+
+

शेखर पक्षका विद्यार्थी र युवाले कांग्रेस कार्यालयमा प्रदर्शन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २६ गते १४:३३

२६ असार, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पक्षधरले भ्रातृ संस्थाको कार्यसमिति पूर्णताको माग गर्दै विरोध प्रर्दशन गर्ने भएको छ । नेपाल विद्यार्थी संघ, तरुण दल, महिला संघ लगायतका भ्रातृ संस्थाका शेखर पक्षका नेता तथा कार्यकर्ताले विरोध प्रदर्शनको तयारी गरेका हुन् ।

कांग्रेस केन्द्रीय समितिको वैठक सोमबार दिउँसो १ बजे बस्ने गरी बोलाइएको छ । उक्त वैठकको समयमा पार्टी कार्यालय बाहिर शेखर पक्षका विद्यार्थी, युवा लगायतले प्रदर्शनको तयारी गरेका हुन् ।

अवधि समाप्त भएपछि केन्द्रीय कार्यसमिति भंग गरिएका भ्रातृ संस्था वैधानिक विधिबाट पूर्णताको माग गर्दै प्रदर्शन गर्न लागिएको शेखर निकट विद्यार्थी संघकी नेता प्रेमिका रानामगरले जानकारी दिइन् ।

यस विषयमा छलफल गर्न आइतबार दिउँसो ३ बजे भ्रातृ संस्थाको संयुक्त बैठक डाकिएको सोही पक्षका विद्यार्थी नेता भुवन भट्टले बताए । बैठक बागबजारस्थित पद्मकन्या क्याम्पसमा बोलाइएको छ ।

फागुन १० मा बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले अवधि पूरा भएका १० भ्रातृ संस्थाको केन्द्रीय कार्यसमिति भंग गरेको थियो । सभापति शेरबहादुर देउवाले चारवटा भ्रातृ संस्थाको मूल नेतृत्व मात्रै मनोनित गरेका छन् । ‘वैधानिक तबरले पदाधिकारीसहित पूर्ण कार्यसमिति माग गरेका छौं’ विद्यार्थी नेता रानामगरले भनिन्, ‘सबै भ्रातृ संस्था भताभुंग छन् । पार्टीलाई दबाव दिन विरोध प्रदर्शन गर्न लागेका हौं ।’

नेविसंघ, तरुण दल, प्रजातन्त्र सेनानी संघ, किसान संघ, आदिवासी जनजाति संघ, लोकतान्त्रिक अपांग संघ, तामाङ संघ, ठाकुर समाज, महिला संघ र भूतपूर्व सैनिक संघको केन्द्रीय कार्य समिति फागुन ३ मा भंग गरिएको थियो ।

सभापति देउवाले नेविसंघको अध्यक्षमा दुजाङ शेर्पा, तरुण दलमा विद्धान गुरुङ, किसान संघमा गणेश तिमिल्सिना र आदिवासी जनजाति संघमा ओमबहादुर थापालाई मनोनित गरेका छन् । छ वटा भ्रातृ संस्थाको मूल नेतृत्व खाली छ ।

फागुन मसान्तभित्र सबै भ्रातृ संस्थालाई सभापति देउवाले पार्टीमा परामर्श गरी पूर्णता दिने केन्द्रीय समितिले निर्णय गरेको थियो । गठन हुन नसकेका सबै भ्रातृ संस्थामा पार्टीको फरक समूहलाई पनि सम्मानजनक हैसियत प्रदान हुनुपर्ने मागलाई प्रमुखताका साथ उठाउने शेखर पक्षका तरुण दलका नेता दिनेश राईले बताए ।

शेखर पक्षको दुई दिने बैठकको निर्णय अनुसार नै संस्थापन पक्षलाई दबाव बढाउन विरोध प्रर्दशन गर्न लागिएको भ्रातृ संस्थाका नेताहरुले बताएका छन् । शेखर पक्षको बैठकले १४ औं महाधिवेशनमा प्राप्त मतका आधारमा पार्टीमा ४० प्रतिशत हिस्सेदारी खोज्ने निर्णय गरेको थियो ।

केन्द्रीय समितिमा आफ्नो पक्षको रणनीति तय गर्न शेखर पक्षका पदाधिकारी र केन्द्रीय समिति सदस्यको बैठक बोलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?