२८ असार, डोटी । सुदूरपश्चिम प्रदेश राजधानी कैलालीको गोदावरीमा तोकेको चार बर्ष पुग्न लाग्दासमेत राजधानी तोकिएको ठाउँमा कुनै संरचना निर्माण हुन सकेको छैन । प्रदेश सरकारले राजधानी बनाउने ठाउँको जमिनको स्वामित्वसमेत लिन सकेको छैन ।
राजधानी जंगलमा राखेको भन्दै आलोचना भइरहेकै बेला सरकारी ओहदाका व्यक्तिहरू भने राजधानी सार्न सकिने भाषण गर्दै हिँडेका छन् ।
वैशाख २७ गते स्थानीय तहको निर्वाचनमा भोट माग्ने क्रममा गृह जिल्ला डडेल्धुरा पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुरामा प्रदेश राजधानी बनाउन सकिने भन्दै आमसभामा भोट मागेका थिए ।
उनले आवश्यक पूर्वाधारहरु निर्माण गरेर प्रदेश राजधानी डडेल्धुरा सार्न सकिने भन्दै भोट मागेका थिए ।
प्रदेश राजधानी डोटी हुनु पर्ने भन्दै लामो समयदेखि डोटीमा आन्दोलन चलिरहेकै बेला २०७४ साल माघ ३ गते मन्त्रिपरिषद्ले संविधानको धारा २८८(३) अनुसार प्रदेशको अस्थायी मुकाम कैलालीको धनगढी तोक्दा देउवा स्वयं प्रधानमन्त्री थिए ।
यस्तै, राजधानीको निर्णय उल्टाउन सकिने अभिव्यक्ति दिएका छन् सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैकाले पनि । डोटीलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गर्न सोमबार डोटीको दिपायलमा आयोजिक कार्यक्रममा बोल्दै मन्त्री रैकाले आउने निर्वाचनपछि डोटीमा राजधानी तोक्न सकिने बताए ।
उनले तत्कालीन प्रदेश सरकारले गोदाबरीको जङ्गलमा राजधानी बनाउने भनी गरेको निर्णय गलत भएको बताए । उनले भने, ‘प्रदेश सरकार राजधानीको निर्णय गर्दा त्यसवेला चुकेको छ, राजधानी निर्माणको काम अघि बढ्न सकेको छैन ।’
मन्त्री रैकाले कसको स्वार्थमा प्रदेश राजधानी गोदावरी बनाइएको हो भन्ने आफूलाई जानकारी नभएको बताए ।
‘सम्भावना र लगानी नै लगाउन नसकिने क्षेत्रमा स्थायी राजधानी तोकिनुभन्दा पर्याप्त सरकारी संरचना र भवनहरू भएको तत्कालीन क्षेत्रीय सदरमुकाममै राजधानी तोक्नु पर्थ्यो’ मन्त्री रैकाले भने,’दिपायलमा अझै पनि राजधानी फिर्ता ल्याउँन सकिन्छ ।’
प्रधानमन्त्री देउवा जस्तै मन्त्री रैकाले पनि राजधानीका लागि डोटेली मतदातासँग भोट मागे । उनले भने, ‘आगामी निर्वाचनमा जनताले विवेक पुर्याएर मतदान गरेमा आउने सरकारले राजधानीको निर्णय उल्ट्याउन सक्छ ।’
उनी थप्छन् ‘म पनि डोटीमा राजधानी कायम गर्नका लागि कहाँ अनसन बस्नु पर्छ, कहाँ आन्दोलन गर्नु पर्छ, कहाँबाट निर्णय गराउनु पर्छ तयार छु ।’
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4