+
+

रित गौतमले न्युजिल्याण्डमा प्रिमियर लेभल क्रिकेट खेल्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २६ गते १५:४७

२६ असार, काठमाडौं । नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान रित गौतमले न्युजिल्याण्डमा प्रिमियर लेभल क्रिकेट खेल्ने भएका छन् ।

उनले रोटोरुअमा रहेको ग्रेसर सिटी क्रिकेट क्लबबाट खेल्नेछन् । ग्रेसरले रितले आउने सिजन आफ्नो टिमबाट खेल्ने र रितलाई स्वागत गर्न एकदम उत्साहित रहेको भन्दै सामाजिक सञ्जालमा लेखेको छ ।

ग्रेसरले न्युजिल्याण्डमा क्लब अफ दि इअरको अवार्ड समेत जितिसकेको छ । उमेर समूहमा उत्कृष्ट प्रदर्शन गरेका रितलाई नेपाली क्रिकेटको भविष्यमा राम्रो गर्न सक्ने खेलाडीको रुपमा हेरिएको छ ।

रितले यसबाट आफू धेरै उत्साहित रहेको बताए । ‘एकदम उत्साहित छु । एक सिजन ६ महिना हुन्छ । प्रिमियर लेभल त्यहाँको क्लब क्रिकेटको उच्च लेभल हो’, रितले अनलाइनखबरसँग भने । यसबाट आफूलाई फाइदा पुग्ने रितले बताए ।

उनी न्युजिल्याण्ड जाने मिति भने निर्णय भइसकेको छैन ।

उमेर समूहको अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा दुई शतक बनाउने एक्लो खेलाडीको रुपमा रहेका २० वर्षीय रितले पछिल्लो समय भने नेपाली क्रिकेटमा त्यति देखिएका छैनन् ।

रितकै कप्तानीमा नेपाल यू-१९ टिमले सन् २०१९ मा बेलायतको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) सँग कीर्तिपुरमा ५० ओभरको खेल खेलेको थियो । नेपाली टिम २८ रनले पराजित भएको उक्त खेलमा रितले ४५ रन बनाएका थिए ।

पछिल्लो समय रितले गत चैतमा भैरहवामा भएको प्रो क्लब च्याम्पियनसिपमा एपीएफबाट एक खेल खेलेका थिए ।

उमेर समूहमा सम्भावना देखाएका रितले नेपालको घरेलु प्रतियोगितामा भने प्रदर्शन देखाउन सकेका छैनन् । यस्तै गत संस्करणको एभरेष्ट प्रिमियर लिगमा पनि उनले आशा गरे अनुसार खेल देखाउन सकेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?