+
+

हैजा समुदायमा फैलिसकेको हुन सक्छ

केही मानिसमा हैजाको लक्षण नदेखिए पनि संक्रमण भएको हुनसक्छ र उनीहरूको दिसामार्फत लगातार केही दिनसम्म हैजाको जीवाणु बाहिर निस्कन्छ । ती व्यक्तिले सरसफाइमा ध्यान नदिए अन्य व्यक्तिमा सजिलै सर्छ ।

डा. विमल शर्मा चालिसे डा. विमल शर्मा चालिसे
२०७९ असार १४ गते २०:२७

काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा हैजाका बिरामी देखिनु जनस्वास्थ्यका हिसाबले गम्भीर विषय हो । थालेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले उपत्यकाको दश स्थानमा हैजाका बिरामी फेला परेको बताइसकेको छ ।

काठमाडौं उपत्यकामा मानिसहरु काम गर्न, पढ्न वा भेटघाटका सिलसिलामा आवतजावत गरिरहेका हुन्छन् । उनीहरुले दूषित पानी वा खानेकुरा खाइरहेका हुन सक्छन् जहाँबाट हैजा फैलिएको छ ।

जीवाणुको स्रोत यकिन नभएसम्म यही ठाउँबाट हैजा फैलिएको भन्न सकिदैन । तथापि अहिले एक भन्दा बढी ठाउँमा हैजाका बिरामी देखिएकाले संक्रमणको स्रोत धेरै छ ।

संक्रमण फैलिने सम्भावना कति ?

गाउँघरमा पानीको स्रोत थोरै हुने भएकाले संक्रमणको स्रोत छिट्टै पत्ता लाग्छ । तर, काठमाडौं उपत्यकामा पानीको स्रोत धेरै छन् । जस्तै ढुंगेधारा, घरघरमा जोडिएको धारा, ट्यांकर, जारका पानी संक्रमणको स्रोत बनिरहेका छन् ।

पानीमा दिसामा पाइने किटाणु (इकोली तथा कोलिफर्म) भेटिइरहेका छन् । त्यसैले संक्रमणको स्रोत जति छिट्टो पत्ता लगायो, त्यति छिट्टै निर्मलीकरण गर्न सकिन्छ र स्रोतबाट हैजाका जीवाणु फैलन पाउँदैन । हैजाबाट हुने ठूलो क्षतिको जोखिमबाट जोगिन सकिन्छ । संक्रमणको स्रोत पत्ता लगाउन ढिला भए अझै फैलिने सम्भावना हुन्छ ।

सानेपामा बस्ने मानिसमा हैजा पुष्टि भएमा संक्रमणको स्रोत त्यहीँ पनि हुन सक्छ र बाहिर पनि हुन सक्छ । किनकी हैजा पुष्टि भएको मानिस सानेपा भन्दा बाहिरको ठाउँमा जाँदा आएको खानेकुराबाट पनि सरेको हुन सक्छ । त्यसकारण हामीले स्रोत पत्ता लगाउन खोजीको दायरा बढाउन जरुरी छ ।

संक्रमणको स्रोत पहिचान नहुँदासम्म कम्तीमा पनि पानीलाई एक मिनेटसम्म उमालेर पिउनुपर्छ । एक मिनेटसम्म उमाल्दा हैजाका जीवाणु नष्ट हुन्छन् । हामीले खाने कुरालाई पनि राम्ररी पकाएर खानुपर्छ । बासी खानेकुरा खानु हुँदैन ।

साबुन पानीले हात धोइरहनुपर्छ । पकाएर खान नमिल्ने खानेकुरा र फलफूल सफा पानीले धोएर खानुपर्छ ।

काठमाडौं उपत्यकामा हैजाका बिरामी भेटिएको एक हप्ता बितिसकेको छ । हामीले हैजा जुन किसिमले फैलिन्छ भनेर आकंलन गरेका थियौं । तर, त्यस किसिमले फैलिएको भने छैन । जनचेतनाका कारणले पनि नफैलिएको हुन सक्छ । कोरोना महामारीले आम मानिसलाई व्यक्तिगत सरसफाइ गर्न र सफा तथा ताजा खान सिकाएको छ ।

त्यस्तै झाडापखलाको समस्या देखिनेवित्तिकै अधिंकाश मानिसले स्वास्थ्यकर्मीको सल्लाह लिएर औषधि खाने गरेका छन् । यस हिसाबले अस्पतालमा भन्दा घरघरमा हैजाका बिरामी बढी हुन सक्छन् ।

हैजाका बिरामीमा सामान्य लक्षण देखिने भएकाले स्वास्थ्य संस्थामा आइपुगेका छैनन् । हैजा भएका सय जना मानिसमध्ये दश जनामात्रै जटिल समस्या देखिएर स्वास्थ्य संस्थामा आउने गर्छन् । बाँकी ८०–९० जना बिरामीमा साधारण लक्षण देखिने हुनाले औषधि र उपचारको जरूरत पदैन । तर, हैजा समुदायभित्र हामीले अनुमान गरेकोभन्दा बढी संख्यामा छ भनेर ठोकुवा गर्न सकिन्छ ।

हैजा कोलेरा भिब्रिओ कोलरी नामक जीवाणुको संक्रमणको कारणले हुन्छ । जुन संक्रमित मानिसको दिसामा हुन्छ । त्यो जिवाणु हाम्रा खानेकुरा (पानी, तरकारी)को माध्यमले आन्द्रामा पुग्ने गर्छ । त्यो बाहेक अन्य किसिमबाट हैजाको संक्रमण भने हुँदैन ।

हैजाको मुख्य लक्षणहरु पातलो दिसा आउनु हो । हैजा भएका मानिसहरूलाई निरन्तर दिसा लाग्छ । उनीहरूको दिसा अधिक पातलो हुन्छ ।

त्यस्ता मानिसको शरीरबाट चौलानीजस्तो तरल पदार्थ निरन्तर बगिरहन्छ । सँगसँगै वान्ता हुन्छ र ज्वरो पनि आउँछ ।

पटक पटक बान्ता आउने, पेट वा खुट्टाको मांसपेशी बाउँडिनेजस्ता समस्या अधिकांश बिरामीमा देखिन्छन् । शरीरबाट अधिक तरल पदार्थ खेर जाने भएकाले तौल नै घट्न जान्छ ।

शरीरमा पानी र नुनको मात्रा कम हुने हुँदा बिरामीहरूमा अधिक थकान र बेचैनी बढ्छ । जसका कारण मिर्गौलामा समस्या र रक्तचाप बढ्छ । यस्तो अवस्थामा तुरुन्तै उपचार नभए पानीको मात्रा कम भएर वा मिर्गौलाले काम नगरेर बिरामीको मृत्यु पनि हुन सक्छ ।

तर हैजाको जिवाणु संक्रमण भएका अधिकांश मानिसमा साधारण लक्षणमात्र देखिन्छ र केही दिनभित्रै निको हुन्छ । जटिल समस्या देखियो भने तुरुन्तै उपचार दिन नसकेमा छिटै मृत्यु हुन्छ ।

केही मानिसमा हैजाको लक्षण नदेखिए पनि संक्रमण भएको हुनसक्छ र उनीहरूको दिसामार्फत लगातार केही दिनसम्म हैजाको जीवाणु बाहिर निस्कन्छ । ती व्यक्तिले सरसफाइमा ध्यान नदिए अन्य व्यक्तिमा सजिलै सर्छ ।

हैजा नियन्त्रणमा सबैभन्दा महत्वपूर्ण कुरा निगरानी नै हो । केस छिटोभन्दा छिटो पत्ता लगाएर उपचार गर्नुपर्छ । हैजा नियन्त्रणमा समुदायलाई परिचालन गर्नुपर्छ । स्वास्थ्यसम्बन्धी जनचेतना फैलाउनुपर्छ ।

हैजाविरुद्ध विश्व स्वास्थ्य संगठनले तीन किसिमको खोपलाई मान्यता दिएको छ । खोप लगाएको अवस्थामा हैजाबाट बच्न सकिन्छ । खोपको उपलब्धता सरकारले चाहिएको अनुपातमा व्यवस्था गर्न सक्नुपर्छ ।

विगतका बर्षमा पनि हैजा देखिएको हुन सक्छ । तर कोरोना महामारीका कारण यसको पहिचान भएको थिएन । जतिबेला हैजाका बिरामीहरु बढ्नुपर्ने थियो, त्यतिबेला देशव्यापी लकडाउन भएको थियो । मानिसहरुको आवतजावत, चहलपहल कम हुँदा हैजाको संक्रमण फैलिन पाएन ।

हैजा नियन्त्रणको लागि प्रत्येक नागरिकले आआफ्नो दायित्व निभाउनुपर्छ । मेरो हातको सरसफाइ गर्नु मेरो कर्तव्य हो भन्ने सोच्नुपर्छ । हामीले खानेपानी उमालेर खानुपर्छ । सकेसम्म घर बाहिर खानेकुरा नखाने र खानैपरेमा राम्ररी पाकेको र ताजा खानेकुरा मात्र खानुपर्छ ।

(डा. चालिसे शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिफ कन्सल्टेन्ट फिजिसियन हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?