+
+

अनलाइनखबरको सम्पादकमा बसन्त बस्नेत नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १ गते १६:०५

१ साउन, काठमाडौं । अनलाइनखबरडटकमको सम्पादकमा बसन्त बस्नेत नियुक्त भएका छन् । अनलाइनखबर नेपाल प्रा.लि. सञ्चालक समिति बैठकले बस्नेतलाई सम्पादकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

अनलाइनखबरडटकममा आइतबार आयोजित कार्यक्रममा अध्यक्ष धर्मराज भुसाल र प्रधानसम्पादक शिव गाउँलेले बस्नेतलाई स्वागत गरे ।

सो अवसरमा बस्नेतले नेपालको अग्रणी अनलाइन सञ्चार संस्थामा काम गर्न पाउँदा आफू उत्साहित भएको बताए । ‘अनुभवी र निष्ठावान प्रधानसम्पादकको नेतृत्वमा रहेको सक्षम समाचार कक्षमा सहकार्य गर्न पाउँदा म उत्साहित छु’ बस्नेतले भने, ‘उहाँको नीतिगत मार्गदर्शनमा आगामी दिनमा समाचार र विचार पस्कने काममा हामी नयाँ उचाइ हासिल गर्ने प्रयास गर्नेछौं ।’

सम्पादक बस्नेतलाई स्वागत गर्दै अनलाइनखबरडटकमका प्रधानसम्पादक शिव गाउँलेले एकजना अनुभवी र सक्षम युवा सम्पादकलाई अनलाइनखबरको समाचार कक्षमा स्वागत गर्न पाउँदा आफूलाई खुसी लागेको बताए । ‘विश्वसनीय, सन्तुलित र न्यायपूर्ण पत्रकारिताको हाम्रो यात्रा अब झन् प्रभावकारी रूपमा अघि बढ्छ’ प्रधानसम्पादक गाउँलेले भने, ‘बेथिति, भेदभाव, अन्याय र विभेद माथि प्रश्न गर्ने काम हामी झन् सशक्त रूपमा गर्नेछौं ।’

कार्यक्रममा अध्यक्ष धर्मराज भुसाल, कार्यकारी निर्देशक सुरेश भुसालसहित सम्पादकीय सहकर्मीहरूको उपस्थिति थियो ।

१२ वर्षदेखि पत्रकारितामा सक्रिय बस्नेतले यसअघि कान्तिपुर दैनिकमा राजनीतिक संवाददाता, नागरिक दैनिकमा रिपोर्टिङ तथा सम्पादनको कार्य गरिसकेका छन् । यसैगरी उनले अन्नपूर्ण टुडेमा सम्पादक र अन्नपूर्ण पोस्ट दैनिकमा समाचार सम्पादक, नेपाल म्यागेजिनमा सम्पादक र शिलापत्रडटकममा प्रधान सम्पादकको जिम्मेवारी सम्हालिसकेका छन् ।

बस्नेतका मधेश आन्दोलनको सेरोफेरोमा लिखित ‘७२ को विस्मय’ र पूर्वी पहाडको परिवेश समेटिएको चर्चित उपन्यास ‘महाभारा’ प्रकाशित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?