+
+

बढ्न थाल्यो कोरोना, साढे तीन महिनापछि फेरि खुल्यो कोभिड अस्पताल

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ३१ गते १५:३८

३१ असार, विराटनगर । प्रदेश १ सरकारले सञ्चालन गरेको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र बन्द भएको साढे तीन महिनापछि फेरि खुलेको छ । चैत १५ गतेयता बन्द रहेको कोभिड १९ उपचार केन्द्र कोरोना संक्रमित बढेसँगै फेरि सञ्चालनमा आएको छ ।

कोरोना संक्रमित आउन छाडेपछि प्रदेश सरकारले वैशाख १८ गतेदेखि सो अस्पतालमा निशुल्क स्वास्थ्य उपचार सेवा सञ्चालन गरेको थियो ।

बिहीबारबाट कोरोना संक्रमित भर्ना लिन थालिएको अस्पतालका फोेकल पर्सन फिजिसियन डा. डेनप्रसाद आचार्यले जानकारी दिए । बिहीबार एक जना विरामी भर्ना भएको अस्पतालमा शुक्रबार एकै दिन १६ जना थपिएका छन् ।

जिल्ला कारागार मोरङमा रहेका १८ जना कैदीबन्दीको एन्टीजेन परीक्षण गर्र्दा १६ जनामा कोरोना संक्रमण भेटिएपछि उनीहरुलाई अस्पतालमा भर्ना गरिएको हो ।

कोशी कोभिड अस्पतालका निमित्त प्रमुख अनुपम राजवंशीले बिहीबारबाट संक्रमित भर्ना हुन थाले पनि ओपीडी सेवा जारी रहेको रहेको उनले बताए ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर यज्ञराज खरेलका अनुसार कारागारबाट अत्याधिक ज्वरो आएपछि १९ जना कैदीबन्न्दीलाई बिहीबार अस्पताल भर्ना गरेको थियो । भर्ना गरिएका मध्ये एक जनाको बिहीबार नै मृत्यु भएको छ । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका मृतकको कोरोना जाँच भने गरिएन ।

कैदीबन्दीमा कोरोना देखिएपछि जाँच गर्न निर्देशन दिइएको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए । एक हजार ८७ जना कैदीबन्दी रहेको कारागारमा अन्यलाई पनि ज्वरो देखिएपछि कोरोना जाँच गर्न निर्देशन दिइएको उनले बताए ।

बढ्न थाले कोरोनाका विरामी

कोशी कोभिड अस्पतालका फोकल पर्सन डा. आचार्यका अनुसार पछिल्लो समय कोरोनासँग मिल्दो जुल्दो लक्षणसहितका बिरामी बढ्न थालेका छन् ।

‘उच्च ज्वरोका विरामी बढेका छन्,’ उनले भने, ‘बच्चाहरुमा पनि ज्वरो छ, र यो सिजनल फ्लूको समय होइन’, उनले भने ।

अस्पतालमा निमोनियाको समस्या लिएर आएका बिरामीहरुमा कोरोनाका लक्षण देखिएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?