख्छ, कसले मेरो फर्मानको असली ताबेदारी गर्छ, कसले मेरा सबै नालायकीहरुलाई ढाकछोप गरेर जनताबीच भ्रमको खेती उर्बर बनाउँछ ?…. भन्नेहरुको खोजी गरेर तदनुसारको फुली पजनी गरिन्छ ।

अनि ती पजनी पाएकाहरु पनिकसरी नेताको असली गुलाम बन्ने ? कसरी बढीभन्दा बढी दलाली, असुली गरेर अकूत कमाउने ? कसरी पुलिस, प्रशासन ध्वस्त गरेर व्यवस्था सिध्याउने ? कसरी संस्था, संगठनहरु निकम्मा बनाएर सहज आयको स्रोतमा परिणत गर्ने ?… भन्नेहरुको बिगबिगी छ राजनीतिमा, पार्टीभित्र ।

त्यसैले, आजको पुस्ताले हर्क साम्पाङ र बालेनहरुले किन जिते ? किन हामी यतिका वर्ष राजनीति गरेर पनि केही बन्न सकिरहेका छैनौं ? भनेर घोत्लिने हो भने आजको जारी राजनीतिक प्रक्रिया र अभ्यासबाट आफूलाई १८० डिग्रीको कोणमा फर्काउन जरुरी छ ।

किनकि, हामी जुन बाटो हिँडिरहेका छौं त्यो भनेको नेतृत्वको भक्तिपूजा र फुली पजनीको बाटो मात्रै हो र इतिहासमा यो बाटोले कसैलाई उन्नतिमा पुर्‍याएको छैन बरु भक्तिपुजा र फुली पजनीले ती सबै सत्ता पतन भएर गएका छन् । त्यसैले, कमरेड मदन भण्डारीप्रतिको हाम्रो श्रद्धा सम्मान त्यसबेला मात्रै सही ढंगले प्रकट हुनेछ जब हामी आफ्नो बाटो आफैं बनाउनेछौं, हिँड्नेछौं अनि मदनले डोर्‍याएको बाटोलाई अघि बढाउनेछौं ।

किनकि, मदनले पनि आफ्ना अग्रजहरुको मात्रै भजन गीत गाएर, तिनका भक्तिपूजा गरेर, तिनका नालायकीलाई ढाकछोपको धन्दा चलाएर, फुली पजनीको आशमा बस्नुको साटो बरु तिनका नालायकीहरुमाथि निर्मम प्रहार गरेर, आफ्नो समयको संकटलाई बुझेर, आफ्नो समयको बाटो देखाएका थिए ।

कार्ल मार्क्स हेगेलका चेला थिए । तर, स्वयं मार्क्सले नै आफ्ना महान गुरु हेगेलको सीमितताहरु पत्ता लगाए, त्यसको आलोचना गरे र त्यसलाई अघि बढाए । मार्क्सले हेगेलको सिद्धान्तलाई अपुग छ भनेर आलोचना गर्नु र त्यसलाई थप विकसित गर्नु भनेको हेगेलको विरुद्धमा थिएन । बरु हेगेलको सिद्धान्तलाई थप विकसित गर्नुथियो ।

कार्ल मार्क्सको त्यही हेगेलप्रतिको आलोचनात्मक विकासले आजसम्म हेगेललाई बचाएका छन् । बरु हेगेलको द्वन्द्ववादको मात्रै भजन गाएर बस्ने, आफूलाई हेगेलको असली शिष्य हुँ भन्ने कार्ल डब, हेनरिख लियोहरु इतिहासको गर्तमा विलीन भए । किनकि, असली चेलाको काम त आफ्ना गुरु, अग्रजको विचारलाई विकसित गर्नुहुन्छ । भजन त ती नालायकहरुले गाउँछन् जोसँग त्यो कुरा बुझ्ने सामथ्र्य नै हुदैन भने तिनीबाट विकासको के अपेक्षा गर्न सकिन्छ र !

त्यसैले मदन भण्डारीको जन्मदिन होस वा स्मृति दिवस होस् । मूलतः नेकपा एमालेका ती तमाम कमरेडहरुले, अझ हामी युवाहरुले सोच्नु वा बुझ्नुपर्ने मुख्य कुरा के छ भने, हामीले मदन भण्डारीप्रतिको सही श्रद्धासम्मान व्यक्त गर्ने हो भने हामीले मदनको विचारको विकास गर्ने प्रक्रियासँग जोडिनुपर्छ, त्यसलाई विकसित गर्नुपर्छ ।

जब हामीले मदनको विचारलाई विकास गर्दछौं तबमात्र मदन बाँच्नेछन् । जसरी मार्क्सले आजसम्म हेगेललाई बचाइरहेका छन् । आज हामीले मदन भण्डारीलाई बचाउने भनेका मदन भण्डारीको भजन गाउनेलाई हैन बरु मदन भण्डारीको विचारलाई आलोचना सहित विकास गर्नेलाई अघि बढाएर मात्रै सम्भव हुन्छ ।

किनकि, मदन भण्डारीपछि नेपालको कम्युनिस्ट आन्दोलनको नयाँबाटोको बारेमा नेकपा एमालेको आठौं महाधिवेशनबाट निरन्तर पैरवी र स्थापित गरिरहेका घनश्याम भूसालहरु आज भजन चाहने र भजन गाउनेहरुको कोपभाजनमा पर्नु र परिरहनु नै आजको एमालेको, कम्युनिस्ट आन्दोलनको बाटो अलमलिनु हो ।

कवि हान्स म्याग्नुसले भनेझैं बरु मदन भण्डारीलाई त उनीहरुले पो सिध्याउँदैछन् जसले मदनको भजन गाएर÷गवाएर आफूलाई असली शिष्यको रुपमा प्रचार गरेर आफ्नो नीहित स्वार्थपूर्तिका लागि सिंगो पार्टी सत्ताको दोहन गरिरहेछन् ।

आफू सम्राट र नवसम्राटको भ्रममा बाँचिरहेका छन्, सिंगो पार्टी पंक्तिलाई विचार र प्रशिक्षण नदिएर भजनमण्डलीमा परिणत गरिरहेका छन्, अनि मदनको भजनसँगै आफ्नो भजन गाउन लगाएर सम्पूर्ण समाजमा घृणा, कुण्ठा, द्वेष र गालीगलौजको राजनीतिमा सिंगो पार्टीपंक्तिलाई उतारेर आफ्नो हर्कतको जन्ती बनाइरहेका छन् । वस्तुतः मदनप्रतिको श्रद्धाचाहिँ त्यस्तो प्रवृत्तिको जन्ती हैन बरु मलामी बनेर मात्रै सम्भव छ ।

किनकि, सिंगो युवाहरुको क्रान्तिकारीपन र क्षमतालाई मारेर, तिनीहरुलाई वैचारिक रुपमा लम्पट बनाएर भजनमण्डली बनाउनु भनेको त सिंगो आन्दोलनमाथिको अपराध हो । यस्तै अपराध, स्टालिनहरुले गरेका थिए र त्यत्रो महान सोभियत सत्ता गल्र्यामगुर्लुम ढल्यो ।

स्टालिन सधैं भजनमण्डली चाहन्थे, त्यो उत्कण्ठ स्वार्थपूर्तिका खातिर उनले आफ्नो पोलिटब्यूरोका सबै–सबै कमरेडहरुको हत्याकाण्ड रचना गरे । त्यसैको उपज नेतृत्वको अति देवत्वकरण र शक्तिको अतिकेन्द्रीकरण निर्माण गरियो, जब नेतृत्वको रुपमा गोर्वाचोभले रसियन कम्युनिस्ट पार्टी विघटन भएको घोषणा गरे तब एउटा कमिटी, एउटा समूह पनि गोर्वाचोभको नालायकी विरुद्ध सडकमा आएनन् ।

किनकि, उनीहरुलाई पहिल्यै नेतृत्वको भजनमण्डलीमा परिणत गरिसकिएको थियो । त्यसकारण, भजन गाउनेहरुले कहिल्यै क्रान्ति गर्दैन, उनीहरुबाट परिवर्तन कहिल्यै भएको इतिहास छैन, उनीहरु त बिस्तारै मर्दै–मर्दै जाने मात्रै हो !

त्यसैले,

मेरे दोस्तों,

हमारे समयका इतिहास

बस यहीँ ना रह जाए

कि हम धीरे धीरे मरने को हि

जीना समझ बैठे

–पाश

क. मदन भण्डारीप्रतिको असिम श्रद्धासम्मान त्यो बेला पुष्टि हुनेछ, जब उनले देखाएको बाटोबाट यहाँसम्म ल्याइपुर्‍याएको पार्टी आन्दोलनलाई कसैको भजन गाएर हैन रुपान्तरण गरेर हाम्रो समयको क्रान्तिका लागि अघि बढ्नेछौं । तब मदन पनि बाँचिरहनेछन्, जब मदन बाँचरिहनेछन् तब मात्रै उनीप्रतिको श्रद्धासम्मान पुष्टि हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?