५ साउन, काठमाडौं । जति जति आम चुनाव नजिकिँदैछ, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमा आफ्ना पूर्वसहकर्मीहरुसँग हात मिलाउन उति अधीरता बढ्दो छ । यस्ता साथीहरुको सूचीमा बाबुराम भट्टराईको नाम पहिलो नम्बरमै भेटिन्छ ।
तर, भट्टराई भने भयानक अलमलमा छन् । उपेन्द्र यादवसँगको जसपा यात्रामा बिराम लागेको छ । अगाडि जाने बाटोबारे उनीजत्तिकै अलमलमा छन्, उनका साथीहरु । भन्नलाई उनीहरु पार्टी पुनर्गठनमा जाने भन्दैछन्, तर यतिका दिनसम्म कुनै ठोस औपचारिक निर्णयमा पुगिसकेका छैनन् ।
बिहीबार बिहान प्रचण्डलाई खुमलटारको एक अपार्टमेन्टमा भेट्न जाँदा भट्टराईसँग राजनीतिक सौदाबाजीको कुनै ठोस प्रस्ताव थिएन । प्रचण्ड बरु नेकपा समाजवादी केन्द्र बनाएर भए पनि आउने चुनावमा एमाले अध्यक्ष केपी ओलीलाई ‘देखाइदिने’ मुडमा छन् । यस्तोमा भट्टराईले के गर्ने, प्रष्ट छैन ।
असार अन्तिमतिर (२८–२९) बोलाइएको भट्टराई पक्षको केन्द्रीय समितिको विस्तारित बैठकले उपेन्द्र यादवबाट जनता समाजवादी पार्टीको रुपान्तरण सम्भव नभएको निष्कर्ष निकाल्दै नयाँ पार्टी गठनमा जाने निर्णय गरेको थियो ।
निर्णयको झण्डै एक साता पुग्दै लाग्दा पनि विभिन्न विकल्पमा छलफल भइरहेको तर कुनै टुंगोमा अहिलेसम्म नपुगिएको भट्टराई समूहका नेताहरुले बताएका छन् । यद्यपि पहिले नै दर्ता भइसकेको ‘समावेशी लोकतान्त्रिक पार्टी’लाई भट्टराईले भूमिगत रुपमा सञ्चालन गरेको पाइएको छ ।
वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने भनेर जसपाबाट निस्किएका भट्टराई आफूले सोचेका विभिन्न विकल्पमध्य कुनै एकमा निश्चित नहुन्जेल उक्त पार्टीलाई औपचारिक रुपमा सार्वजनिक गर्ने पक्षमा छैनन् ।
बाबुरामले सोचेका तीन विकल्प
जीवनका उत्तरार्द्धमा पनि झन्झटिलो बाटो रोजको भट्टराई आफैंले राजनीतिरुपी रथलाई लामो समय गुटाउने मनस्थितिमा छैनन् । तर, आफ्नो पछि लागेका नेता, कार्यकर्ताहरुलाई बिचल्ली पार्ने गरी बीचमै आफ्नो राजनीतिक जीवन स्थगित गर्ने पक्षमा पनि छैनन् ।
‘मेरो पछाडि धेरै कार्यकर्ता छन्’, निकटहरुसँग भट्टराईले भन्ने गरेका छन्, ‘त्यसैले म उनीहरुलाई चटक्क छाडेर हिँड्न मिल्दैन । म उनीहरुलाई कुनै दैलोमा पुर्याएर मात्रै विश्राम लिन्छु ।’
भट्टराई निकट नेताहरुका अनुसार पार्टीविहीनता पछिको अलमलपूर्ण अवस्थामा उनले तीन विकल्प सोचेका छन् । उनको पहिलो प्रयास अझै पनि जसपाबाट ४० प्रतिशत पुर्याएर नयाँ पार्टी गठन गर्ने र नेताहरुको सांसद पद जोगाउनेमा छ ।
त्यसका लागि उनले जसपाभित्रको प्रारम्भिक संघर्षमा आफूलाई साथ दिएका नेताहरुलाई फकाउने कोशिस गरेका छन् । नेताहरु राजकिशोर यादव, रामनरेश राय यादव, अमृता अग्रहरि, मृगेन्द्रकुमार सिंह यादव लगायतका नेताहरुलाई आफूहरुतिर तान्न सके ४० प्रतिशत पुर्याउन आकलन भट्टराईको छ । त्यो गर्न सके एउटा शक्तिसहित आगामी संघीय चुनावमा बार्गेनिङ गर्न सकिने उनको ठम्याइ छ ।
तर, उनी पक्षकै नेताहरुले पनि यो पहिलो विकल्पलाई त्यति सजिलो ठानेका छैनन् । ‘यो चाहिँ मृत सम्भावना हो’, भट्टराई पक्षका कार्यकारिणी सदस्य डम्बर खतिवडा भन्छन्, ‘यसको अब खासै अर्थ छैन । अब नयाँ पार्टी गठन गर्नेतिर जान्छौं ।’
पहिलो विकल्प सम्भव नभए भट्टराईले सोचेको दोस्रो विकल्प समाजवादी केन्द्र नामको पार्टी वा मोर्चा बनाउने हो । जसको वकालत उनले लामो समयदेखि गर्दै आएका छन् । यही मेलोमेसोमा भट्टराईले मंगलबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेका थिए ।
छलफलमा प्रचण्डले माओवादी केन्द्रमै फर्किन आग्रह गरेका थिए । भट्टराईले त्यसलाई ‘हार्दिकतापूर्वक अस्वीकार’ गर्दै समाजवादी केन्द्र निर्माणमा जोड दिएको नेताहरुले बताएका छन् । बिहीबार सोही छलफलले निरन्तरता पाउँदा भट्टराईसँग एउटै अडान थियो, कम्युनिस्ट पार्टीमा नफर्किने ।

अब प्रचण्डसामू जबर्जस्त दबाव छ– कम्युनिस्ट नाम छाड्दा एमाले अध्यक्ष ओली एक्लै हाबी भइदेलान् कि भन्ने । त्यसैले उनी भट्टराईलाई फकाउन अघि सरेका हुन् ।
माओवादी ब्रान्ड त्यागेर समाजवादी केन्द्र निर्माण गर्दै त्यसलाई पार्टीमा रुपान्तरण गर्न प्रचण्ड पनि तयार भएको तर त्यसको पूर्व शर्त एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल पनि तयार हुनुपर्ने भएको एक नेताले अनलाइनखबरलाई बताए । माधव नेपाल तयार नभए भट्टराईकै लागि मात्रै माओवादी र कम्युनिष्ट ब्रान्ड त्याग्न नसकिने जवाफ प्रचण्डको थियो ।
समाजवादी केन्द्रलाई पार्टी बनाउन सम्भव नभए समाजवाद नाम प्रयोग गर्ने कांग्रेस र एमाले बाहेकको एउटा साझा चुनावी मोर्चा बनाउन सकिने विकल्पमा पनि प्रचण्ड र भट्टराईबीच छलफल भएको स्रोतले बतायो ।
पहिलो र दोस्रो विकल्प पनि सफल नभए हालकै सत्ता गठबन्धनभित्र आगामी संघीय चुनावका लागि सम्मानजनक सिट माग्ने र त्यसो हुन नसकेको अवस्थामा एमालेतिर लाग्ने भट्टराईले सोचेको उनी निकट नेताहरु बताउँछन् ।
तीन उपसमूह पनि
भट्टराई समूहभित्रै उनी भन्दा फरक सोच राख्ने नेताहरु पनि छन् । उनीहरुले भट्टराईबाट ठोस विकल्प तय हुन नसके आआफ्नै तयारी समेत गरिरहेका छन् ।
१. माओवादीमा फर्किन चाहने समूह
भट्टराई निकट नेता हुन विश्वदीप पाण्डे । उनका स्वकीय सचिव भएर लामो समय काम गरेका उनी समाजवादी केन्द्र निर्माणको प्रयास गर्ने त्यो सफल नभए माओवादीमै जानुपर्ने मतमा छन् ।
उनले यो बीचमा माओवादीका नेताहरुसँग सघन संवाद पनि गरिरहेको स्रोतले बतायो ।
अनलाइनखबरसँगको कुराकानीमा पाण्डेले अहिले समाजवादी केन्द्र बनाउनेतिर छलफल चलिरहेको र त्यो नभए जे पनि हुनसक्ने बताए । ‘पहिले समाजवादी केन्द्र बनाउनुपर्यो, त्यसपछि छलफल चल्दै गएपछि जे पनि हुनसक्छ,’ उनले भने ।
जे पनि हुन सक्ने उनको भनाइले पनि माओवादी उनको रोजाइ हुन सक्ने संकेत मिल्छ ।
२. एमालेतिर जान चाहने समूह
नेता गंगानारायण श्रेष्ठ लगायतका नेताहरु समाजवादी केन्द्र निर्माणसम्ममा सकरात्मक छन् । तर, त्यो सम्भव हुन नसके आफ्नै तरिकाले लाग्ने सोचमा छन् । वैकल्पिक शक्ति पनि निर्माण नहुने र समाजवादी केन्द्र निर्माण पनि नहुने अवस्थामा कुनै ठूलो पार्टीमा समाहित हुने उनीहरुको सोच पाइन्छ ।
माओवादीमा रहँदा पहिले पनि ‘डोमिनेटेड’ हुनु परेको र अब पनि सम्मान नपाइने बुझाइका कारण श्रेष्ठ लगायतका नेता माओवादीमा नलाग्ने बताइन्छ । हालको केन्द्रीय समितिको विस्तारित बैठकमा पनि नेता श्रेष्ठले आफूहरुलाई माओवादीमा सधैं दोस्रो दर्जाको व्यवहार गरेको गुनासो गरेका थिए ।
सिन्धुलीका श्रेष्ठ माओवादीमा जाँदा त्यही जिल्ला नेता हरिबोल गजुलेलको नेतृत्व स्वीकार गर्नुपर्ने हुन्छ । गजुरेल लगायतका प्रभावशाली नेता त्यही जिल्लाबाट पार्टीमा भएकाले माओवादीमा आफ्नो भविष्य नहुने ठानेर श्रेष्ठ एमालेतिर लाग्ने कतिपयले बताउने गरेका छन् ।
३. वैकल्पिकमै अडिन चाहने समूह
केही नेताहरु समाजादी केन्द्रतिर पनि नलाग्ने र पुराना पार्टीमा पनि नजाने सोचमा छन् । ती नेताहरु बाबुराम संरक्षक बसेर ससना समूहरुसँग एकता गरेर बैकल्पिक शक्ति निर्माण गर्नुपर्ने मत राख्छन् ।
यस्तो सोच राख्नेहरुमा डम्बर खतिवडा, प्रशान्त सिंह लगायतका नेताहरु छन् । खतिवडाले पनि अनलाइनखबरसँगको कुराकानीमा त्यसलाई स्वीकार गरे ।
‘वैकल्पिक भन्नेहरु सबैतिर छिरिलबिरिल भए’, खतिवडा भन्छन्, ‘विवेकशील साझामा रवीन्द्र मिश्रले आजदेखि स्पष्ट रुपमा आफू राजवादी लाइनमा गएको घोषणा गर्नुभयो । त्यता पनि मान्छे अलपत्र परे । विभिन्न साना समूह, स्वतन्त्र समूहरु आइरहेका छन् । यी सबैलाई एक ठाउँमा ल्याएर वास्तविक वैकल्पिक बन्नुपर्छ ।’
                    
                                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4