+
+

पहिले आफ्नै मिर्गौला बेचे, पैसा नआएपछि तस्करी थाले

गौरव पोखरेल गौरव पोखरेल
२०७९ साउन २ गते २१:५५

२ साउन, काठमाडौं । मकवानपुरका २० वर्षीया दिनेश (नाम परिवर्तन) र सर्लाहीका हरि (नाम परिवर्तन) रोजगारीको खोजी गर्दै केही वर्षअघि काठमाडौं आएका थिए । आर्थिक स्थिति कमजोर भएका उनीहरुले सुरुमा सामान्य ज्याला मजदुरी गरेर गुजारा चलाए, तर लामो समयसम्म काम गर्न सकेनन् ।

पछिल्लो समय सडकमा बोतल टिप्ने बिक्री गरेर आएको पैसाले चलिरहेका थिए । पशुपतिको भण्डारामा खाना खाने र सडक पेटीमा सुत्ने गर्थे । त्यही क्रममा उनीहरुको भेट दैलेखका धुपेन्द्र शाही र विमलबहादुर शाहीसँग भयो ।

पशुपति क्षेत्रमै भेटिएका शाहीद्वयले ७ लाख रुपैयाँ र ५० हजार रुपैयाँ जति पर्ने ‘एन्ड्रोइड फोन’ को प्रलोभन देखाए । एकमुष्ठ रुपमा ७ हजार रुपैयाँ नभएको बेला ७ लाखको अफर आएपछि उनीहरुले सुखद दिनको कल्पना गर्न थाले ।

सुरुवातमा शाहीद्वयले सामान्य चिनजान गरेर खाजा खाने साथी बनेका थिए । पटकपटक भेटेर खाजा खाएका शाहीले मन जित्दै गएपछि मिर्गौला बेच्ने प्रस्ताव राखे । पहिलो पटक सुन्दा उनीहरु पनि झस्किएका थिए ।

तर जब शाहीमार्फत चिनिएका रामेछापका धनबहादुर रोका र गुल्मीका विजय कुँवरले शरीरको दाग देखाएर मिगौला बेचेर पैसा कमाएको बताए, उनीहरुले पनि मिर्गौला बेच्न तयार भए ।

मिर्गौला किनबेच हुँदै गरेको सूचना

दिनेश र हरि दुवै एउटा मिर्गौला बेच्न तयार भए । उनीहरुलाई भारत लैजाने तयारी भयो । घटनामा ट्विस्ट त्यतिबेला आयो, जब एकजना पीडितका परिवारलाई उनीहरुको गतिविधिबारे शंका लाग्यो । ‘किड्नीमा समस्या भएकाले उपचार गर्नका दिल्ली जान लागेका बताएका रहेछन्’ एक अनुसन्धान अधिकृत भन्छन् ।

परिवारलाई शंका लागेपछि प्रहरीसम्म सूचना आइपुगेको मानव बेचबिखन अनुसन्धान ब्यूरोका एसपी दानबहादुर मल्ल बताउँछन् । ‘त्यतिमै पक्राउ गरिहाल्न कानूनी आधार थिएन, त्यसैले १५ दिनसम्म निगरानीमा राख्यौैं’ मल्ल भन्छन्, ‘१५ दिनसम्म निगरानी गरिराख्दा उनीहरुले दुईजनालाई एक होटलमा राखिरहेका थिए ।’

एक पोलिक्लिनिकमा गएर किड्नीको जाँच गराइरहेको पनि खुलेको मल्ल बताउँछन् । ‘क्लिनिकबाट रिपोर्ट आइसकेपछि भारतमा गएर मिर्गौला प्रत्यारोपण गर्नै तयारी भएको थाहा पायौं’ मल्लले अनलाइनखबरसँग भने, ‘कसैले होटलमा राखेर खुवाउँदैमा हस्तक्षेप गर्नु आवश्यक थिएन, तर भारत नै लाने तयारी भएपछि पक्राउ गरेका थियौं ।’

प्रहरीका अनुसार उनलाई होटलबाट रक्सौल हुँदै कोलकातासम्म लगेर मिर्गौला प्रत्यारोप गर्ने तयारी गरिएको थियो । ‘होटलबाट लग्ने क्रममा प्रयोग भएका झापाका आशिष तामाङ, दैलेखका विमलबहादुर शाही र धुपेन्द्र शाहीलाई एकैपटक पक्राउ गर्‍यौं’ मल्ल भन्छन्, ‘उनीहरुमार्फत थप दुईजना मुख्य नाइके रहेको थाहा पायौं ।’

त्यसक्रममा प्रहरीले धनबहादुर रोका र विजय कुँवरलाई पक्राउ गरेको थियो । मल्लका अनुसार रोकाले भारतमा मिर्गौला प्रत्यारोपण गर्ने व्यक्तिसँग मोलमलाई गरेर सेटिङ मिलाउने गरेका थिए ।

‘उनैले मिर्गौला आवश्यक पर्ने व्यक्तिको आवश्यकताका आधारमा ब्लड ग्रुप मिल्ने दाता खोज्न सहयोगी परिचालन गर्ने गरेको देखिएको छ’ उनले भने, ‘मिर्गौला दाता खोज्न सहयोग गर्नेलाई पनि भूमिका अनुसार पैसा दिने गरेको भेटिएको छ ।’

यसरी भेटिएका दातालाई भारत लैजाने र मिर्गौला प्रत्यारोपणपछि नेपाल फिर्ता ल्याउने काम पनि उनैले गर्दै आएका थिए । कुँवर चाहिं रोकाको निर्देशनमा मिर्गौला लिने व्यक्तिलाई आवश्यक मिर्गौलाको यकिन गर्ने कार्यमा खटिएका थिए । पीडितलाई भारत लैजाने काममा उनी पनि संलग्न रहेको प्रहरीको भनाइ छ ।

धुपेन्द्र, शााही र तामाङ चाहिं दुईजनाको निर्देशनमा मृगौला दाताको खोजीमा परिचलान हुने गरेको पाइएको प्रहरीले जनाएको छ ।

पहिले आफ्नै मिर्गौला बेचे, पैसा नआएपछि आफैं तस्करी थाले

प्रहरी अनुसन्धानमा खुलेअनुसार रोका र कुँवर आफैं पनि दुई वर्ष अघिका पीडित हुन् । उनीहरुले पनि ७ लाख रुपैयाँ पाउने प्रलोभनमा भारतमा गएर मिर्गौला प्रत्यारोपण गराएका थिए । तर त्यसवापतको पैसा नपाएर ठगिएका थिए ।

‘आफू ठगिए तर यसरी पैसा कमाउन सकिँदो रहेछ भन्ने भएपनि मिर्गौला विक्री गर्ने काम गर्न थालेको पाइएको छ’ मल्ल भन्छन्, ‘सडक मानवहरुलाई टार्गेट बनाउन सहज हुने भएकालेउनीहरुले पशुपतितिरका व्यक्तिलाई लक्षित गर्ने गरेको पाइएको छ ।’

विपन्नलाई थोरै पैसाको लोभ देखाउँदा पनि जे गर्न पनि तयार हुने भएकाले त्यस्तै व्यक्तिहरुलाई लक्षित गरेर ‘ग्रुमिङ’ गरेको प्रहरी बताउँछ ।

प्रहरीका अनुसार उनीहरुले प्रत्यारोपणको काम सकिन ६ महिना लाग्ने बताउने गरेका थिए । काठमाडौंमा समान्य स्वास्थ्य परीक्षण गरेपछि उनीहरुले भारत लैजाने गरेका थिए । यो समूहले विगतमा पनि थुप्रै व्यक्तिहरुलाई भारत पुर्‍याइसकेको हुनसक्ने प्रहरीको आशंका छ । त्यही आधारमा पुराना पीडितहरुको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यसअघि काठमाडौंमा प्रहरीकै सहयोगमा भारतमा मिर्गौला तस्करी गर्ने गिरोह १७ साउन २०७६ मा समातिएको थियो । यसमा मुछिएका प्रहरी पनि सुरुमा आफैं पीडित थिए, पछि सहजै लाभ लिन सकिने बुझेपछि मिर्गौला तस्करीमा संलग्न भएका थिए ।

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?