+
+
विचार :

रामकुमारीहरू रुँदा हाँस्ने समाजलाई केही प्रश्न

रामकुमारीहरू हाँस्नु मात्र होइन, यो सामन्तवाद र पितृसत्तासँगको लडाइँमा रुनु पनि पर्छ। र, आफ्नो योजना, दृष्टिकोण र रणनीतिलाई पसिना र रगतसँगै आँसुले सिञ्चित गर्नु पनि पर्छ। किनकि रुनु कमजोरी होइन।

डा. मीना पौडेल डा. मीना पौडेल
२०७९ असार २१ गते १२:४८

म रामकुमारी झाँक्रीलाई व्यक्तिगत रूपमा त्यति चिन्दिनँ तर उनका विद्यार्थीकालदेखिका राजनीतिक गतिविधिलाई भ्याएसम्म र सान्दर्भिक भएसम्म पछ्याउँछु। उनीसँग मेरो प्रत्यक्ष भेट एकपटक भएको थियो। वर्ष मलाई याद भएन तर त्यतिबेला अहिले किशोर हुन लागेको उनको छोरो उनको गर्भमा थियो। त्यो भेट पनि व्यक्तिगत नभएर लैंगिक हिंसा विरुद्धमा कुनै संस्थाले आयोजना गरेको एउटा राष्ट्रिय गोष्ठी थियो जावलाखेलको स्टाफ कलेजमा।

त्यो नै मेरो र उनको पहिलो र आजसम्मको अन्तिम प्रत्यक्ष भेट हो। उनी भन्दै थिइन्- आठौं महिनाको गर्भ भएकोले बाहिरी गतिविधि कम गरेकी छु तर बच्चा जन्मेपछि चाँडै नै राजनीतिक गतिविधि तीव्र पार्नेछु। र, गरिन् पनि त्यस्तै।

मैले रामकुमारीलाई उनका गतिविधिमार्फत पछ्याइरहँदा मनमा खेल्ने कुराहरूमध्ये दुईवटा पक्षले मेरो मानसपटलमा जहिल्यै स्थान पाए र पाइरहेका छन्। एउटा उनको जुझारूपनको निरन्तरता हो। आफ्नो छानोमा आगो बल्दा मात्र निभाउन खोज्ने तर समाज गिजोलिंदा चुपचाप निदाउने हाम्रो स्वार्थी राजनीतिक माहोलमा रामकुमारीले निरन्तर स्थानीय, विषयगत र समग्र राष्ट्रिय महत्वका सवालमा आफ्नो चट्टानी अडान बोकिरहिन्।

उनको यो राजनीतिक स्वभावले उनका समकालीन, अघिल्ला र पछिल्ला पुस्तालाई ऊर्जा भरिरहिन्। आशा छ- उनले यो आफ्नो विशिष्ट प्रवृत्तिलाई अझ धारिलो पार्ने छिन्। यो धारिलोपन किन पनि जरुरी छ भने सबै पार्टीका रामकुमारीहरू सवालगत साझेदारी गरेर तिनकै माउ पार्टीको सामन्तवाद मात्र होइन, राज्य संरचनालाई गाँजेको पितृसत्तासँग पनि जुध्नु छ।

त्यसैले रामकुमारीहरू हाँस्नु मात्र होइन, यो सामन्तवाद र पितृसत्तासँगको लडाईंमा रुनु पनि पर्छ। र, आफ्नो योजना, दृष्टिकोण र रणनीतिलाई पसिना र रगतसँगै आँसुले सिञ्चित गर्नु पनि पर्छ। रुनु कमजोरी होइन। बरु आक्रोश, विद्रोह र अपुरा योजना तुहिन्छन् कि, दृष्टिकोण भाँचिन्छन् कि, रणनीति बेचिन्छन् कि भन्ने चिन्ता मनैबाट छचल्किएको हो। सबैले रुने हिम्मत गर्दैनन्।

अर्को पक्ष हो- उनको खुल्लापन। रामकुमारी प्रवृत्तिको खुल्लापन नेपाली समकालीन छलकपट, कपटी, जालझेल र दासताको राजनीतिक संस्कृतिमा एउटा विरलै पाइने प्रवृत्ति हो। यसो भनिरहँदा मैले रामकुमारी मात्र हाम्रो विषाक्त राजनीतिक माहोललाई चुनौती दिने एक्ली पात्र हुन्, उनी विशेष हुन् भनिरहेकी छैन। उनी त एउटा प्रवृत्तिको प्रतिनिधि पात्र हुन्, जुन प्रवृत्तिले परम्परावादी राजनीतिक संस्कृतिलाई चुनौती दिन हिम्मत गर्दछ।

अन्य पार्टीहरूमा पनि औंलामा गन्न सकिने रामकुमारीहरू छन् तर एउटा राजनीतिज्ञले आफ्नो राष्ट्रप्रतिको भूमिका कसरी निभाउँछ, समाजप्रतिको उत्तरदायित्व कसरी बुझ्छ र सकेसम्म पूरा गर्ने प्रयास गर्छ भन्ने प्रश्नले महत्व राख्छ।

नेपाली कांग्रेसभित्रका रामकुमारीहरू हुन् वा माओवादी, एमाले र अरु साना पार्टीहरू भित्रकै किन नहुन्, वर्तमान विषाक्त राजनीतिक माहोलमा यी औंलामा गन्न सकिने रामकुमारीहरू कालो बोकाको रगत र धुपबत्तीमा विश्वास गरी राज्यको बागडोर सम्हाल्न जाने बालुवाटारे मात्र होइन प्रत्येक पार्टीका सिंहदरबारे सामन्ती मुखियाहरू र तिनका आसेपासेका लागि फलामे चुनौती हुन्। र, उनीहरू अझ स्पाती बन्नुपर्छ।

पहिला मैले एउटा युवा राजनीतिज्ञको रूपमा रामकुमारीलाई पछ्याएकी थिएँ। अहिले मन्त्री भएपछि पनि उनका दैनिक गतिविधि, काम, योजना, उनको सहकार्यप्रतिको लगाव आदि यस्ता पक्षमा एउटा करदाताको हैसियतले मैले पछ्याइरहें। र, यो पछ्याई मेरो लागि चासोको विषय हो। किनकि मेरो करको प्रयोग/दुरूपयोग कुन मन्त्रीले कसरी गरेको छ भन्ने मलाई हिसाबकिताब गर्नु थियो र यद्यपि छ-एउटा स्वतन्त्र नागरिकको हैसियतमा। मलाई लाग्छ- हामी करदाताले हिसाबकिताब राखेनौं भने वर्तमान बेथिति झन् फस्टाउँछ। त्यसैले पनि हामीले पछ्याउन र खबरदारी गर्न जरुरी छ।

उसो त राज्य संचालनमा सिंगो नेतृत्व नै निकम्मा भएपछि रामकुमारीका आँशुमाथि मजाक गर्नु हाम्रो समाजको चरित्र नै होला। आखिर हामीले कस्तो राजनीतिक संस्कार स्थापना गर्न चाहेको हो र कस्तो सामाजिक चेतना खोजेको हो ? आफू बाँचुन्जेल पदमा रही आफ्नो नाति, नातिनी पुस्तालाई स्थान सुरक्षित गर्न चाहने परम्परागत पुस्तासँग असहमत हामी कस्तो पुस्ताको खोजीमा छौं ? अनि भावी पुस्तालाई के सन्देश दिन खोजिरहेका छौं ?

रामकुमारीले मुलुकलाई सिंगापुर र स्विट्जरल्याण्ड बनाउने जस्ता फोस्रा सपना होइन तर तिनकै बा, दाजु र दिदी कामरेडहरूले गिजोलेको विषाक्त राजनीतिलाई थोरै भए पनि सुधार्न प्रयत्न गरेकी हुन् कि भन्ने भान उनका गतिविधिमा झल्किन्छ।

दास संस्कृति मौलाई संस्थागत भइरहेको राजनीतिक माहोलमा यो प्रयासलाई सकारात्मक मान्नुपर्छ। रामकुमारीहरूसँग मेरा अनेकौं विमत र असहमतिहरू छन् र ती सम्भवतः पछिसम्म पनि रहलान्। तर यहाँ सन्दर्भ व्यक्तिविशेषको होइन, एउटा प्रवृत्तिको हो जुन प्रवृत्तिले थोत्रा ढर्रालाई धक्का दिन प्रयास गर्दैछ।

हाम्रो नेतृत्वमा दृष्टिकोणको खडेरी छ। इमानदारी र विश्वासको गहिरो खाडल छ। केही गर्न सकिन्छ, सुधार सम्भव छ भन्ने आत्मविश्वासमा धमिरा लागेको छ। यस्तो आजको राजनीतिक माहोलले असहिष्णुतातिर मोडिइरहेको नेपाली समाज लैंगिक, जातीय, सांस्कृतिक, वर्गीय विभेद र हिंसाले दिन प्रतिदिन असुरक्षित मात्र होइन अत्यास लाग्ने गरी निराशातिर धकेलिइरहेको छ। सबैभन्दा बढी नैराश्यता युवा पुस्तामा देखिन्छ जुन झनै अत्यासलाग्दो अवस्था हो।

राजनीतिक पार्टीहरू एजेण्डाविहीन मात्र होइन, राज्य संचालन र परिवर्तनका उपलब्धिलाई कसरी संस्थागत गर्ने भन्नेमा दिग्भ्रमित र अन्योलको अँध्यारो खाडलतिर गई प्रणाली र संरचनालाई ध्वस्त पार्न व्यस्त छन्। नेतृत्व जिम्मेवारी लिने भन्दा दोष अरुलाई थुपारेर आफू उम्कने होडमा छ। कर्मचारी प्रशासन अस्तव्यस्त बनाई राजनीतिक नेतृत्वलाई झन् अन्योलमा पारी भरपूर फाइदा लिन, भ्रष्टाचार गर्न र गराउन मस्त छ।

उता न्यायालय यो राजनीतिक र प्रशासनिक भद्रगोलको मझेरीमा रमिते हुन्छ र परिस्थिति अझ जटिल बनाउन तल्लीन रहन्छ। सामान्य नागरिक कुनै पनि कार्यालयमा सेवा लिन जाँदा महङ्गोमा किन्नुपर्दछ। उपलब्ध सीमित अवसरहरू राजनीतिक पार्टीका परिवार र दास कार्यकर्ताद्वारा लुटिन्छन् अनि करदाता विदेशिनुको विकल्प छैन। आफ्नो चुलो बाल्न र छानो टाल्न मात्र होइन, मुलुककै अर्थतन्त्र थेग्नका लागि।

उसो त अर्थतन्त्र करिब करिब विदेशी साहुको नियन्त्रणमा पुग्न आँटेको संकेत देखिंदैछ भने विकास र समृद्धिका खोक्रा नाराहरूले करदातालाई जिस्काइरहेका छन्। यस्तो परिवेशमा केही सपना र योजना लिएर औंलामा गन्न सकिने रामकुमारीहरू राज्यको निर्णायक तहमा पुगेर केही सकारात्मक संकेत दिन थाल्दा बीचैमा रोकिन्छन् र रुवाइन्छन्।

अनि यो रुवाइलाई रामकुमारीहरू जन्माइएको र हुर्काइएको समाजले जिस्काउँछ, गिज्याउँछ र भन्छ- लोभी भइन्, पदलोलुप भइन्। हो, विषाक्त परिवेशमा हुर्काइएका रामकुमारीहरूमा पनि विषको केही मात्रा होला। त्यसमा कुनै शंका छैन। तर उनले त्यो विषाक्त माहोलमा पनि केही सुधार गर्ने प्रयत्न गरिन् वा गरिनन् भनेर गहिरो र वस्तुगत मूल्याङ्कन गर्ने कि उनको आँशुको मजाक उडाउने ?

उनैका सहयोद्धाले भने अनुसार रामकुमारीले शहरी विकास र व्यवस्थापनका केही खाकाहरूमा काम गरिरहेकी थिइन् र शेरबहादुर देउवाको मन्त्रिमण्डलमा एउटा सशक्त र प्रष्ट सदस्यको रूपमा महत्वपूर्ण योगदान गर्ने गर्थिन्। यसले गर्दा उनको आफ्नो मन्त्रालयको मात्र होइन, प्रधानमन्त्रीलाई कतिपय असहज परेका बेला पनि क्याबिनेटको गाँठो फुकाउन सहज भएको बुझिन्छ। मन्त्रालयका उनैमा मातहतका कर्मचारीहरु पनि उनलाई पहिलाका मन्त्री भन्दा विषयगत स्पष्टता, रणनैतिक योजनाकार, सहकार्यमा माहिर, पारदर्शी नेताका रूपमा चित्रण गर्छन्।

हामीले के पनि बुझ्न जरुरी छ भने राजनीतिक र प्रशासनिक नेतृत्व एकअर्काका प्रतिपक्षका रूपमा प्रस्तुत हुँदै व्यवहार गर्ने र राज्य व्यवस्थापन अस्तव्यस्त पारी सेवाग्राहीलाई सताउने संस्कृतिमा पक्कै पनि रामकुमारीहरूलाई मन्त्री भएर काम गर्न सहज थिएन। तर पनि उनले कसरी सामना गरिन् र छोटो समयमा आफ्ना दृष्टिकोण र नेतृत्वले मन्त्रालयका योजनालाई सिञ्चित गर्ने प्रयास गरिन् ? वर्षौंदेखिको कमिसनको मोलमोलाइमा सम्भव हुन नसकिरहेको स्थानीय निकायसँगको सहकार्य प्रयासलाई कसरी अगाडि बढाइन् ?

पक्कै पनि यस्तो प्रयास एकजना मन्त्रीले गरेर मात्र हुने हैन। यो सामूहिक प्रयास हो जुन कुरा उनकै सहकर्मीहरू भनिरहेका छन्। तर सामूहिक प्रयासका लागि कसैको रणनैतिक नेतृत्व त आवश्यक पर्छ नै। मन्त्रालय र क्याबिनेटका उनका सहकर्मीका अनुसार रामकुमारीले अरुको भन्दा फरक गरेको भनेको त्यही रणनैतिक नेतृत्व दिएको हो।

जुन कुरा एउटा राजनीतिज्ञको प्रमुख दायित्व हो र राज्य सञ्चालनको अनिवार्य शर्त पनि। तर कुशल नेतृत्वको खडेरी परेर धाँजा परेको हाम्रो राज्यसंरचना र आँशुलाई हँसिमजाक र पदलोलुपताको मापदण्ड ठान्छ। यस्तो हाम्रो सामाजिक चेत नै आजको मूल समस्या हो। जसले केही गर्न चाहना राख्नेलाई खेदो गर्छ र सकेसम्म निराश बनाउँछ।

रामकुमारीको आजको नियति बालेन र हर्क राईहरूले पनि भोलि नभोग्लान् भन्न सकिन्नँ। किनकि उनीहरू पनि आत्मकेन्द्रित तुषले लत्पतिएको र समयकालसँग मेल नखाने राजनैतिक नेतृत्व प्रवृत्ति, प्रशासनिक कार्यशैली र दलाली मनोविज्ञानलाई चुनौती दिन अघि सरेका पात्र हुन्।

यता रामकुमारीकै पार्टीबाट मन्त्री हुने उनका दाइ कामरेडहरूको कामको मूल्याङ्कन गर्न समाज रुचि राख्दैन जति तिनका बहिनी कामरेडको आँशुमा खेल्न रुचाउँछ। विगत ८ महिनामा कुन चाहिं दाइ कामरेडले आफ्नो मन्त्रालयको योजना, व्यवस्थापन र कार्यक्रमको खाका तयार गरे ? श्रम मन्त्रालयको बेथिति, श्रम आप्रवासनमा गरिने दलालीकरण र आप्रवासीका समस्या बुझ्न सके ? प्रष्ट के छ भने पर्यटन, स्वास्थ्य लगायत मन्त्रालयको के कति जनपक्षीय काम भए ? उत्तर लुकेका छैनन्।

उसो त राज्य संचालनमा सिंगो नेतृत्व नै निकम्मा भएपछि रामकुमारीका आँशुमाथि मजाक गर्नु हाम्रो समाजको चरित्र नै होला। आखिर हामीले कस्तो राजनीतिक संस्कार स्थापना गर्न चाहेको हो र कस्तो सामाजिक चेतना खोजेको हो ? आफू बाँचुन्जेल पदमा रही आफ्नो नाति, नातिनी पुस्तालाई स्थान सुरक्षित गर्न चाहने परम्परागत पुस्तासँग असहमत हामी कस्तो पुस्ताको खोजीमा छौं ? अनि भावी पुस्तालाई के सन्देश दिन खोजिरहेका छौं ?

यी प्रश्नहरूसँगै हामीले के पनि बिर्सनुहुँदैन भने रामकुमारीहरूका उत्तराधिकारी मन्त्रीहरूका पनि क्रियाकलापहरूलाई पछ्याउनुपर्छ र खबरदारी गरिरहनुपर्छ। भर्खरै प्रस्तुत भएको बजेटसँगै गाँसिएका योजनाहरू पार्टीको स्वार्थमा फेरिएका मन्त्रीहरूले कसरी अगाडि बढाउँछन् वा योजना तुहाई बजेटको हिनामिना गर्छन् भन्ने पनि नागरिकको तहबाट खबरदारी गर्नु जरुरी छ।

शंकाचाहिं योजना तुहिने हुन् कि भन्नेमा छ। किनकि जाँदा जाँदै रामकुमारीले भनेकी छन्- पार्टी चलाउन सरकारी योजना बेच्न सकिनँ। यो गम्भीर विषय हो र रामकुमारीले आफ्नो प्रष्ट वक्ता र खुलापनको पुनर्पुष्टि गर्न उनको यो भनाइलाई करदातासामु अझ प्रष्ट पार्न जरुरी छ। किनकि उनले नबेचिएका भनिएका योजनाहरू हामी करदाताकै लगानीमा आधारित भएर बनाइएका हुन्। र, ती योजना पार्टीको खर्च चलाउन रामकुमारीहरूका उत्तराधिकारी मन्त्रीहरूले बेच्न पाउँदैनन्।

फलामे घनले हान्दा नचर्किएको सामन्ती पार्टी नेतृत्व र पितृसत्ताको प्रतिनिधि राज्य संरचनामा किलाले कोट्याउने प्रयास रामकुमारीहरूले गर्नु पनि सकारात्मक पक्ष हो। चाहे हाँसेर गरून् वा रोएर, तर यो प्रयासले निरन्तरता पाउनुपर्छ। सबै रामकुमारीहरूलाई शुभकामना !

लेखकको बारेमा
डा. मीना पौडेल

डा. पौडेल समाजशास्त्री हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?