+
+

कांग्रेस तालमेल गर्न तयार, तर ५ वर्ष आफ्नै नेतृत्वमा सरकार

कांग्रेसले ‘स्थिर सरकार’का लागि आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सत्ता गठबन्धनमा आवद्ध दलहरुसँग चुनावी तालमेल गर्ने निर्णय गरेको छ । तर चुनावपछि अरु दलसँग गठबन्धन गर्न नपाउने र ५ वर्ष आफ्नै नेतृत्वमा सरकार बन्नुपर्ने कांग्रेसको शर्त छ ।

लिलु डुम्रे लिलु डुम्रे
२०७९ साउन २ गते २०:२१

२ साउन, काठमाडौं । स्थानीय चुनावका बेला सत्ता गठबन्धनका दलहरुसँग तालमेल गर्ने विषयमा विभाजित नेपाली कांग्रेस संघीय चुनावमा गठबन्धन गर्नेबारे भने एकढिक्का देखिएको छ ।

उसले ‘स्थिर सरकार’का लागि आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सत्ता गठबन्धनमा आवद्ध दलहरुसँग चुनावी तालमेल गर्ने निर्णय गरेको छ । तर चुनावपछि अरु दलसँग सत्ता गठबन्धन गर्न नपाउने र ५ वर्ष आफ्नै नेतृत्वमा सरकार बन्नुपर्ने कांग्रेसको शर्त छ ।

६ दिनसम्म छलफल भएर सोमबार सकिएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले ३० वैशाखको स्थानीय तहको चुनावमा भएको तालमेल सन्तोषजनक भएको निष्कर्ष निकालेको छ ।

साथै आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसलाई बहुमततर्फ लक्षित गराउने भन्दै तालमेलको पक्षमा निर्णय गरेको छ । ‘संविधानको रक्षा र लोकतन्त्रको थप सुदृढीकरण गर्दै जनताको समुन्नतिको सपनालाई स्थिर सरकारमार्फत सम्बोधन गर्न सत्ता गठबन्धनमा रहेका दलहरूसँग संवाद गरी चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गर्दछ’, कांग्रेसको निर्णयमा भनिएको छ ।

उपसभापति पूर्णबहादुर खड्काले तालमेलबारे नरम भाषा प्रयोग गर्नुपर्ने तर्क गरेका थिए । तर महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सरकार गठनका लागि मात्र तालमेल भन्न नहुने बताए ।

तर चुनावी तालमेल गर्दा ५ वर्ष स्थिर सरकारको सुनिश्चितता हुनुपर्ने कांगेसको शर्त छ ।

एक नेताका अनुसार निर्णय लेख्नुअघि भएको शीर्ष छलफलमा संस्थापन पक्षले चुनावी तालमेल गर्ने मात्र भनौं भनेका थिए । उपसभापति पूर्णबहादुर खड्काले तालमेलबारे नरम भाषा प्रयोग गर्नुपर्ने तर्क गरेका थिए ।

तर महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सरकार गठनका लागि मात्र तालमेल भन्न नहुने बताए । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन गरेका थिए भनेर पनि गठबन्धनको औचित्य पुष्टि नहुने भन्दै दुबैले पाँच वर्ष स्थिर सरकारको प्रष्ट खाकासहित जनतामा जानुपर्ने बताएका छन् ।

सभापति शेरबहादुर देउवा पनि त्यसमा सहमत भएपछि बैठकको निर्णयमा लेखिएको छ, ‘तालमेल गर्दा संविधानको कार्यान्वयन, आर्थिक सामाजिक रुपान्तरण र वैदेशिक सम्बन्ध लगायतका विषयमा न्यूनतम साझा धारणा निर्माण गर्दै आम नेपाली जनतालाई पाँच वर्षमा स्थिर सरकारमार्फत जनताको जीवनस्तरमा गुणात्मक सुधार ल्याउने स्पष्ट कार्यक्रमको खाकासहित आमनिर्वाचनमा नेपाली कांग्रेस प्रस्तुत हुनुपर्दछ भन्ने ठहर यो बैठक गर्दछ ।’

सरकार गठनका लागि मात्र चुनावी तालमेल गर्न नहुने भन्दै कांग्रेस महामन्त्री थापाले अनलाइनखबरसँग भने, ‘गठबन्धनको संस्कार विकास गरेर जानुपर्छ भनेर पनि हामीले न्यूनतम साझा कार्यक्रम बनाएर जानुपर्छ भनेका हौं ।’

यसको आशय कांग्रेससँग मिलेर चुनाव जित्ने, सरकार चाहिँ अर्को दलसँग मिलेर बनाउने अवस्था नआओस् भन्ने पनि भएको कांग्रेस नेताहरु बताउँछन् । अरु दलहरुले पनि स्थानीय चुनावको परिणामलाई सन्तोषजक मानेको र गठबन्धनलाई अगाडि लैजानुपर्छ भनिरहेको भन्दै कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महत भन्छन्, ‘उहाँहरुले पनि मन/सोच बदल्नुहुन्छ भन्ने लागेको छैन ।’

सरकारको नेतृत्वमा दाबी

कांग्रेस प्रवक्ता डा. महतका अनुसार चुनावी तालमेलका लागि सत्तारुढ गठबन्धनमा रहेका दलका शीर्ष नेताहरु पनि सकारात्मक छन् । तर प्रतिनिधिसभाको १६५ र प्रदेशसभाको ३३० सिटको बाँडफाँट सहज छैन ।

माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टीका नेताहरुले सम्मानजनक हैसियत खोजेका छन् भने कांग्रेसमा धेरै सिट लिनुपर्ने दबाव छ । ६ दिनसम्म चलेको बैठकमा बोल्ने केन्द्रीय सदस्यहरुले पनि तालमेल गर्नुपर्ने, आफ्नो निर्वाचन क्षेत्रमा चाहिँ अरुलाई छाड्न नसकिने तर्क गरेका थिए ।

कांग्रेस बैठकको निर्णयमा पनि तालमेल गर्दा आफ्नो नेतृत्वदायी भूमिका रहेको यथार्थ, सांगठानिक वस्तुस्थिति तथा पार्टी पंक्ति एवं शुभेच्छुकको भावनालाई दृष्टिगत गर्दै निष्कर्षमा पुग्नुपर्ने भनिएको छ ।

कांग्रेसको संस्थापन पक्ष तालमेलको पक्षमा भए पनि डा. शेखर कोइराला समूहका नेताहरुले स्थानीय चुनावका बेला एक्लै लड्नुपर्ने मत राखेका थिए । त्यही कारण ‘स्थानीय तहको आवश्यकता र औचित्यको आधारमा तालमेल’ गर्ने निर्णय भएको थियो । तर पार्टीमा दुईथरि मत भएकाले थुप्रै ठाउँमा तालमेल प्रभावकारी नभएको नेताहरु स्वीकार गर्छन् । त्यसैले यो पटक भने ‘पार्टी पंक्ति एवं शुभेच्छुकको भावनालाई दृष्टिगत गर्दै गठबन्धन गर्ने’ भनिएको एक नेता बताउँछन् ।

कार्यकर्तालाई आश्वस्त पार्न खोजेको कांग्रेसले गठबन्धनका दलहरुलाई पनि घुमाउरो शैलीमा सन्देश दिन खोजेको छ । सत्तारुढ दलहरु, खासगरी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आलोपालो प्रधानमन्त्रीको विषय ल्याएकाले कांग्रेसले ‘पाँच वर्ष स्थिर सरकार’ भन्दै आफ्नो नेतृत्व हुनुपर्ने बताएको छ ।

‘पाँच वर्षे सरकारको नेतृत्व कांग्रेसकै हुनुपर्छ भन्ने हाम्रो निर्णय हो । अन्य दलसँग यसबारे कुरा हुन्छ’ देउवा निकटका केन्द्रीय सदस्य एनपी साउद भन्छन्, ‘गठबन्धनमा छलफल गर्न हाम्रो निर्णय लिएर जान्छौं ।’

बैठकका निर्णयहरु सार्वजनिक गर्दै कांग्रेस प्रवक्ता डा. महतले पनि केन्द्रीय कार्यसमितिको निर्णयअनुसार चुनावी तालमेलका लागि गठबन्धनका दलहरुसँग सम्वाद थाल्ने बताए । ‘अब अरु दलहरुसँग छलफल सुरु हुन्छ,’ उनले भनेका छन्, ‘तालमेल कसरी गर्ने भन्ने जटिल विषय हो । स्थानीय तहको कम जटिल थिएन, त्यसलाई हामीले पार गर्‍यौं भने यो पनि पार गर्छौं भन्ने लागेको छ ।’

गिरिराजमणि पोखरेल
स्थायी कमिटी सदस्य, माओवादी केन्द्र

मुलभूत रुपमा हामी यो गठबन्धनकै पक्षमा छौं । कांग्रेसले के निर्णय गर्छ, अरु दलहरु कसरी अगाडि आउँछन् भन्ने हेरेर संस्थागत रुपमा बैठक बसेर हाम्रो निर्णय आउँछ ।

तर पछिल्लो केन्द्रीय समितिको बैठकमा गठबन्धनबारे तीन खालको धारणा आएको छ ।

पहिलो, आफ्नै खुट्टामा उभिनुपर्छ ।

दोस्रो, वामपन्थी दलरुसँग मिलेर चुनाव लड्नुपर्छ ।

तेस्रो, कांग्रेससँग गठबन्धन गर्ने हो भने पनि स्थानीय तहको चुनावमा हाम्रा गढहरुमा अरु दलसँग मिलेर हामीलाई हराउने प्रयास भएको छ । त्यसको समीक्षा हुनुपर्छ ।

यो मतसँगै कांग्रेसको निर्णय र अरु दलहरुको धारणा आएर हामी निर्णयमा पुग्छौं । तर हामीलाई टेकेर कांग्रेस पहिलो पार्टी बन्ने, पावर शेयरिङ चाहिँ नहुने स्वीकार्य छैन । कांग्रेसको एकल नेतृत्व सम्भव छैन ।

 

जगन्नाथ खतिवडा, उपमहासचिव
एकीकृत समाजवादी

गठबन्धन गरेर जाने हाम्रो पुरानै धारणा हो । स्थानीय चुनावमा पनि थुप्रै कमी कमजोरीका बाबजुद हामीले गठबन्धनलाई अगाडि बढ्ने कोशिस गर्‍यौं । अब पनि आगामी निर्वाचनसम्म लैजान चाहन्छौं । त्यसैले कांग्रेसको निर्णय सिद्धान्ततः गलत छैन ।

तर हामीले के बिर्सिनुभएन भने यो गठबन्धन यत्तिकै उत्पत्ति भएको होइन । यो गठबन्धन कांग्रेस एक्लैले बनाएको होइन । कांग्रेसको गठबन्धन पनि होइन । आज प्राप्त गरेको सिट पनि कांग्रेस एक्लैले होइन, संयुक्त रुपमा प्राप्त गरेका हौं । त्यसैले आगामी दिनमा गहन सम्वाद गरेर गठबन्धनलाई अगाडि लैजानुपर्छ ।

जहाँसम्म सरकारको नेतृत्वमा कांग्रेसको दाबी छ, यसरी शर्त राख्दै जाने हो भने अरुका पनि शर्त आउँछन् । नेतृत्व मात्र किन ? मन्त्री, जीएम पनि कसले कति लिने भनेर विवाद गरे भइहाल्यो । त्यसैले यो विषयमा छलफल गर्ने बेला भएको छैन ।

कांग्रेसले आफ्नो धारणा सार्वजनिक गरेर जनमत बुझ्ने कोशिस गर्‍यो, धन्यवाद नै भन्नुपर्ला ।

लेखकको बारेमा
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?