+
+

असीको दशकमा नेपालले पाउला त राजनेता ?

ई. सुवास पौडेल ई. सुवास पौडेल
२०७९ साउन ४ गते १६:४३

इतिहासलाई केलाएर हेर्ने हो भने एउटा सफल राजनेता बन्न वैचारिक, व्यावहारिक र इमानदारी गरी तीनवटा विशेषणले निपुण व्यक्तित्व हुनुपर्छ। वैचारिकले नीति, योजना, एजेण्डा, वाद वा दिशा दिन सक्ने ब्रेनलाई जनाउँछ।

व्यावहारिकले नीति, योजना, एजेण्डा वा वादलाई स्थापित गर्न वा कार्यान्वयन गराउन सक्ने नेतृत्त्व कौशल र सांगठनिक प्रभुत्व राख्न सक्ने क्षमतालाई दर्साउँछ। इमानदारीले कुनै डर र लोभबाट मुक्त, जनताप्रति उत्तरदायी र जवाफदेही रही कार्यसम्पादन गर्ने मनोविज्ञानलाई बुझाउँछ।

यी तीनवटै गुणले निपुण भएको नेता मात्र नेतृत्वमा पुगी डेलिभर गर्ने सामर्थ्य राखेर युगौं सम्झिने राजनेता बन्न सक्छ। कृष्णप्रसाद र गणेशमान वैचारिक र इमानदार हुँदाहुँदै पनि नेतृत्व क्षमतामा गिरिजाबाबुले छायाँमा पारे। गिरिजाप्रसादसँग व्यावहारिकता त पर्याप्त थियो। सत्ता जोडघटाउका माहिर खेलाडी उनी कुशल संगठक पनि थिए। तर वैचारिक र इमानदारीमा प्रश्न उठाउने प्रशस्त ठाउँ भेटिन्छन्।

यही कुरा शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहालमा पनि लागू हुन्छ। सुशील कोइराला इमानदार र सादगी नेता थिए। संविधान निर्माणताका उनले खेलेको भूमिकाले केही हदसम्म व्यावहारिक राजनीतिको आभूषण पनि उनमा लगाउन सकिएला तर वैचारिक राजनीतिमा उनी कमजोर नै रहे। बाबुराम भट्टराई वैचारिक र केही हदसम्म इमानदार पनि देखिन्छन् तर उनमा पनि व्यावहारिक राजनीतिको नेतृत्व कौशल देखिएन।

मदन भण्डारीले जनताको बहुदलीय जनवादको प्रादुर्भाव गरे। आफूले सृजना गरेको नीतिलाई पार्टीमा लागू गराउन सफल पनि रहे। उनका मन्तव्यहरु सुन्दा र इतिहास पढ्दा निजमा देश र जनताप्रतिको इमानदारीको झल्को पनि आउँछ, भलै देश चलाउने ठाउँमा पुगेर उनको परीक्षण भने हुन पाएन।

लोकतान्त्रिक समाजवादको बाटो देखाएर नेपाली कांग्रेसलाई वैचारिक र सांगठनिक नेतृत्व दिएका बीपी कोइरालाले राणाशासनको अन्त्य गर्ने संघर्षको समेत नेतृत्व गरे। करिब १८ महिना प्रथम जननिर्वाचित प्रधानमन्त्रीको रूपमा देशको सफल नेतृत्व गरेका कोइरालाले देश र जनताप्रति हमेशा इमानदार रही कार्यसम्पादन गरेको अमर इतिहास छ।

त्यसकारण नेपालको राजनीतिक इतिहासमा बीपी कोइराला र मदन भण्डारी मात्र युगौं स्मरणीय राजनेताको छवि बनाउन सफल रहे किनकि वैचारिक, व्यावहारिक र इमानदार राजनीतिको पूर्ण सम्मिश्रण उनीहरूमा थियो।

केही दिन अगाडि एक अखबारमा ‘को होला असीको दशकको नेता’ भन्ने शीर्षकमा प्रकाशित आलेख पढेको थिएँ। त्यसमा ३० को दशकसम्म बीपी, ४० को दशकमा गणेशमान, ५० को दशकमा गिरिजाप्रसाद, ६० को दशकमा प्रचण्ड र ७० को दशकमा केपी ओलीलाई राम्रा/नराम्रा राजनीतिक कृत्यद्वारा राष्ट्रिय राजनीति तरंगित पार्ने पात्रका रूपमा चित्रित गरिएको छ।

अझ भनौं राजनीतिलाई आफ्नो वरिपरि घुमाउन सक्ने, राष्ट्रिय राजनीतिको प्रमुख नेतृत्वकर्ताको रूपमा उनीहरूलाई चित्रण गरिएको थियो। लेखकले ८० को दशक सुरु हुनै लाग्दा यो दशकमा संभावित नेता को होला भन्ने प्रश्न चिन्हसहित आफ्नो आलेख टुंग्याएका थिए। त्यही आलेखको प्रश्नलाई टपक्क टिपेर अहिलेको समकालीन राजनीतिका अनुहारहरूको विगतदेखि वर्तमानसम्मको ‘पर्फर्मेन्स’को आधारमा यो आलेखमार्फत उत्तर खोज्ने प्रयत्न गरिएको छ।

अहिलेलाई यति भन्न सकिन्छ बीपी कोइराला र मदन भण्डारी जस्तै एक सफल राजनेता बन्न आवश्यक तीन विशेषण वैचारिक, व्यावहारिक र इमानदारीको झिल्को गगनमा पनि आउँछ। तर, झिल्को दियो बनेर उदाउने छ या झिल्कोमै मात्र सीमित हुनेछ, अब उनको दशक लामो कठिन राजनीतिक परीक्षाले तय गर्नेछ।

एउटा कुरा चाहिं पक्का छ, असीको दशकमा शेरबहादुर देउवा, केपी शर्मा ओली, पुष्पकमल दाहाल, बाबुराम भट्टराई, उपेन्द्र यादव लगायत विद्यमान राजनीतिक दलका प्रमुख नेताहरु परिवर्तित समय, परिस्थिति र घर्कंदो उमेरका कारण रिटायर्ड भइसक्नेछन् वा रिटायर्ड नभए पनि देशको राजनीति उनीहरूको शिथिल र थकित ब्रेन भन्दा बाहिरै हुनेछ।

स्वतन्त्र वा नयाँ पार्टीमार्फत उदाउन खोजेका बालेन साह, रवि लामिछाने वा रवीन्द्र मिश्रहरु कम्तीमा अझै एक दशक राजनीतिको हस्तक्षेपकारी भूमिकामा पुग्ने कुनै गुन्जायस देखिंदैन। त्यसकारण आगामी दशकको मूल नेतृत्वको रूपमा सम्भावनाको कसीभित्र विद्यमान दलका दोस्रो तहका नेताहरु सबैभन्दा सुरुमा आउँछन्।

यसमध्ये कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, एमाले महासचिव शंकर पोखरेल वा विष्णु पौडेल, माओवादी नेता वर्षमान पुन वा जनार्दन शर्मा अबको दशक पार्टी र देशको राजनीतिको केन्द्रमा देख्न सकिने अनुहार हुन्।

एमाले नेता शंकर पोखरेल धेरैपटक मन्त्री र मुख्यमन्त्री समेत भैसकेका नेता हुन्। पटक पटक सरकारमा रहँदै गर्दा वा मुख्यमन्त्री भएर नेतृत्व गर्दैगर्दा पनि त्यस्ता कुनै सम्झनलायक कामहरु छैनन् जसले उनलाई देशकै मूल नेतृत्वको रूपमा जनताले विश्वास गर्न सकून्।

अर्का नेता विष्णु पौडेल त झन् विभिन्न काण्डसँग जोडिएर विवादमा तानिएका छन्। त्यसो त उनीहरू अझै केही समय केपी ओलीकै छायाँभित्र रहनेछन्। तत्पश्चात एमाले नेतृत्वमा पुगेतापनि राष्ट्रिय राजनीतिमा उनीहरूको विशिष्ट प्रभाव रहला भनेर कम्तिमा विगतदेखि वर्तमानसम्मको उनीहरूको कार्यसम्पादन र नेतृत्व क्षमतालाई हेरेर आशा गर्न सकिन्न।

यस्तै आशा गर्न नसकिने वा सम्भावनाको कसीमा सबैभन्दा पुछारमा आउने नाम माओवादी नेता वर्षमान पुन वा जनार्दन शर्मा हुन सक्दछन्। यिनीहरू पनि अझै केही समय प्रचण्डको छायाँभित्रै हराउने छन्। वर्तमान मन्त्रिमण्डलमा जनार्दन शर्माले करको दायरामा देखाएको अपरिपक्वता र विवादास्पद कामकारबाहीले उनलाई आशातित नेतामा राख्ने कुनै ठाउँ छैन।

वर्षमान पुन पनि धेरैपटक मन्त्री भएर परीक्षित नेता हुन्। नेकपा एमाले र माओवादीका दोस्रो तहका यी सबैजसो नेताहरु अहिलेको मूल नेतृत्वको दासत्व भित्रै छन् र नेतृत्वका गलत क्रियाकलापहरुका विरुद्ध प्रश्न र विद्रोह गर्न सक्ने ल्याकत यिनीहरुमा छैन। केपी ओली र प्रचण्डलाई बुढ्यौली लाग्ला र पालो पाइएला भन्ने लोभमा नेतृत्वको महिमामण्डन गर्ने बाहेक देश बनाउने र बदल्ने संकल्प, सामर्थ्य र हुटहटी यिनीहरुमा कहींकतै प्रकट भएको देखिन्न।

महामन्त्रीका रुपमा गगन र विश्वप्रकाश उदाएसँगै नेपालका राजनीतिक दलहरुमध्ये नेपाली कांग्रेसभित्र आगामी दशक उच्चतम आशा र प्रचुर सम्भावना देख्न सकिन्छ। विश्वप्रकाश शर्मा नेविसंघ अध्यक्ष, कांग्रेस प्रवक्ता हुँदै महामन्त्री बनेका नेता हुन्।

उनी दुई पटकसम्म राष्ट्रिय निर्वाचनमा पराजित भएकोले संसदीय भूमिकाको अनुभव भने बटुल्न पाएका छैनन्। नेविसंघ नेतृत्वदेखि पार्टी प्रवक्तासम्मको यात्रालाई नियाल्दा भइरहेको संगठन वा संरचनालाई कहीं कतै नबिगारिकन ठीकठाक ढंगले चलायमान गराउन सक्ने नेताको रूपमा विश्वप्रकाश शर्मालाई लिन सकिन्छ।

तर आवश्यकता र परिस्थिति अनुसार नयाँ बाटो, नयाँ विकल्प, नयाँ सृजना र नयाँ संरचना खडा गरेर आफैंले हस्तक्षेप गरी नेतृत्त्वमा उदाउन सक्ने नेता हुन् अर्का महामन्त्री गगन थापा। उनको विगतदेखि वर्तमानलाई नियाल्ने हो भने पार्टीभित्र र बाहिर जो–कोहीसँग लड्ने हिम्मत गर्ने, आफूले बोकेको एजेण्डालाई स्थापित गराउन पछि नपर्ने, समय, परिस्थिति र जनमतलाई बुझेर उचित निर्णय लिन सक्ने क्षमता उनीसँग देखिन्छ। पहिलो पुस्ताले नमान्दा नमान्दै पनि पन्छाएर नेतृत्त्व हत्याउन सक्ने आत्मविश्वास र सामर्थ्य उनले आफ्नो राजनीतिक यात्राबाट पुष्टि गरेका छन्।

२०५९ सालमा गणतन्त्रको मुद्दादेखि अहिलेसम्मको राजनीतिक परिदृश्य हेर्दा गगन थापाले जुन मुद्दा, एजेण्डा र धारणा राखेका छन्, कालान्तरमा नेपाली राजनीतिले तिनै मुद्दा, एजेण्डा र धारणालाई शिरोपर गर्दै गएको पनि छ।

सार्वजनिक बहसमार्फत माओवादी सेनाको समायोजन र तत्कालीन वाईसीएलको सैन्य गतिविधिलाई अन्त्य गर्न उनको उल्लेखनीय भूमिका रह्यो। पहिलो संविधानसभामा माओवादीले भनेको जस्तो कम्युनिस्ट गणतन्त्र वा सत्ता कब्जालाई रोक्न देशैभर जनतालाई बुझ्ने गरी लोकतान्त्रिक संविधानप्रति जनसमर्थन बटुल्न पनि उनले भूमिका खेले।

कृषि समितिको सभापति र स्वास्थ्य मन्त्रीको रूपमा चित्तबुझ्दो कार्यसम्पादन गरेर पदमा पुगिसकेपछि पनि जनताको आशा र विश्वासलाई कायम राख्न सफल वर्तमानको एउटै नेता उनै गगन मात्र हुन्। केही वर्ष अगाडि कोरोना नेपाल नभित्रिंदै त्यसको पूर्व तयारीका लागि सरकारलाई संसदबाट विस्तृत योजनासहितको सुझाव प्रस्तुत गरेका थिए। तत्कालीन प्रधानमन्त्री ओलीले सुरुमा फुच्चे केटो भनेर उनलाई मजाकमा उडाए।

केही महिनामा संक्रमणको स्थिति विकराल भएपछि सिंगो देश उनकै सुझाव सही भएको ठहर गर्न पुग्यो। ५ पुस २०७७ मा केपी ओलीले हठात् संसद विघटन गरे। संसद विघटन ठीक कि बेठीक भनेर देशका जो कोही राजनीतिज्ञले सोच्न नभ्याउँदै, विघटनको आधा घण्टा भित्रै बानेश्वरचोकमा उभिएर असंवैधानिक कदमका विरुद्ध उभिन जनतालाई अपील गरे। विस्तारै शेरबहादुर देउवादेखि सिंगो पार्टी पंक्तिलाई त्यही दिशामा डोर्याएर छाडे।

एमसीसी जस्तो अनुदान नेपाल जस्तो ऋणमा आश्रित अर्थतन्त्रको लागि आवश्यक हुन्छ भन्ने तर्कसहित पास गर्नमा नेतृत्वदायी भूमिका खेले। एसपीपी देशको अहितमा छ सम्झौता नगरौं भनेर प्रधानमन्त्रीलाई कन्भिन्स गराउन सफल भए।

इम्बोस्ड नम्बरप्लेटको विरोध गरे, भोलिपल्टै यातायात व्यवस्था विभागले खारेज गर्‍यो। करको दायरा हेरफेरमा अर्थमन्त्रीमाथि प्रश्नचिन्ह खडा हुँदा पनि सत्तापक्षबाट कोही नबोलेको अवस्थामा उनले नै अर्थमन्त्रीले राजीनामा दिनुपर्छ भन्ने धारणा राखे।

हालै उनले आगामी संसदीय निर्वाचनपछि आफूले प्रधानमन्त्री पदमा दाबी गर्ने सार्वजनिक उद्घोष गरिसकेका छन्। उनले कांग्रेस महामन्त्री लड्दै गर्दा नै अबको बाटो ‘समुन्नत नेपाल, सम्मानित नेपाली’ तर्फ उन्मुख हुनेछ भनेर आफ्नो अवधारणापत्र सार्वजनिक गरेका छन्।

हालै उनले ‘प्रोजेक्ट गभर्मेन्ट’ नाम दिई प्रधानमन्त्री भएमा हरेक मन्त्रालयले गर्नुपर्ने नीति, योजना र कार्यक्रम के कस्तो हुनुपर्छ भनेर छलफल चलाइरहेको र त्यसमा करिब ६० जना विज्ञहरुले अनुसन्धान गरी उनलाई सघाइरहेको कुरा आफ्नो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए। प्रधानमन्त्री पदमा पुगेपछि गर्नुपर्ने ‘के र कसरी’ भन्ने प्रश्नको उत्तरसहित तयारी अवस्थामा बस्ने हुटहुटी उनमा बुझ्न सकिन्छ।

सही समयमा, सत्य र तथ्यमा आधारित भएर कसैसँग नडराई आफ्नो धारणा राख्ने र उनको ब्रह्मले ठीक देखेको मुद्दा, एजेण्डा वा विचारलाई स्थापित गर्न जस्तोसुकै मूल्य चुकाएर भए पनि लागिपर्ने हुनाले समकालीन राजनीतिमा गगन सबैभन्दा अब्बल देखिएका हुन्। उनले राष्ट्रिय राजनीतिमा राखेका प्रत्येक धारणाले देशलाई कुनै न कुनै हिसाबले तरंगित गर्ने गरेको छ। धेरैजसो मुद्दामा त दिशानिर्देश नै गरेको छ।

त्यसकारण को होला ८० को दशकको नेता भन्ने प्रश्नको उत्तर पनि सहज आकलन गर्न सकिन्छ। तर दशकको नेता मात्र कि इतिहासको राजनेता ? त्यसको परीक्षणका लागि गगनसँग १० वर्ष बाँकी छ किनकि १० वर्षपछि उनी स्वयंले राजनीतिबाट अवकाश लिने घोषणा गरिसकेका छन्।

अहिलेलाई यति भन्न सकिन्छ बीपी कोइराला र मदन भण्डारी जस्तै एक सफल राजनेता बन्न आवश्यक तीन विशेषण वैचारिक, व्यावहारिक र इमानदारीको झिल्को गगनमा पनि आउँछ। तर, झिल्को दियो बनेर उदाउने छ या झिल्कोमै मात्र सीमित हुनेछ, अब उनको दशक लामो कठिन राजनीतिक परीक्षाले तय गर्नेछ।

(पौडेल नेपाली कांग्रेसका युवा नेता हुन्।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?