+
+

एकअर्काबाट के चाहन्छन् श्रीमान्-श्रीमती ?

सम्झना विक सम्झना विक
२०७९ असार २१ गते १४:०२

काठमाडौं । साँझ श्रीमान् कार्यालयबाट घर फर्कन्छन् र लुगाफाटो बदल्छन् । श्रीमती भन्छिन्- आफूले लगाएको लुगा त मिलाएर राख्नुपर्छ नि । जुत्ता एकातिर, टाई अर्कोतिर । कोट, पाइन्ट जताततै फ्याँकेका छन् ।

घर आउनासाथ श्रीमतीको मुड खराब भएको देखेर श्रीमानलाई पनि झोंक चल्छ । उनीहरु आपसमा भनाभन गर्न थाल्छन् । सानोतिनो झगडा नै हुन्छ ।

झगडाको निहुँ त खास केही थिएन । तर उनीहरुबीच झगडा भयो । बोलचाल बन्द भयो । जब उनीहरुलाई असहज महसुस हुन्छ, तब उनीहरुले झगडाको कारण खोतल्छन् । खासमा त झगडाको कारण एकअर्काप्रति गर्ने स–साना अपेक्षा रहेछन् ।

श्रीमतीको अपेक्षा थियो, ‘श्रीमानले घरमा सरसामान लथालिंग नबनाइदियोस् । आफूले जत्तिकै मेहनत गरेर चिरिच्याट्ट राखिदियोस् ।’

श्रीमानको अपेक्षा थियो, ‘दिनभर काम गरेर, थकित ज्यान लिएर घर फर्कंदा कम्तीमा श्रीमती हाँसीखुसी होस् । हार्दिकतापूर्वक घरमा स्वागत गरिदियोस् ।’

एक हिन्दी सिनेमाको यस दृश्यले दम्पतीबीच कसरी झिनामसिना निहुँमा पनि झगडा हुन्छ भन्ने देखाउँछ । नेपाली समाजमा प्रचलित एउटा भनाइ छ, ‘बुढाबुढीको झगडा परालको आगो ।’ यसले श्रीमान–श्रीमतीबीच हुने झगडालाई सामान्य प्रक्रियाको रुपमा लिएको बुझिन्छ । अक्सर यस्ता झगडा क्षणमै हुन्छ र क्षणमै मिल्छन् पनि ।

झगडाको बीउ अपेक्षा

श्रीमान चाहन्छन्, ‘आफ्नो जीवनसंगिनी ३२ लक्षणले युक्त भएकी होस् । हेर्दा आकर्षक, बोलीव्यवहार भद्र र नम्र, धैर्यवान्, क्षमाशील, विवेकी, शिक्षित, परिपक्व, सिर्जनशील, मायालु होस् ।’

श्रीमती चाहन्छिन्, ‘आफ्नो जीवनसाथी हरेक गुणले सम्पन्न होस् । समृद्ध, सक्षम, बलवान्, धैर्यवान, पराक्रमी, शिक्षित, बौद्धिक होस् ।’

तर सबै मान्छे सर्वगुणले परिपूर्ण हुँदैनन् । मान्छेको आफ्नै सबल पक्ष हुन्छ र कमजोर पक्ष पनि । तर दम्पतीले एकअर्काको राम्रो वा कमजोर पक्ष खुट्याउन नसक्दा उनीहरुमा एकअर्काप्रति अपेक्षा बढ्छ । यही अपेक्षा हो, जसले दाम्पत्य सम्बन्धलाई कमजोर बनाउने ।

एकअर्कालाई बुझ्न र स्वीकार्न नसक्दा दम्पतीमा झगडा हुने मनोविद् पुष्पा अधिकारी बताउँछिन् । ‘सम्बन्ध गाँस्न सजिलो हुन्छ तर त्यसलाई कुशलतापूर्वक निर्वाह गर्न कठिन हुन्छ,’ उनी भन्छिन्, ‘सम्बन्धलाई दिगो बनाइराख्न एकअर्काको कमी कमजोरीलाई बुझ्न र स्वीकार्न पनि सक्नुपर्छ ।’

उनका अनुसार सम्बन्धमा समस्या आउने प्रमुख कारण दुवैलाई जित्नुपर्ने भावना, एकअर्काप्रति बढी नै आशा गर्ने बानी हो । अधिकारी भन्छिन्, ‘दुवै जना आगो आगो भएपछि डढेलो लाग्ने स्वभाविक हुन्छ । एकअर्काको अस्तित्व स्वीकार्न नसक्नु, सम्मान कमी, आफ्नै कुराले जित्नुपर्ने लगायतका स्वभावले दाम्पत्य जीवनमा समस्या उत्पन्न गराउँछ ।’

दाम्पत्य जीवन सुरु भएपछि श्रीमान र श्रीमतीले एकअर्काप्रति अपेक्षा राख्नु अस्वभाविक होइन । तर आफ्नो अपेक्षा अनुरुप सबै कुरामा पूर्णता खोज्नु भने मूर्खता हो । अतः श्रीमान र श्रीमतीले एकअर्काप्रति कस्तो अपेक्षा गर्छन् त ?

श्रीमतीको अपेक्षा

प्रकृतिले नै महिला र पुरुषको स्वभाव भिन्न सिर्जना गरिदिएको छ । यिनीहरुको क्रोमोजम नै फरक हुने हँुदा स्वभाव र प्रकृति फरक हुन्छ ।

महिला पुरुष भन्दा भावानात्मक हुन्छन् । महिला आफ्नो भावना व्यक्त गर्ने भन्दा पनि कसैले बुझिदिओस् भन्ने अपेक्षा राख्ने गर्दछन् । उसले मेरो ख्याल गरोस्, यौन सम्बन्धको प्रस्ताव पनि श्रीमानले भनोस् भन्ने अपेक्षा गर्छन् । श्रीमानले आफूलाई समय दिओस्, आफूसँग हाँसीमजाक गरोस्, ख्याल गरोस्, आफूलाई प्राथमिकता दिओस् भन्ने अपेक्षा राख्छन् । तर उनीहरुले यी कुरा खुलेर भन्दैनन् । उनीहरु चाहन्छन्, आफ्नो अपेक्षा श्रीमानले बुझिदिओस् ।

अहिलेका महिला आर्थिक रुपमा आत्मनिर्भर भए पनि भावनात्मक रुपमा परनिर्भर हुन चाहन्छन् । श्रीमानले कुनै कुरामा विवाद हुँदा फकाउने, बच्चालाई जस्तो पुल्पुलाउने व्यवहार गरोस् भन्न चाहन्छन् । साथै श्रीमानले आफ्नो तारिफ गरुन्, अफिस होस् वा व्यापार काम सकिने बित्तिकै घर फर्किउन्, भन्ने श्रीमतीको चाहना हुन्छ ।

श्रीमानको अपेक्षा

अक्सर पुरुष आफूलाई सम्मान गरेको रुचाउँछन् । अरुको अगाडि झर्केर बोलेको, अनादर गरेको रुचाउँदैनन् । आफूलाई सधैं ख्याल राखोस्, आदर गरोस् भन्ने अपेक्षा राख्छन् । साथै आफ्नो निर्णय परिपक्व छ भन्ने उनीहरुलाई लाग्छ र आफूले गरेको निर्णयमा अरु राजी भइदिउन् भन्ने अपेक्षा गर्छन् ।

श्रीमती सहनशील भइदिओस् भन्ने नै श्रीमानको मुख्य चाहना हुने गर्छ । श्रीमतीले घरपरिवारमा शान्त वातावरण बनाइदिउन्, कुनै पनि कुरामा झगडा गर्ने भन्दा मिलाएर लैजाने, परिवारको ख्याल राख्ने, बोल्दा र काम गर्दा एकदमै सोचेर व्यवहार गर्ने, सबैलाई माया र दया गरोस् भन्ने चाहन्छन् ।

श्रीमतीको सारा ध्यान परिवारको हितकै लागि रहोस् । परिवारको अगाडि श्रीमानलाई होच्चाएर नबोल्ने, सम्मान गर्ने, आफ्नो महत्वकांक्षा भन्दा परिवारलाई महत्व दिने भइदिओस् भन्ने श्रीमानको चाहना हुन्छ ।

समाधान कसरी ?

विवाह गर्नुपूर्व विवाह सम्बन्धी परामर्श लिने प्रचलन नेपालमा आइसकेको छैन । मनोविद् अधिकारीका अनुसार विदेशतिर प्रेम सम्बन्ध विवाहमा परिणत गर्दा भोलिका दिनमा कसरी अगाडि बढ्न सकिन्छ, आउने परिस्थितिसँग कसरी सम्झौता गर्ने भन्ने सल्लाह परामर्शदाताले दिन्छन् । ‘सम्बन्धलाई झेल्न होइन, सम्बन्धबाट आनन्दित रहनुपर्छ,’ उनी भन्छिन् ।

यस्तै आफ्ना कमी कमजोरीको बारेमा समीक्षा गर्ने, अरुसँग तुलना गर्ने बानीलाई हटाउनुपर्छ । ‘आफ्नो जुत्तामा अरुलाई खुट्टा राख्न दिएझैं जिम्मेवारी साटफेर गरेर समस्या समाधान गर्नतर्फ लाग्नुपर्छ,’ मनोविद् अधिकारी भन्छिन् ।

तर्कले जित्नु भन्दा मायालु व्यवहार र हाँसेर कुरा गर्ने, आफ्नो कुराले जित्नुपर्छ भन्ने मानसिकता त्याग्ने, यौैनका बारेमा खुलेर कुरा गर्ने गर्नुपर्छ ।

यदि रिस उठेको छ भने पनि त्यसलाई लुकाएर आवेगमा प्रतिक्रिया दिनुहुँदैन । बोल्दा सन्तुलित बन्दा श्रीमान–श्रीमतीले एकअर्काप्रति सम्मान महसुस गर्छन् ।

लेखकको बारेमा
सम्झना विक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?