+
+

पोखराबाट प्याराग्लाइडिङ विस्थापन नगर्न व्यवसायीको माग

रासस रासस
२०७९ असार ३२ गते १६:४६

३२ असार, पोखरा । अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँगै पोखराको साहसिक पर्यटकीय पहिचान बनेको प्याराग्लाइडिङ विस्थापित हुने हो कि भन्ने कुराले व्यवसायी चिन्तित भएका छन् ।

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल ल्याउन सक्रिय व्यवसायी अहिले त्यही विमानस्थलका कारण झण्डै डेढ अर्ब लगानीको व्यवसाय विस्थापित हुने हो कि भन्ने चिन्तामा छन् । पोखराको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सकिएपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आगामी जनवरीमा सञ्चालनमा ल्याउने तयारी गरेको छ । सोको लागि प्याराग्लाइडिङलाई विकल्प खोजेर पोखराबाट सार्न निर्देशन दिइसकेको छ । तर, व्यवसायीले पोखराको आकाशबाट विस्थापन नगरी आफूहरुको व्यवस्थापन हुनुपर्ने माग गरेका छन् ।

‘प्याराग्लाइडिङ साहसिक पर्यटनको एउटा ब्राण्ड हो, पोखराको आकाशमा उड्न जति पर्यटक रमाउँछन् त्यो अन्यत्रबाट हुँदैन । तसर्थ यही कतै व्यवस्थापन गर्नुपर्छ’, नेपाल हवाई खेलकुद संस्था (ना)का अध्यक्ष सुनीलबहादुर भट्टराईले भने । उनले सरकारले चाहेमा समय मिलाएर पोखराकै आकाशमा प्याराग्लाइडिङ उडाउन मिल्ने पनि बताए ।

प्याराग्लाइडिङको लागि दुई घण्टा समय तोकेरै भए पनि सञ्चालन गर्न दिनुपर्ने उनको भनाइ छ ।

नेपाल हवाइ खेलकुद संस्थाका पूर्वअध्यक्ष योगेश भट्टराई प्याराग्लाइडिङको व्यवस्थापनमा सरकारले विशेष चासो दिनुपर्ने बताउँछन् । ‘हामीलाई पूर्वाधार मात्र होइन पूर्वाधार निर्माण पछि आउने पर्यटक पनि चाहिएको हो जसले पोखरामा आनन्द लिन सकुन र उनीहरुको बसाई पनि लम्बियोस्’ उनले भने ।

पोखराको प्याराग्लाइडिङ उडान विश्वमै उत्कृष्ट तीनभित्र पर्ने र साहसिक पर्यटकको लागि उपयुक्त गन्तव्य भएको व्यवसायीहरु बताउँछन् । विश्वका कतिपय देशमा जहाज उडानसँगै ‘एयर स्पोर्टस्’ गतिविधि हुने गरेकाले आधुनिक प्रविधिको प्रयोग गरेर ती देशमा भएका अभ्यासको अध्ययन गरेर अनुशरण गर्न सकिने व्यवसायीको भनाइ छ । ।
नागरिक उड्डयन प्राधिकरणले अहिलेसम्म यस विषयमा विशेष चासो राखेर व्यवसायीको आवाजलाई सम्बोधन गर्नेतर्फ नलाग्नु दुःखद् भएको पूर्वअध्यक्ष भट्टराई बताउँछन् । ‘अब कसरी जाने विकल्प के के हुन सक्छ ? विमानस्थलसँगै पोखराको आकाशमा प्याराग्लाइडिङ उडानको सम्भावना अध्ययनको रिपोर्ट के छ भन्ने बारेमा पनि स्पष्ट धारणा आएको छैन, उडान सम्भव छैन मात्र भनिएको छ’, उनले भने ।

निर्वतमान अध्यक्ष कृष्ण भण्डारीले प्याराग्लाइडिङ पनि हुने र अन्तर्राष्ट्रिय विमानस्थल पनि सञ्चालन हुने बाटो खोज्नुपर्ने बताए ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराई पोखरामा भइरहेका साहसिक उडानका गतिविधि रोकिँदा पर्यटकको पोखरा बसाई पनि घट्न सक्ने बताउँछन् ।

पोखराको आकाशमा सन् १९९६ देखि प्याराग्लाइडिङ उडान सुरु भएको हो । सन् २००० देखि व्यावसायिकरुपमा प्याराग्लाइडिङ कम्पनी सञ्चालनमा आएका हुन् । अहिले पोखराका ६० कम्पनीमा करिब डेढ अर्ब रुपैयाँको लगानी छ ।

करिब दुई हजारले रोजगारी पाएका दाबी व्यवसायीको छ । यो व्यवसायमा करिब ३७५ पाइलट छन् । प्याराग्लाइडिङ फ्लाइङ स्कुल तीन, अल्ट्रालाइट कम्पनी चार र एउटा हटएयर बेलुन कम्पनी सञ्चालनमा छन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?