+
+

‘गरिबको चमेली बोल्दिने कोही छैन…’

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०७९ असार १७ गते २२:३४

१७ असार, काठमाडौं । चुनावी अभियानका क्रममा काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार बालेन्द्र (बालेन) साहले ‘बलिदान’ शीर्षकको र्‍याप सबैभन्दा धेरै प्रयोग गरे, जसमा चर्चित गीत ‘गाई त बाँध्यो ढुंग्रोमा मोही छैन, गरिबको चमेली बोल्दिने कोही छैन…’ कोरसका रुपमा थियो ।

‘…यो राज्यको राजाहरुमा राजयोग नै छैन, यो रामराज्य हैन .. भन्दै राजनीतिक नेतृत्वमाथि व्यंग्य गरेको गीतका कारण पनि बालेनले धेरैको मन जिते । नेकपा एमाले र नेपाली कांग्रेस जस्ता ठूला दलका उम्मेदवारलाई पराजित गर्दै बालेन मेयर पनि चुनिए ।

तर बालेन मेयर भएको महानगरको नगर प्रहरीले शुक्रबार महाराजगञ्ज क्षेत्रमा ठेलामा मकै बेच्दै गरेकी महिलामाथि गरेको ज्यादतीले बोलनमाथि नै प्रश्न उठाएको छ ।

समाजिक सञ्जालमा भाइरल भएको भिडियोमा सडक किनारमा मकै बेचिरहेकी महिलामाथि नगर प्रहरी जाइलागेको देखिन्छ । ‘फुटपाथ र सडक अतिक्रमण गरेर व्यापार गर्न नपाइने’ महानगरको नियमको पालना गराउन भन्दै नगर प्रहरीले बेचिरहेको हरियो मकैसहित ठेला उठाएर गाडीमा हाल्न खोज्छन् । उनी नगरप्रहरीको अघि हात जोडि्छन्, विन्ती गर्छन्, नलगिदिन हार गुहार गर्छन् । तर, लछारपछार गर्दै नगर प्रहरीले ठेला गाडीमा हाल्छन्, आधा मकै सडकमा असरल्ल खस्छन् ।

अर्क एक पुरुष गाडा र मकै छुटाउन गाडीको पछाडी पछाडी दौडिन्छन् । तर नगर प्रहरी एउटै ठूलाे अपराधीलाई समातेको झै‌ँ गरेर ठेला गाडीमा हालेर जान्छन् ।

काठमाडौंको सडक पेटीमा नगर प्रहरी निमुखा नागरिकमाथि जाइलागेको यो पहिलो पटक होइन । महानगरका नगर प्रहरी प्रमुख धनपति सापकोटा स्वयम् यस्ता घटना दिनहुँ हुने बताउँछन् । ‘यस्तो घटना त दैनिक हुन्छन् । हामीले पटक-पटक ठेलागाडा नराख्न भनेका छौं । फुटपाथ र सडकमा नराख्नू भनेको ठाउँमा ठेला राखेपछि जफत हुने कुरा सामान्य हो,’ सापकोटाले भने ।

यसरी निमुखामाथि जाइलाग्ने काम  मेयर बालेनको निर्देशनमा भएको पनि होइन होला । तर यस्तो गल्ती नगर्ने बाचा गरेर जनमत बटुलेर बालेन मेयर भएको महानगरको नगर प्रहरीको व्यवहार नसुध्रिएका कारण उनीमाथि धेरैले प्रश्न उठाएका छन् ।

समाजशास्त्री दीपेश घिमिरे भन्छन्, ‘यस्तो भइरहेको छ भन्ने महानगरको नेतृत्वलाई थाहा नहुन सक्छ । तर नेतृत्वले तलका कर्मचारीले गर्ने कामको जस अपसज बोक्नुपर्छ, जवाफदेही हुनुपर्छ ।’

उनी यो घटना मात्र होइन, सडकमा पोलेको मकै र चटपटे पनि बेच्न नपाइने भनेर निकालिएको सूचनामै प्रश्न गर्छन् । ‘युरोप र अमेरिकामै पनि सडकमा गुजाराका लागि क्युरियो, उपभोग्य सामान, चकलेटलागयत खाद्यवस्तुहरु बेच्न रोकिंदैन,’ उनी भन्छन्, ‘हामी कहाँ पनि यस्ता व्यापारलाई निषेध गर्ने होइन, व्यवस्थित गर्ने हो । बन्द गर्ने होइन, गुणस्तरीय कुरा बेच्न लगाउने हो ।’

सटर भाडामा लिएर गुजारा गर्न नसक्ने भुईं मान्छेहरुमाथि महानगरको वर्वरतालाई समर्थन गर्नै नसकिने बताउँछन् ।

घिमिरेका अनुसार सडक र फुटपाथमा व्यापार गर्नेहरुलाई उनीहरुको बाध्यताका हिसावले मात्रै व्याख्या गर्न हुँदैन । ‘शहरमा त्यस्ता विपन्न र निम्नमध्यम र मध्यम वर्गका परिवार धेरै छन्, जो फुटपाथ सस्तोमा पाइने मालसमान र खाद्यवस्तु किन्छन्,’ उनी भन्छन्, ‘रेस्टुरेन्टमा गएर मःम खान नसक्नेले ठेलाका बोता र टपरीमा बेचिने र मिठो मःम खान किन नपाउने ?’

फुटपाथमा व्यापार गर्नेहरुलाई व्यवस्थित गर्न समय र स्थान तोक्ने जस्ता उपाय अपनाउन सकिने उनको सुझाव छ । उनी भन्छन्, ‘तर आफूले गर्नुपर्ने काम नगरी काम गरि खानेहरुमाथि अत्याचार गरिनु सर्वथा गलत छ ।’

शहरी विकास मन्त्रालयका पूर्वसचिव किशोर थापा पनि निश्चित ठाउँ र समय तोकेर यस्तो व्यापारलाई व्यवस्थापन गर्नुपर्ने बताउँछन् । ‘हाम्रो जस्तो अल्पविकसित मुलुकमा ठूलो संख्याको दैनिक जीविकासँग जोडिएको यस्तो अनौपचारिक व्यापारलाई एकैपटक निषेध गर्न सम्भव हुन्न,’ उनी भन्छन्, ‘यसलाई व्यवस्थापन गर्न महानगरले निश्चित स्थान र समय तोकेर त्यसमा कडाइ गर्ने नीति लिनुपर्छ ।’

ठेलागाडा र फुटपाथमा व्यापार गर्नेहरुमाथि दैनिकजसो नगर प्रहरी लगाएर हस्तक्षेप गरिरहने महानगरले अहिलेसम्म त्यसलाई व्यवस्थित गर्ने योजना ल्याएको छैन ।

‘भोकरहित जनता, शोकरहित महानगर’ नाराका साथ २०७४ मा निर्वाचित भएका मेयर विद्यासुन्दर शाक्यले २०७७ चैतपछिको कोराना कालमा विपन्न तथा गरिखानेलाई स्वयंसेवीहरुले  खुलामञ्चमा दिएको निःशुल्क खाना समेत खान दिएका थिएनन् । उनले खाना खाने र खुवाउनेहरुमाथि नै नगर प्रहरी लगाए पछि आलोचना खेप्नु परेको थियो ।

तर, नयाँ नेतृत्व आएपछि महानगर विपन्न वर्गमाथि संवेदशील बन्ने धेरैको अपेक्षा छ ।

भिक्षा माग्न पनि रोक

महानगर फुटपाथ व्यापार गर्नेहरुमाथि मात्रै हैन, सडकमा भिक्षा माग्न पनि रोक लगाएको छ । शुक्रबार महानगरले जारी गरेको सूचनामा भनिएको छ, ‘यो सूचना प्रकाशित भएको मितिले १० दिनभित्र सार्वजनिक स्थानमा भिक्षा माग्ने वा माग्न लगाउने कार्य गरेमा कानुन बमोजिम कारबाही गर्ने छ ।’

सूचनामा  अनुसार महानगरका क्षेत्र भित्रको सडक, गल्ली, पार्क, सवारी बिसौनी, सरकारी कार्यालय वा कार्यालय परिसर, सार्वजनिक सवारी साधन र अन्य सार्वजनिक स्थानमा भिक्षा माग्न पाइने छैन । बालबालिकालाई गीत गाउने, नाच्ने, खेल्ने वा कुनै काम गर्ने बहानामा वा अन्य व्यक्तिलाई कुनै प्रकारको रकम वा ज्याला दिई भिक्षा माग्न वा माग्न लगाउन नपाइने महानगरले बताएको छ ।

समाजशास्त्री घिमिरे भने यो पनि एक किसिमको राज्यले गरेको अपराध भएको टिप्पणी गर्छन् । किनकी नेपालमा भारतबाट माग्न आउनेहरु मात्र छैनन्, नेपालमा पनि फरक क्षमता भएकाहरुले गीत गाएर सडकमा भिक्षा माग्ने गरेका छन् । ‘काम गर्न सक्नेहरुको आर्थिक अवस्था सुधार्न कुनै काम नगर्ने, सडकमा जीवन गुजारेकाहरुलाई संरक्षण दिने र परिवारमा पुनर्स्थापना गर्न पहल पनि नगर्ने, अनि एकाएक यति दिनभित्र सडक छोड्नू भन्न  मिल्छ ?’ उनी भन्छन्, ‘विकल्पसहित यस्ता सूचना आउनुपर्छ, सडक नै घर र सडकै सबथोक बनाएर बस्न बाध्य भएकाहरुमाथि यस्तो अपराध हुनु हुँदैन ।’

लेखकको बारेमा
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?