+
+

असारे विकास : अलकत्रा पग्लिएर सडक जाम !

बिहीबार राति जमलमा चर्किएको कालोपत्रे सडक मर्मत गर्न बिटुमिन (अलकत्रा) खन्याइयो र बालुवा छरियो । तर, बिहान मात्रै थाहा भयो, अलकत्रा त आवश्यकता भन्दा बढी पो परेछ !

आर्यन धिमाल आर्यन धिमाल
२०७९ असार १७ गते १८:४८

१७ असार, काठमाडौं । बिहीबार राति जमलमा चर्किएको कालोपत्रे सडक मर्मत गर्न बिटुमिन (अलकत्रा) खन्याइयो र बालुवा छरियो । तर, बिहान मात्रै थाहा भयो, अलकत्रा त आवश्यकता भन्दा बढी पो परेछ !

शुक्रबार दिउँसो घाम चर्किंदै गएपछि अलकत्रा पग्लिएर सवारीलाई गुड्नै सकस पर्ने गरी अवस्था आइपर्‍यो । बाटो काट्ने यात्रुहरुको चप्पल सडकमै टाँसियो । कतिपय मोटरसाइकल पनि अलकत्रामा टाँसिन पुग्यो । गुनासो बढेपछि सडक विभागले सडक नै जाम हुने गरी थप अलकत्रा र बालुवा छर्‍यो । जमलमा सडक जाम गरेर काम गर्दा शहरमा मुख्य चोकहरुमा जाम लाग्ने अवस्था आयो ।

सडक डिभिजन कार्यालय, काठमाडौंले अहिले उपत्यकाका मुख्य सडकमा ‘क्र्याक सिल्ड’ गरिरहेको छ । ‘क्र्याक आएका सडकमा राति अलकत्रा हालेर सिलिङ गरिरहेका छौं, ताकि साउन भदौको झरीमा पनि सडक नबिग्रियोस्,’ कार्यालय प्रमुख नारायण निहुरे भन्छन्, ‘जमल क्षेत्रमा पनि त्यही गरिएको हो । राति धेरै अलकत्रा हालेर समस्या भएको हो, बालुवा हालेर समस्या समाधान गरिसक्यौं ।’

सडक विभागले निर्वाचन आयोगदेखि जमलसम्म आकासेपानी व्यवस्थापनको लागि ह्युम पाइप पनि बिछ्याइरहेको छ । निर्माणको काम खुला किसिमले गरिएको छ भने सडक किनारमै निर्माण सामग्री र उपकरण राखिएको छ ।

त्यही क्षेत्रमा सडक डिभिजन कार्यालयले ‘क्र्याक सिल्ड’ गरेको थियो । आकासेपानी जम्ने समस्या बर्खामा मात्रै थाहा हुने भएकाले अहिले नै काम गर्नुपरेको निहुरे बताउँछन् ।

जमलका स्थानीय नुरुप्रताप बज्राचार्य भने आर्थिक वर्षको अन्तिममा हतार–हतार भइरहेका यस्ता कामलाई बजेट सक्ने मेलो भन्छन् । ‘वर्षभरि काम गरेनन्, वर्ष लागेपछि अनेक बाहनामा सडक र पेटी भत्काउँछन्,’ उनी भन्छन्, ‘गोलमटोल ढंगले रातारात काम गरेर असारमै सरी बजेट सक्न खोजिएको हो, यसरी गरिएको कामले न सडक सुध्रिन्छ, न यो ढल जाम हुने समस्या घट्छ ।’

सडक डिभिजन कार्यालय काठमाडौंका प्रमुख निहुरे भने माइतीघर, बानेश्वरसहित अन्य स्थानमा पनि आकासे पानीको भल व्यवस्थापन गर्ने गरी प्रणाली बनाइरहेको र आगामी एक हप्तामा काम सकिने बताउँछन् । सडक जलमग्न हुने समस्या हटाउन असारमै भएपनि काम गर्नुपरेको उनको स्पष्टोक्ति छ ।

हप्ता दिनमा ८ अर्ब खर्च

चालु आर्थिक वर्ष सकिन १६ दिन मात्रै बाँकी रहँदा अहिले सरकारी निकाय धमाधम बजेट सक्ने ध्याउन्नमा छन् । विकासे अड्डाहरुमा बजेट सक्ने चटारो छ ।

त्यसैकारण अहिले झरीकैबीच धमाधम सडक निर्माण र मर्मत लगायतका विकासका काम भइरहेका छन् । काठमाडौं लगायतका शहर र राजमार्गहरुमा भत्किएका र कच्ची सडकहरुको धमाधम पिच गरिंदैछ ।

चालु आवमा सरकारले पूँजीगततर्फ तीन खर्ब ७८ अर्ब ९ करोड रुपैयाँ विनियोजन गरेको थियो । महालेखा नियन्त्रक कार्यालयका अनुसार १ साउन २०७८ देखि १६ असार २०७९ सम्ममा एक खर्ब ५२ अर्ब ७२ करोड रुपैयाँ पूँजीगत गरेको छ ।

यो चालू आवमा उक्त शीर्षकमा सरकारले विनियोजन गरेको रकमको करिब ४०.३९ प्रतिशत हो । विनियोजित बजेट फ्रिज हुनबाट जोगाउन जथाभावीका योजनामा बजेट खर्चिने क्रम बढेको छ । बितेको एक हप्तामा मात्रै ८ अर्ब १६ करोड रुपैयाँ विकास बजेट खर्च भएको छ ।

विनियोजित बजेट खर्च नहुने प्रणाली सुधार गर्न संविधानमा भएको व्यवस्थाअनुसार सरकारले जेठ १५ मा नै बजेट ल्याउन थालिएको थियो । त्यसैले नयाँ आर्थिक वर्षको बजेट अघिल्लो आर्थिक वर्षमै पारित हुने गरेको छ ।

सरकारले खर्च गर्नका लागि छुट्टै अख्तियारी पठाइरहन नपर्ने, आर्थिक वर्ष सुरु भएको पहिलो दिनदेखि नै अधिकारप्राप्त अधिकारीलाई बजेट खर्च गर्ने अख्तियारी हुने र त्यसअनुसार मातहतका निकायलाई विनियोजित रकम निकासा दिन सक्ने व्यवस्था पनि गरिएको हो । आर्थिक वर्षको फागुनसम्म स्वीकृत नभएका कार्यक्रमको बजेट ‘सरेन्डर’ गरी ढुकुटीमा ल्याउने अभ्यास पनि अबलम्बन गरिएको छ ।

तर, पनि असारमै आएर विकास बजेटको ठूलो हिस्सा खर्चिने प्रवृत्तिमा कमी आउन सकेको छैन । पूँजीगत खर्चको दर बढाउन अहिले अर्थमन्त्रालयले जथाभावी रकमान्तर पनि गरिरहेको छ ।

लेखकको बारेमा
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?