+
+

पहिलो पटक रोष्ट्रममा उभिए मन्त्री दीपक मनाङे

विकास रोकामगर विकास रोकामगर
२०७९ असार २९ गते १९:२७

२९ असार, पोखरा । गण्डकी प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ ‘दीपक मनाङे’ले पहिलो पटक प्रदेशसभाको रोष्ट्रममा बोलेका छन् । आर्थिक वर्ष २०७९–८० को बजेटमाथि छलफलका क्रममा उठेका प्रश्नको बुधबार उनले जवाफ दिएका हुन् ।

स्वतन्त्र हैसियतमा प्रदेश सभा प्रवेश गरेका मनाङेले सांसद हुँदा कहिल्यै कुनै छलफलमा भाग लिएका थिएनन् । तत्कालीन पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारमा २ पटक र कांग्रेस नेतृत्व सरकारमा एक पटक गरी ३ पटक मन्त्री हुँदा पनि संसदमा उठेका प्रश्नमाथि कुनै जवाफ दिएका थिएनन् । प्रदेशसभाको कार्यकालको अन्तिममा आएर संसदको रोष्ट्रममा उभिएका मनाङेले सांसदले उठाएका प्रश्नको जवाफभन्दा पनि आफ्नो गुनासो बढी सुनाए ।

मन्त्री मनाङेले आफूलाई संसदबाहिरै सोध्नुपर्ने र दिनुपर्ने सल्लाह प्रदेशसभामा दिएको र मन्त्रालयमा बजेट कम भएका कारण सचिवहरु फेरिएको फेरियै गरेकोसमेत गुनासो सुनाए ।

गण्डकी प्रदेशसभाको बजेटमा प्रदेशसभा सदस्य धनमाया लामा, दिलमाया रोकालगायतले प्रश्न उठाएका थिए । चालु आर्थिक वर्षमा युवा तथा स्वरोजगार कार्यक्रमअन्तर्गत ५ करोड रुपैयाँ कार्यान्वयनमै नआई फिर्ता भएको भन्दै जसपा सांसद लामाले आगामी आर्थिक वर्षका लागि विनियोजन भएको २ करोड ५० लाखको योजनाबारे प्रश्न उठाएकी थिइन् ।

लामाले उठाएको प्रश्नमा जवाफ दिँदै प्रदेशका खेलकुदमन्त्री मनाङेले अघिल्लो पटक सामाजिक विकास मन्त्रालयअन्तर्गत रहेकाले खर्च गर्न नसकेको र आगागी आर्थिक वर्षमा भने कार्यान्वयन हुने दाबी गरे । उनले उक्त विषय संसदमा उठ्न आवश्यकसमेत नरहेको जिकिर गरे ।

‘यस्तो कुरा रोष्ट्रममा भन्दा पनि बाहिर प्राइभेट्ली भनेको राम्रो हुन्छ । सल्लाह देको राम्रो हो । तर, सल्लाह पनि रोष्ट्रममा दिने होइन के !’ मन्त्री मनाङले भने, ‘अस्ति नै देको (सल्लाह) भए कति सजिलो हुन्थ्यो मलाई । यहाँ आएर दिँदा केही गर्नै मिल्दैन मैले ।’

बुधबारको बजेट छलफलमा बोल्दै मन्त्री मनाङेले सांसदले गुनासो गरेको तर, आफ्नो पनि गुनासो रहेको सुनाए । ‘प्रश्नहरु सजिलै सजिलै छन् । तर, यो क्वेसन मलाईभन्दा पनि पहिले मुख्यमन्त्री र अर्थमन्त्रीलाई भेट्नुपर्ने हो एकचोटि, बजेट तयार पार्दा,’ उनले भने । मन्त्री मनाङेले अन्य मन्त्रालयभन्दा आफ्नो मन्त्रालयलाई थोरै बजेट दिएको समेत दुखेसो पोखे ।

मन्त्री मनाङेले आफ्नो मन्त्रालयलाई पर्यटन मन्त्रालयले ५ लाख रुपैयाँ मात्र छुट्याएको समेत बताए । ‘मलाई लाग्छ सबैभन्दा बढी बजेट चाहिने टुरिजम् सेक्टरलाई हो । मलाई ५ लाख देको छ । ५ लाखले त खच्चड पनि हिँड्दैन, घोडा पनि हिँड्दैन,’ उनले भने, ‘शिक्षा मन्त्रालयबाट मेरो प्रोजेक्टका लागि एउटा १५ र अर्को १० लाख आको छ ।’
‘मन्त्रालयमा बजेट छैन, मैदानमा जोत्ने अवस्थामा !’

मन्त्री मनाङेले बजेट थोरै भएकै कारण बनाएका खेल मैदानको स्तरोन्नति गर्न नसकेको बताए । ‘मलाई त यहाँ आउन पनि अल्छी लाग्छ । सबैले ग्राउन्ड, ग्राउन्ड भन्छ । मैले गएर खन्ने हो र ? कि मलाई धरानको मेयर बनाउन लागेको ?’ मन्त्री मनाङले भने, ‘यहाँ (संसदमा) आएर सोध्नुहुन्छ । बाहिर सोध्यो भनेर मलाई रिस उठ्ने कुरा हो । बजेट हुनु परेन ?’

मन्त्री मनाङेले आफूले सकेको काम गरिरहेको भए पनि देशको स्थिति नराम्रो भएको जिकिर गरे । ‘बनाएको ग्राउन्डमा पनि गोरु जोत्नेबेला भइसक्यो । यो मन्त्रालय यसरी नै चलाउने हो भने कामै छैन,’ उनले भने ।

उनले अघिल्लो वर्ष प्रदेशभरि २ सय ५० खेलमैदान बनाएको र १ सय ५० पनि निर्माण प्रक्रिया पूरा हुने क्रममा रहेको सुनाए । आफूले थुप्रै खेलमैदान बनाएकाले स्वास्थ्य मन्त्रालयको भूमिका समेत कम हुने दाबी गरे । ‘स्वास्थ्य मन्त्रालयको कामै नहोलाजस्तो छ, सुगरका बिरामी नभेटिएलान् जस्तो लागेको छ,’ उनले भने, ‘किनकी गाउँगाउँमा प्ले ग्राउन्ड बनाइदेको छु ।’

‘सचिव फेरिएको फेरियै’

मन्त्री मनाङेले आफ्नो मन्त्रालयमा ७ महिनाको अवधिमा ५ जना सचिव फेरिएको गुनासो गरे । कतिपय सचिव भेट्न नपाउँदै सरुवा भएर गइसक्ने दुखेसो पोखे ।

‘७ महिनामा ५ वटा सचिव फेरिनुहुन्छ । संसारमै यस्तो धेरै सचिव फेरिने कतै हुँदैन । को गयो, को आयो भन्ने पनि मलाई राम्रोसँग थाहा हुँदैन,’ मन्त्री मनाङेले भने, ‘मैले फेर्ने होइन फेरि, सचिवहरु मन्त्रालयमा बजेट नै छैन भन्नुहुन्छ । उनीहरुको काम बजेट हेर्ने हो जस्तो त लाग्दैन । नेपालको सचिव बजेट हेर्दारहेछन् ।’

तत्कालीन नेकपाभित्र विवाद चुलिएको बेला मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सांसद मनाङेलाई मन्त्री नियुक्त गरेका थिए । गुरुङले सामाजिक विकास मन्त्रालय टुक्य्राउँदै अघिल्लो वैशाख १६ गते मनाङेलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिएका थिए ।

मन्त्री बनेलगत्तै मनाङेले सरकारकै भविष्य नरहेको प्रतिक्रिया दिएका थिए । नभन्दै बैशाख २६ गते तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएपछि उनको पद गएको थियो । तर, त्यसपछि प्रदेश सभाको ठूलो दलको हैसियतले गुरुङ नै मुख्यमन्त्री भएपछि मनाङले जेठ ९ गते खेलकुदमन्त्रीमै दोहोरिँदै शपथ लिएका थिए ।

पछि मनाङेले कित्ता परिवर्तन गर्दै कांग्रेस नेतृत्वको गठबन्धनलाई साथ दिएर गुरुङ सरकार ढाल्न महत्वपूर्ण भूमिका खेले । त्यसपछि उनी जेठ २९ गते तेस्रो पटक बिना विभागीय मन्त्री नियुक्त भएका थिए । उनले लामो समयसम्म भौतिक पूर्वाधार मन्त्रालय पाउन अडान राखे पनि अन्ततः असार २७ गते खेलकुद मन्त्रालयमै चित्त बुझाएका थिए ।

लेखकको बारेमा
विकास रोकामगर

पोखरामा रहेर पत्रकारिता गरिरहेका रोकामगर अनलाइनखबरको गण्डकी प्रदेश ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?