+
+

कहर बनेको कृषि : यी प्रश्न पर्गेल्न ढिला नगरौं

खेती गरेरै बा-आमालाई सिटामोल खुवाउन सकिंदैन, नानीहरूको अक्षर किन्न सकिंदैन । एकातिर मल, बीउ, उत्पादन, बजार र मूल्य छैन, अर्कोतिर प्रोत्साहन, वातावरण र सम्मान पाइँदैन । सबैको योगफलले किसानसँग जाँगर छैन ।

सरोज खतिवडा सरोज खतिवडा
२०७९ असार ३० गते ६:४५

मध्य असारमा म झापा पुगेको छु । जुनबेला झापालगायत देशका विभिन्न भूभागमा रोपाइँको चटारो छ । तराईका फराकिला खेतका गराहरू रोपाइँको लागि तयार पारिंदैछ । पानी परिरहेको छ । परपरसम्म टिलपिल टिलपिल खेतका गराहरू देखिन्छन् । धेरै क्षेत्रमा ट्याक्टर लगाएर र एकदमै थोरै कतै कतै मात्र गोरुको प्रयोग गरेर धान रोप्न तयार पारिंदैछ ।

असार हो, सबैलाई हतारो छ, चटारो छ । ब्याड र खेतमा महिला, अलि पाका पुरुष, विद्यालय जाने उमेरका साना-ठूला बालबालिका, ट्याक्टर र गोरुको काम गर्ने थोरै युवा पुरुष छन् ।

यति नै बेला अर्को अचम्मको दृश्य देख्न पाइन्छ । हरेक मोडमा चिया पसल छन्, हरेक चिया पसलमा एउटा क्यारमबोर्ड छ र हरेक बोर्डमा ८ देखि १० सम्म युवा -पुरुष युवा) भेटिन्छन् । यसरी गाउँमा भेटिएका यी युवा प्रायः सबै किसान परिवारका नै छन् । जसमा धेरैजसो विदेश गएर फर्किएका, विदेश जान तयार रहेका तथा गाउँभन्दा बाहिर बस्ने युवा छन् । दुःखद संयोग यस्तो छ कि ती खेतमा काम गर्ने र यी क्यारमबोर्डमा खेल खेल्ने दुवैलाई खेती र किसानीसँग कुनै प्रेम र उत्साह छैन । यो सामग्री तिनै गाउँमा भेटिएका खेती गर्ने र नगर्ने मानिससँग गरिएको कुराहरूमा आधारित छ ।

सरोज खतिवडा

बढ्दो लागत

कचनाकवलको एउटा गाउँमा भेटिएका राम राजवंशी भन्छन्, ‘जमाना बदलिएको छ । खेती गरेर जीवन धान्न नै मुश्किल भएको छ । महँगीले सबैभन्दा धेरै किसानलाई दुःख परेको छ । पहिला एक घण्टा लगाउँदा १०००/१२०० रुपैयाँ दिंदा पुग्ने ट्याक्टरलाई अहिले २२०० देखि २५०० तिर्नुपर्छ । पहिला ३०० रुपैयाँमा आउने रोपाहारलाई अहिले ६०० दिनुपर्छ ।’

उनी अगाडि थप्छन्, ‘तर किसानले फलाउने फसलको मूल्य भने जतिको त्यति नै छ । वर्षौदेखि धानको मूल्य प्रतिमन १००० नै छ । यसमा धान कुन हो भन्नेले ५० रुपैयाँ फरक पर्छ ।’

सरकारले धानको न्यूनतम मूल्य तोकेको उनलाई थाहा छैन । मैले भनेको कुरालाई नपत्याए झैं उनी फिस्स हाँसे । उनका लागि धान पाक्दा पाक्दै आउने व्यापारी नै सरकार हो रे ! धान मात्र होइन, सबै उत्पादनको हालत यस्तै हो ।

झापाकै हल्दिबारीमा भेटिएका अर्का किसानका अनुसार एक बिघा खेतमा धान खेती गर्न ४७ हजार रुपैयाँ खर्च लाग्छ । धान उत्पादनको कुरा गर्दा एक बिघामा करिब ८० मन फल्छ । आफ्नै जमिनमा खेती गर्नेलाई आधा धान रोपाइँ खर्चमा गएर आधा बाँकी रहन्छ भने अधियाँ खेती गर्नेले कसरी धान्ने ? ती किसान भन्छन्, ‘रोगकीरा नलाग्दा, मलबीउ मिल्दा, बाढी डुबान नहुँदा ८० मन फलेको धान ४० मन अरूलाई दिएपछि के लागतले खर्च गर्ने ? के खुवाउने ? के खाने ? अनि किन खेती गर्ने ?’ यो व्यथा धानको मात्र होइन, अहिलेको हाम्रो समग्र खेतीपातीको हो । गाउँलेका अनुसार कुरा धानको मात्र होइन, कुनै पनि उत्पादनले हाम्रो लागत उठ्दैन ।

उत्पादन भन्दा खर्च किन धेरै भयो त ? यसको उत्तर एउटै मात्र छैन । पहिले गाईबस्तुको मलको ठाउँमा अहिले रासायनिक विषादीको प्रयोग हुन्छ । सहज गरी पाउँदा पनि गोठको मलको तुलनामा यसमा बढी पैसा पर्ने नै भयो । अहिले त झन् सरकारी पहल र तबरबाट नभई बिचौलिया र व्यापारीबाट ल्याउनु पर्दा मल पाइनसक्नु र लाइनसक्नुभएको छ ।

देशका विभिन्न भागमा हरेक वर्ष मलको हाहाकार हुनु अब परम्परा जस्तै भएको छ । सीमामा पारिबाट ल्याउन मिल्ने मल नेपालसम्म आउँदा दोब्बर भन्दा धेरै मूल्य पर्न आउँछ । मलका लागि पसल आएका किसानसँग भएको छलफल अनुसार भारतमा एक बोरा मलको ४०० भारु छ । यसको नेपाली हिसाब गर्दा ६४० हुन आउँछ । तर यही बोरा नेपाली किसानसम्म आउँदा त्यहाँ पर्ने मूल्यमा ढुवानी खर्च, व्यापारीलाई कमिसन र वारिको पुलिसलाई दिने कमिसन समेत जोडेर १२०० पर्न आउँछ । गुणस्तर त भगवान भरोसा । मल एउटा उदाहरण हो । खेतीका लागि चाहिने प्रायः सबै कुरामा यस्तै अवस्था छ ।

पछिल्लो केही समयदेखि बढिरहेको पेट्रोलियम पदार्थको मूल्यले पनि किसानलाई नै मारमा पारेको छ । पहिला जस्तो गोरु जोत्ने चलन छैन । भए पनि त्यो सहज र सस्तो छैन । तेलको मूल्य बढेसँगै ट्याक्टर लगाइसक्नु छैन । यसरी हैरान गरेर फलाएको फसलको पनि उचित मूल्य छैन । धानको सरकारी न्यूनतम मूल्य ३० रुपैयाँ प्रति केजी तोकेको छ तर किसान कम मूल्यमा नै बेच्न बाध्य छन् ।

गाउँकै बजारमा भेटिएका अर्का किसान भन्छन्, ‘धान काटेपछि व्यापारीहरू आउँछन् । आफूखुसी मोल गर्छन् र लान्छन् । किसानलाई खाँचो हुन्छ बेच्नै पर्छ ।’

‘विकास र विकेन्द्रीकरण’ पुस्तकमा टोनी हागन लेख्छन्, ‘जबसम्म विकसित मुलुकका किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउँदैनन्, ग्रामीण क्षेत्रको गरिबी घट्नुको साटो झनै बढेर जान्छ । जसले गाउँबाट शहर बसाइँ सर्ने दर झनै तीव्र हुन्छ ।’

माथि उल्लेख गरिएका राम राजवंशी गाउँमै बसेर दुःखसुख खेती गर्ने किसान हुन् । उनका दौंतरी धेरैले गाउँ छाडे, कतिले जिल्ला छाडे, कतिले देश पनि । केही गाउँमै भएकाले पनि अहिले खेती गर्दैनन् । निधारका पसिना गम्छाले पुछ्दै राम राजवंशी भन्छन्, ‘खेतबारीको कामले घरपरिवार धान्नै पुग्दैन ।’

अर्को प्रसङ्गमा उनै हागन थप्छन्, ‘धनी मुलुकले कौडीको भाउमा पठाएको खाद्यान्नसँग विकासशील मुलुकका गरिब किसानले प्रतिस्पर्धा गर्न सक्दैनन् ।’

कचनाकवलको सीमा क्षेत्र नजिकै भेटिएका एक किसानको दुःख पनि उस्तै छ । उनी भन्छन्, ‘बर्खाभरि काम गर्‍यो, हिउँदभरि काम गर्‍यो तर उत्पादन गरेर मूल्य लिने बेला भारतका किसानले हाम्रोभन्दा धेरै सस्तोमा दिने हुँदा हामीलाई सधैं मार छ । खुल्ला बजार छ । सरकार त केही गर्न सक्दैन भने हामी के गर्न सक्छौं ?’

करिब दुई बिघा जमिन भएका उनी अहिले ५ कट्ठामा मात्र धान लगाउने योजनामा छन् । ‘किन नि’ भन्ने प्रश्न भुईंमा र्झन नपाउँदै उनी भन्छन्, ‘जो खेती गर्छ, त्यो उँभो लागेको छैन । थप आम्दानी छैन । फोगटिया दुःख मात्र छ । ५ कट्ठामा धान रोप्दा पनि खान पुगेकै छ ।’

कुनै समय थियो, उनका घरभरी मानिस थिए । खेतभरी बाली हुन्थ्यो । अब सन्तान गाउँ बस्दैनन् । खेत बाँझै छ, भकारी रित्तै छ । उनी भन्छन्, ‘ठिकै पनि हो, पैसा अन्तै छ र सम्मान पनि ।’

शहर : आधा रहर, आधा बाध्यता

गाउँका मानिस शहर पस्ने क्रम बढ्दो छ । आफ्नो थातथलो छाडेर, खेतीकिसानी त्यागेर हिंड्नु शहरको रंगीन रुवानी सपना मात्र होइन । फेरिएको व्यवस्थासँगै विकास भएको वैधानिक विभेदको आडमा सपि्रएको पैसामुखी सेवा पनि हो । जस्तो कि संविधानले सबैलाई बराबर भनेको छ तर देशमै प्रष्ट रूपमै धनी र गरिबका बालबालिकाले पढ्ने दुईखाले विद्यालय छन् । गाउँमा भएको सामुदायिक विद्यालयमा कस्तो पढाइ हुन्छ वा हुन्न भन्ने खोज्नुपर्ने अर्को कुरा हो । तर हाम्रो व्यवस्थाले गाउँका विद्यालयमा क, ख नै पनि राम्ररी पढाइन्छ भन्ने विश्वास गर्न कठिन छ । जस्तो कि भरत र उनकी श्रीमतीलाई लाग्छ ।

यो दम्पती पाँच वर्षदेखि दुबईमा छन् । चुनाव अघि गाउँ आएका भरत फेरि साउनमा उतै फर्किंदै छन् । नजिकैको आँगनमा खेल्दै गरेका छोराछोरीतिर हेर्दै उनी भन्छन्, ‘के गरौं यिनीहरूको लागि पनि त पैसा कमाउनुपर्छ । सरकारी विद्यालयको पढाइ राम्रो छैन । बोर्डिङमा खेतीको कमाइले खर्च धान्न्ा सकिंदैन ।’

यसै प्रसङ्गमा मैले सोधें, ‘गाउँको पढाइ किन राम्रो छैन ?’ उनी घुमाउरो ढंगले जवाफ दिन्छन्, ‘यहाँ जति पनि जागिरे छन् नि, उनीहरू सबैका बच्चा बोर्डिङमा पढ्छन् । सक्नेको बिर्तामोड अझै काठमाडौं नभए नि कम्तिमा यतै । अनि आफूले सरकारी स्कुल पढाएर भएन नि !’

नानीहरूको पढाइको खर्च नहुँदो हो त आफू पनि गाउँमै बस्न सक्ने उनको ठम्याइ छ । लोग्ने स्वास्नी दुवैजना विदेशमा, साना नानीहरू आफन्तको साथमा नेपालमा । आँखाभरी गाउँघर, मनभरी सन्तानको माया । ज्यान परदेशमा, मन घरदेशमा । उनी भन्छन्, ‘गाउँमा बसेर बालबालिकाको ए बी सी डी किन्नै सकिंदैन ।’

शिक्षा मात्र होइन, अरू धेरै कारण पनि मानिस गाउँ छाड्छन् । गाउँहरू खाली हुन्छन् । अर्को उदाहरण, संविधानले नै स्वास्थ्य सेवा सम्बन्धी हक पनि समान रूपमा प्रधान गरेको छ तर हुँदा खाने र हुने खानेहरूको स्वास्थ्य उपचार हुने अस्पताल पनि फरक फरक छन् । अहिले धान रोपाइँ गर्न देहात आएका ३४ वषर्ीय युवाकी आमा बिरामी छन् । जीवनभर बगानमा चिया टिपेर आफ्नो घाम डुबाएकी उनको उपचार तथा औषधिको लागि पनि उनलाई गाउँ नै छाड्नुपर्छ । वर्षभरिमा लाखौं खर्च लाग्छ । यतै काम गर्ने हो भने कसरी पुग्छ ?

उनीसँगै रहेका अर्का युवा भन्छन्, ‘अहिले गाउँमा विभिन्न रोग बढेको छ । क्यान्सर, चिनीरोग के के जसको उपचार गर्नकै लागि पनि पैसा कमाउनुपर्छ । पैसा खेतीमा छैन । शहर त जानै पर्छ । विदेश त जानै पर्छ ।’

मुखभरिको पराग पिच्च भुईंमा थुक्दै उनी थप्छन्, ‘विदेश त जानै पर्छ । यहाँको अस्पतालले त जरोको गोलीसम्म बेलामा दिंदैन Û’
कृषि माथिका युवाहरूले भने जस्तै जीवन धान्नै नसक्ने गरी अनुत्पादक त भएकै हो तर यसको अर्थ-राजनीति यति मात्र भने होइन । एक अनुसन्धानका अनुसार अन्य विकासशील देशमा जस्तै नेपालमा पनि मानिसले गैर-कृषि क्षेत्रमा जागिर खान रोज्छन् । खासमा, विद्वत् वर्ग र राज्यको नीतिले नै परम्परागत कृषि क्षेत्रभन्दा पनि गैर-कृषि क्षेत्रलाई बढी आदर्श मान्छन् । अझ नेपाल जस्तो वर्णव्यवस्था तथा लिंगका आधारमा श्रम व्यवस्था हुने र कृषि श्रम दलनमा पारिएकाहरूको कर्म हुनु पनि अर्को प्रधान कारण छ ।

उक्त अध्ययन अनुसार पनि नेपालको कृषि क्षेत्र गतिशून्य भएको छ र यसले एकदम कम श्रम मूल्य र थोरै वा शून्य प्र्रतिष्ठा दिन्छ । विभिन्न कारणले हरेक वर्ष किसानको गाउँ छाड्ने दर बढ्दो छ । यो दर बढ्नुमा विश्व व्यवस्था वा पूँजीवादको मात्र प्रभाव होइन, हाम्रो लोकतन्त्र लोकको तन्त्र नहुनु पनि एउटा कारण हो । हागनकै शब्दमा भन्दा कृषिमा आधारित जनसङ्ख्यामाथिको विभेद र दरिद्रका कारण ग्रामीण इलाकाबाट ठूला शहरतिर बसाइँ सर्ने क्रम बढ्दो छ । शहरी चमकले तानिएर किसान आफ्नो थातथलो छाडी शहर केन्दि्रत हुन्छन् । हाम्रा किसान युवा कृषिमा नहुनुको यथार्थ पनि यही हो ।

कृषिमा लोदर लाग्छ

२०७७ सालमा ओखलढंुगाको एउटा टेक्निकल कलेजमा आईएस्सी एजी गरिरहेका ३५ विद्यार्थीलाई तपाईं कोर्स पूरा गरेपछि के गर्नुहुन्छ भनी सोधेकोमा त्यसमध्ये ३१ जनाले जागिर खाने तथा बाहिर जाने बताए भने ४ जनाले मात्रै कृषि गर्ने बताएका थिए । रुम्जाटार टेक्निकल कलेजका विद्यार्थीको उत्तर केवल गणितीय तथ्यांक मात्रै होइन । स्वयं कृषि पढिरहेका विद्यार्थीले नै कृषिमा भविष्य नदेखेको यो तथ्यांकले नेपालमा लामो समयदेखि अपमानित कृषिको दारुण कथा बताउँछ ।

सुवास राजवंशीले कक्षा-९ बाट नै पढाइलाई बिट मारे । क्यारामबोर्ड खेल्ने हुलमै भेटिएका उनी भन्छन्, ‘पढाइ छाड्न मन त मलाई पनि होइन तर पढेर, खेती गरेर के हुन्छ ? मेरो सपना खेतीले पूरा हुँदैन ।’ सधैं आर्थिक अभाव र गरिबीमा हुर्किएका उनलाई खेतीले जिन्दगी चल्दैन भन्ने कुरा लाग्नु पनि स्वाभाविक हो । खेती गरेर केही हुनेथियो भने उनका बाबुले यतिका वर्ष खेतीपाती गर्दा किन उनलाई एउटा स्मार्ट फोनसम्म किनिदिन सकेनन् ? किन आजसम्म पनि उनकी आमालाई हरेक दिन आज भए भोलि के खाने भन्ने चिन्ताले नै पिरोल्छ ?

उनको योजना अब बंगाल, दार्जीलिङ वा आसाम गएर एक डेढ लाख कमाउने र विदेश जाने हो । पैसा कमाउने, घर बनाउने, भाइ पढाउने र प्रेमिकासँग विवाह गर्ने उनको योजना छ । तर कृषि र किसानी कतै छैन ।

हात्ती आयो हात्ती आयो फुस्सा भने जस्तो हरेक निर्वाचनमा दलका घोषणापत्रमा कृषि प्राथमिकतामा पर्छ र निर्वाचनसँगै सेलाउँछ । उसै गरेर स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारका कृषि सपार्ने योजना, नीति र कार्यक्रमहरूमा जेठ १५ देखि असार १५ सम्म विभिन्न नारा हुँदै आउँछन् र २० गते नपुग्दै हराउँछन् । अझै दुर्भाग्यको कुरा के छ भने विगत करिब ८ दशकदेखि नेपालका हरेक राजनैतिक दल स्थापना हुँदा कृषिका मुद्दा तथा किसानलाई प्राथमिकता राखेर आउँछन् र सिंहदरबार नपुग्दै तिनको प्राथमिकताबाट कृषि र किसान बेपत्ता हुन्छन् ।

एकातिर मल, बीउ, उत्पादन, बजार र मूल्य छैन, अर्कोतिर प्रोत्साहन, वातावरण, सम्मान पाइँदैन र सबैको योगफलले किसानसँग जाँगर छैन । खेती गरेरै बा-आमालाई सिटामोल खुवाउन, नानीहरूको अक्षर किन्न सकिंदैन, आफ्नो नजिकको मान्छेको मन राखिदिन एउटा गतिलो फोन किन्न सकिंदैन । एउटा साइकल चढ्न सकिंदैन तथा आफ्नै काम पनि अड्डामा गएर सजिलै गराउन सकिंदैन ।

सबैथोक सम्झँदा दिनभरि खेतमा काम गरेको एउटा युवा रातमा पनि चैनको निद्रा सुत्न सक्दैन । गाउँले भन्छन्, ‘कृषि रहर हैन, कहर/कर हो ।’

समग्रमा, गाउँमा श्रमको अभावमा जमिन बाँझो छ । अलैंचीको मूल्य घट्यो, अदुवा किसान मारमा परे । उखु किसानले पैसा पाएनन्, किसानले सडकमा दूध पोखे, किसानले बन्दामा डोजर लगाए । धान लगाउने बेलामा मलको अभाव, फौजीकीराले बाली नष्ट, बीउको कारण बाली उत्पादनमा कमी, खर्चको अभावमा उपचार नपाएर मृत्यु, कृषि उत्पादन बिक्री नभएर किसान मारमा, धान डुबानमा परेका किसानले पाएनन् क्षति जस्ता दैनन्दिन समाचारका विषय हुन् ।

यी र यस्तै समाचार हेरेर हुर्किएको पुस्ताले किन खेती गरोस् ? जिम्मेवार निकायले र अहिलेको नेतृत्वले यसको उत्तर खोज्न अबेर गर्न हुँदैन । अन्यथा, यही गति, मति र लयमा जाने हो भने हाम्रो कृषि फेरि कहिल्यै लयमा आउने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?