+
+

मान्छे हिंड्ने र साइकल गुड्ने बाटोमा सरकारको काँडेतार

फुटपाथ अतिक्रमण गर्न सरकारी निकायहरु पनि अग्रपंक्तिमा छन्, पेटीमा पार्किङ गर्नेदेखि निर्माण सामग्री थुपार्नेसम्मले उन्मुक्ति पाइरहँदा महानगरपालिकाले पेटीमा बस्ने साना व्यापारीको टाउकोमा मात्रै लौरो बजारिरहेको छ ।

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०७९ असार १९ गते २२:१०

१९ असार, काठमाडौं । काठमाडौं महानगरपालिका पछिल्ला दिनमा (सडकपेटी) फुटपाथमा व्यापार गर्नेविरुद्ध आक्रमक छ । सडक र सडकपेटीमा व्यापार गर्ने ठेला, गाडा, साइकल र सामान जफत गरिरहँदा नयाँ बानेश्वरस्थित संसद भवनअघिकै फुटपाथमा देखिने दृश्यले पैदलयात्रुको मन कुँड्याउँछ ।

संसद भवनअघिको फुटपाथसँगै बनेको साइकल लेन अतिक्रमण गरेर काँडेतार बिछ्याइएको छ, जुन साइकल लेन पैदलयात्रुले पनि प्रयोग गरिरहेका थिए ।

संसद भवनको पर्खालको वारपार साइकल लेनमा काँडेतार किन बिछ्याइएको हो भन्नेबारे कोही जवाफदेही छैनन् । माइतीघर–तीनकुने सडक विस्तारका क्रममा फुटपाथसँगै साइकल लेन बनाइए पनि महानगरको अकर्मण्यताले यो साइकल लेनमा साइकल गुड्न पाएका छैनन् । साइकल लेनतर्फ पनि पैदलयात्रुले खुला रुपमा आवजजावत गर्न भने पाएका छन् ।

तर, अब साइकल लेनतर्फको भाग सरकारी पक्षले नै अतिक्रमण गर्न थालेको छ । संसदको सुरक्षामा खटिएका एक सशस्त्र प्रहरी हवल्दार किन मान्छे हिँड्ने र साइकल गुड्ने बाटोमा काँडेतार राखियो भन्ने आफूलाई जानकारीमा नरहेको बताउँछन् । ‘सुरक्षाका कारण होला’, उनले भने ।

यसरी मान्छे हिंड्ने र साइकल गुड्ने बाटोमा काँडेतार बिच्छ्याइएको प्रति स्थानीयबासिन्दा पनि खुसी छैनन् । ‘सुरक्षा पर्खालभन्दा बाहिर हिँड्ने बाटो छेकेर काँडे तार राखेको त माओवादी द्वन्द्वकालमा पनि देखेनौं,’ बानेश्वरका स्थानीय चेतनकृष्ण रुपाखेती भन्छन्, ‘जनताको बाटोमा काँडेतार हाल्नुपर्ने गरी को–बाट त्यत्रो धम्की आयो होला त ।’

साइकल लेन प्रयोग नभएपनि फुटपाथका रुपमा फराकिलो पेटी हुँदा बानेश्वरको शोभा बढ्ने उनी बताउँछन् । भक्तपुर जान बस कुरिरहेका संगम अमात्य राति कोही अल्झिएर लडे काँडेतारमा पर्ने जोखिम देख्छन् ।

‘साँझमा यहाँ धेरै भीड हुन्छ, अब कोही कुनै कारणबस लडे भने फलामको काँडेतारमा पर्ने डर हुन्छ,’ उनी भन्छन्, ‘रातिमा बाटो देखिने गरी बत्ती हाल्दैनन्, अगाडि सिभिल अस्पताल छ, वृद्धवृद्धा र बिरामी पनि बाटोमा हिँड्छन् भन्ने सोच्नुपर्ने हो ।’

दैलेखबाट काम विशेषले काठमाडौं आएका हुकुममान सिंह भने फुटपाथमा व्यापार गर्नेहरुलाई कारवाही गरेको समाजिक सञ्जालको भिडियोसँग यसको तुलना गर्न सुझाव दिन्छन् । सरकारले जे गरेपनि ठीक हुने तर गरिब जनताले जे भएपनि सहनुपर्ने कुराको प्रमाण यसैले दिने उनको टिप्पणी छ ।

‘गरिब जनताले सडकपेटीको एउटा कुनामा गरी खान बस्दा धनी मान्छेलाई लाज हुन्छ, हिँड्ने र गाडी चढ्नेहरुको अधिकार खोसिन्छ भनेर फेसबुकभरि हाल्ला छ,’ उनी भन्छन्, ‘सरकारले बाटो नै ढाकेर काँडेतार बिछ्याउँदा त कोही बोल्दैन रहेछन् ।’ उनले दृष्टिविहीनहरुका लागि यस्तो काँडेतार धराप भएको पनि बताए ।

८ वर्षअघि नै काटेश्वर–माइतीघर खण्ड फराकिलो पर्दा साइकल लेन छुट्याइएको थियो । तर संकेत चिन्ह नराखी टायल बिछ्याएर साइकल लेनलाई समेत फुटपाथ जस्तै बनाइएको छ ।
सुरुमा साइकल लेनमा रातो र फुटपाथमा सादा टायल बिछ्याएकोमा खानेपानीको पाइप गाड्दा ती टायल उप्काइयो । पछि राख्दा छ्यासमिस बनाइएको छ । अहिले साइकल यात्रीले रंग हेरेर आफ्नो लेन चिन्न नसक्ने अवस्था छ ।

माइतीघर–कोटेश्वर सडकको साइकल लेन जोडिएको पनि छैन । चोकहरूमा साइकल लेन सकिएर सडक भेट्नुअघि नै रेलिङ लगाइएको छ । कतिपय स्थानमा साइकल चलाउन नमिल्ने गरी लेन साँघुरो छ ।

फुटपाथमा प्रतीक्षालय र फलामे कुर्सी राखिएकाले यात्रुहरु साइकल लेनबाटै हिँड्छन् । फुटपाथ र साइकल लेनबीचमा रोपिएका विरुवा भने झाँगिएका छन् । घर बनाउनेहरुले निर्माण सामग्री साइकल लेनमै थुपार्छन् ।

कतै साइकल लेनको टायल उप्किसकेको छ । बानेश्वरमा बनेको आकाशे पुलका खम्बा साइकल लेनमै गाडिएको छ । सडक विभागले ठाउँ र दूरी संकेत गर्ने बोर्ड पनि साइकल लेनमै राखेको छ ।

फुटपाथमा लहरै मोटरसाइकल पार्किङ गरिन्छ । सरकारी कार्यालय, अस्पताल, होटल, बैंक, व्यापारिक कम्प्लेक्स अगाडिका फुटपाथ र साइकल लेन मोटरसाइकलले भरिएको हुन्छ । साइकल लेन र फुटपाथ पार्किङले भरिदा यात्रुले सडकमै झरेर हिँड्नुपर्छ ।

फुटपाथ र साइकल लेनमा चटपटे, पानीपुरी, फलफूल बेच्नेहरू पनि साइकल लेनमै सामान राखेर बस्न बन्छन् । उनीहरुलाई लखेट्ने र सामान जफत गर्ने गरिएपनि स्थायी समाधानको उपाय खोजिएको छैन ।

समाजशास्त्री दीपेश घिमिरे काठमाडौंका सडक र सडकपेटीलाई पार्किङ बनाउन खोज्नेहरुले सडकमा व्यापार गर्नेहरुको बढी रिस पोखिरहेको बताउँछन् । तर, सडक पेटी र त्यहाँ व्यापार गरिरहेका वर्गको व्यवस्थापनमा चासो नै नदिएको उनको भनाइ छ ।

‘स्वभाविक आफ्नो सवारी पार्किङ गर्ने ठाउँमा कोही आएर व्यापार गरेको देख्दा सम्पन्न वर्गलाई चित्त बुझ्नै,’ उनी भन्छन्, ‘सडक पेटीमा व्यापारीले गरेको अवरोधन्दा बढी अरु अवरोध छन्, जो सम्पन्न वर्ग र सरकारी तवरबाटै खडा भएका छन्, महानगरसहित सरकारले सडकपेटी एवं उक्त स्थानका साना व्यापारी दुवैलाई व्यवस्थापन गर्न चासो दिनुपर्छ ।’
दूरावस्थामा सडक पेटी

सडकपेटीमा व्यापार गर्ने मात्रै हैन, निर्माण सामग्री थुपार्ने समस्या पनि उस्तै छ । धेरै पेटीमा अहिले निर्माण सामग्रीको चाङ छन् । त्यसलाई हटाउन पनि जिम्मेवार निकायको कुनै पहल छैन ।

निर्माण सामग्रीलाई व्यवस्थापन गर्नेगरी कुनै निकायले योजना पनि बनाएका छैनन् । हप्तौंसम्म पेटीमा थुपारेर राखिने ढुंगा, गिट्टी, बालुवा, छड, सडक दुर्घटनाको कारण बनिरहेका छन् ।

गरिब जनताले सडकपेटीको एउटा कुनामा गरी खान बस्दा धनी मान्छेलाई लाज हुन्छ, हिंड्ने र गाडी चढ्नेहरुको अधिकार खोसिन्छ भनेर फेसबुकभरि हाल्ला हुन्छ । सरकारले बाटो नै ढाकेर काँडेतार बिछ्याउँदा त कोही बोल्दैन रहेछन् । बालबालिका, बिरामी, दृष्टिविहीनहरुका लागि यस्तो काँडेतार धराप बनेको छ ।

काठमाडौंमा सडकपेटीमा मौलाउँदो पार्किङको सवाल पनि उत्तिकै पेचिलो छ । पैदलयात्रुलाई सडकमा हिँड्न बाध्य बनाएर फुटपाथमा पार्किङ गर्नेप्रति ट्राफिक प्रहरीले पनि ‘एक्सन’ लिन सकिरहेको छैन ।

देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारसँगैको अनामनगरमा त्यसको विशेष नमुना देख्न पाइन्छ । यात्रुलाई सडकमा झार्न बाध्य पार्नेगरी पेटीमा भएको पार्किङ हटाउने आँट ट्राफिकले पनि गरेको भेटिन्न ।

काठमाडौंमा धेरैजसो सडकपेटीको निर्माण नै अवैज्ञानिक छ । सडक फराकिलो बनाउने नाममा पेटीलाई खुम्च्याइएको छ । विभिन्न भागमा त सडकपेटी बीचमै हराउँछन् । कतिपय सडकपेटी पसलभित्र पुगेर टुंगिएका छन् ।

सडक विस्तार भएका अधिकांश सडकमा बनेका पेटी अवैज्ञानिक छन् । कतिपय ठाउँमा त आधा फुटका पेटी छन् ।

‘नेपालमा सडकपेटी बनाउँदा यो पैदल हिँड्नेहरुको लागि हो भनेर डिजाइन गरेको भेटिँदैन’, पुरानो बानेश्वरका राजीव बान्तवाको गुनासो छ, ‘विदेशतिर त सडकभन्दा ठूला पेटी हुन्छ अरे, हाम्रोमा पेटी नै हटाएर सडक बनाउँछन् ।’

हुन पनि काठमाडौंमा कतिपय पेटी घरभित्र नै पुगेर टुंगिन्छन् । केही स्थानमा सडक विस्तारका लागि माथिल्लो तल्ला नभत्काउन पेटीमा पर्ने भागलाई मात्रै खुला गरिदिँदा सुरुङजस्तो पेटी पनि बनेका छन् । घरका पिल्लर पनि नहटाइ खोलिएका ती पेटी काम नलाग्ने त छँदै छन्, देख्दा उत्तिकै हास्यास्पद पनि लाग्छन् ।

सडकपेटीमा देखिने बेथिति यति मात्रै छैनन् । आकाशेपुलमा फस्टाएको व्यापार, मेटिएका जेब्राक्रसलगायतले पनि पैदलयात्रुलाई कम्ता सास्ती दिँदैन ।

सडकपेटीका अवैज्ञानिक रेलिङ र सडकछेउमा असरलल्ल बनेका तार यात्रुलाई हिँड्न रोक्ने कारक बनेका छन् ।

दृष्टिविहीनलाई धराप

दृष्टिविहीन शान्ति दर्लामीलाई पनि काठमाडौंका फुटपाथले कम्ता सास्ती दिंदैन । उनी भएका स्थानमा ट्याकटाइल टायल (ब्रेलमार्ग) लाई पछ्याउँछिन् । तर, पूर्ण रूपमा यसको भरपर्दा उनी कहिले खाल्डोमा पर्छिन् त कहिले पार्किङको मोटरसाइकल र गाडीमा गएर ठोकिन्छिन् ।

दृष्टिविहीनलाई हिंड्डुलमा सहज बनाउने उद्देश्यले करोडौं खर्चेर पहेंलो रंगको डाँडीसहित बीचको भाग उठेका ब्रेलमार्ग टायल बिछ्याइएको छ, काठमाडौंमा । सम्भावित दुर्घटनाबाट बचाउन बिछ्याइएका ब्रेलमार्गलाई धेरै विश्वास गरेर हिँड्दा धेरै दृष्टिविहीनले दुर्घटना भोगेका छन् ।

त्यसैले ब्रेलमार्गका ‘टायल’को पूरा विश्वास गरेर दृष्टिविहीन हिंड्न सक्दैनन् । हिंडे दुर्घटनामा पर्ने जोखिम छ ।

ब्रेलमार्गमा दृष्टीविहीनहरूलाई सेतोछडी प्रयोग गरेर हिंड्न सहज हुनुपर्ने हो । तर, बिछ्याउँदा नै कतै पोलमा ठोक्किने गरी बिछ्याइएको छ त कतै बारमा लगेर टुंग्याइएको छ । अब त त्यही ब्रेलमार्ग पनि हत्तपत्त भेटिँदैन ।

विभिन्न स्थानमा ब्रेलमार्गमा पर्ने फलाम, पोल अड्याउने तारलगायतका धरापहरु हटाइएको छैन । अघिल्लो भागमा आउने जोखिमबारे सूचना दिन राखिने ‘इन्टरचेन्ज’ टायलहरू पनि उप्किइसकेका छन् ।

सोही कारण दृष्टिविहीनहरू बिजुलीको पोलमा ठोकिने, नालामा पर्ने, सीधा गाडी गुडिरहेको सडकसम्मै पुग्ने अवस्था देखिन्छ ।

साँघुरो ठाउँमा पनि ब्रेलमार्ग बिछ्याइएको छ, त्यसैले कतिपय ठाउँमा बीचमै पगेर टुंगिन्छ । यसको भरपर्दा त दृष्टिविहीनको लड्ने र खुट्टा मर्किने समस्या पनि उत्तिकै छ ।

अधिकांश ठाउँमा ब्रेलमार्गका टायल उप्किसकेका छन् । ‘टायलहरू फुटेर र उप्किएर बाटो भेट्न पनि मुस्किल हुन थालिसक्यो,’ दर्लामी भन्छिन्, ‘ब्रेलमार्ग नै हराइसक्दा पनि मर्मत हुँदैन ।’

लेखकको बारेमा
रवीन्द्र घिमिरे

आर्थिक-सामाजिक बिषयमा कलम चलाउने घिमिरे अनलाइनखबर बिजनेसमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?