+
+

पोखरामा प्याराग्लाइडिङ विस्थापित हुने चिन्ता, व्यवस्थापन गर्न व्यवसायीको माग   

रासस रासस
२०७९ असार ३२ गते ८:१८

 ३२ असार, पोखरा । अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँगै पोखराको साहसिक पर्यटकीय पहिचान बनेको प्याराग्लाइडिङ विस्थापित हुने हो कि भन्ने कुराले प्याराग्लाइडिङ व्यवसायीलाई चिन्तित बनाएको छ ।

अन्तर्राष्ट्रिय विमानस्थल पोखरामा ल्याउन सक्रिय व्यवसायी त्यही विमानस्थलले झण्डै रु डेढ अर्ब लगानीको व्यवसाय विस्थापित हुने हो कि भन्ने चिन्तामा छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले पोखराको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सकिएकाले आगामी जनवरीमा सञ्चालनमा ल्याउने तयारी गरेको छ । सोको लागि प्याराग्लाइडिङलाई विकल्पको छनोट गरेर सार्न निर्देशन दिइएको छ । तर, व्यवसायीको माग पोखराको आकाशबाट विस्थापन नभई व्यवस्थापन हुनुपर्छ भन्ने छ ।

‘प्याराग्लाइडिङ साहसिक पर्यटनको एउटा ब्राण्ड हो, पोखराको आकाशमा उड्न जति पर्यटक रमाउँछन् त्यो अन्यत्रबाट हुँदैन । तसर्थ यही कतै व्यवस्थापन गर्नुपर्छ’ नेपाल हवाई खेलकुद संस्था (ना)का अध्यक्ष सुनिलबहादुर भट्टराईले भने । उनले सरकारले चाह्यो भने समय छुट्टाएर यही आकाशबाट उडाउन सक्ने र आफूहरुको पनि त्यही माग भएको बताए ।

‘हामी पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बन्ने भन्ने विषयमा जति उत्साहित भएका थियौँ, अहिले विमानस्थल निर्माणसँगै कतै आफ्नै व्यवसायनै विस्थापित हुन्छ कि भन्ने चिन्ताले पिरोलिएका छौँ’, भट्टराईले थपे ।

जहाज उडानको समय तालिकालाई ध्यान दिएर प्याराग्लाइडिङको लागि दुई घण्टा समय तोकेरै भए पनि सञ्चालन गर्नुपर्ने उनको भनाइ छ । नाका पूर्वअध्यक्ष योगेश भट्टराई प्याराग्लाइडिङको व्यवस्थापनमा सरकारले विशेष चासो दिनुपर्ने बताउँछन् । ‘हामीलाई पूर्वाधार मात्र होइन पूर्वाधार निर्माण पछि आउने पर्यटक पनि चाहिएको हो जसले पोखरामा आनन्द लिन सकुन र उनीहरुको बसाइ पनि लम्बियोस् ,’ उनले भने ।

पोखराको प्याराग्लाइडिङ उडान विश्वमै उत्कृष्ट तीनभित्र पर्ने र साहसिक पर्यटकको लागि उपयुक्त गन्तव्य भएको व्यवसायी बताउँछन् । विश्वका कतिपय देशमा जहाज उडानसँगै ‘एयर स्पोट्र्स’ गतिविधि हुने गरेकाले आधुनिक प्रविधिको प्रयोग गरेर ती देशमा भएका अभ्यासको अध्ययन गरेर अनुशरण गर्न सकिने व्यवसायीको भनाइ छ । ।
प्राधिकरणले अहिलेसम्म यस विषयमा विशेष चासो राखेर व्यवसायीको आवाजलाई सम्बोधन गर्नेतर्फ नलाग्नु दुःखद् भएको उनको भनाइ छ । ‘अब कसरी जाने विकल्प के के हुन सक्छ ? विमानस्थलसँगै पोखराको आकाशमा प्याराग्लाइडिङ उडानको सम्भावना अध्ययनको रिपोर्ट के छ भन्नेबारेमा पनि स्पष्ट धारणा आएको छैन, उडान सम्भव छैन मात्र भनिएको छ’, उनले प्राविधिक कुरा भएकाले व्यवस्थापन गर्नसके सम्भव हुने बताए ।

निर्वतमान अध्यक्ष कृष्ण भण्डारीले पोखराको आकाशबाट उडान हुनुपर्ने र त्यसको प्राविधिक व्यवस्थापनसँगै दिगो पर्यटनका लागि प्राधिकरणले सोच्नुपर्ने बताउँछन् । । जहाजको ‘ओभर सुट मिस एप्रोज’ हुँदा त्यसलाई ‘राइट टर्न’ नगरी ‘लेफ्ट टर्न’ ग¥यो भने प्याराग्लाइडिङ पनि हुने र जहाज उडानमा थप सुरक्षा हुने भएकाले प्राधिकरणले यसलाई अवलम्बन गरेर सञ्चालन गर्न उनको आग्रह छ ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराई पोखरामा भइरहेका साहसिक उडानका गतिविधि रोकिँदा पर्यटकको पोखरा बसाई पनि घट्न सक्ने बताउँछन् । अहिले पोखरामा पर्यटकको बसाइ अवधि औसत दुई दिन छ ।

टानका प्रथम उपाध्यक्ष धर्मराज पन्थी पोखरालाई विश्वमा चिनाउने पदमार्ग मोटरेबल बाटोले विस्थापित गरायो अब प्याराग्लाइडिङ पनि विस्थापित हुने होकि भन्ने शङ्का बढ्न थालेको बताउँछन् ।

पोखराको आकाशमा सन् १९९६ देखि प्याराग्लाइडिङ उडान सुरु भएको हो । पहिलो पाइलट राजेश बमजन हुनुहुन्छ । सन् २००० देखि व्यावसायिकरुपमा प्याराग्लाइडिङ कम्पनी सञ्चालनमा आएका हुन् ।

अहिले पोखराका ६० कम्पनीमा करिब डेढ अर्बको लगानी छ । करिब दुई हजारले रोजगारी पाएका दाबी व्यवसायीको छ । यो व्यवसायमा करिब ३७५ पाइलट छन ।

प्याराग्लाइडिङ फ्लाइङ स्कुल तीन, अल्ट्रालाइट कम्पनी चार र एउटा हटएयर बेलुन कम्पनी सञ्चालनमा छन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?