+
+
किनाराको बस्ती–४ :

फोहोरको साम्राज्यले किनारामा पारेको बस्ती

१७ वर्षयता आफ्नो बस्तीमा काठमाडौंको फोहोरले साम्राज्य जमाउँदा किनारामा परेका बस्तीका नागरिकलाई परेको असरको पहाड फोहोरको चुलीभन्दा अग्लो छ, उनीहरूले भोगिरहेको दुःख रोकिने कुनै संकेत छैन ।

बिनु सुवेदी बिनु सुवेदी
२०७९ असार २२ गते २२:१०

तपाईंलाई दुई प्रश्न सोधेर म यो रिपोर्टको सुरुवात गर्छु । पहिलो प्रश्न हो : घरमा आएका आत्मीय पाहुनाले पस्किएको खाना खान्नँ भने भनें तपाईंलाई कस्तो लाग्छ ?

दोस्रो प्रश्न पनि अति सामान्य छ, खाना खाइरहेका बेला कसैले तपाईंको भान्सातिर फोहोर फालिदियो भने कति रिस उठछ ?

नुवाकोटको ककनी गाउँपालिका–२ बञ्चरेडाँडा तथा सिसडोल क्षेत्रका बासिन्दा र काठमाडौं महानगरपालिका तथा संघीय सरकारका बीचमा घम्साघम्सी र सहमतिको श्रृंखला तत्कालका लागि रोकिएको छ, तर अव्यवस्थित तरिकाले फोहोर फाल्ने सिलसिला भने रोकिएको छैन ।

१७ वर्षदेखि सिसडोलमा फाल्ने गरिएको काठमाडौं उपत्यकाको फोहोर जेठ १० गतेदेखि अलि पर्तिर बञ्चरेडाँडामा फाल्न थालिएको छ । सिसडोल वा बञ्चरेडाँडा जहाँ फाले पनि व्यवस्थित तरिकाले बिसर्जन नगरेका कारण वरपरका बस्तीमा दुर्गन्ध फैलिन रोकिएको छैन ।

१७ वर्षयता आफ्नो बस्तीमा काठमाडौंको फोहोरले साम्राज्य जमाउँदा किनारामा परेका बस्तीका नागरिकलाई परेको असरको पहाड फोहोरको चुलीभन्दा अग्लो छ, उनीहरूले भोगिरहेको दुःख रोकिने कुनै संकेत छैन । बरु अनिश्चय बढिरहेको छ, अहिलेसम्म राज्यले सपना मात्रै देखाएर आफ्नो भूमिमा फोहोरको थुप्रो लगाएकोमा आक्रोश बढिरहेको छ ।

मैले सुरुका दुई प्रश्न ककनी गाउँपालिका–१ कागती गाउँकी साइँली बलामीलाई सोधेकी थिएँ । संभवतः मेरो प्रश्नले उनलाई गिज्याएको अनुभूति भयो । दिनदिनै गहिरिंदै गएको घाउ दुखेर रन्थनिरहेको बिरामीलाई घरी–घरी घाउ कति दुखिरहेको छ भनेर सोध्दा जुन खालको झिंजो लाग्छ, सायद साइँलीलाई पनि त्यस्तै भयो कि ! तर आक्रोशित भइनन्, निराश देखिइन् । भनिन्, ‘गन्हाएर बस्न मिल्दैन, झिंगा आउँछ, खाना खानै सकिँदैन । फोहोरको गाडी ल्याएर यहीं (घर नजिकै) रोक्छन् । नरोक भन्दा पनि मान्दैनन् ।’

साइँली बलामी र उनकी साथी ।

२०६३ मा सिसडोलमा २ वर्षका लागि मात्रै फोहोर फाल्ने, र २ वर्षभित्र बञ्चरेडाँडामा ल्यान्डफिल साइट बनाइसक्ने सरकारले निर्णय गरेको थियो । तर यतिका वर्षसम्म बञ्चरेडाँडामा व्यवस्थित ल्यान्डफिल साइट नबन्दा काठमाडौंबाट फोहोर लिएर जाने गाडीले सिसडोलमा नै जथाभावी फाल्न थाले । त्यसले स्थानीय बासिन्दालाई झन् झन् अप्ठ्यारो पर्दै गयो । फोहोर उठ्ने र रोकिने सिलसिलाका बीचमा तत्कालीन सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बञ्चरेडाँडाको ल्याण्डफिल साइटको निरीक्षण गरेपछि सिसडोलको सट्टा फोहोर त्यहीँ पठाउने निर्णय गरिन् । फलस्वरुप गत जेठ १० गतेदेखि सिसडोलमा फोहोर फाल्न छाडिएको छ र बञ्चरेडाँडामा फाल्न थालिएको छ ।

फोहोर सिसडोलमा या बञ्चरेडाँडामा फाले पनि साइँली बलामीको घर रहेको वडा नम्बर १ कागती गाउँले धर पाउँदैन । किनभने बञ्चरेडाँडामा फोहोर लिएर जाने गाडी उनको घरको बाटो भएर जान्छ, गाडीबाट तरर लिचेड चुहिन्छ । त्यसको असर घरदेखि गोठसम्म, आँगनदेखि खेतसम्मै छ ।

फोहोरकै कारण आफन्त र नातेदार घरमा उतिसारो आउँदैनन्, कहिलेकसो आइहाले भने पनि खाना खान मान्दैनन् । राज्यको लापरबाहीका कारण आफूले बर्सेनि भोगिरहेको जिन्दगीलाई आफन्तले छिछि.. र दूरदूर.. गर्दा कस्तो अनुभूति हुन्छ ? साइँली र सिसडोलबासीलाई भन्दा बढी कसलाई थाहा होला ?

‘पाहुना आए भने फोहोरमा कसरी खाना खाने, कसरी बस्ने भन्छन् । टाढाको मान्छे आयो भने हाम्रो घरमा खानै खान्नन् । हाम्रो त जाने ठाउँ पनि छैन । यहीं बस्नु परिहाल्छ’ साइँलीले भनिन्, ‘सारै गाह्रो हुन्छ । छिनछिनमै टाउको दुख्ने, ज्वरो आउने, पखाला लाग्ने हुन्छ’, बिरक्तिएर साइँली पारि पारि डाँडातिर, आँगनमुनिको कल्पुखोलातिर हेर्छिन् ।

केही वर्षअघिसम्म सिसडोल नजिकैको कल्पुखोलामा कञ्चन पानी बग्थ्यो, साइँली र उनका छिमेकीहरू त्यहींको पानी पिउँथे, त्यहीं लुगा धुन्थे । अहिले खोलामा छिर्ने त के हेर्न पनि कठिन हुन्छ । साइँलीले भनिन््, ‘पहिले खोलाको पानी कति राम्रो थियो, कति सफा थियो । अहिले त खुट्टा टेक्ने ठाउँ पनि छैन । जीउभरि खटिरा आउँछ ।’

हामीले साइँली र उनका छिमेकीसँग एकछिन कुराकानी गरेपछि गाउँ छिर्ने निधो गर्‍यौं । जथाभावी फालिएको फोहोरको पहाड पहिरिँदा बाटो छिचोलिनसक्नु भएपछि त्यसबेला काठमाडौंबाट फोहोर लैजाने काम दुई दिनका लागि रोकिएको थियो । हामीलाई पनि हिंड्दै बाटो पार गर्न सजिलो थिएन तर आँट नगरी भएन ।

गत असार १५ गते सिसडोल छिर्ने कल्पुखोलाको पुल छेउमै रहेको साइँलीको घर अघिल्तिर उभिएर एकछिन छिमेकी र उनीसित कुरा गरेपछि मैले अघि सुरुमा तपाईंलाई सोधेको प्रश्न आफैंलाई सोधें ।

साँच्चै मेरो घरमा आएको पाहुनाले मैले पस्किएको खाना खान दिग्मिगायो भने मेरो मनमा के लाग्ला ? मैले खाना खाइरहेका बेला, मैले आराम गरिरहेका बेला कुनै अजनवी बस्ने घर र शहर सफा बनाउन उठाइएको फोहोर बोेकेका गाडी घन्टौं, कहिलेकाहीं त दुई तीन दिनसम्म पनि मेरै घर अघिल्तिर आएर रोकिए, मेरो मन कति दुख्ला, मलाई कति रिस उठ्ला ?

तर सिसडोलबासीले वर्षौदेखि भोगिरहेको दुःख एक दिनका लागि, एक छिनका लागि अनुभूति गर्न यति मात्रै कुराले पर्याप्त हुन्नथ्यो । हामीले फोहोरको पहाड उक्लिने आँट गर्नुपर्थ्यो, गर्‍यौं नै । खैर, ककनी गाउँपालिका वडा नम्बर १, २ र ३ का करिब २९ सय घरधुरीका नागरिकले अनाहकमा पाएको यातनाको मापन न हाम्रा शब्दहरूले गर्न सक्छन्, न हामीले खिचेका फोटो भिडियोले नै । तैपनि हामी फोहोरको पहाड चढ्दै चढ्दै सुन्दर गाउँमा पुग्यौं, गाउँलेका घर–घर छिर्‍यौं ।

चिटिक्क परेका व्यवस्थित छन् यहाँका घरहरू । खानेपानीको धारा, शौचालय सरसफाइको हिसाबले ख्याल गरेर बनाइएको छ । तर हावाले हुत्याएर ल्याउने फोहोरको गन्ध र फोहोरबाट भुनभुनिंदै आउने हरिया झिंगालाई कसले रोक्न सक्ने, कसले छेक्न सक्ने ?

हामी पुग्दा आँगनको डिलमा उभिएका थिए, ७३ वर्षका रामबहादुर खत्री, उनका २७ वर्षीय छोरा राजाराम खत्री बिरामी भएर घरभित्र सुतिरहेका थिए । केही अघिसम्म काठमाडौंबाट सिसडोलसम्म फोहोर बोक्ने गाडी चलाउने राजाराम फोहोरकै कारण बिरामी भइरहने समस्या देखिएको परिवारका सदस्यहरु बताउँछन् । अततः उनलाई पायल्स भयो । रामबहादुर चाहिं धेरैजसो काठमाडौं बस्ने हुनाले दम र उच्च रक्तचापबाहेक अरु रोग छैन । उसो त ककनी गाउँपालिकाको वडा नम्बर १, २ र ३ मा उच्च रक्तचाप र दमका रोगी भेटिनु सामान्य जस्तै हो । क्यान्सर, मुटुको रोग र प्यारालाइसिसका बिरामी नै छ्याप्छ्याप्ती छन् ।

राजाराम खत्री

फोहोर रोक्न स्थानीयले गरेको आन्दोलन टुंग्याउन काठमाडौं महानगरपालिका र संघीय सरकारले सिसडोलबासीसँग धेरैपटक धेरैखाले सम्झौता गरेका छन् । तर सम्झौताको एउटा अक्षर पनि पालना भएको छैन । सरकारको यो रवैयाबाट गाउँलेको मन नदुख्ने कुरै भएन । १७ वर्षअघि गाउँलेसँग पहिलो पटक सम्झौता गर्दा जीवन बीमादेखि एक घर एक रोजगारसम्मका आश्वासन दिएको थियो सरकारले ।

गाउँमै ३२ शय्याको अस्पताल बनाउने, बालीको मुआब्जा दिनेलगायत ३६ बुँदे सम्झौता भएको थियो । त्यो सम्झौता सरकारले बिर्सिए पनि गाउँलेले अक्षरशः सम्झिएका छन् । त्यसबेलाको आश्वासन र अहिलेको व्यवहारका कारण सिसडोलको फोहोरबाट प्रभावित स्थानीय बासिन्दाको रगत उम्लिएर आउँछ र बेलाबेलामा उनीहरू आन्दोलित बन्छन् ।

तर आन्दोलनले भएको नोक्सान फिर्ता हुँदैन, भोगिरहेको जिन्दगीमा परिवर्तन आउँदैन । खाली भविष्य यति दुखद नहोस् भन्ने अपेक्षा मात्रै हो । रामबहादुर खत्रीको अपेक्षा पनि त्यति नै हो । उनले सुरक्षित भविष्यको कल्पना गर्दा मैले उनलाई फेरि विगततिर फर्काएँ । भोगिरहेको जिन्दगी उनलाई बयान गर्न मन छैन, बितेको जिन्दगी सम्झिन मन छैन । संभवतः त्यसैले लामो सास फेरेपछि रामबहादुरले दुःखको पोको फुकाए, दुःखको बिस्कुन सुकाए ।

‘त्यो भनम् भने त के भनम् । दूध दुहिन्छ तताइन्छ, ठेकीमा राख्यो, भोलिपल्ट त कीरैकीरा, भैसी पाल्न नि भएन, गाई पाल्न नि भएन, बाख्रा पाल्न नि भएन । मरेको मर्‍यै गर्छन् । अस्ति भर्खरै मर्‍यो । दुई दिन ख्याक् ख्याक् गर्‍यो, मर्‍यो’ रामबहादुरले भने, ‘खेतीपाती हेर्दाहेर्दै आधा कीराले खाइसकेको छ, मकै लगाएको छ, गुबैदेखि कीराले खाएर केही बाँकी राखेन, धान लगाए पनि त्यस्तै हो ।’

रामबहादुरलाई एक–एक घटनाले पीर दिन्छ । फोहोर थुपार्ने गाउँको मान्छे भनेर छिमेकी गाउँकाले हेलाँहोचो गर्छन् । कतिसम्म भने सिसडोलकै भएकाले छोरीको बिहे रद्द भएको घटनासम्म भोगेका छन् उनले । ‘माग्न आयो, ३–४ ठाउँमा बिहे नै रद्द भयो । हामी माग्न जाँदा पनि छोरी दिंदैनन्’ रामबहादुरले हामीलाई पनि आग्रह गरे, ‘हाम्रो एकदमै बेहाल छ । केही सुनुवाइ हुन्छ कि, राम्ररी सुनाइदिनुस् है ।’

उनको आग्रह र हाम्रो उद्देश्य मिल्यो । हामी पनि उनी र उनी जस्तै किनाराको बस्तीका नागरिकका कुरा सुन्न गएका हौं, राज्यलाई उनीहरूको आवाज सुनाउने उद्देश्यले गएका हौं । राज्यको दायित्व जति काठमाडौंका लागि छ त्यति नै सिसडोलका लागि पनि छ भनेर झकझक्याउन गएका हौं, सम्झाउन गएका हौं ।

रामबहादुरसँग कुराकानीको बिट मार्दा नमार्दै आइपुगे मदन भुजेल । दाजुको खेतमा काम गरिरहेका मदन हामीलाई देखेरै बस्तीतिर उक्लिएका हुन् । मदनले हामीलाई उनकै घरमा लिएर गए । फोहोरको थुप्रोबाट नकुहिने फोहोर उठाएरै घर ठड्याएकी मदनकी पत्नी सुधा फोहोरको बहुअसरका कारण अहिले त्यहीँ घरभित्र इन्तु न चिन्तु भएर सुतिरहेकी छन् ।

मदन र उनकी पत्नी सुधा ।

तीन वर्षसम्म फोहोरको डंगुरबाट प्लास्टिकलगायतका नकुहिने फोहोर उठाउने काम गर्दा सुधाको कमाइ राम्रै भएको थियो । तर गाउँमा फोहोर उठाउने काम गर्दा अपनाउने पर्याप्त सुरक्षाको प्रबन्ध हुन सकेन । उनी बिरामी भइन्, बेलैमा राम्रो उपचार हुन नसक्दा एकाएक शरीरको देब्रे पाटो नै चल्न छोड्यो ।

फोहोरको थुप्रोमा काम गर्दागर्दै सुधाले रहरले जोडेकी थिइन् सुनको झुम्का, एउटा बाला र सुनकै तिलहरी । रहरले नै ठड्याएकी थिइन् इँटाको घर । तर एकाएक बिरामी भएर आफैंले ठड्याएको घरमा ढलिन् सुधा, रहरले जोडेको गहना लगाउनै नपाई बेचेर उनको उपचार गरियो ।

डाक्टरले निको हुन सक्दैन भनेर फर्काइदिएपछि उनी निरुपाय लडिरहेकी छिन् । हामीसित रोइन् पनि सुधा, तर उनको आँखाबाट थोपो आँसु झरेन । रुँदारुँदै सुकेका आँखा मैले पहिलोचोटि देखें, पहिलोचोटि महसुस गरें । के राज्यलाई आफूले जथाभावी गरेका कारण एक–एक नागरिकको सपना ढलेकोमा किञ्चित पछुतो छ ? त्यहाँको दुरावस्था र काठमाडौंको बेवास्ताले भन्छ, अहँ पछुतो त परको कुरा वास्ता पनि छैन ।

हामी गाउँ डुल्यौं धेरै मान्छेका धेरै पीडा सुन्यौं, पीडाको एउटै कारण सिसडोलमा जथाभावी थुप्रिएको फोहोर नै हो भनेर ठम्याउन हामीलाई त कठिन परेन भने भुक्तभोगी गाउँलेलाई कठिन हुने कुरै थिएन । स्थानीय इन्दिरा भुजेल ‘एक घर, एक रोजगारी दिन्छौं’ भनेको सरकारले ‘एक घर एक बिरामी बनाएको’ भन्दै दुःख पोखिन् ।

दुर्गन्ध बोकेर आउने हावाको झोंक्काले हामी थप त्यहाँ बस्न नसक्ने भइसकेका थियौं । फेरि फोहोरकै पहाड चढेर, फोहोरबाटै बग्ने लिचेडको नदी तर्दै हामीलाई काठमाडौं फर्किनुथियो । विस्तारै ओरालो झर्‍यौं ।

हामी ओरालो झर्दा सिसडोल स्वास्थ्य केन्द्रमा बच्चा जँचाएर फर्किएका आमाहरू भेटिए । उनीहरू बच्चा बिरामी भएपछि सिसडोल स्वास्थ्य केन्द्र त पुगे तर औषधि पाएनन् । दिनदिनै फोहोरका गाडी पठाउने महानगरले बेलैमा औषधि चाहिं पठाउँदो रहेनछ ।

१३ वर्षदेखि सिसडोल स्वास्थ्य केन्द्रमा काम गरिरहेका अहेब राजकुमार न्यौपानेको कुरा सुन्दा एउटा बलियो नगरले एउटा किनाराको गाउँलाई कतिसम्म दुर्व्यवहार गर्दाेरहेछ हामी छर्लङ्ग भएका छौं । न्यौपानेका अनुसार स्वास्थ्य केन्द्रका सामान्य औषधिको समेत अभाव छ । उनले दिएको जानकारी अनुसार सिसडोल स्वास्थ्यकेन्द्रमा यो वर्षमात्रै करिब ७ हजार बिरामीको उपचार भएको छ ।

अहेब राजकुमार न्यौपाने ।

उनीहरुमध्ये धेरैलाई टाउको दुख्ने, रुघा लाग्ने, ज्वरो आउने हुन्छ । स्थानीय वासिन्दामा देखिएको स्वास्थ्य समस्याको प्रमुख कारण फोहोर नै भएको अहेब न्यौपाने भन्छन् । लामो समयदेखि फोहोरकै वरिपरि काम गरिरहेकाले आफूसमेत बिरामी पर्न थालेको उनी बताउँछन् ।

‘एक वर्षको बीचमा ३५ जनाको क्यान्सरबाट मृत्यु भइसकेको छ, त्यसको स्रोत खोज्दै जाँदा फोहोर र त्यसको दुर्गन्ध नै हो भन्ने डाक्टरहरुको कुरा हुन्छ’, न्यौपानेले भने, ‘फोहोर बोकेर ल्याउने गाडीबाट लिचेड तरर चुहिन्छ बाटोमा लिचेड सडकमा सरेर माटोमा मिल्ने र त्यहीँ सुक्ने र अर्काे गाडी आउँदा उड्ने हुन्छ । त्यही हावामा मिलेर उड्छ । यही कारण बाटोमा घर बनाउनेहरु र यहीँ स्थायी बसोबास गर्नेहरुलाई जटिल रोगले प्रभावित पार्छ । यहाँ अधिकांश नागरिकको फोक्सो बिग्रेको जस्तो लाग्छ । मलाई पनि त्यो खालको समस्या भइसक्यो कि भन्ने लाग्छ ।’

किनाराको बस्तीको यो चौथो श्रृंखला सुरु गर्दा तपाईंलाई सोधेको दुई प्रश्न अब तपाईं र हामी सबै मिलेर काठमाडौं महानगरपालिका र नेपाल सरकारलाई सोधौं ।

काठमाडौंबाट उठाएर १७ किलोमिटर पर ककनीको सुन्दर गाउँमा जथाभावी फोहोर फालेकै कारण त्यहाँका नागरिकलाई लागेको असाध्य रोगले यो सरकारलाई किन दुख्दैन ? सरकार सञ्चालकलाई किन छुँदैन ? बस्ती निर्धाहरूकै भएर हो ? बस्ती किनाराकै भएर हो ?

(किनाराका बस्ती अनलाइनखबरको भिडियो श्रृंखला हो । यो श्रृंखलामा हामीले राज्यले सधैंभरि किनारामा पारेका बस्तीका कुराहरु उधिन्छौं, दुस्खसुख–अप्ठ्यारा, सप्ठ्याराका कुरा गर्छौं । दलहरुले चुनावमा भोट बढाउनुपदौ, दलहरुकै आन्दोलनका बेला सडकमा नाराबाजी गर्नुपर्दा अहिले पनि अग्रपंक्तिमा देखिने नागरिकले आफू अप्ठ्यारोमा परेका बेला कहिल्यै राज्यको साथ पाउन्नन् । संविधानले नै प्रत्याभूत गरेको गाँस, बास, शिक्षा र स्वास्थ्यको सुविधाबाट समेत किनारामा पारिएका नागरिकका समस्यालाई कम्तीमा आफ्नो आँखाबाट ओझेल पर्न नदिने हाम्रो प्रयास हो । यही प्रयास अन्तर्गत चौथो श्रृंखलामा हामी नुवाकोटको ककनी गाउँपालिका सिसडोल पुगेका छौँ ।)

क्यामेराः शंकर गिरी र आर्यन धिमाल,

सम्पादनः दिलिप तामाङ ‘गरब’

किनाराका बस्तीको अघिल्ला श्रृङ्खलाहरु हेर्नुहोस्

लेखकको बारेमा
बिनु सुवेदी

बिनु सुवेदी अनलाइनखबर डटकमका एसोसिएट एडिटर हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?