+
+

औद्योगिक कच्चा पदार्थ आयातमा देखिएको समस्या एक महिनालाई टर्‍यो 

दिगो समाधानका लागि पहल गरिदिन उद्योगमन्त्रीको ध्यानाकर्षण

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १९ गते २०:२७

१९ असार, वीरगञ्ज । एक महिनाका लागि पुरानै रुट (रक्सौल-मितेरी पुल-वीरगञ्ज)बाट धुलोजन्य औद्योगिक कच्चा पदार्थ ढुवानी गर्न दिन भारतीय पक्ष तयार भएको छ । जसका कारण नेपाल उद्योगी व्यवसायीको समस्या एक महिनाका लागि समाधान भएको छ ।

यसअघि भारतीय पक्षले २०२२ जुलाई १ देखि वीरगञ्ज–रक्सौल नाका हुँदै ढुवानी भइरहेको धुलोजन्य औद्योगिक कच्चापदार्थको रुट परिवर्तन गर्ने भनि पत्र पठाएको थियो ।

रक्सौल ल्याण्ड कस्टम (एलसीएस)को डेपुटी कमिसनर पिङकी कुमारीले जारी गरेको सूचना अनुसार रक्सौलस्थित रेल्वे साइडबाट धुलोजन्य औद्योगिक कच्चा पदार्थ मितेर पुल हुँदै नेपाल भित्र्याउन नपाइने थियो । त्यस्तो सामान रक्सौलको मुख्य बजारबाट लक्ष्मीपुर, आईसीपी वाईपास रोड हुँदै आईसीपी रक्सौल भएर नेपाल भित्र्याउनु पर्ने भनियो । त्यो पनि रातको ९ बजेदेखि १२ बजेसम्म मात्रै ढुवानी गर्न पाइने भनिएको छ ।

जसको उद्योगी व्यवसायीले विरोध गर्दै आएका थिए । उनीहरुको आग्रह अनुसार भारतीय पक्ष एक महिनाका लागि पुरानै बाटो प्रयोग गर्न दिन तयार भएको छ । तर त्यसपछि भने नयाँ बाटो प्रयोग गर्नु पर्ने छ ।

त्यसैले वीरगञ्जका उद्योगी व्यवसायीले वीरगञ्जका उद्योगी व्यवसायीहरुले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र बडुको ध्यानाकर्षण गराएका छन । वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवाल नेतृत्वको टोलीले समस्या समाधानका लागि पहल गर्न आग्रह गरेको छ ।

जुलाई मसान्तसम्म नेपालका लागि आयात हुने धुलोजन्य औद्योगिक कच्चा पदार्थहरुको आयातको लागि नेपाली आयातकर्ताहरुले ल्याण्ड कस्टम, रक्सौल – मितेरी पुलको बाटो प्रयोग गर्न पाउने भए त्यसपछि रक्सौल मुख्य बजार– लक्ष्मीपुर–एकीकृत जाँच चौकीकै बाटो प्रयोग गर्नु पर्ने बाध्यात्मक अवस्था आउने अग्रवालले बताए ।

रेल्वे साइडिङ्गबाट आईसिपीरोडसम्मको एप्रोच रोड ४ लेन नहुञ्जेलसम्म ल्याण्ड कस्टम रक्सौलको पत्रमा उल्लेख गरिएको नयाँ रुट कार्यान्वयनमा नआउने वातावरण मिलाईदिन उनले आग्रह गरे । ‘आवश्यक पूर्वाधार तयार नभएको नयाँ रुटमा जाँदा ढुवानीमा धेरै समस्या आउँछ, लागत बढ्ने स्थिति छ । तत्कालका लागि मितेरी पुलकै बाटो प्रयोग गर्न पाउनुपर्छ’, उनले भने ।

वीरगञ्ज लगायत देशका विभिन्न भागमा खोलिएका उद्योग कलकारखानालाई धुलोजन्य औद्योगिक कच्चा पदार्थ आवश्यक पर्छ । जुन भारत तथा तेस्रो मुलुकबाट रेलमार्ग हुँदै नेपालका लागि मगाइन्छ र त्यसलाई रक्सौलमा झारिन्छ ।

त्यहाँबाट उद्योग र आयातकर्ताले ट्रक वा टिपरमा भरेर आफ्नो उद्योग वा डिपोसम्म लैजान्छन् । सिर्सिया सुख्खा बन्दरगाहमा धुलोजन्य औद्योगिक कच्चा पदार्थ व्यवस्थापन गर्ने स्थल नभएका कारण धुलोजन्य औद्योगिक कच्चा पदार्थ रक्सौलबाटै ट्रक वा टिपरमा ल्याउनु पर्ने बाध्यता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?