
३२ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पछिल्लो समय मुलुकको परराष्ट्र सम्बन्ध कमजोर भएको बताएका छन् ।
नेपाल–चीन हिमालयन मैत्री समाजले शनिबार काठमाडौंमा गरेको ‘नेपालको भूराजनीतिक अवस्था, यसका चुनौती र अबको बाटो’ विषयक गोष्ठीमा उनले सत्ता स्वार्थकै लागि दलहरुले जे पनि गर्ने गरकोले मुलुकमा विदेशी हस्तक्षेप बढेको बताए ।
‘हामीले आफ्नो सत्ता स्वार्थका लागि जे पनि सम्झौता गर्न तयार हुन्छौं, हस्तक्षेपहरु त आउने नै भयो । विदेशीहरुको समर्थन नलिइकन सत्तामा टिक्न सकिदैन भन्ने मान्यतालाई बल दिन थाल्यौं भने त्यो त हस्तक्षेप बनेर आउनेनैछ’ उनले भने ।
उनले नेपालको असंलग्नता, तटस्थता, पञ्चशीलको सिद्धान्तलाई जोसुकै पार्टीको सरकार भएपनि साझा मान्यताको रुपमा अगाडि बढाउनुपर्ने धारणा राखे । ‘नेताको स्वार्थ, दलको स्वार्थभन्दा माथि देशको स्वार्थ राख्नु पर्दछ । यसलाई हामीले शिरमा राखेर गयौं भने मलाई लाग्छ–हस्तक्षेप भयो, विदेशीहरुको दवाव भयो भन्नुपर्ने दिन आउँदैन’ अध्यक्ष लिङ्देनले भने ।
अध्यक्ष लिङ्देनले पछिल्लो दिनमा सहायता र विकासको नाममा सांस्कृतिक क्षेत्रमा अतिक्रमण भइरहेको बताए ।
प्रतिक्रिया 4