+
+
केपी ओलीको सम्बोधन :

आफैंमाथि उठेका प्रश्नको जवाफ दिन संसदको रोष्ट्रम प्रयोग

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०७९ असार २० गते २०:०४

२० असार, काठमाडौं । समान्यतया प्रमुख प्रतिपक्षी दलले संसदमा सरकारले गरेका काम कारबाही माथि प्रश्न उठाउँछ र गलत काम गर्न लागेकामा खबरदारी गर्छ ।

यही मनसायका साथ संविधानले प्रमुख प्रतिपक्षी दलको नेतालाई संवैधानिक परिषद लगायतका महत्वपूर्ण ठाउँमा समेत सहभगी गराउने व्यवस्था गरेको छ ।

तर, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सोमबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दैगर्दा सरकारमाथि सार्वजनिक रुपमा उठेका प्रश्नहरु कोट्याए र आफैंमाथि उठेका प्रश्नहरुको जवाफ पनि दिए ।

प्रतिनिधिसभामा डेढ घण्टा घण्टा लामो सम्बोधन गरेका ओलीले मुख्यत: चार विषय उठाए । एउटा विषय सरकार र सरकारमाथिको प्रश्न थियो भने बाँकी तीन विषय आफैंमाथि उठेका प्रश्नहरुबारे स्पष्टीकरण ।

पहिलो–  बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता 

दोस्रो– एसपीपीमा पत्राचार हुँदा ओली आफैं प्रधानमन्त्री र रक्षामन्त्री रहेको 

तेस्रो– आफू प्रधानमन्त्री हुँदा कोरोना महामारीमा स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता

चौथो– एमालेको छिमेक सम्बन्धबारे उठेका प्रश्न

नेकपा एमालेले संसदमा निरन्तर रुपमा उठाइरहेको विषय हो– अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई संलग्न गराएका छन् । यस विषयमा अध्ययन गर्न संसदीय छानबिन समिति गठन गर्नुपर्ने एमालेको माग छ ।

सोमबार प्रतिनिधिसधालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले पनि यो विषयलाई जोडदार रुपमा उठाए । उनले प्रश्न उठेपछि छानबिन गरेर सत्य तथ्य के हो ? सार्वजनिक गर्नुपर्ने अन्यथा गलत नजिर बस्ने बताए ।

यसैमा, जोडिएर उनले प्रधानमन्त्रीलाई प्रश्न गरे, ‘गठबन्धन जोगाए पुग्छ प्रधानमन्त्रीजीलाई । केही गर्न नसक्ने स्थितिमा पुग्नु भएको हो ?’ अध्यक्ष ओलीले प्रधानमन्त्री देउवालाई आग्रह गरे, ‘संसदीय छानबिन समिति बनाऔं । छानबिन हुनैपर्छ यस्ता विषयमा । बाहिरिया, बिचौलिया राखेर करका दर हेरफेर गर्ने विषय कल्पनै गर्न सकिँदैन । यस्तो विषयमा प्रधानमन्त्री जवाफदेही हुनैपर्छ ।’

बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश गराएर अर्थमन्त्रीले ठूलो आर्थिक अपराध गरेको बताएका ओलीले महंगी नियन्त्रण लगायतका जनस्तरबाट उठेका प्रश्नहरु पनि कोट्याए । सरकारमाथि घरी घरी प्रश्न गरिरँदा ओलीले विगतमा आफूले गरेका कामहरुमाथि उठेका प्रश्न पनि सम्झिए र जवाफ दिने प्रयास गरे ।

एसपीपीको तिथिमिति सार्वजनिक होस्

एमाले अध्यक्ष ओलीले आफ्नो सम्बोधनको सुरुमै अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा संलग्न हुन नेपाली सेनाले अमेरिकालाई लेखेको पत्रको विषय उठाए ।

एसपीपीलाई नेपालले पहिलो पटक सन् २०१५ मा पत्र पठाउँदा ओली प्रधानमन्त्री थिए । आफैं प्रधानमन्त्री हुँदा एसपीपीमा संलग्न हुनका लागि नेपालले पत्र पठाएको सार्वजनिक भएपछि ओलीले पटक–पटक आफूलाई पत्रबारे सेनाले जानकारी नगराएको बताउँदै आएका छन् । यही कुरा उनले सोमबार पनि उठाए  र एसपीपीमा आफूलाई जोडिएको आपत्ति जनाए ।

एसपीपीमा सहभागी हुने विषयमा सुशील कोइराला नेतृत्वको सरकारले निर्णय गरेको उनको जिकिर छ । बरु अमेरिकाबाट नेपाल एसपीपीमा सामेल भएको भन्ने रिपोर्ट आएपछि आफूले नै रोकेको अध्यक्ष ओलीको दाबी छ ।

ओलीको स्पष्टीकरण दिँदै एसपीपीलाई पहिलो पटक पत्र पठाउँदाको समय सम्झिए । ‘नेपाली सेनाले २०७२ साल भदौ २४ गते १० सेप्टेम्बर २०१५ मा रक्षा मन्त्रालयमा एसपीपीमा सहभागी हुन अनुमति माग्दै पत्राचार गरेको र रक्षा मन्त्रालयले सहमति दिएको ओलीले स्मरण गरे । उनले त्यतिबेला आफू प्रधानमन्त्री नभएको जिकिर गरे ।

तर सेनाले आफू प्रधानमन्त्री भएपछि अमेरिकालाई पत्राचार गरे पनि प्रधानमन्त्री र रक्षामन्त्रीको हैसियतमा रहेको आफूलाई जानकारी नगराएको दावी गरे । उनले अघि भने, ‘पहिलो पटक पत्र गएको तत्कालिन प्रधानमन्त्री (ओली) र रक्षामन्त्रीलाई थाहा छैन । तत्कालिन प्रधानसेनापति अहिले पनि हुनुहुछ उहाँलाई सोधे हुन्छ ।’

सेनाले एसपीपीमा सहभागी हुन दोस्रो पटक पत्र पठाउँदा पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हटेर शेरबहादुर देउवा प्रधानमन्त्री रहेको उनले सम्झिए ।

अध्यक्ष ओलीले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवालाई एसपीपीको तिथिमिति नै सार्वजनिक गर्न माग गरे । ‘प्रधानमन्त्रीज्यू, पत्राचार भएको हो वा होइन ? भएको हो भने कुन कुन प्रधानमन्त्री, रक्षमन्त्री क-कसले निर्णय गरेर यो भएको हो ? यस सम्बन्धमा सत्य तथ्य तिथिमितिसहित सार्वजनिक होस् । भ्रमपूर्ण प्रचार गरेर हिड्ने होइन सत्य तथ्य बाहिर ल्याउनुपर्छ ।’

ओम्नी प्रकरणबारे छानबिन गर्न चुनौती

अध्यक्ष ओलीले वर्तमान सरकार गठबन्धन जोगाउन मात्रै केन्द्रित हुँदा जनताको मागको सुनुवाइ हुन नसकेको जिकिर गरे ।

महंगी र भ्रष्टाचारको विषय कोट्याउँदा अध्यक्ष ओलीले आफू प्रधानमन्त्री हुँदा उठेका प्रश्न पनि सम्झिए । आफू प्रधानमन्त्री हुँदा कोरोना महामारीको समयमा स्वास्थ्य सामग्री खरिदमा अनियमिता भएको भनी उठेका प्रश्नहरुबारे छानबिन गर्न सरकारलाई चुनौती दिए ।

कोरोना महामारी नियन्त्रणमा सरकारले गम्भीर नभएको भन्दै ओली प्रधानमन्त्री हुँदा नेपाली कांग्रेसका सांसद राजेन्द्र केसीले संसदमै ‘इनफ इज इनफ’ भनेका थिए । सडकमा समेत ‘इनफ इज इनफ’ को नारा लागेको थियो ।

त्यसबेला उठेका प्रश्न र आफूमाथि लागेका आरोपबारे स्पष्टीकरण दिँदै उनले वर्तमान सरकारलाई त्यतिबेला भएको स्वास्थ्य सामग्री खरिदको अनुसन्धान गर्न चुनौती दिए ।

‘एकातिर मूल्यवृद्धि अर्कोतिर भ्रष्टाचार । मै सरकारमा हुँदा ओम्नी को हो ? के हो ? भनिएको थियो । अहिले त्यसलाई सडकमा ल्याउनुस् छानबिन गरेर र भन्नुस् न जनतालाई ?’ सरकारलाई ओलीले चुनौती दिए ।

त्यसबेला आफू नेतृत्वको सरकारले आपतकालीन स्थितिमा स्वास्थ्य सामग्री ल्याएको उल्लेख गर्दै उनले त्यसबेला उठेका प्रश्नको जवाफ दिने प्रयास गरे । ‘कोभिड हामीले ल्याएका थियौं र इनफ इज इनफ अभियान चलाउने ? म भन्दिन कि त्यसमा बेठीक छँदैछैन । भनिदिनुस्, छानबिन गर्नुस् ।’ तर, प्रश्न उठेपछि सरकारले नै त्यसबेला छानबिन गरेको र आरोपहरु गलत भएको तथ्य सार्वजनिक गरेको पनि उनले बताए ।

बरु अहिले सरकारलाई ‘इनफ इज इनफ’ भन्ने स्थिति रहेको उनको टिप्पणी छ । ‘इनफ एज इनफ त्यो बेला होइन, यो चाहिँ हो । इनफ इज इनफ । इट्स नट टोलरेबल (यो सह्य छैन)’ अध्यक्ष ओलीले सम्बोधनको अन्त्यतिर भने ।

एमालेको छिमेक नीतिबारे प्रष्टीकरण

एमालेको छिमेक नीतिमाथि प्रश्न उठाइएको भन्दै अध्यक्ष ओलीले रोष प्रकट गरेका छन् । ‘एउटा हल्ला चलाइएको छ एमाले फलानाको नजिक, फलानाको टाढा’ संसदमा ओलीले आफ्नो पार्टीको विदेश नीतिबारे सार्वजनिक रुपमा प्रश्न उठेको भनी आफैँ विषय प्रवेश गराए । एमाले नेताहरुका अनुसार पार्टीको विदेश नीतिका विषयमा संसदमा प्रश्न उठेको छैन । संसद बाहिर प्रश्न उठाइएपछि अध्यक्ष ओलीले जवाफ दिएको एमालेकै नेताहरु बताउँछन् ।

अध्यक्ष ओलीले एमाले छिमेकीहरुसँग सन्तुलित व्यवहार गर्नुपर्छ र नेपालको राष्ट्रिय हितलाई सर्वोपारी ठानेर सम्बन्ध कायम राख्नुपर्छ भन्नेमा रहेको प्रष्टीकरण दिए । आफ्नो पार्टी असंलग्न परराष्ट्र नीतिमा अडिग रहेको पनि अध्यक्ष ओलीको स्पष्टीकरण छ ।

‘एमाले छिमेकीहरुप्रति इमान्दार व्यवहार गर्ने पार्टी हो । देखाउने एउटा र लुकाउने अर्को व्यवहर गर्ने पार्टी होइन । पारस्पारिक सम्बन्ध राख्ने पार्टी हो’ उनले भने, ‘कुरा मीठा गर्ने भित्रबाट कैंची चलाउने पार्टी होइन । एमाले सन्तुलित विदेश नीति र असंलग्न परराष्ट्र नीतिमा अडिग छ । राष्ट्रिय हितलाई ध्यान राखेर सम्बन्ध कायम गर्दछ ।’

बरु वर्तमान सरकार छिमेक सम्बन्धमा अत्यन्तै अनुत्तरदायी भएको अध्यक्ष ओलीको आरोप छ ।

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?