+
+
अग्रपथ :

विज्ञान, विचार र राजनीति 

दार्शनिक, विचार निर्माता वा सिद्धान्तकार विज्ञानदेखि टाढा बस्नुहुँदैन । विज्ञानका आविष्कार, खोज र निरुपित नियमभन्दा बाहिर बसेर न सिद्धान्तको निर्माण हुन्छ न देशको विकास । विज्ञान, विचार र राजनीतिलाई जति धेरै जोड्न सकियो, त्यति धेरै प्रभावकारी नीति, योजना र कार्यक्रम बन्ने हुन् ।

डम्बर खतिवडा डम्बर खतिवडा
२०७९ असार १९ गते ११:१३

राजनीतिमा जब ‘विचारधारा’को प्रश्न उठ्छ, ‘विचार’ माथि विचार–विमर्श हुन्छ, मूलतः पाँच प्रकारका दृष्टिकोण अभिव्यक्त हुने गर्दछन् ।

एक– विचारको आवश्यकता र औचित्य अस्वीकार गर्ने दृष्टिकोण । यस दृष्टिकोणले भन्छ– विचारको अब कुनै काम छैन । विचारको युग समाप्त भइसक्यो, यो उत्तर–वैचारिक युग हो । अब विचारले हैन; नीति, योजना र कार्यक्रमले गरिखाने हो । राजनीतिमा विचारधारा कुुनै समय महत्वपूर्ण थिए होलान्, अब छैनन् । राजनीतिक सिद्धान्त अब अर्थहीन भइसके । सिद्धान्तले खै के नै गर्‍यो ? अझै विचार र सिद्धान्तको रटान किन गर्ने ? अब मुख्य कुरा काम हो । जसले काम गरेर देखाउन सक्दछ, त्यही असल राजनीति हो  ।

दुई– ‘आयातित विचार’ हावी भएको चिन्ता गर्ने दृष्टिकोण । यो दृष्टिकोणले भन्छ– विचार त चाहिन्छ तर नेपालमा पश्चिमा विचार हावी भयो । विदेशी सिद्धान्त र एजेण्डा हावी भए । विदेशी शक्ति हावी भए । मौलिक विचारलाई स्थान दिइएन । ‘हावा, पानी, माटो सुहाउँदो’ व्यवस्था भएन तसर्थ अवस्था सुध्रेन । पूर्वीया दर्शन, संस्कृति र जीवनशैलीलाई महत्व दिन छोडियो । स्कुल र विश्वविद्यालयले औपचारिक शिक्षा प्रणालीमा पश्चिमा विश्वविद्यालयका पाठ्यक्रम र पाठ्यपुस्तक लागु गरे ।

समाज पश्चिमाकरण, इसाईकरण, अब्राहमीकरण हुँदै गयो । क्रान्ति गर्ने नाममा समाजको परम्परागत पदसोपान र मर्यादालाई खण्डित गरियो । मौलिक सिद्धान्त र मूल्यमान्यता संकटमा परे । लोकतन्त्र, गणतन्त्र, संघीयता, समावेशिता, धर्मनिरपेक्षता, सामाजिक न्याय, सकारात्मक विभेद, आरक्षण आदि सबै विदेशी एजेण्डा हुन् । यी सबै खारेज हुनुपर्दछ । तब देश ठीक हुन्छ ।

तीन– ‘विचारको कट्टरता’ मा विश्वास गर्ने दृष्टिकोण । यो दृष्टिकोणले भन्छ– विचार नै सबैथोक हो । विचारप्रतिको निष्ठा नै सबैथोक हो । विचारले मानव जीवनलाई अमर बनाउँछ । जीवनलाई सार्थकता दिन्छ । कुनै विचार जीवनमा एकपटक बोकेपछि, बुझेर होस् वा नबुझेर कुनै सिद्धान्तको अनुयायी हुन पुगेपछि, कुनै वैचारिक समूहको संगत गरेपछि, कुनै पार्टीमा जीवनमा एकपटक लागेपछि, त्यसलाई जीवनपर्यन्त छोड्नुहुँदैन । छोड्यो भने त्यो धोकाबाजी, गद्दारी वा आत्मसमर्पण हो । कुनै विचार छोड्नु र नयाँ विचार ग्रहण गर्नु वा निर्माण गर्नु एक प्रकारको पाप हो । मानव जीवनको सार्थकता नै जीवनको प्रथम चरणमा ग्रहण गरेको विचारप्रति आजीवन निष्ठावान रहनु हो । विचारका लागि जीवन हो । आवश्यक परे विचारका लागि जीवन दिनुपर्दछ, बलिदान हुनुपर्दछ । तर, विचार कुनै हालतमा छोड्नुहुँदैन ।

चार– विचारलाई उपयोगिताको वस्तु ठान्ने दृष्टिकोण । यो दृष्टिकोणले भन्छ– विचारको कुरा त्यस्तै उस्तै हो, अलिअलि चाहिन्छ पनि, त्यति धेरै चाहिंदैन पनि । जनतालाई विश्वासमा लिन अलिअलि विचार चाहिन्छ । विचार बनाउँदैमा लागु गर्न सकिने हैन, तसर्थ विचारप्रति त्यति धेरै गम्भीर र संवेदनशील पनि हुनुहुँदैन । विचारभन्दा बढी महत्वको कुरा आन्दोलन र पार्टीको ब्रान्ड हो । बलियो आन्दोेलन चाहिन्छ, बलियो पार्टी चाहिन्छ, स्थापित संगठन चाहिन्छ । चुनाव जित्न, जिताउन सक्ने पार्टी मुख्य कुरा हो । विचार, सिद्धान्त, एजेण्डा भनेका त्यस्तै उस्तै हुन् ।

डम्बर खतिवडा

पाँच– विचारलाई गतिशीलतामा हेर्ने दृष्टिकोण । यो दृष्टिकोणले भन्छ– विचार सत्यको खोज गर्ने प्रक्रिया हो । सिद्धान्तको रूपमा विचार संगठित हुन्छन् र एजेण्डाका रूपमा ती व्यवहारमा जान्छन् । तसर्थ विचार, सिद्धान्त र एजेण्डा एकअर्कामा अन्योन्याश्रित हुन्छन् । विचारको आधारभूत कार्यभार समाजका तत्कालीन अन्तरविरोधलाई केलाउनु र त्यसलाई समाधान गर्नु हो । विचार चाहिन्छ तर विचारप्रति कुनै रुढी, अन्धता वा कट्टरता जरूरी छैन ।

 

विचार जीवनका लागि हो, जीवन विचारका लागि हैन । विचारले जीवन, समाज र राष्ट्रलाई अझ सहज, सुन्दर र उन्नत बनाउन मद्दत गर्नु पर्दछ, अन्यथा विचारको सार्थकता रहँदैन । विचारमा वैज्ञानिकता हुनुपर्दछ, कट्टरता हैन । विचारमा गतिशीलता हुनुपर्दछ, जडता हैन । कुनै एक समयको विचार, सिद्धान्त सधैंलाई पुग्दैन, सर्वथा सही हुँदैन । विचारलाई समय र परिस्थिति अनुसार, ज्ञान, विज्ञान र चेतनास्तर अनुसार निरन्तर परिमार्जन र सुधार गर्नुपर्दछ ।

पद, प्रतिष्ठा, चुनाव, भोट वा सत्ता अल्पकालीन विषय हुन् । यिनको व्यावहारिक महत्व नहुने हैन, तर यी अन्तिम सत्य, वास्तविक उद्देश्य हैनन् । राजनीतिको दीर्घकालीन कार्यभार शासनको गुणस्तर, अर्थतन्त्रको गुणस्तर, जनताको जीवनस्तर, समाजको सामञ्जस्यता, मानवीय खुसीको अभिवृद्धि र नयाँ सभ्यताको निर्माण हो । यसका लागि कुनै एक बेलाका विचार, सिद्धान्त र एजेण्डा अर्को बेलाका लागि पर्याप्त हुँदैनन् । त्यस्तो बेला साधनमा हैन, साध्यमा जोड दिनुपर्दछ । यात्राको उतारचढावमा हैन, लक्ष्य र गन्तव्यमा ध्यान दिनुपर्दछ ।

तसर्थ विचार, सिद्धान्त र एजेण्डा गतिमा हुन्छन् । कुनै एकपटक ग्रहण गरेको विचार, सिद्धान्त, पार्टी वा आन्दोलनमा सिद्धान्तवादी हुने नाममा जीवनभरि टाँसिनुपर्दछ भन्ने छैन । त्यसको उपयोगिता हेर्नुपर्दछ, उपदेयता हेर्नुपर्दछ । अनुपयोगी र पुराना चिज छोड्दै जानुपर्दछ । नयाँ र उपयोगी चिज ग्रहण गर्दै जानुपर्दछ । नयाँ–नयाँ सिद्धान्त, विचार, एजेण्डा बनाउँदै अघि बढ्नुपर्दछ ।

उपरोक्त पाँच मध्ये पहिलो विचारप्रतिको वितृष्णा हो । यथार्थमा मानव अस्तित्वको सार नै विचारमा छ । किनकि मानिसको त्यो मुख्य अंग नै मस्तिष्क हो, जसले मान्छेलाई पशुभन्दा भिन्न बनाउँछ र मस्तिष्कको आहारा र उत्पादन दुवै विचार हो । जैविक क्रियामा मान्छे र पशु बीच कुनै भिन्तता हुँदैन । तर, मान्छेले अन्य पशुभन्दा फरक जुन विकास वा विनाश गर्दै आएको छ– त्यसको एक मात्र कारण मानव मस्तिष्कको संरचना, विचार र विवेक नै हो ।

विचार र राज्यसत्ताको चरित्र बीच सीधा सम्बन्ध हुन्छ । राणाशासन कायम राखेर शिक्षाको विकास हुन सक्थ्यो होला ? संभव नै थिएन । पञ्चायत कायम राखेरै राजनीतिक स्वतन्त्रता हासिल हुन सक्थ्यो होला ? संभवै थिएन । राजतन्त्र कायम राखेरै नागरिक समानता र सार्वभौमसत्ताको सिद्धान्त लागु हुन वा प्रत्येक नागरिकलाई राष्ट्राध्यक्ष हुने अवसरमा सामेल हुने अधिकार प्राप्त हुन्थ्यो होला ? संभवै थिएन । विचारलाई राज्यसत्ता, अर्थतन्त्रको चरित्र, भौतिक विकास र मानवीय सम्बन्धको गरिमाबाट निरपेक्ष राख्न खोज्नु या त अज्ञानता हो वा मूर्खता ।

दोस्रो– नेपालमा पछिल्लो समय विशेषतः नयाँ शिक्षा प्रणाली लागू भएपछि पूर्वीयाभन्दा पाश्चात्य ज्ञान परम्परामाथिको निर्भरता बढेको सत्य हो । तर, बुझ्नुपर्ने के हो भने ज्ञान, विज्ञान र प्रविधि न पूर्वीया हुन्छ न पाश्चत्य । पूर्वीया र मौलिक हुने नाममा रुढीवाद, अन्धता, कट्टरता, निरंकुशता, वंशवाद, परिवारवाद र धार्मिक राजनीतिको खेती गर्नु किमार्थ उचित हैन ।

राजतन्त्र मौलिक, गणतन्त्र विदेशी, वंशवादी तथा जहानियाँ निरंकुशता पूर्वीया, लोकतन्त्र पश्चिमा, शक्तिको संकेन्द्रण, एकल वर्चश्व र एकात्मकता आफ्नो, शक्तिको विभाजन, संघात्मकता र समावेशिता पराइको, धार्मिक स्वतन्त्रता अब्राहमिक, धार्मिक राज्य मौलिक वा वैदिक– यस्ता तर्क मान्न सकिंदैन ।

सत्यको दुइटा पाटो हुन्छ– सार्वभौम र सापेक्ष । सार्वभौम सत्यलाई स्वदेशी वा विदेशी, पूर्व वा पश्चिमको, हिन्दू वा इसाई, सनातन वा अब्राहमिक, मौलिक वा अनुकरण गरिएको भनेर छुट्याउन मिल्दैन । सार्वभौम सत्य निरपेक्ष सत्य हो । त्यो सिंगो समाजको सत्य हो । त्यो सृष्टिमा अन्तर्निहित सत्य हो । त्यो सबैतिरको एउटै हुन्छ । त्यो विश्व मानवताका लागि हो ।

लोकतन्त्र, गणतन्त्र, संघवाद, धर्मनिरपेक्षता, सकारात्मक विभेद, सामाजिक न्याय, सीमान्तकृत समुदायलाई आरक्षण र समाजवाद– विश्वव्यापी भावना, ‘युनिभर्सल स्पिरिट’ हुन् । यी न अब्राहमिक हुन्, न इसाई, न पश्चिमा, न आयातित । यी संसारका सबै देश र जनताका लागि उत्तिकै आफ्ना र मौलिक हुन् ।

तेस्रो दृष्टिकोण– विचारप्रतिको अन्धता हो । एकप्रकारको संकीर्णता, जडता हो । जीवन सिद्धान्तका लागि हैन, सिद्धान्त जीवनका लागि हो ।

चौथो– विचारप्रतिको कुविचार हो । अवसरवादको स्रोत । र पाँचौं– विचारप्रतिको सही र अग्रगामी विचार हो ।

संक्षिप्तमा– पहिलो, निराशावाद हो । दोस्रो, रुढीवाद । तेस्रो, जडसूत्रवाद हो । चौथो– अवसरवाद । विचारबारे अवलम्बन गर्नुपर्ने दृष्टिकोण पाँचौं हो । यो चिन्तनपद्धतिमा विज्ञान र विचारबीच अन्योन्याश्रित सम्बन्ध हुन्छ । ज्ञान र सिद्धान्तबीच गतिशील सन्तुलन हुन्छ । वैचारिक निष्कर्ष र राजनीतिक एजेण्डाबीच व्यावहारिक सामञ्जस्यता हुन्छ ।

विचार र विज्ञानलाई, दर्शनशास्त्र र भौतिकशास्त्रलाई फरक गर्न खोज्नु, यिनीहरूको सम्बन्धविच्छेद गर्दिनु वा कृत्रिम शत्रुता सृजना गर्दिनु बिल्कुलै दुर्भाग्यपूर्ण छ । विचार विना विज्ञान बाँच्न सक्दैन । विज्ञान विना विचार बाँच्न सक्दैन ।

कुनै समय थियो– विचार र विज्ञानलाई छुट्याउनै नसकिने गरी एकअर्काको पर्याय ठानिन्थ्यो । विचारको शास्त्र– दर्शनशस्त्र (फिलोसफी) र भौतक नियमको शास्त्र– भौतिकशास्त्र (फिजिक्स) दुवै विज्ञान (साइन्स) मानिन्थे । यी दुवैको समागमबाट नीतिशास्त्र (इथिक्स) को जन्म हुने विश्वास गरिन्थ्यो र नीतिमा चलेको समाजले मात्र उन्नति, प्रगति गर्न सक्दछ भन्ने विश्वास थियो । चेतनसत्ताको अध्ययन दर्शनशास्त्रको सारतत्व थियो, पदार्थसत्ताको अध्ययन भौतिकशास्त्रको । पदार्थसत्ता  र चेतनसत्ताको समष्टिबाट मानव जीवनलाई मार्गदर्शन गर्ने प्रयत्न गरिन्थ्यो ।

दर्शनशस्त्रलाई ‘विज्ञानको पनि विज्ञान’ अर्थात् ‘विज्ञानको राजा’ भनिन्थ्यो । भौतिकशास्त्रलाई ‘विज्ञानको पनि मूलविज्ञान’ अर्थात् ‘विज्ञानकी रानी’ भनिन्थ्यो । जसरी सन्तानको जन्म मातापिताको संभोग विना संभव हुँदैन, त्यसरी नै दर्शनशास्त्र र भौतिकशास्त्रको समागम विना कुनै नयाँ विचारधारा, सोच, सिद्धान्त वा अवधारणाको जन्म नहुने विश्वास गरिन्थ्यो । सत्यको खोज र निरुपणमा दर्शनशास्त्र र भौतिकशास्त्रको भूमिका र योगदान समान मानिन्थ्यो ।

महान् वैज्ञानिक तथा चिन्तक अल्वर्ट आइन्स्टाइनको भनाइमा–‘प्रत्येक रूखको भिन्नाभिन्नै ज्ञान हासिल गर्नु विज्ञान हो, जंगलबारे बताउनु दर्शन ।’ विज्ञानले नियम पत्ता लगाउँछ, विचारले ती नियमको सार्वभौमीकरण गर्दछ । म्याक्स वेवरले भनेका थिए– ‘विज्ञान विनाको दर्शन शरीर विनाको आत्म हो, दर्शन विनाको विज्ञान आत्म विनाको शरीर ।’

अर्को एक भनाइ अनुसार– ‘सृष्टि कसरी चलिरहेको छ भनेर थाहा पाउनु विज्ञान हो, सृष्टिमा मान्छे कसरी समायोजित भए सहज जीवन बाँच्न सक्दछ भन्ने जान्नु दर्शन ।’ अझ सजिलो उदाहरणमा ‘पानीजहाज कसरी बनाउनु र चलाउनुपर्छ’ भनेर जान्नु विज्ञान हो, पानीजहाज समुद्रमा चलाउँदा के–कस्तो स्थिति आउन सक्दछ, कस्तो स्थितिमा क्याप्टेनले के–कस्ता निर्णय गर्नु उचित हुन्छ’ भन्ने बताउनु दर्शन हो ।

विज्ञानको क्षेत्र ज्ञान हो । विचारको क्षेत्र विवेक । यो मूलतः सोह्रौं शताब्दीको मध्यदेखि बीसौं शताब्दीको उत्तराद्र्धसम्मको कुरा थियो । मध्यकालीन तथा आधुनिक विज्ञानका उत्कृष्ट प्रतिभा लेइब्निज, रेने देकार्त, ग्यालिलियो ग्यालिली, जहोनेस केप्लर, सर आइ ज्याक न्युटन, अल्बर्ट आइन्स्टाइन यसै समयका उत्कृष्ट चिन्तक थिए । यिनीहरूलाई ‘वैज्ञानिक’ र ‘दार्शनिक’ दुवै मानिन्थ्यो । आधुनिक विज्ञानका पिता मानिएका न्युटन त झनै बढी दार्शनिक रुझान राख्थे । उनको चिन्तनधारालाई दर्शनशास्त्रको इतिहासमा ‘प्राकृतिक दर्शन’ (नेचुरल फिलोसफी) को मुख्य स्रोत मानिन्छ ।

पछिल्लो समयमा विज्ञान र विचारको सम्बन्ध बीच समस्या देखापरे । विज्ञानलाई शुद्ध विज्ञान (पिओर साइन्स) ठान्न थालियो । त्यसको अर्थ हुन्थ्यो– विज्ञानले विचारमा कुनै प्रभाव पार्दैन भन्ने मान्यता राख्नु । विज्ञानको काम पदार्थसत्ताको अध्ययन, भौतिक नियमको अन्वेषण, प्रविधिको आविष्कार र विकास गर्नु मात्र हो भन्ने ठान्नु । विज्ञानले पदार्थसत्ताका नियमको अवलोकन, अन्वेषण, प्रयोग र परीक्षण गर्दछ । त्यसको उद्देश्य प्रविधिको विकास गरी मानव जीवनमा सुविधा र सहजता थप्नु हो भन्ने धारणा बन्न थाले । विज्ञानको काम यन्त्रहरूको आविष्कार गर्नु, उत्पादन र उत्पादकत्व बढाउनु हो भन्ने सोचले ठाउँ पाउँदै गए ।

यहींनेरबाट दर्शनशास्त्रको महत्व घट्न थाल्यो । विचारलाई अवज्ञा गर्न, कम महत्व दिन थालियो । निःसन्देह विज्ञान महत्वपूर्ण छ । तर दर्शनसँग तुलना गर्दा त्यसका केही सीमा देखिन्छन् । संसारका सबै ‘हाइपोथेसिस’ विज्ञानले एकसाथ संपरीक्षण गर्न सक्दैन । विचारले ‘हाइपोथेसिस’ हरू बनाउँछ । विज्ञानले त्यसको संपरीक्षण गर्दछ । विज्ञानले परीक्षण गर्ने हाइपोथेसिस प्रारम्भमा विचार र दर्शनबाट आउँछन्, स्वयं विज्ञानबाट हैन ।

विस्तारै विज्ञानमा अनेक शाखा विकास भए । भौतिक विज्ञान मात्र विज्ञान रहेन । भौतिकसँगै विज्ञानमा रसायन विज्ञान, खगोलशास्त्र, यन्त्रविज्ञान, विद्युतीय–चुम्बकीय विज्ञान, जीवविज्ञान, स्वास्थ्य विज्ञान, वातावरण विज्ञान, कम्प्युटर विज्ञानआदि विकसित हुँदै गए । गणित पनि विज्ञानकै एक हाँगो हो, संख्या विज्ञान । विज्ञानबाट मात्र हैन, दर्शनशास्त्रबाट पनि अनेक शाखा जस्तै– तत्वशास्त्र, नीतिशास्त्र, ज्ञानशास्त्र, तर्कशास्त्र, समाजशास्त्र, राजनीतिशास्त्र, सौन्दर्यशास्त्र आदि बने ।

विज्ञानलाई प्राकृतिक विज्ञान (नेचुरल साइन्स) र सामाजिक विज्ञान (सोसल साइन्स) गरी दुई भागमा बाँड्न थालियो । साथै शुद्ध विज्ञान  (पिओर साइन्स) र  प्रयुक्त विज्ञान (एप्लाइड साइन्स) को विभाजन अगाडि आयो ।

आज मान्छेलाई लाग्न थालेको छ कि– विज्ञान भिन्नै कुरा हो, यो ‘शुद्ध विज्ञान’ हो । यसले ब्रह्माण्ड र प्रकृतिको अध्ययन गर्दछ । यसले यन्त्र र प्रविधि विकास गर्दछ । मान्छेका भौतिक सुख र सुविधा बढाउँछ । विचार भिन्नै कुरा हो । यो शुद्ध विज्ञान हैन, व्यावहारिक वा ‘प्रयुक्त विज्ञान’ हो, यसको काम आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक र मनोवैज्ञानिक चिन्तन गर्नु हो । विज्ञान र विचार समानान्तर हुन् । फरक हुन् ।

विज्ञान, विचार र राजनीतिलाई जति धेरै जोड्न सकियो, त्यति धेरै प्रभावकारी नीति, योजना र कार्यक्रम बन्ने हुन् ।

विज्ञान आफ्नै तरिकाले हिंड्छ, विचार आफ्नै तरिकाले । विचार र विज्ञानबीच अब कुनै सम्भोग, समागम चाहिंदैन । यी फरकफरक बाँच्न र विकसित हुन सक्दछन् । विचार र विज्ञानको लगनगाँठो चुँडियो । दर्शनशास्त्र र भौतिकशास्त्र बीच ‘डिभोर्स’ भइसक्यो । अझ कतिपय विचारकले यसो भने– ‘दर्शनशास्त्रको मृत्यु मात्र भएको हैन, विज्ञानले त्यसको लास समेत दाहसंस्कार गरिसक्यो ।’ राजनीति न विचार न विज्ञान, दुवै विना पनि ‘उपयोगितावादी कला’ ले मात्रै चल्न सक्दछ ।

विचार र विज्ञानलाई, दर्शनशास्त्र र भौतिकशास्त्रलाई यसरी फरक गर्न खोज्नु, यिनीहरूको सम्बन्धविच्छेद गर्दिनु वा कृत्रिम शत्रुता सृजना गर्दिनु बिल्कुलै दुर्भाग्यपूर्ण छ । विचार विना विज्ञान बाँच्न सक्दैन । विज्ञान विना विचार बाँच्न सक्दैन । फिजिक्स विना फिलोसफी बाँच्न सक्दैन । फिलोसफी विना फिजिक्स बाँच्न सक्दैन । अलिक गहिरो गरी हेरियो भने राजनीतिका एजेण्डाहरू विज्ञान र विचार हुँदै आएका हुन्छन् ।

जस्तो कि– कुनै समय समाजले स्त्री वा पुरुष बच्चाको जन्ममा आमा जिम्मेवार हुन्छन् भन्ने ठान्दथ्यो । पिताले सम्भोगमा सहभागिता मात्र गथ्र्यो । गर्भधारण माताले गर्ने नै भइन् । बच्चा आमाको पाठेघरबाट धर्तीमा आउने हो । औसत स्त्री बच्चा धेरै जन्मिएका पितृसत्तात्मक सोच भएका मानिसले त्यसको दोष श्रीमतीलाई दिन्थे । स्वास्नीमा ‘छोरा जन्माउने क्षमता नभएको’ भनेर स्त्रीलाई आरोपित गरिन्थ्यो, पुरुषले अर्को विवाह गर्थे । प्रयुक्त विज्ञानमा यो एक धारणा जस्तै थियो । पितृसत्तामा विश्वास नगर्ने मान्छेहरू पनि ‘छोरा र छोरीमा भेद गर्नुहुँदैन’ सम्म भन्थे । तर, ‘स्त्री बच्चाको जन्ममा माता जिम्मेवार छैनन्’ भन्न सक्दैनथे ।

जब विज्ञानले भ्रूणको लिंग निर्धारणमा कसको भूमिका कस्तो हुन्छ भनेर अध्ययन गर्यो, यथार्थ त्यो धारणाभन्दा भिन्नै सामुन्ने आयो । विज्ञानका अनुसार महिलाको डिम्बमा सधैं ‘एक्स–एक्स क्रोमोजम’ मात्र हुनेरहेछ । ‘एक्स–वाई’ दुवै क्रोमोजम त पुरुषको शुक्रकीटमा हुने रहेछ । भ्रूणको लिंग निर्धारणमा माता हैन, पिता निर्णायक वा जिम्मेवार हुँदोरहेछ ।

यो खोज विज्ञानको हो, शुद्ध विज्ञानको खोज हो, समाज विज्ञानमा यसको ठूलो महत्व छ । राजनीतिमा महिलावादी एजेण्डा निर्धारण गर्न यसको ठूलो महत्व छ ।

विज्ञानको यो एउटा खोजले समाजको पितृसत्तात्मक सोचमै एक ठूलो क्रान्तिकारी परिवर्तन ल्याइदियो । ठीक– त्यसैगरी वातावरण विज्ञानका अध्ययन र निष्कर्षहरूले आज विश्व तापमान वृद्धि र जलवायु परिवर्तनलाई विश्व राजनीतिकै मुख्य एजेण्डा बनाइदिएको छ । यस्ता कैयौं दृष्टान्त दिन सकिन्छ ।

हिजोआज हामी राजनीतिमा यो ठूलो समस्याका रूपमा देख्छौं कि विज्ञानले दिएका प्रविधि र सुविधा चाहिं लिने तर वैज्ञानिक धारणाको भने निन्दा गर्ने । कुनै पनि चिजको वैज्ञानिक अध्ययन र औचित्यलाई ध्यान नदिने, ‘जनता के चाहन्छन्, त्यही हुन्छ’ भन्ने नाममा मानिसमा अन्धविश्वास र रुढीवाद जोगाइराख्न खोज्ने । यो प्रवृत्ति खतरनाक छ ।

२०७५ सालको माघ–फागुनमा हामी तत्कालीन नयाँ शक्ति पार्टीको ‘जनसंवाद यात्रा’ अन्तर्गत पाँचथरको चिवाभन्ज्याङदेखि मध्यपहाडी राजमार्गको बाटो हुँदै एक महिनाको यात्रा गरी अट्ठाइसौं दिन डोटीको दिपायल–सिलगडी पुगेका थियौं । त्यहाँ मञ्जु मलासी नामकी महिला मेयर थिइन् । उनले भनेकी थिइन् कि– नगरभित्र मात्र करिब ३०० छाउगोठ छन् । उनले यो भनिरहँदा पुरुष पदाधिकारी तथा सहभागी लजाएका थिए । त्यो कुरा नभन्दिए हुन्थ्यो जस्तो गरी मुख खुम्च्याएका थिए ।

त्यहाँ एक महिला अधिकारवादी एनजिओकर्मीसँग पनि भेट भएको थियो । हामीले सोधेका थियौं कि– त्यहाँ तपाईंको एनजिओले के काम गर्छ ? उत्तर आश्चर्यजनक लाग्यो । एनजिओकी हाकिमले भनेकी थिइन् कि उनको संस्थाले गाउँघरमा आधुनिक सामुदायिक छाउघर बनाउने गर्दछ । के यस्तो पनि महिला अधिकार हुन्छ ? यस्तो पनि एनजिओको काम हुन्छ ? रिसले मेरो कन्पारो तातेको थियो ।

उनले बडो विवश भएर उत्तर दिएकी थिइन् कि यहाँका मान्छेको सोचबाट छाउ बार्ने चलन हटाउन सजिलो छैन । उनीहरूले छोरीचेलीलाई असुरक्षित गोठमा पठाउँछन् । ती गोठ कमसल गुणस्तरका हुन्छन् । न ढोका हुन्छन्, न बलिया घर हुन्छन् । कतिपयले त अझ ओडारमा पठाउँछन् । त्यहाँ न सुरक्षा हुन्छ, बरु उल्टै सर्पलगायत जंगली जनावरको डर हुन्छ । छाउ बसेका कतिपय महिला बलात्कृत भएका घटना छन् । सर्पले टोकेर मरेका घटना छन् । जंगली जनावरले आक्रमण गरेर घाइते भएका घटना छन् । त्योभन्दा ‘सामुदायिक छाउघर’ धेरै सुरक्षित हुन्छ । जुन दिन यहाँबाट छाउ बार्ने अन्धविश्वास हट्ला, त्यो दिन सामुदायिक भवनका रूपमा यी घर अरू नै काममा प्रयोग गरुँला ।

यस्तो उत्तर सुनेर म स्तब्ध भएको थिएँ । यो कुनै धेरै अगाडिको, अठारौं शताब्दीको कुरा थिएन । एक्काइसौं शताब्दीको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको कुरा थियो । नयाँ संविधान बमोजिम नयाँ चुनाव भइसकेको थियो । त्यो अनकन्टारको गाउँ पनि थिएन, डोटी जिल्लाको सदरमुकामको नगर थियो । महिला मेयर निर्वाचित भएकी थिइन् ।

विज्ञानलाई हैन, समाज विज्ञानलाई मात्रै राजनीतिक एजेण्डा बनाउने हो भने त्यस्ता दुर्भाग्यहरूको समेत समर्थन गर्नुपर्ने हुँदोरहेछ । त्यहाँका निकै शक्तिशाली राजनीतिज्ञ यस्ता मुद्दामा बोल्न डराउँदा रहेछन् । पछि हामीले सुन्यौं कि राज्यले पुलिस लगाएर परम्परागत छाउगोठहरू भत्कायो, खुसी लाग्यो । तथापि एक जना संसदले संघीय संसदमा त्यसको विरोध गरेको पनि सुनियो ।

विज्ञान वा वैज्ञानिकतालाई समात्दा धर्म, आध्यात्म र संस्कृतिको पाटोलाई छोड्नुपर्दछ भन्ने हैन । विज्ञानको दुश्मनी अन्धविश्वास र रुढीवादसँग मात्र हुन्छ, धर्म, आध्यात्म र संस्कृतिसँग हैन । आध्यात्म पनि आफैंमा एक विज्ञान हो– आध्यात्म विज्ञान । कुनै तर्कसंगत विधि र वैज्ञानिक पद्धतिबाट मानिसको शारीरिक तथा मानसिक स्वास्थ्य कायम गर्न, नैतिक जीवन पद्धति अनुसरण गर्न आध्यात्मिक प्रयासले मद्दत गर्दछन् भने त्यसमा आपत्ति हुनुपर्ने कुनै काम छैन ।

जस्तो– ध्यान वा योग । ध्यान र योगका विधि र पद्धतिलाई कतिले आध्यात्मसँग जोडेर हेरे पनि यी एक प्रकारका विज्ञान नै हुन् । साँचो अर्थमा आध्यात्म र विज्ञानबीच पनि कुनै शत्रुता हुँदैन । विज्ञानको दुश्मनी अन्धता, भीरुपन, कट्टरता, रुढीवाद र संकीर्णतासँग हुन्छ, आध्यात्म र विधिसम्मत नैतिक जीवन पद्धतिसँग हैन ।

दार्शनिक, विचार निर्माता वा सिद्धान्तकार विज्ञानदेखि टाढा बस्नुहुँदैन । विज्ञानका आविष्कार, खोज र निरुपित नियमभन्दा बाहिर बसेर न सिद्धान्तको निर्माण हुन्छ न देशको विकास । विज्ञान, विचार र राजनीतिलाई जति धेरै जोड्न सकियो, त्यति धेरै प्रभावकारी नीति, योजना र कार्यक्रम बन्ने हुन् ।

लेखकको बारेमा
डम्बर खतिवडा

राष्ट्रिय राजनीतिमा सशक्त कलम चलाउने राजनीतिक विश्लेषक डम्बर खतिवडाको नियमित स्तम्भ 'अग्रपथ' हरेक आइतबार प्रकाशित हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?