+
+
कविता :

गुरु पुर्णिमा र मेरी आमा

शंकर अविवेकी शंकर अविवेकी
२०७९ असार २९ गते १०:१२

आज गुरु पुर्णिमा

आमा

तिमी त

मेरो पहिलो गुरु हौ नि

तिमीलाई नसम्झिरहन

कहाँ सक्छु र

आज तिम्रा लागि

केही उनुत्तरित प्रश्न लिएर

आएको छु

तिमीले के सिकायौ ?

कस्तो ज्ञान दियौ ?

जुन ज्ञानले अभिशाप भएर

हरेक पल मलाई नै डसिरहेका छ्न् ।

 

आमा,

जसरी तिमीले ति काला अक्षर चिनिनौ

त्यसरी समय पनि चिनिनौ

जे चाहिन्थ्यो

त्यो सिकाइनछौ

जे चाहिन्थेन

घोटी घोटी पिलाएछौ

ती पिलाएका ज्ञानले

अल्सर बनाएको छ ।

 

हो आमा,

इमान्दारिताको पाठ घोकायौ,

त्यही इमान्दारिता महङ्गो पर्ने गरेको छ

सत्य बोल्न सिकायौ,

गलपासो बनेर घाँटी कस्ने गरेको छ

नचोरेस्, नठगेस् भन्यौ,

आधा पेट सडकमा ढल्नु परेको छ

लोकको भलो चिताएस् भन्यौ,

लोकको भलो चिताउँदा

हलोको फाली झै खिएको छु

फालीले त अन्तिमसम्म

हलोको टुडोको साथ पाउँछ

तर यहाँ

तिमीले दिएको ज्ञानलाई

रतिभर साथ दिने कोही छैनन् ।

 

आमा सम्झ त

त्यो बेला

मैले पल्ला घरे काकाको काँक्रो चोर्दा

किन स्याबास छोरा भनिनौ ?

साथी मसँग लड्दा

तँ पनि हान् भन्दै किन उक्साइनौ ?

म गाउँको भट्टीमा छिर्दा

किन तान्दै घर ल्यायौ ?

म स्कुल नगई खोलामा दुवाली थाप्न जाँदा

झुटो बोलेको निहुँमा किन कुखुरो बनायौ ?

मन्दिर देख्दा किन ढोग्न सिकायौ ?

गुरु अगाडि किन झुक्न सिकायौ ?

साँचो बोल्न किन सिकायौ ?

इमान्दारिताको पाठ किन घोकायौ ?

नैतिकताको भारी किन बोकायौ ?

सबैको उत्तर छ तिमीसँग ?

 

भन्नै पर्छ आमा,

तिमीले कस्तो ज्ञान दियौ ?

जुन आज कौडीको भाउमा बिक्दैनन्

हो आमा,

म यस्तो हुनुमा गल्ती तिम्रै हो

धिक्कार छ तिमीलाई !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?