+
+

सर्वनाम शिक्षालयका होस्टल वार्डेन पुर्पक्षका लागि थुनामा

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १६ गते १७:०६

१६ असार, काठमाडौं । काठमाडौं जिल्ला अदालतले बाल यौन दुरुपयोगको अभियोग लागेका गोकर्णेश्वर नगरपालिका–६ शान्ति टोलको सर्वनाम शिक्षालयका शिक्षक तथा होस्टल वार्डेन रामजी बस्नेतलाई पुर्पक्षका लागि थुनामा पठाएको छ ।

न्यायाधीश केदारनाथ पौडेलको एकल इजलासले बस्नेतलाई पीडित बालिकाहरुको सर्वोत्तम हित र पीडितबाट सुरक्षित हुन पाउने पीडितको अधिकार समेतलाई दृष्टिगत गरी पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

बस्नेतविरुद्ध सर्वनाम शिक्षालयमा पढ्ने र त्यहीँको होस्टलमा बस्ने ११ वर्ष, १२ वर्ष र १४ वर्षका गरी ३ जना किशोरीले बाल यौन दुरुपयोगको मुद्दामा जाहेरी दिएका थिए । उनीहरुले बस्नेतले माया गरेजस्तो गरी अंगालो हाल्ने, संवेदनशील अंगमा छुने, मोवाइलमा अश्लिल फिल्म राखिदिने, कसैलाई भनेमा बेइज्जत गरिदिने र स्कुलबाट निकाल्ने धम्की दिएको वयानमा बताएका थिए । तर बस्नेतले आफूमाथि लागेको आरोप अस्वीकार गरेका थिए ।

तर अदालतले पीडितहरुले घटना विवरणमा उल्लेख गरेको व्यवहार आफ्नो शिक्षकले गरेका हुन् भनी सामान्य समझबाट पनि कल्पना गर्न नसकिने प्रकृतिको भएको उल्लेख गरेको छ । ‘संरक्षक र अभिभावकको रुपमा रहेका शिक्षकबाट यस्तो व्यवहार अपेक्षित हुँदैन’ आदेशमा भनिएको छ ।

बालयौन दुरुपयोग गर्नेलाई मुलुकी अपराध संहिता २०७४ को दफा २२५ (३) अनुसार ३ वर्ष कैद र ३० हजार जरिवानाको व्यवस्था छ । सामान्यतया ३ वर्ष कैद सजाय हुने मुद्दामा अदालतले प्रतिवादीलाई धरौटीमा छाड्ने गर्छ । तर यस मुद्दामा पीडित बालिकाको हितलाई हेरेर अदालतले विवेक प्रयोग गरेको देखिएको पीडितका तर्फबाट बहस गरेका अधिवक्ता विनोदमणि भट्टराईले बताए ।

सर्वनाम शिक्षालयको होस्टलमा बस्ने ती किशोरीले आफूहरुमाथि भएको यौन दुर्व्यवहारबारे अभिभावकलाई जानकारी गराएका थिए । गत जेठ २० गते अभिभावकले घटनाबारे शिक्षालयका प्रिन्सिपल दुर्गानाथ शिवाकोटीलाई जानकारी गराएका थिए ।

तर उनले बस्नेतमाथि कारबाही अगाडि बढाउन अस्वीकार गरेको भन्दै अभिभावकले होस्टलमा नाराबाजी गरेका थिए । उनीहरुले त्यसै दिन प्रहरी वृत्त वौद्धमा जाहेरी दिएका थिए । त्यसै आधारमा प्रहरीले जेठ २१ गते होस्टल वार्डेन बस्नेतलाई पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?