+
+
सरकारी पुरस्कार कार्यविधि :

क्रिकेटमा नगद पुरस्कारै पुरस्कार

कुशल तिमल्सिना कुशल तिमल्सिना
२०७९ साउन ६ गते २०:२७

६ साउन, काठमाडौं । पछिल्लो केही वर्षलाई बिर्सने हो भने छोटो समयमा ठूलो फड्को मारेको नेपाली खेलमा पर्छ क्रिकेट । राष्ट्रिय टोलीले पाएको सफलतासँगै सरकारले पनि बेला–बेला नगद पुरस्कार प्रदान गर्ने गरेको आएको छ ।

युवा तथा खेलकुद मन्त्रालयले खेलकुद पुरस्कार तथा सम्मान कार्यविधि संशोधन गरेर क्रिकेटको पुरस्कारलाई संस्थागत मात्र गरेको छैन, रकममा उल्लेख्य बृद्धि गरेको छ । बिहीबार मन्त्रिपरिषदले पास गरेको यो कार्यविधिअनुसार १३ प्रकारका प्रतियोगितामा पदक तथा उपाधि जितेमा क्रिकेट खेलाडी र प्रशिक्षक मात्र होइन, क्रिकेट संघले पनि नगद पुरस्कार पाउँछ ।

कार्यविधिमा ओलम्पिक, एसियाली खेलकुद, दक्षिण एसियाली खेलकुददेखि सम्बन्धित खेलका अन्तर्राष्ट्रिय फेडेरेसनले गरेका प्रतियोगिता, विद्यालय खेलकुद, युथ ओलम्पिकलगायतका प्रतियोगितामा पदक विजेता खेलाडीले पाउने पुरस्कार रकम तोकिएको छ । सबभन्दा धेरै भने क्रिकेट प्रतियोगिता परेका छन् ।

कुन खेलमा कति पुरस्कार

खेलकुद पुरस्कार तथा सम्मान कार्यविधिअनुसार आईसी विश्वकपको उपाधि जितेमा क्रिकेट टिमका खेलाडीले जनही ३२ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउँछन् । प्रशिक्षकले १३ लाख, सहायक प्रशिक्षक, व्यवस्थापक र फिजियोले ६ लाख ५० हजार तथा खेल संघले १३ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

जत जितेमा खेलाडीले जनही २६ लाख, प्रशिक्षकले ७ लाख ८० हजार, सहायक प्रशिक्षक, फिजियो र व्यवस्थापकले ३ लाख ९० हजार तथा खेल संघले ७ लाख ८० हजार पुरस्कार पाउनेछन् । कांस्य जितेमा खेलाडीले जनही १९ लाख ५० हजार, प्रशिक्षकले ५ लाख ८५ हजार, सहायक प्रशिक्षक, व्यवस्थापक र फिजियोले २ लाख ९० हजार र संघले ५ लाख रुपैयाँ नगद पाउनेछन् ।

महादेशीय क्रिकेट प्रतियोगिता वा डिभिजन एकबाट विश्वकपमा छनोट भएमा खेलाडीलाई राम्रै रकम पाउनेछन् । यो विधातर्फ स्वर्ण जिते खेलाडीले जनही १९ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । रजत जिते १३ लाख र कांस्य जिते ९ लाख १० हजार जनही पुरस्कार पाउने व्यवस्था कार्यविधिमा छ । यस विधामा पनि प्रशिक्षक, सहायक प्रशिक्षक, व्यवस्थापक, फिजियो र खेल संघलाई नगद पुरस्कारको व्यवस्था छ । विश्वकप र महादेशीय प्रतियोगिता दुवैमा कुन फम्र्याट भनेर उल्लेख गरिएको छैन ।

डिभिजन टू बाट वानमा पुग्दा स्वर्ण जितेमा खेलाडीले जनही ६ लाख ५० हजार र दोस्रो भएमा जनही ३ लाख ९० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । स्वर्ण जितेमा प्रशिक्षकले २ लाख २५ हजार, सहायक प्रशिक्षक, व्यवस्थापक र फिजियोले १ लाख ६० हजार तथा खेल संघले २ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । दोस्रो भएमा प्रशिक्षकले १ लाख ६० हजार, सहायक प्रशिक्षक, व्यवस्थापक र फिजियोले १ लाख ३० हजार तथा संघले १ लाख ६० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

विश्व क्रिकेट लिग डिभिजन थ्रीबाट टूमा उक्लँदा स्वर्ण जितेमा खेलाडीले जनही २ लाख ६० हजार रुपैयाँ पाउनेछन् । प्रशिक्षकले १ लाख ३० हजार, सहायक प्रशिक्षक, व्यवस्थापक र फिजियोले ९५ हजार तथा संघले १ लाख ३० हजार रुपैयाँ पुरस्कार पाउनेछ ।

उमेर समूहको विश्वकपमा स्वर्ण जिते खेलाडीले जनही १६ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । एसियन कपको स्वर्ण जितेमा खेलाडीले जनही १० लाख पुरस्कार पाउनेछन् । क्षेत्रीय एसियाली खेलकुदमा स्वर्ण जिते ५ लाख, रजत जितेमा ३ लाख र कांस्य जितेमा १ लाख ५० हजार रुपैयाँ पुरस्कार निर्धारण गरिएको छ ।

एशियाली क्षेत्रीयस्तरको उमेर समूहको प्रतियोगितामा स्वर्ण जितेमा टोलीका खेलाडीले जनही ३ लाख र रजत जितेमा १ लाख ८० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । उमेर समूहको एसियाली प्रतियोगितामा स्वर्ण जितेमा जनही ८ लाख, रजत जितेमा ४ लाख ८० हजार र कांस्य जितेमा २ लाख ४० हजार रुपैयाँ पुरस्कार दिइने व्यवस्था छ ।

दुई देशबीचको एकदिवशीय अन्तर्राष्ट्रिय तथा टी–२० अन्तर्राष्ट्रिय शृंखला जितेमा खेलाडीलाई जनही १ लाख, प्रशिक्षकलाई ७५ हजार, सहायक प्रशिक्षक, व्यवस्थापक र फिजियोलनई ५० हजार तथा संघलाई ७५ हजार रुपैयाँ पुरस्कार दिइने कार्यविधिमा उल्लेख छ । तीन वा त्यसभन्दा बढी टोली सम्मिलित एकदिवशीय अन्तर्राष्ट्रिय वा टी–२० अन्तर्राष्ट्रिय शृंखला जितेमा टोलीका सबै खेलाडीले जनही २ लाख, प्रशिक्षकले १ लाख ५० हजार, सहायक प्रशिक्षक, व्यवस्थापक र फिजियोले १ लाख तथा टिमलाई १ लाख ५० हजार रुपैयाँ दिइनेछ ।

लेखकको बारेमा
कुशल तिमल्सिना

तिमल्सिना अनलाइनखबरका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?